८ वैशाख २०८१ शनिबार
अन्य

मोजो बुटिक होटल एन्ड रेस्टुरेन्ट

विगत ६ महिना अघिदेखि नयाँ बानेश्वर हाइटमा सञ्चालनमा आएको मोजो बुटिक होटलले छोटो समयमा नै चर्चा कमाउन सफल भएको छ । यसको श्रेय यहाँ कार्यरत कर्मचारी नै रहेको संचालकको भनाइ छ । यस होटलमा सम्पूर्ण सुविधायुक्त जम्मा ४ वटा कोठा छन् भने यहाँ रहेको सुन्दर बगैँचामा बसेर विभिन्न किसिमका खानाहरुको स्वाद लिन पनि सकिन्छ । यहाँ रहेको रेस्टुरेन्टमा विभिन्न किसिमका खानाहरु खान सकिन्छ भने नजिकै रहेको बारमा पनि विभिन्न किसिमका मदिराहरु स्वाद लिन सकिन्छ । करिब १२५ जना बस्न सकिने यस रेस्टुरेन्टमा साँझपख खानाको पारखीहरु आउने गर्दछन् । यसबाहेक यहाँ विभिन्न किसिमका शुभकार्यहरुको कार्यक्रम गर्न ब्याँकेट पनि सञ्चालन गरिएको छ । यहाँ पाइने विभिन्न किसिमका खानाहरु घरमा पनि बनाउन सकिन्छ । यहाँ कार्यरत सेफ विकास गौतमले ‘नागरिक परिवार’सँग खाना बनाउने विधि तथा तरिकाहरु यसरी सेयर गरे ।

सेफ परिचय
२९ वर्षीय विकास गौतमले अस्ट्रेलियामा २ वर्ष इटालियन, कन्टिनेन्टल तथा अन्यमा अध्ययन गरे । त्यसपछि त्यहीँ साढे ८ वर्ष कामको अनुभव लिएर नेपाल आए । यहाँ आएलगत्तै मोजो होटलमा हेड सेफका रुपमा कार्यरत छन् ।

 

 

डक पापादेली पास्ता
चाहिने सामग्रीहरु
चपडक (हाँसको चप)    १२० ग्राम
पास्ता    १०० ग्राम
टोमाटो प्यूरी    १०० एमएल
मिक्स्ड हब्स्  ३ ग्राम
तेजपत्ता    ३ वटा
मोजेरेला चिज (कञ्चनचिज) गार्नेसको लागि    ३० ग्राम
पारस्ले    आधामूठा
लसुन    १ टुक्रा
ओलिभको तेल    ५० एमएल
बनाउने विधि
पास्तालाई उम्लेको पानीमा राखेर पकाउने । पाकेको पास्तालाई निकालेर चिसो पानीले पखाल्ने र भाँडामा राख्ने । तेललाई प्यानमा तताउने र तातेको तेलमा लसुनको लसुनको टुक्रालाई फुराउने र सानो टुक्रामा काटेको हाँसलाई फ्राई गर्ने । सस बनाउनलाई एउटा प्यानमा टोमाटो प्यूरी, मिक्स हर्बस्, पारस्ले, तेजपात हालेर मन्दी आँचमा अलिकति पानी राखेर २० देखि २५ मिनेटसम्म पकाउने । सस पाकेपछि सो प्यानमा उमालेको पास्टा राख्ने र चलाउने त्यसपछि चिजलाई माथिबाट टपिङ्ग गरेर प्लेटमा राखेर सर्भ गर्ने ।

प्राउन टेम्पुरा
चाहिने सामग्रीहरु
प्राउन ६ वटा
मैदा     २५० ग्राम
कर्नफ्लोर    १०० ग्राम
बेकिङ्ग सोडा    १० ग्राम
मरिच र नूनको धूलो    स्वादअनुसार
अण्डाको सेतो भाग    १ वटा
पानी    २०० एमएल
बनाउने विधि
एउटा बाउलमा मैदा, बेकिङ पाउडर, कर्नफ्लोर, अण्डा र पानी राखेर मिक्स गर्ने र बार्टर बनाउने र एउटा प्लेटमा अलिकति मैदा राख्ने र प्राउनको दुवै भागमा दल्ने वा डस्टिङ गर्ने । एउटा एउटा प्राउनलाई बार्टर (अघि बनाएको मैदाको लेदो) मा चोप्ने र डिप फ्राई गर्ने । प्राउन गोल्डेन कलरको भएपछि निकालेर प्लेटमा राखेर सर्भ गर्ने र सर्भ गर्दा चप गरेको गोलभेडा, प्याज र पास्ले राखेर सजाउने ।

