७ वैशाख २०८१ शुक्रबार
अन्य

नेपालीले पुग्नैपर्ने नेपाली थलो

जीवनप्रसाद राई
कृषि पर्यटन अभियन्ता तथा लेखक
२०६७ सालदेखि कृषि पर्यटन अभियान लिएर देशाटनमा निस्केको म अहिलेको ७७ जिल्लामध्ये ७५ जिल्ला भ्रमण पूरा गरिसकेको छु । यसरी घुम्दा मैले कृषिको सम्भावनाको वकालत मात्र गरिन, देशलाई नै समुन्नत बनाउने विषयको पहिचानसमेत गरेको छु । तिनलाई मिडियाम तथा पुस्तकमार्फत पस्किरहेको छु ।
नेपालमा आन्तरिक पर्यटनका लागि कैयौँ स्थान छन् । ती स्थानमा प्रत्येक घुमक्कड नेपाली पुग्न सके, आन्तरिक पर्यटनमा ठूलो योगदान पुग्नेछ । यसले अन्ततः अन्तराष्ट्रिय पर्यटकहरु पनि आकर्षित हुनेछन् । यस्ले नेपाली कृषि बस्तुको प्रबद्र्धनमा महत्वपूर्ण योगदान पनि पुग्नेछ । यहाँ मैले काठमाडौँ नजिकका घुम्ने ठाउँबारेमा लेखिरहेको छैन र नेपालको ७५ वटै जिल्लाको बारेमा पनि लेखिरहेको छैन । नेपालकै उत्कृष्ट मध्येको उत्कृष्ट ठाउँहरुका बारेमा वर्णन गरिरहेको छु ।
इलामको कन्याम
इलामको बारेमा नसुन्ने कोही नेपाली छैनन् । इलामका बारेमा म कर्णालीमा हुँदासमेत सुनेको छु । जोसुकै नेपालीहरु पनि इलाम जान लालायित हुने गर्दछन् । इलामको सबभन्दा आकर्षक घुम्ने ठाउँ नै कन्यामको चिया बगान हो । यो ठाउँ पुग्न झापाको बिर्तामोडबाट उकालो प्रस्थान गर्नु पर्दछ । यस ठाउँले धेरै नेपाली र विदेशीलाई समेत मोहित पारेको छ भने इलामेलीलाई आम्दानीको बाटो भएको छ । डाँडामा रोपिएको चिया र यस बीचमा बनेको सडकका कारणले मानिसहरुलाई सजिलै यातायात पहुँचमा पनि पु¥याएको छ । यही कारणले नै नेपालमा बढी आन्तरिक पर्यटक घुम्न आउँछन् र त्यही अनुसारको अहिले इलामले भौतिक पूर्वाधार पनि तयारी गरेको छ ।
धनकुटाको राजारानी
पर्यटकीय क्षेत्र भेडेटारदेखि नजिकै पर्ने धनकुटाको राजारानी निकै ओझेलमा परेको क्षेत्र हो तर पछिल्लो समयमा यहाँ पर्यटक आकर्षण गर्न गरिएका लगानी निश्चय नै राम्रो छ । यहाँ रानी ताल पहिलेदेखि नै अस्तित्वमा छ भने अहिले राजा ताल पनि बनाउने प्रयत्न भैरहेको छ । भएको रानी तालमा टावरदेखि डुंगामा सवार गर्नेसम्मका सुविधा छन् । त्यस्तै चिसो पानीमा माछा पालेर पर्यटनलाई आकर्षित गर्ने प्रयास गरिएको छ । यो क्षेत्रमा ढुंगामा विभिन्न मूर्तिहरु बनाए पर्यटकलाई आकर्षित गर्न खोजिएको छ ।
तेह्रथुम तीनजुरे मिल्के
यो तीनजुरे मिल्के क्षेत्र धनकुटा, तेह्रथुम, संखुवासभा र ताप्लेजुङ्ग गरी चार वटा जिल्लामा फैलिएको छ । यो क्षेत्रमा २८ प्रजातिका गुराँस फुल्छन् । यसैले यस क्षेत्रलाई गुराँसको राजधानी भनेर पनि चिनिन्छ । नेपालमा कहीँ पनि यस्तो प्रकारले फैलिएको गुराँसको जंगल पाइँदैन । यही कारणले गर्दा यो ठाउँ अहिले नयाँ वर्ष मनाउने गन्तव्यका रुपमा उदाएको छ । नयाँ वर्ष लाग्नै लाग्दा जसै गराँसे वनका फूलहरु ढकमक्क फुल्छन्, पिकनिकमा रमाउन आएकाहरुको वनभोज भन्दा पनि मनभोज रमाइलो बन्न पुग्छ ।
