७ वैशाख २०८१ शुक्रबार
राजनीति

१९ वर्षपछि न्याय पाएँ: श्रेष्ठ

काठमाडौं- मंगलबार मध्याह्न १२ बजेतिर सावित्री श्रेष्ठको मोबाइलमा घन्टी बज्यो । मोबाइल उठाइन्, आवाज आयो ‘बधाई छ ! बालकृष्ण ढुंगेल पक्राउ परे।’

भाइको हत्यापछि निरन्तर न्याय प्राप्तिको लडाइँमा रहेकी सावित्रीले सुरुमा पत्याइनन् । ढुंगेल एकदुई पटक पक्राउ गरेका खबर यसअघि नै आइसकेका थिए । यसपटक पनि कसैले झुक्यायो कि भन्ने लाग्यो उनलाई । निश्चित गर्न एकदुईजनासँग सोधखोज गरिन् । तत्कालीन विद्रोही माओवादीद्वारा १९ वर्षअघि हत्या गरिएका भाइ सम्झिइन् र उनी खुसी भइन् ।

मंगलबार नै उनको जन्मदिन थियो । जन्मदिनमा भाइको हत्यामा संलग्नलाई कारबाही हुनु ‘न्यायको उपहार’ पाएजस्तो अनुभव भयो उनलाई । उनले ‘न्याय मरेको रहेनछ’ भन्ने महसुस गरिन् ।

‘सुन्नेबित्तिकै होइन जस्तो लागेको थियो । पहिले पनि यस्तै हल्ला आएको थियो,’ सावित्रीले भनिन्, ‘आजै मेरो जन्मदिन परेकाले कसैले झुक्याएजस्तो लागेको थियो । १९ वर्षदेखि जारी लडाइँ जितें ।’

भाइको हत्यारालाई कारबाही गराउन निरन्तर लडिरहेकी उनले मंगलबार न्यायको लडाइँ जितेको महसुस गरिन् । त्यसपछि उनलाई धमाधम बधाईका फोन आउन थाले । सर्वोच्च अदालतले दोषी ठहर गरेका ढुंगेललाई पक्राउ गरेपछि उनले भनिन्, ‘मेरो भाइ उज्जन त कहिल्यै फर्केर आउँदैन । उसका हत्यारालाई अदालतले दोषी ठहर गरेको थियो । हत्यारालाई राज्यले पक्राउ भयो । न्याय प्राप्त भयो ।’

अदालत भनेको के हो भन्ने नेताहरूले नबुझेको उनको गुनासो छ । ‘यसअघि नै अदालको फैसलाको सम्मान गर्नुपर्ने हो’, सावित्रीले भनिन्, ‘सबैले अदालतको निर्णय सम्मान गर्न सिक्नुपर्छ ।’

सर्वोच्चको फैसला कार्यान्वयनका लागि राज्यसँग लड्नुपरेकोमा उनले दुःख व्यक्त गरिन् । उनले भनिन्, ‘हामीलाई दुःख भयो । तर पनि न्यायको सम्मान भयो ।’

अदालत धाउँदाधाउँदा उनलाई कुनै बेला लाग्थ्यो देशमा न्याय मरिसकेको छ । ‘न्याय जीवितै रहेछ, पीडितका लागि आशाको दियो बल्यो । मजस्ता पीडितहरु धेरै छन्,’ उनले भनिन् ।

ज्यान मुद्दामा दोषी ठहरिएका बालकृष्ण ढुंगेललाई पक्राउ गर्न अदालतले दिएको आदेश पालना नगरेको भन्दै गत मंगलबार सर्वोच्चमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध अवहेलना मुद्दा दर्ता भएको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चले पक्राउ वारेन्ट नोटिस आदेश दिएको ६ महिना बितिसक्दा पनि प्रहरीले नखोज्नु अदालतको मानहानि भन्दै कारबाही माग गरेका छन् । ‘महानिरीक्षक अर्याललाई अदालतमा तत्काल उपस्थित हुने आदेशसहित न्याय प्रशासन ऐन २०७३ दफा १७(१) बमोजिम एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना सजाय पाऊँ,’ निवेदनमा माग गरिएको छ । पछिल्लो अवहेलना मुद्दाले पनि प्रहरीलाई बल पुगेको श्रेष्ठले बताइन् ।