चिकेन सिख कबाब
चाहिने सामग्रीहरु
बोनलेस चिकेन     ५०० ग्राम
हरियो धनियाँ    १ कली
हरियो खुर्सानी    १ वटा
जीरा र धनियाँको धूलो    १–१चम्चा
रोहिनी मिर्च    अलिकति
अदुवा र लसुनको पेस्ट    १–१ चम्चा
नून    स्वाद अनुसार
काँक्रो, टोमाटो (गार्नेसिङ्गको लागि)    केही पिस
बटर     अलिकति
बनाउने तरिका
बोनलेस चिकेनलाई किमा बनाउने । हरियो धनियाँ, हरियो खुर्सानीलाई मसिनो गरी चप गर्ने । एउटा बाउलमा माथि दिएको चिकेनको किमा, चप धनियाँ, हरियो खुर्सानी र सबै मसलाहरु राखेर राम्रोसँग मोल्ने । त्यसपछि किमालाई सिक वा सुइरोमा बुन्ने र माथिबाट बटर लगाउने । सिइरोमा बुनेको कबाबलाई ओभन अथवा आगोको भट्टीमा नर्मल हिटमा ३० मिनेट राखेर पकाउने । पाकेको कबाबलाई सिइरोबाट निकालेर मेडियम साईजमा काट्ने र प्लेटमा राखेर सर्भ गर्ने । काँक्रो, गोलभेडा, गाँजर राखेर सजाएर सर्भ गर्न सकिन्छ ।

चिकेन तन्दुरी
चाहिने सामग्रीहरु
सिङ्गो चिकेन    ९०० ग्राम
अमिलो दही    आधा लिटर
जीरा र धनियाँको धूलो    १–१ चम्चा
रोहिनी मिर्च    १ चम्चा
कस्तुरी मेथीको धूलो     १ चम्चा
चाट मसला    १ चम्चा
कागती    १ वटा
नून    स्वाद अनुसार
खान हुने रातो कलर    १ चिम्टी

बनाउने विधि
दहीमा भएको पानीलाई निकाल्न सफा कपडामा बेरेर ३० मिनेटसम्म झुण्ड्याएर राख्ने । एउटा बाउलमा दही राख्ने र सबै मसलालाई दहीमा कागतीको रस राखेर मिक्स गर्ने । त्यसपछि चिकेनलाई चारैतिरबाट चक्कुले आधा आधा चिरा हुने गरेर काट्ने ताकि मसला मासुको भित्रसम्म जान्छ र मिक्स मसलालाई चिकेनमाथि मोलेर ३० मिनेटसम्म म्यारिनेट गर्ने । सिक मा वा सुइरोमा म्यारिनेट गरेको चिकेनलाई उनेर आगोको भट्टीमा २० देखि २५ मिनेटसम्म पकाउने । भट्टी नभएको खण्डमा माइक्रोओभनमा ४५ मिनेटसम्म पकाउने । प्लेटमा सर्भ गर्दा पुदिनाको अचार, कागती, गाजर तथा मूलाको टुक्रासँग सर्भ गर्न सकिन्छ ।

पोर्क चपलो इन
चाहिने सामग्रीहरु
पोर्क चप    १ वटा
उसिनेको आलु    २ वटा
काउली, गाजर, सिमी    २० ग्राम
क्रिम    ५ एमएल
लसुन (चप गर्नलाई)    १ वटा
मरिचको धूलो र नून    स्वाद अनुसार
रेडवाइन    १० एमएल
बटर    १५ ग्राम
पिठो    ३ ग्राम

