७ वैशाख २०८१ शुक्रबार
राजनीति

उम्मेदवारलाई फूलमाला अनि, गुनासोको झटारो हान्दै मतदाता

वाम गठवन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवप्रसाद गुरुङ चुनावी अभियानको क्रममा गिलुङ गाउँमा।

लमजुङ- आगमी मंसिर १० गते हुने निर्वाचनका लागि भोट माग्दै गाउँघरमा पुगेका वाम र लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुलाई मतदाताले विभिन्न माग र गुनासो राख्न थालेका छन्।

निर्वाचनमा आफ्नो पार्टी र उम्मेदवारलाई विजयी गराउन रणनीतिक तथा प्रचारमूलक कार्यक्रम तय गर्दै विभिन्न तहका नेता र कार्यकर्ताको दलबल सहित गाउँ–गाउँमा पुगेका उम्मेदवारहरुलाई विकास सम्बन्धि माग र गुनासो पोखेका हुन्।

आफ्नो गाउँमा आएका विभिन्न पार्टीका उम्मेदवारहरुलाई स्थानीयले अविरको टिका, सेतो अक्षता, फूलमाला र खदा लगाएर स्वागत गर्नुका साथै गाउँमा आवश्यक विकास निर्माणको योजना सहितको माग समेत गर्ने गरेका छन् । त्यस्तै, विगतमा आफ्नो क्षेत्रबाट विजयी विभिन्न पार्टीका पदाधिकारी र सांसदहरुले आफ्नो गाउँठाउँमा विकास भित्र्याउन नसकेको गुनासो समेत गरेका छन् । जिल्लाको पश्चिमी भेगको भोर्लेटार, करापु हुँदै गिलुङगाउँमा पुगेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवप्रसाद गुरुङले आफुलाई मतदाताहरुले गाउँको विकासका लागि थुप्रै राम्रा योजनाको खाकाहरु सुनाएको बताए । स्थानीय आवश्यकतालाई बुझेर योजना निर्माण गर्नसके पूर्णरुपमा उपलव्धीमूलक हुने सल्लाह समेत मतदाताले सुझाएको समेत उनी बताउँछन् । सडकको स्तरोन्नति, नाला निर्माण गरी पानीको व्यवस्थापन, खेतमा सिंचाई कुलोको मर्मतसम्हार, ग्रामिण विद्युतीकरण, खानेपानीको उचित व्यवस्था जस्ता स्थानीय आवश्यकतालाई आफ्ना प्रतिनिधिहरुले बुझ्न नसकेको गुनासो समेत स्थानीयले राख्दै आएको गुरुङकै समुहमा सहभागी नेकपा एमालेका सदस्य राजकुमार श्रेष्ठले बताए । गाउँघरमा पुग्दा कतिपयले निर्वाचनको समयमा मात्रै गाउँमा आउने र अन्य समयमा कुनै वास्ता नगरेकोमा मतदाताले उम्मेदवार र नेताहरु सामु आक्रोश समेत पोख्ने गरेको उम्मेदवारहरुको भनाई छ।

स्थानीयस्तरका आवश्यकतालाई मसिनो तरिकाले बुझ्ने र तिनको सम्बोधन गर्नुपर्नेमा त्यस्तो हुन नसकेकाले गाउँघरका मतदाताले चित्त दुखाउने गरेको प्रदेशसभा सदस्यमा लोकतान्त्रिक गठवन्धनका उम्मेदवार कृष्णप्रसाद कोईरालाले बताए । मंगलबार मध्यनेपाल नगरपालिकाको रिस्ती उपत्यकामा पुगेका उनले मतदाताले यतिबेला पोख्ने असन्तुष्टि र आक्रोश नितान्त स्वभाविक भएको समेत बताए । निर्वाचनका क्रममा आफ्नो ठाउँमा आवश्यक योजना प्रस्ताव गर्ने, सल्लाह सुझाव दिने र चित्त नबुझेका विषयमा पोखिएका असन्तुष्टिहरुलाई उम्मेदवारले गम्भीरताका साथ लिनुपर्ने पनि कोईराला बताउँछन्।