यसै कारणले पनि यो ठाउँ प्रत्येक नेपालीले यात्रा गर्नैपर्ने ठाउँका रुपमा लिन सकिन्छ । तर यहाँ सबैभन्दा घुम्नलाई उपयुक्त समय भनेको माघ महिनादेखि लिएर जेठसम्म हो । यो ठाउँमा पुग्न धरानबाट धनकुटा, हिले बजार सिंधुवा बजार छिचोल्दै पुग्न सकिन्छ ।
रसुवा चिलिमे
२०२४ सालमा एसएलसीमा बोर्ड प्रथम भएका डा. डम्बर नेपालीको अवधारणामा स्थापित चिलिमे विद्युत गृह सबै नेपालीले हेर्नैपर्ने परियोजना हो । यो नेपाली लगानी, नेपाली अवधारणा तथा नेपाली इन्जिनियरहरुद्वारा सर्वप्रथम तयार गरिएको र धेरै निर्माण सामग्री नेपाली नै प्रयोग गरिएको हुनाले पनि यसलाई आफ्नोपनको रुपमा लिइएको छ । त्यसैले पनि यस परियोजना आफ्ना सन्तानलाई घुमाउनै पर्ने सूचीमा राख्नु आवश्यक छ । घुम्ने मात्र होइन, गर्व गर्ने सूचीमा समेत यस परियोजनालाई राख्नुपर्छ । यहाँसम्म पुग्न काठमाडौँबाट पासाङल्हामु राजमार्ग भएर ककनी, त्रिशुली, रसुवाको सदरमुकाम धुन्चे हुँदै यो ठाँउमा पुग्न सकिन्छ ।
कास्कीको भुर्जुङ्ग खोला
पर्यटकीय नगरी पोखराबाट बगर हुँदै १६ किमीको दुरीमा पुग्न सकिने यो ठाउँ विशेष गरी कृषि पर्यटनका लागि नै हो । यहाँ जानुको मजा के भने साना नानीहरु लिएर जाँदा त्यहाँ माछा मारेर बच्चाहरुले रमाइलो गर्ने र रेन्बो ट्राउट माछाहरु समातेको समेत नजिकबाट देख्न पाइन्छ । यहाँ आफ्ना बालबालिकाले माछा मारिरहेका बेला अभिभावकले आफ्नो इच्छा अनुसारको पेय वस्तु तथा खानेकुरा पनि खान सकिन्छ । यो ठाउँमा माछाको अतिरिक्त बस्ने, खाने, पिउने लगायतको समेत व्यवस्था गरिएको छ । पोखरा घुम्दा यो ठाउँ पनि नछुटाउँदा राम्रो हुन्छ ।
म्याग्दीको नागी
यो ठाउँ विदेशीहरुका लागि पदमार्गको बाटोका रुपमा प्रयोगमा आएको धेरै भएको छ तर नागीसम्मको यात्रा गर्न मोटर बाटोसमेत छ । अन्तर्राष्ट्रिय रुपमै चर्चित व्यक्तित्व महावीर पुनको यो गाउँमा उनले वायरलेस इन्टरनेटको विस्तार गरेर मेगासेसे पुरस्कारसमेत पाएका थिए । यो गाउँमा सञ्चालित हिमालय माविको पढाइको उत्कृष्टता नमूना मान्न सकिन्छ । यहाँ स्कुलले नै तरकारी खेती, खरायो पालन, माछा पालन, हाते कागजको उद्योग सञ्चालन गरेको छ । यस किसिमको व्यवहारिक शिक्षा नेपालका अन्य ठाउँमा विरलै देख्न सकिन्छ । यहाँ एउटा राम्रो गेस्ट हाउससमेत सञ्चालित छ, जहाँ एक रात बास बसेको रकम विद्यालयलाई जाने गरेको छ । यहाँसम्म पुग्नका लागि बेनी बजारबाट जीप रिजर्भमा लान सकिन्छ वा हिँडेरसमेत जान सकिन्छ । बाटोमा फलामखानी पर्छ । खानी वरपरबाट छेउछाउका दृश्य अति नै मनमोहक देखिन्छ । यही भएर नै एकजना विदेशीले ठट्यौलो पारामा भनेको सुनेँ, ‘बेनीमा बस्दा मुसाको दुलो जस्तो लाग्ने, फलामखानी आएपछि त पर्दा खुलेजस्तो छ्याङ्ग हुने । झन् नागी पुगेपछि त नाङ्गै भएको महसुस हुँदोरहेछ ।’
मुस्ताङको जोमसोम
