१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्यूठानमा कांग्रेसका डा. पोखरेल र गठबन्धनकी पौडेलबीच प्रतिस्पर्धा

दाङ- जनमोर्चाको पुरानो गढ प्यूठानलाई आफ्नो पकडमा राख्ने योजनाअनुसार एमाले र माओवादीले राजमोलाई पनि गठवन्धनमा समाहित गर्ने योजना बनाए । यी दुवै दलको योजना बन्यो, ‘एउटा निर्वाचन क्षेत्र कायम रहेको यो जिल्लामा प्रतिनीधिसभाका लागि राष्ट्रिय जनमोर्चालाई दिने ।’ प्रदेशसभाका लागि ‘क’ र ‘ख’ क्षेत्रमा एमाले र माओवादीले एक/एक लिने योजना अनुसार सिट भागवण्डा भयो । वामगठवन्धनको यो प्रस्तावलाई राजमोले स्वीकार गर्‍यो । प्यूठानमा एमाले र माओवादीसँगै राजमोको तालमेलपछि त्यहाँ झनै ठूलो गठवन्धन बनेको छ । वामगठवन्धनले मसालका महामन्त्री मोहन विक्रम सिंहलाई प्रतिनिधिसभाको उम्मेदवार बन्न प्रस्ताव गरे । उनले यो प्रस्तावलाई अस्वीकार गरिदिए । अर्धभूमिगत नेताका रूपमा चिनिने सिंहले प्रतिनीधि सभाको उम्मेदवार बनेर आफ्नो पुरानो पहिचान मेटाउन चाहेनन् र आफ्नी श्रीमती दुर्गा पौडेललाई अघि सारे  ।

आफू अर्धभूमीगतकै रूपमा रहेका सिंहकी श्रीमती दुर्गाको वामगठवन्धनका तर्फबाट साझा उम्मेदवार बनेकी छन्। दुर्गा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष हुन् । तर उनले आफ्नो श्रीमान्कै कारण आफू प्रतिनिधिसभाको उम्मेदवार नबनेको दावी गर्छिन् । ‘यो मेरो श्रीमान्को कारण भन्दा पनि पार्टीको निर्णय हो,’ उनले नागरिकसँग भनिन्, ‘पार्टीको नीतिअनुसार मेरो नाम टुंगोमा पुगेको हो।’ सुरुमा वाम गठवन्धनबाट श्रीमान् सिंहलाई उम्मेदवार बन्न प्रस्ताव गरिएको भएपनि उनले नचाहेको दुर्गाले बताईन् । उनले भनिन् ‘मसालका नेताहरु अहिले पनि भूमिगत अवस्थामै हुनुहुन्छ, उहाँहरू झ्वाट्टै खुलिहाल्ने भन्ने कुरा हुँदैन ।’  

वाम गठवन्धनकी उम्मेदवार दुर्गाको नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार चयन भएका पुनर्निर्माण प्राधिकरणका निवर्तमान सिइओ डा. गोविन्द पोखरेलसँग प्रतिनीधिसभाका लागि प्रतिस्पर्धा हुने छ । प्यूठानमा तीन दलीय वामगठवन्धनबिरुद्ध कांग्रेस एक्लै भिड्दै छ। 

प्रतिनिधिसभाकी उम्मेदवार दुर्गालाई यसपटक पटकपटकका हारको इतिहास मेटाउने ठूलो अवसर मिलेको छ । एक्लै चुनावी मैदानमा उत्रिएको कांग्रेसभन्दा झण्डै तेब्बर मत बढी वामगठवन्धनको रहेको भन्दै दुर्गाले आफ्नो जित पक्कापक्की हुनेमा विश्वस्त छिन् । प्यूठान जिल्लभर वाम गठवन्धनको मत ६० हजारको हाराहारीमा छ भने कांग्रेसको मत बीस हजारको हाराहारीमा छ । ‘गठबन्धनको मतले जित उन्मुख गराएको छ,’ उनले भनिन्, ‘यसपटक जित निकाल्ने अवसर जस्तै मिलेको छ मेरा लागि ।’ राष्ट्रिय जनमोर्चाबाट निर्वाचन जित्न उनका लागि यो ठूलो अवसर भएको चर्चा चल्ने गरेको छ ।

२०५७ सालको संसदीय चुनावदेखि प्रतिस्पर्धामा उत्रन थालेकी दुर्गा त्यो निर्वाचन कपिलवस्तु २ बाट लडिन् । त्यो बेला उनको पार्टीले आफ्नो सुनिश्चित भोट जम्मा छ सय मात्रै आकलन गरेको थियो । तर उनले पाँच हजार सात सय ९७ मत प्राप्त गरिन् । ‘छ सय भोट मात्रै पार्टीले आकलन गरिरहेका बेला मेरो झण्डै छ हजारको हाराहारीमा मत आउँदा मैले जितेकै अनुभूती भयो,’ उनले भनिन् ‘पार्टीका लागि केही गरेको जस्तो अनुभूती भयो ।’ त्यो निर्वाचनमा राप्रपाका तर्फबाट उम्मेदवार बनेका बृजेश कुमार गुप्ताले निर्वाचन जितेका थिए भने कांग्रेस नेता दीपकुमार उपाध्याय पराजित भएका थिए ।

