७ वैशाख २०८१ शुक्रबार
राजनीति

वाम गठबन्धनलाई कांग्रेस चुनौती

जुम्ला- जुम्लामा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरू गाउँ पसेका छन् । असन्तुष्ट कार्यकर्तालाई सुझाउने र सन्तुष्ट कार्यकर्तालाई आफ्नो पक्षमा नतिजा आउने गरी खट्न निर्देशन दिँदै हिँडेका छन् । उम्मेदवारहरू आआफ्नो चुनावी अजेन्डासहित प्रचारप्रसारमा होमिएका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जुम्लामा वाम गठबन्धनलाई कांग्रेसले चुनौती दिँदै आएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाबाट वाम गठबन्धनका उम्मेदवार बनेका गजेन्द्रबहादुर महत लोकतन्त्र रक्षा र आर्थिक समृद्धिका लागि चुनावी मैदानमा उत्रिएको बताउँछन् । उनले शिक्षा, स्वास्थ्य, यातायात, कृषि र उद्योग क्षेत्रमा निकै ठूलो प्रगति हुने विश्वास दिलाउँदै आएका छन् ।

‘अबको सपना आर्थिक समृद्धिसहितको हो’, उनले भने, ‘त्यो सपना वाम गठबन्धनले मात्रै पूरा गर्दछ ।’ नेपाली राजनीति शान्ति र समृद्धिको अध्यायमा प्रवेश गरेको भन्दै उनले यसको नेतृत्व वाम गठबन्धनले गरेको स्पष्ट पारे । यो गठबन्धन नेपाली काँग्रेसलाई जित्नका लागि मात्रै नभई शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना गरी नेपालीको भविष्य बदल्नका लागि भएको उनले बताए ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवार बनेका देवेन्द्रबहादुर शाही देशको प्रगति र उन्नतिमा कांग्रेसले ठूलो भूमिका निर्वाह गरेकाले जुम्लाका तीनवटै क्षेत्रमा कांग्रेस विजयी हुने दाबी गर्छन् । वाम गठबन्धन अपवित्र भएको र हरेक लोकतान्त्रिक आन्दोलनमा कांग्रेसले अगुवाइ गरेकाले  कांग्रेस बलियो हुँदै उनले बताए ।  नेकपा माओवादी केन्द्रले रगतमा पौडी खेलेर एमालेमा विलीन भएको टिप्पणी गरे ।

असन्तुष्ट फकाउँदै कांग्रेस 

केन्द्रीय स्तरमा वाम गठबन्धन भए पनि तल्लो तहका कार्यकर्ता स्तरमा त्यसको अनुभूति हुन सकेको छैन । कार्यकर्ता विभाजित नै छन् ।  नेपाली कांग्रेसका उम्मेदवार, नेताकार्यकर्ता वाम गठबन्धनभित्रका असन्तुष्टलाई रिझाउने अभियानमा छन् । उनीहरू एकपछि अर्को असन्तुष्ट कार्यकर्तासँग भेटघाट र छलफलमा व्यस्त छन् । सबै स्थानीय तहमा कांग्रेसले चुनावी अभियान घनीभूत बनाउँदै लगेको छ ।

कांग्रेसले  लोकतन्त्रको संस्थागत विकास गर्न र संविधान कार्यान्वयन गर्नका लागि खेलेको  भूमिका नबिर्सन आमजनतासँग आग्रह गरेको छ ।  प्रदेशसभामा जितेपछि ६ नम्बर प्रदेशको राजधानी जुम्लामा हुनुपर्नेमा पैरवी गर्ने भन्दै वाम गठबन्धनले जनतामा भ्रम छरेको आरोप कांग्रेसको छ ।  जनताको समृद्धिका लागि निःस्वार्थ भावका साथ लाग्ने र आफूहरूले निर्वाचन जितेमा वामपन्थीले चाहेको भन्दा बढी विकास गर्ने आश्वासन कांग्रेसका उम्मेदवारले दिएका छन् ।  