पछिल्लो समय नेपालमा धेरै नेपालीको रोजाइमा मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोम पर्ने गरेको छ । यो जिल्ला धार्मिक रुपमा परिचित मुक्तिनाथ यात्राले पनि पाका मानिसहरु जान रुचाउँछन् । बुढीगण्डकीको सेरोफेरो निकै नै आकर्षक छ । यहाँ स्याउको बगैँचा हेर्न पाउनुका साथै प्रकृतिको मनोरम दृश्य अनि हिमालपारिको जिल्लाको रुपमा परिचित एकपटक पुग्नैपर्ने र घुम्नैपर्ने जिल्ला हो । यहाँको विशेषता भन्नु नै नजिकै हिमाल ठोक्किएलाजस्तो लाग्नु हो ।
पाल्पाको मदनपोखरा
जीवनमा एकपटक घुम्नैपर्ने ठाउँको रुपमा मदनपोखरा पाल्पा पनि हो । यहाँ थोरै लगानीमा बनाइएका आकर्षक घरले पनि लोभ्याउनेछ । यो ठाउँमा नेपालमै पहिलोपल्ट कफी खेती गरिएको थियो तर अचेल तरकारीको पकेट क्षेत्रका रुपमा ख्यातिप्राप्त छ । यहाँ उत्पादन भएका तरकारी बुटवल क्षेत्रका बासिन्दाको भान्सामा पाक्छ । यो ठाउँ गिद्ध संरक्षकका रुपमा समेत चर्चित छ । त्यस्तै यहाँका महिलाले चलाएको सामूहिक होम स्टे पनि हेर्न लायक चिज हो । यहाँको उपत्यका र प्राकृतिक दृश्य अनि मानिसले बनाएका साना भए पनि महत्वपूर्ण कुराहरु धेरैका लागि शिक्षाप्रद हुनसक्छ ।
बर्दियाको डल्ला होम स्टे
बर्दियास्थित डल्ला होम स्टेको चर्चा एक समय निकै चुलिएको थियो किनभने बेलायती राजकुमार ह्यारीको नेपाल भ्रमणका क्रममा यहीँ बसेका थिए । कर्णाली चिसापानी नजिकैको यो ठाउँ गर्मीमा पनि चिसो हुनाले मनमोहक बन्न पुगेको हो । यसैगरी यहाँ नेपालका चर्चित फिल्म सेलिब्रेटी पनि बेला बेलामा बस्ने गरेकाले यसको लोकप्रियता आँक्न सकिन्छ । यहाँ परम्परागत रुपमा बनाइएको थारु संस्कृति र चाल चलन अनुसारको थारु खाना, नाचगान लगायतका प्रस्तुतिले पर्यटकलाई मुग्ध बनाउँछन् । यहाँबाट नजिकैको बर्दिया राष्ट्रिय निकुञ्ज पनि अवलोकन गर्न सकिन्छ ।
कैलालीको घोडाघोडी ताल र एयरक्राफ्ट म्युजियम
सुन्दर सुदूरपश्चिमको गेटका रुपमा परिचित कैलाली नेपालकै सुन्दर जिल्ला हो । कर्णाली चिसापानीको आकर्षक पुल पार गर्नेबित्तिकै आउने यो जिल्ला सुदूरपश्चिमकै केन्द्र हो । यो प्राकृतिक रुपले र मानव निर्मित भौतिक पूर्वाधारका कारण पनि महत्वपूर्ण ठाउँ हो । यहाँको घोडाघोडी ताल पूर्वपश्चिम राजमार्गकै छेउमा रहेको छ । यो विविधतायुक्त ताल हो । यो तालले नेपालीजनलाई आकर्षण गर्ने धेरै सम्भावना भए पनि यसको उति धेरै प्रचारप्रसार भएको देखिँदैन । तर यो घुम्नैपर्ने मध्येको एक महत्वपूर्ण ठाउँ हो । यस तालको विशेषता भन्नु नै प्राकृतिक विविधता हो । त्यस्तै क्याप्टेन वेद उप्रेतीले स्थापना गरेको एयरक्राफ्ट म्युजियम पनि कैलालीको सदरमुकाम धनगढीमा अवस्थित अर्को आकर्षण हो । यस म्युजियममा छिर्न बालबालिका एकदमै रमाउँछन् ।  म्युजियमभित्र मःम, कफी र चियाको समेत व्यवस्था छ भने यहाँ हवाई जहाज कसरी उडाउने भन्ने भिडियो देखाइन्छ ।
मुगुको रारा
