६ वैशाख २०८१ बिहीबार
राजनीति

फोरम लोकतान्त्रिकले तत्काल सरकार नछाड्ने

काठमाडौं- मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका केही नेताले सरकार छाड्ने बताइरहेका बेला पार्टी केन्द्रीय समितिले भने तत्काल सरकारबाट नहट्ने निर्णय गरेको छ।

आइतबार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष विजयकुमार गच्छदारले उक्त जानकारी दिएका हुन्। एक उपप्रधानमन्त्रीसहित एक मन्त्री र एक राज्यमन्त्रीको जिम्मेवारी पाएको लोकतान्त्रिकले वर्तमान सरकारबाट तत्काल नहट्ने निर्णय गरे पनि देशमा व्याप्त राजनीतिक समस्या समाधानका लागि राष्ट्रिय सहमतिको सरकारको आवश्यकतामा जोड दिएको छ।

गच्छदारले भने, 'राष्ट्रिय सहमतिको सरकार नबनुन्जेल वर्तमान गठबन्धन सरकारको औचित्य कायमै छ।'

देवले उपाध्यक्षको जिम्मेवारी पाएनन्

वर्तमान गठबन्धनको सरकारबाट पार्टी अलग हुनुपर्छ भन्ने धारणा राख्दै आएका निवर्तमान उपाध्यक्ष जितेन्द्रनारायण देवले नवगठित पदाधिकारी मनोनयन हुँदा उक्त जिम्मेवारी पाएनन्।

गत वैशाख २०, २१, २२ र २३ गते विराटनगरमा प्रथम अधिवेशनपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले चार उपाध्यक्ष मनोनयन गर्दा देव पर्न सकेनन्। आइतबार घोषणा गरिएका पदाधिकारीमध्ये चार उपाध्यक्षमा रामेश्वर राय यादव, नसिर सिद्दिकी, आशा चतुर्वेदी र रामजनम चौधरी छन्। त्यस्तै, महामन्त्रीमा भारतेन्दुकुमार मल्लिक र सहमहामन्त्रीद्वयमा चन्द्रेश्वर शर्मा खत्वे र हरिप्रसाद न्यौपाने ल्याइएका छन्। ४२ सदस्य महाधिवेशनबाट निर्वाचित लोकतान्त्रिकले आइतबार थप ८२ सदस्यलाई केन्द्रीय समितिमा ल्याएको छ।

प्रकाशित: ६ असार २०७३ ०२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App