पकाउने तरिका
उसिनेको आलुलाई करेसो मा कोरेर बाउलमा राख्ने । कोरेको आलुलाई क्रिम, मरिचको धूलो, नून र बटर राखेर मुछ्ने र मास्ड पोटाटो (पिसिएको आलु) तयार हुन्छ । त्यसपछि एउटा प्यानमा अलिकति तेल, चप लसुन, मरिच र नून राखेर प्यानमा पोर्क चप राखेर म्यारिनेट गर्न मन्द आँचमा एक साइडलाई ५ मिनेटसम्म पकाउने । त्यसपछि पोर्क चपको अर्को भागलाई ३ मिनेटसम्म पकाउने र २ मिनेट प्यानलाई बिर्कोले छोपेर २ मिनेट पकाउने । केहीबेर छोपेर राख्ने । तातेको प्यानमा बटर राख्ने र चप लसुनलाई फुराउने र काउली, गाँजर, सिमी राखेर क्रन्ची हुने गरी पकाउने । रेड वाइनको सस बनाउन बटर र ३ ग्राम पिठोलाई प्यानमा ३० सेकेन्डसम्म पकाउने र रेड वाइन राख्ने । त्यसपछि नून र मरिचको धूलो राखेर चलाउने र रेड वाइन सस तयार भएपछि एउटा प्लेटमा मास्ड पोटाटो, क्रन्ची तरकारी राख्ने र माथि पोर्क चप राख्ने । त्यसपछि रेड वाइनलाई माथिबाट पोर्क चपमाथि खन्याउने । पोर्क चप खान तयार हुन्छ ।

टोमाटो ब्रुसाटा
चाहिने सामग्रीहरु
पाउरोटी    २ पिस
ओलिभको तेल    ५ एमएल
बटर    २ ग्राम
गोलभेडा    ४ पिस
सुख्खा प्याज    १ पिस
पास्र्ले     १ रेसा
लसुन    आधाटुक्रा
नून    स्वादअनुसार
पकाउने तरिका
पाउरोटीको दुवै साइडमा बटर लगाएर टोस्टरमा क्रिस्पी हुने गरी टोस्ट गर्ने । एउटा बाउलमा ड्यास गरी काटेको गोलभेडा र प्याज, लसुन राख्ने । ओलिभ तेल र नून राखेर मिक्स बनाउने । पाउरोटीलाई कुनाबाट काट्ने र माथि बनाएको मिक्स राख्ने र पातलो स्लाइसमा काटेको चिजलाई पाउरोटीको माथि राखेर र प्लेटमा सर्भ गर्ने । सर्भ गर्दा आफूलाई मन लागेका स्लाइस रुपमा काटेको गाँजर, मुला, सलाद पत्तासँग राखेर गार्नेस गर्ने ।

ककटेल बनाउने विधि
रेडआई ककटेल

चाहिने सामग्रीहरु
बियर     १ क्यान
भोडका    ३० एमएल
टोमाटो जुस    १० एमएल
अण्डा    १ वटा
बनाउने विधि
एउटा ठूलो ग्लासमा ३० एमएल भोडका हाल्ने । त्यसमाथि बियर हाल्ने र माथिको भागमा टोमाटो जुस राख्ने । त्यसपछि एउटा काँचो अण्डा हाल्ने । ककटेल तयार हुन्छ र सर्भ गर्नलाई स्ट्र राखेर सर्भ गर्ने ।

डे ब्रिज
चाहिने सामग्रीहरु
आइस क्युब    १० टुक्रा
भोडका    ४० एमएल
क्यानबेरी जुस    ९० एमएल
पाइनापल जुस    ९० एमएल
कागती वेज वा स्लाइस कागती    १ पिस
बनाउने विधि
एउटा गिलासमा सबै आइस क्युब राख्ने । त्यसपछि भोडका राख्ने र दुवै जुस माथिबाट बिस्तारै खन्याउने । त्यसपछि कागतीको वेज राख्ने र स्ट्र राखेर सर्भ गर्ने ।

शब्द/ तस्बिर : रुकेश श्रेष्ठ

 

प्रकाशित: १४ कार्तिक २०७४ ०९:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App