२०६४ को पहिलो संविधानसभाको निर्वाचन उनका लागि झनै अविस्मरणीय बनिदियो । निर्वाचन लड्ने सुरसारै नभएको अवस्थामा एक्कासी पार्टीले उनलाई काठमाडौंबाट लड्न भन्यो । पार्टीले गरेको प्रस्तावलाई नकार्ने कुरै भएन । उनी उम्मेदवारका लागि राजी भइन् । चुनावमा होमिएकी दुर्गाको उम्मेदवारीका लागि समर्थक र प्रस्तावकसमेत भेटिएनन् । ‘पार्टीका कार्यकर्ता नै नभएको ठाउँमा निर्वाचन लड्नु पर्‍यो,’ उनले भनिन् ‘मैले उम्मेदवारीका लागि समर्थक र प्रस्तावकनै भेट्टाउन सकिन ।’ धेरै अनुरोधपछि कांग्रेसका दुई स्थानीय युवा उनको प्रस्तावक र समर्थक बस्न राजी भएका थिए । ‘कांग्रेसका दुईजना भाइहरूलाई अनुरोध गरेर प्रस्तावक र समर्थक बसालेर निर्वाचन लडेको हुँ,’ उनले भनिन् ‘त्यसरी पनि चुनाव लड्नु परेको इतिहास बनेको छ मेरो जीवनमा ।’ त्यो निर्वाचनमा उनको जम्मा ३५ मत आएको थियो । ‘प्रस्तावक र समर्थक नै नभएको निर्वाचन लड्दा कति मत आओस् ?,’ उनले हाँस्दै भनिन्। संविधानसभाको पहिलो निर्वाचनमा काठमाडौंबाट हार्नु परेको यो पीडामा २०७० को पछिल्लो संविधानसभा निर्वाचन भने उनका लागि मल्हम बनिदियो । त्यो बेला समानुपातिक उम्मेदवार चयन भएकी दुर्गा समानुपातिक कोटाबाट सभासद् बन्न सफल भइन्।

यता राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा पुनर्निर्माण प्राधिकरणका निवर्तमान सिइओ डा. गोविन्द पोखरेललाई उम्मेदवार तोकेको कांग्रेसले वाम गठवन्धनको उम्मेदवारलाई ‘कमजोर’ आँकेको छ । कारण हो, दुर्गाको प्यूठानसँगको दूरी नजिक नहुनु । समानुपातिक सभासद् भैसकेपछि प्यूठानमा नफिरेकी दुर्गाको पक्षमा बलियो माहोल बन्ने छाँट कांग्रेसले देखेको छैन । ‘सभासद् बनेपछि जिल्लामा झर्दै नझरेको व्यक्तिलाई टिकट दिइएका कारण प्यूठानले दुर्गाजीलाई वाम गठबन्धनको गतिलो उम्मेदवारका रूपमा हेरेको छैन,’ कांग्रेस प्यूठानका सचिव देवेन्द्र बर्माले भने, ‘यसर्थ मत संख्याका अनुमानका आधारमा भन्दा पनि प्रभावका आधारमा यसपटकको चुनावी परिणाम आउने सम्भावना देखिएको छ ।’ मसालका महामन्त्री मोहन विक्रम सिंहको श्रीमती भएकै कारण दुर्गाले टिकट पाएको भन्दै वामगठवन्धन भित्रै असन्तुष्टि समेत पैदा भएको छ । जिल्लामा रहेर लामो समयसम्म पार्टीका लागि संघर्ष गरेका व्यक्तिलाई पाखा लगाएर दुर्गालाई टिकट दिइएको गुनासो गठबन्धनभित्र छ। ‘मोहन विक्रम सिंहको श्रीमती भएकै कारण टिकट दिइएको भन्दै गठवन्धनभित्र विमति सुरु भएको छ,’ उनले भने ‘यो असन्तुष्टिको फाइदा कांग्रेसलाई पुग्ने छ ।’ त्यसो त, प्रदेश सभाको ‘ख’ क्षेत्रमा बलियो रहेको एमालेलाई टिकट नदिइनु अर्को विमतिको विषय बनेको छ । यो क्षेत्र माओवादीको भागमा परेको छ । ‘एमालेलाई यो क्षेत्रमा टिकट नदिइएको अर्को असन्तुष्टि छ,’ कांग्रेस सचिव बर्माले भने, ‘यो क्षेत्रमा बलियो भएको एमालेले आफूले टिकट पाउनुपर्ने भन्दै असन्तुष्टि व्यक्त गरिरहेको छ ।’

त्यसोत, कांग्रेस उम्मेदवार पोखरेलको आफ्नो व्यक्तिगत प्रभावलाई कांग्रेसले आफ्नो जनमतको बलियो आधार बनाएको छ ।  राष्ट्रिय योजना आयोगको उपाध्यक्ष रहँदा पोख्रेलले प्यूठानको विकासमा नेतृत्व लिएको भन्दै त्यसको सकारात्मक प्रभाव पर्ने कांग्रेसको दाबी छ ।

 

 

प्रकाशित: १५ कार्तिक २०७४ ०३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App