coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कैलाली ५ मा कस्ले मार्ला बाजी ?, आरजु र नारदमुनिबीच रोचक प्रतिस्पर्धा

धनगढी- गत संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव लडेको प्रदेश नम्बर ७ को महत्वपूर्ण मानिएको निर्वाचन क्षेत्र कैलाली ५ मा यस पटकको चुनावमा कस्ले बाजी मार्ला भनेर यहाँ चिया पसलदेखि सर्वत्र चर्चा, परिचर्चा सुरु भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा राणा यस क्षेत्रवाट चुनाव लड्ने भएपछि थप चर्चा पाएको छ । नेपाली कांग्रेस संसदीय समितिले सोमबार कैलाली ५ बाट आरजु देउवालाई उम्मेदवार बनाउने निर्णय गरेपछि मंगलबार बिहानै उनी धनगढी आइपुगेकी छन । गेटा बिमानस्थलमा उनको स्वागत गर्न कांग्रेसका कार्यकर्ताको उल्लेख्य सहभागिता थियो । मंगलबारदेखि नै उनले कार्यकर्ता र शुभेच्छुकसँग भेटघाट तीव्र पारेकी छन् । कांग्रेसको पकड राम्रो मानिएको कैलाली क्षेत्र नम्बर ५ निर्वाचनका लागि आरजु देउवाले रोजेकी हुन् । ‘म पहिलादेखि यो क्षेत्रमा भिजेको हुनाले यहाँ चुनाव लड्ने निर्णय गरेकी हुँ’ आरजु देउवाले भनिन् । उनले यस क्षेत्रको विकास र समृद्धि आफ्नो मुख्य अजेण्डा भएको बताएकी छन् । देउवा पत्नी आरजु पहिलो पटक प्रत्यक्ष निर्वाचन लड्न लागेकी हुन । उनी यसअघि नेपाली कांग्रेसवाट समानुपातिक कोटामा सासंद बनेकी थिइन्।

 राणासँग वाम गठबन्धनवाट एमालेले पार्टीका वैकल्पिक केन्द्रीय सदस्य नारदमुनि राना प्रतिस्पर्धामा छन् । राना २०५४ सालमा धनगढी नगरपालिकामा उपमेयरमा चुनाव जितेका थिए । २०६४ सालमा समानुपातिक कोटावाट सासंद बनेका थिए । उनी खेलकुद गतिबिधिमा पनि संलग्न र सयांै परिवारलाई शुद्ध खानेपानी उपलब्ध गराउने शिवनगर खानेपानी आयोजनका पुर्व अध्यक्ष हुन् । यसअघि धनगढी उपमहानगरपालिकाको क्षेत्र रहेको यो निर्वाचन क्षेत्रवाट गत संविधानसभामा कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव जितेका हुन् । डडेल्धुरा र कैलाली क्षेत्र नम्बर ६ बाट चुनाव लडेका देउवाले यो क्षेत्र छाडेपछि उपनिर्वाचनमा कांग्रेसकै पुष्करनाथ ओझाले चुनाव जितेका थिए । गत स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिकामा कांग्रेसका नृप ओडले चुनाव जितेका थिए । २०६४ सालको संविधानसभामा भने माओवादीका लीला भण्डारीले निर्वाचन जितेकी हृुन् । शेरबहादुर देउवा चुनाव लडेयता कांग्रेसका उम्मेदवारले जितहात पारेकाले यस क्षेत्रलाई कांग्रेसको पकड क्षेत्र मानिन्छ । एमाले र माओवादी वाम गठबन्धन बन्नु र त्यसका उम्मेदवार नारदमुनि राना स्थानीय तहमा शसक्त उम्मेदवार भएकाले रोचक र कडा प्रतिस्पर्धा हुने स्थानीयको अनुमान छ । स्थानीय तह निर्वाचमा मतलाई हर्दा एमाले–माओवादीले पाएको मत जोड्दा भने कांग्रेस, फोरम लोकतान्त्रिक र राप्रपाले पाएको मत भन्दा केही बढी छ ।

नेपाली कांग्रेसले पाएको भन्दा वाम गठबन्धनले पाएको मत बढी छ । धनगढी उपमहानगरपालिकामा कैलारी गाउँपालिकाका २ वडा थप गरेर क्षेत्र नम्बर ५ बनाएको छ ।

 कैलाली क्षेत्र नम्बर ५ का करिव ३० हजार राना थारु समुदायका मतदाता छन । यो क्षेत्रमा ९२ हजार मतदाता रहेका छन ।

रानाथारु समुदायका मत रानाले प्रभावित गर्न सके नतिजा उनको पोल्टामा जान सक्ने स्थानीय सञ्जय चौधरी बताउँछन् । अत्यन्त गरिबी र पछौटेपनका कारण मुक्त कमैया शिविरमा रहेका थारु, राना, सकुमबासीलगायतमा आर्थिक प्रभावले पनि काम गर्ने भएकाले राना थारुका मत  पाउन रानालाई सहज हुन नसक्ने विश्लेषण पनि उनको छ । कांग्रेसको प्रभाव क्षेत्र, आरजुको व्यक्तित्वलगायतका कारण आरजुले चुनाव जित्ने कांग्रेस समर्थकको आंकलन छ ।  नतिजाको जसको पोल्टामा गए पनि कडा प्रतिस्पर्धा हुने कुरा सबैले स्वीकाछन् ।

वाम गठबन्धनका उम्मेदवार रानाले यहाँका स्थानीयसँग घुलमिल भएर निरन्तर समाजकै लागि काम गर्नु नै आफ्नो जित्ने आधार भएको बताउँछन् । उनले पनि विकास र समृिद्ध तथा पछाडि पारिएका समुदायको जीवनस्तर उकास्ने मुख्य अजेण्डा भएको बताएका छन् । ७ नम्वर प्रदेशको एकमात्र उपमहानगरपालिका रहेको यो क्षेत्र राजनीतिक रूपमा महत्व राख्ने क्षेत्र हो । १९ वटा वडा रहेको धनगढी उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुखसहित १२ वटा वडा कांग्रेस, ५ वटा माओवादी र २ वटा वडामा एमालले जितेको थियो ।

वाम गठबन्धनको मत करिब पाँच हजार बढी देखिए पनि प्रतिनिधिसभा निर्वाचन भएकाले स्थानीय तहको मतको थोरै अन्तरले ठूलो अर्थ राख्ने छैन ।

क्षेत्र नम्बर ४ मा माओवादी नेता भट्ट

वाम गठबन्धनले कैलाली क्षेत्र नम्बर ४ बाट माओवादी प्रभावशाली नेता लेखराज भट्टलाई उम्मेदवार बनाएको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा यो क्षेत्रबाट विजयी माओवादी पोलिटब्यूरो सदस्य एवं प्रदेश इन्चार्ज भट्ट २०७० सालको निर्वाचनमा कांग्रेसका दीर्घराज भाटसँग पराजित भएका थिए । यो क्षेत्रमा कांग्रेसले सुनिल भण्डारीलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

यस्तै वाम गठबन्धनले कैलाली क्षेत्र नम्बर १ मा एमालेका गरिमा शाह, २ मा एमालेकै झपट रावल र ३ मा माओवादीका गौरीशंकर चौधरीलाई उम्मेदवार बनाएको छ । कांग्रेसले भने क्षेत्र नम्बर ५ बाहेक अन्य क्षेत्रमा उम्मेदवारको औपचारिक टुंगो लगाइसकेको छैन।

 

 

प्रकाशित: १५ कार्तिक २०७४ ०२:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App