विपत्तिका ती दिनहरू

ओखलढुंगा कोकनीमा कुटानीपिसानी मिलसँगै किरान पसल गरेर बसेको एउटा संयुक्त परिवार थियो । त्यही परिवारकी सावित्री विवाहपछि काठमाडौं आइन् । भाइ उज्जन श्रेष्ठ पर्यटन क्षेत्रमा काम गर्थे । राजधानीमा दिदीभाइ सँगै बस्थे । धान रोपाइँको बेला थियो । बुबालाई प्यारालाइसिस भएपछि उज्जन काठमाडौंबाट घर गए । घर गएका बेला सामान लिन दुईजना भरियासहित उज्जन रामेछाप हाटबजार जाँदै थिए । बाटोमै उनको हत्या भयो । सावित्रीले २०५५ असार १० गते भाइ हराएको खबर पाएकी थिइन् । लगत्तै उनी काठमाडौंबाट ओखलढुंगा पुगिन् । 

सावित्री घर पुग्दा आमा बेहोस थिइन् । भाइको अत्तोपत्तो थिएन । रगतका टाटा देखिएको खबर पाए पनि उनले भाइ फर्केर आउने आस मार्न सकिनन् । उज्जन हराएको सात दिनपछि प्रहरीले जिउँदो छैन भनिदियो । काजकिरिया भयो । परिवार ओखलढुंगाबाट रामेछाप विस्थापित भयो । दुईजना भरियाले उज्जनको हत्या गाउँकै चिनजानेका व्यक्तिले गरेको देखेका थिए । हत्यापछि सावित्रीका दाजु गणेशकुमार श्रेष्ठले प्रहरीमा जाहेरी दिए ।

सावित्री हत्याराको खोजीमा लागिन् । भाइलाई मार्ने हत्यारा आँखैअगाडि छाती फुलाएर हिँडिरहेको देख्दाको पीडा उनी आँसुले बगाउँथिन् । हत्यारा लुकेर बसेको खबर प्रहरीसमक्ष पु¥याउँदा पनि पक्राउ गरिएन । उनले भनिन्, ‘हत्याराहरू बसेको ठेगाना दिँदा समेत प्रहरीले समाउन सकेन ।’ मुद्दा दर्ता गराएपछि उनका दाजु गणेशलाई धम्की आउन थाल्यो । धम्की आए पनि दाजुबहिनी मिलेर उज्जनको हत्यारालाई सजाय दिलाउने अठोट बोकेका थिए ।

२०५९ मंसिर ६ गते, फेरि अर्को घटना भयो । उनका दाजु गणेश घरपछाडि काम गर्दै थिए । गणेशकी छोरी रञ्जना सात कक्षामा पढ्दै थिइन् । बुबाको साथी भएको बताउँदै अपरिचितले सोध्यो, ‘तिम्रा बुवा खोइ ?’ उनले सत्य बताइन् । बुबा देखाइदिन गएकी छोरीकै अघि साथी हुँ भन्ने व्यक्तिले गोली हानी मारिदिए । श्रेष्ठ परिवारमा अर्को बज्रपात प¥यो । रञ्जना बेहोस भइन् । परिवारमा एकपछि अर्को विपत्ति थपिँदै गयो । जेनतेन उनले एसएलसी पास गरिन् । बुबालाई आँखैअघि गोली हानिएको दृश्य सहन नसकेर रञ्जनाले तीन वर्षपछि आत्महत्या गरिन् ।

मुद्दा फिर्ता लिन परिवारमा धम्की आइरह्यो । केही समय कुनै आँट आएन । न्यायको आस हरायो । परिवार कहाँ बस्ने ? सावित्री भन्छिन्, ‘खाल्डो खनेर सबै परिवार एकै ठाउँमा मरौं जस्तो हुन्थ्यो ।’ दुई छोराको हत्यापछि आमाले निद्रा लाग्ने औषधि सेवन गर्न थालिन् । सावित्रीले बुवाआमा, भाउजू, बुहारी, भतिजभतिजीलाई सम्हाल्न निकै गाह्रो भयो । उनी भन्छिन्, ‘मेरा दाजुभाइले कसैको केही बिगारेका थिएनन् । कुनै दलमा आबद्ध थिएनन् ।’

प्रकाशित: १५ कार्तिक २०७४ ०१:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App