प्रदेशसभामा यस्ता छन् उम्मेदवार

प्रदेशसभातर्फ क्षेत्र नम्बर (क) का लागि वाम गठबन्धनका नरेश भण्डारी उम्मेदवार छन् । उनले २०६४ सालको संविधानसभा निर्वाचनमा जितेका थिए । उनलाई कांग्रेसका राजुसिंह कठायतले चुनौती दिएका छन् । प्रदेशसभा क्षेत्र नम्बर (ख) बाट वाम गठबन्धनका पदमबहादुर रोकाया उम्मेदवार छन् भने कांग्रेसका भीमनिधि हमाल छन् । प्रतिनिधिसभा चुनावका लागि वाम गठबन्धनका गजेन्द्रबहादुर महत र कांग्रेसका देवेन्द्रबहादुर शाहीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।   

यस्तै प्रदेश (क) का लागि वाम गठबन्धन र कांग्रेसबाहेक संघीय समाजवादी फोरमका विष्णुदत्त भट्टराई, राप्रपा (प्रजातान्त्रिक) का देवीकृष्ण न्यौपाने र नेमकिपाका शिवलाल डाँगीको उम्मेदवारी परेको छ ।

प्रदेशसभा क्षेत्र नम्बर (ख) मा नेमकिपाका गोरखबहादुर बुढा उम्मेदवार छन् ।

६० हजार मतदाता

मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जुम्लामा ५९ हजार ५८ मतदाताले मतदान गर्न पाउनेछन्। त्यसमा २८ हजार ३ सय १ महिला र ३० हजार ५ सय ५७ जना पुरुष छन् ।

यस्तै प्रदेश सभा क्षेत्र नम्बर (क) का लागि  १२ हजार ९ सय ६५ महिला र १४ हजार ३ सय ७९ पुरुष गरी २७ हजार ३ सय ४४ जनाले मतदान गर्न पाउने निर्वाचन आयोगको कार्यालय जुम्लाले जनाएको छ ।

यस्तै प्रदेशसभा क्षेत्र नम्वर (ख) का लागि १५ हजार ३ सय ३६ महिला  र  १६ हजार ३ सय ७८ पुरुष गरी ३१ हजार ७ सय १४ जना मतदाता छन् । स्थानीय तहको चुनावभन्दा प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा मतदाता बढ्न सक्ने अनुमान निर्वाचन आयोगको कार्यालयले गरेको छ ।

थपिए ३ मतदान केन्द्र

स्थानीय तह निर्वाचनमा जुम्लामा ८७ वटा मतदान केन्द्र रहेकामा यसपटक तीनवटा निर्वाचन केन्द्र थप गरिएको छ। मतदाताको माग र भौगोलिक विकटताका आधारमा मतदान केन्द्र थप गरिएको निर्वाचन कार्यालयका प्रमुख खुमबहादुर सुवेदीले जानकारी दिए । उनका अनुसार भगवती आधारभूत विद्यालय उर्थु चौतारा, ज्ञानज्योति आधारभूत विद्यालय रावतवाडा र रोपनी जनजागृति आधारभूत विद्यालय रनुखानामा केन्द्र थप गरिएको हो । केन्द्र थपेसँगै भौगोलिक रूपमा पछि परेका मतदातालाई राहत मिलेको छ ।

वाम गठबन्धनका मतदाता अलमलमा

केन्द्रमा वाम गठबन्धन भएसँगै गाउँस्तरसम्मका मतदाता अलमलमा परेका छन् । अहिले गठबन्धनका कार्यकर्ता कसलाई कसरी मतदान गर्ने भन्नेबारे अन्योलमा छन् । गाउँमा वाम गठबन्धनकै कार्यकर्ताबीचमा भएको स्थानीय तहको चुनावको तिक्तता मेटिएको छैन । केन्द्रमा वाम गठबन्धनको सन्देश पुग्न नसकेकाले कार्यकर्ता अन्योलमा परेको बताउँछन् ।

प्रकाशित: १५ कार्तिक २०७४ ०२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App