वामगठवन्धनका उम्मेदवारहरुले जिल्लाका बेसीसहर, सुन्दरबजार, मध्यनेपाल, राईनासटार नगरपालिका र मस्र्याङ्दी, क्हेंलासोथर, दोर्दी र दुधपोखरी गाउँपालिकामा पहिलो चरणको कार्यकर्ता भेटगर्दै विविध कार्यक्रम सुरु गरेका छन् । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठवन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवप्रसाद गुरुङ, प्रदेशसभा सदस्य क्षेत्र नं १ का उम्मेदवार धनञ्जय दवाडी र क्षेत्र नं २ का उम्मेदवार पृथ्वीसुब्बा गुरुङ सहित पार्टीका नेता तथा कार्यकर्ताहरुले सदरमुकाम बेसीसहर नगरपालिका, पूर्वीभेगको राईनास नगरपालिका, सुन्दरबजार र मध्यनेपाल नगरपालिकामा अगुवा कार्यकर्ताको संयुक्त भेला गरिरहेको नेकपा एमालेका उपसचिव सुभाष पौडेलले बताए । सो अवसरमा दुवै पार्टीको संयुक्त बैठक, अगुवा कार्यकर्तालाई प्रशिक्षण, कार्यकर्तालाई सम्बोधन गर्नुको साथै चुनावी रणनीति तथा प्रचार–प्रसार, वडास्तरीय भेला, बैठक, मतदाताहरुलाई सम्बोधन जस्ता कार्यक्रम तय भएको पौडेल बताउँछन्।

यता, लोकतान्त्रिक गठवन्धनमा आवद्ध नेपाली काँग्रेस र राप्रपाका तर्फबाट पनि नगर र गाउँस्तरीय अगुवा कार्यकर्ताका विचमा कार्यक्रम अघि बढाएको नेपाली काँग्रेसका सभापति भेषबहादुर पौडेलले बताएका छन् । पहिलो चरणमा कार्यकर्ता भेटघाट, छलफल र विभिन्न ‘टिम फर्मेशन’ कार्य भईरहेको उनले बताए । सो गठवन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिलबहादुर घर्ती, प्रदेशसभा सदस्य क्षेत्र नं १ का उम्मेदवार गर्जबहादुर गुरुङ र क्षेत्र नं २ का उम्मेदवार कृष्णप्रसाद कोईरालाको उपस्थितिमा पार्टीका नेता तथा कार्यकर्ताहरुले सदरमुकाम बेसीसहर, राईनास, सुन्दरबजार र मध्यनेपाल नगरपालिका तथा मस्र्याङ्दी, क्हेंलासोथर, दोर्दी र दुधपोखरी गाउँपालिकामा अगुवा कार्यकर्ता भेला भईरहेको निर्वाचन क्षेत्र नं २ का उम्मेदवार कृष्णप्रसाद कोईरालाले बताए । आईतबार मस्र्याङ्दी गाउँपालिकाको सिम्पानीमा अगुवा कार्यकर्ता भेला गरिएको र सो क्रमलाई निरन्तरता दिईएको समेत उनी बताउँछन् । नेपाली काँग्रेस सम्बद्ध भूतपूर्व सैनिक संघको संयोजनमा शनिबार बेसीसहरमा कार्यकर्ता भेला गरिएको बताईएको छ । जिल्ला तथा केन्द्रियतहका नेताहरुलाई उपस्थित गराएर नगर तथा गाउँपालिका स्तरीय आमसभा गर्ने, प्रचार–प्रसारकार्यलाई तिब्रता दिईने लगायतका कार्यक्रम बनाईने पार्टी सभापति पौडेल बताउँछन् ।

चुनावी मैदानमा उत्रिएका दुई गठवन्धनले आफ्ना चुनाव केन्द्रित कार्यक्रम अघि बढाउँदै गर्दा लोकतान्त्रिक गठवन्धनको गति केहीमन्द देखिएको छ। वाम गठवन्धनका उम्मेदवार, नेता तथा कार्यकर्ताले निकै उत्साहजनक ढंगले कार्यक्रम अघि बढाएको देखिन्छ भने लोकतान्त्रिक गठवन्धन भने सदरमुकाम र सहरबजार केन्द्रित रही अप्रत्यक्ष तर मन्दगतिमा अघि बढेको देखिन्छ ।

 

 

प्रकाशित: १४ कार्तिक २०७४ ११:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App