कर्णालीको मात्रै नभएर सिंगो नेपालकै आकर्षणको केन्द्रको रुपमा रहेको यो ठाउँमा हाल सडक मार्ग पुगेकाले धेरै नेपाली यो क्षेत्रमा जान चाहन्छन् । महेन्द्रले समेत ‘रारा कि अप्सरा’ भनी कवितामै उल्लेख गरेर यो ठाउँलाई अमर बनाइसकेका छन् । महेन्द्रका बेला एकमात्रै विकल्प हवाई यातायात थियो तर अहिले समय परिवर्तन भएको छ र सडक यातायातबाटै यहाँसम्म पुग्न सकिन्छ । सरदर ५ किमी लम्बाई र ३ किमी चौडाई भएको यो ताल नेपालकै गौरव हो । वरपर जंगलै जंगलले घेरिएको र बीच भागमा अवस्थित उच्च क्षेत्रमा यसरी धेरै क्षेत्रमा फैलिएको ताल, समयअनुसार रङ फेर्ने हुनाले पनि अद्भूत बन्न पुगेको हो । यहाँको भ्यु टावरमा उक्लेर घण्टौँ रारा ताल हेर्नुको मजा वर्णन गरेर साध्य छैन । यहाँ आइसकेपछि जति फोटो खिचे पनि कमै खिचेको महसुसस हुन्छ । यो क्षेत्र जीवनमा एकपल्ट भ्रमण गर्नैपर्ने सूचीमा एक नम्बरमा राख्न सकिन्छ ।
हुम्लाको सिमकोट
आम नेपालीले सिमकोट भ्रमण गर्न एकमात्रै विकल्प  नेपालगंज वा सुर्खेतबाट हवाई यात्रा हो । यहाँ सडक सञ्जाल पुग्न वर्षौं लाग्ने देखिन्छ । तर नेपालीहरुले पनि धेरै जना मिलेर प्लेन रिजर्भ गर्न सकिन्छ । यो हुम्लाको सदरमुकाम हो । नेपालकै उच्च स्थानमा अवस्थित सदरमुकाम पनि हो सिमकोट । यहाँ बहुपति प्रथा जीवितै रहेको ठाउँ हो । पछिल्लो पुस्ताले भने यो प्रथालाई छोडदै गएको देखिन्छ । पुरानो पुस्ताले परम्परा जोगाउनु पर्ने कुरामा जोड दिइरहेको देखिन्छ । पछिल्लो समयमा नेपालमा छोरीहरुको संख्या तीव्र गतिमा घट्दै गइरहेको अवस्थामा यो परम्परा एक हिसाबले सही रहेको समाजशास्त्री डा. कृष्ण भट्टचनले कहिलेकाहीँ बताउनु हुन्छ । यहाँबाट बुराँउसे भन्ने ठाउँमा करिब १ घण्टामा हिडेर पुगिन्छ, जहाँ होम स्टे अनि बाटोमा संरक्षित डालेचुकको जंगल पनि देख्न पाइन्छ ।
जुम्लाको गुठीचौर
जुम्लाको गुठीचौर नेपालको विरलै सौन्दर्य पाइने स्थलमध्येको एक हो । यहाँ सरकारी तवरबाटै भेडाहरु पालिएको छ । पञ्चायत कालमै स्थापना भएको यो भेडापालन केन्द्र नेपालकै आकर्षणको केन्द्र हो । जुम्ला सदरमुकामबाट हिँडेर ४ घण्टाको बाटोमा र गाडीमा २ घण्टामै पुग्न सकिने यो क्षेत्र प्राकृतिक दृष्टिले भरिपूर्ण छ । यहाँ जंगलबाट बगेर आउने पानी कहिल्यै धमिलो हुँदैन । विभिन्न खालका आकर्षक फूल फुलेको, भेडा, घोडा, गाई भैँसी चरेको सुन्दर दृश्य यहाँ देख्न सकिन्छ । वरपर जंगल र सुक्खा  डाँडाहरु देखिने यो ठाउँ नेपालकै प्रख्यात ठाउँ हो । यहाँ जाँदा स्थानीयसँग कच्चा खाद्यपदार्थ किन्ने र आफैँले खाने गरी जाँदा रमाइलो हुन्छ ।
बैतडीको मेलौली
सुदुरपश्चिमको यो ठाउँले धार्मिक रुपमा महत्वपूर्ण स्थान राख्दछ तर यहाँको महत्वपूर्ण धार्मिक स्थलहरुको बारेमा प्रचार गरेर आन्तरिक र बाह्य पर्यटक भिœयाउने पहल गर्नुपर्ने हो, सो पाइँदैन । मेलौली देवकी प्रथा रहेकाले पनि चर्चित ठाउँ हो । बैतडीबासीहरु देवकी प्रथाको कुरा गर्ने बित्तिकै यसबारे सुन्न चाहन्नन । यसो हुनुको कारण यसबारे चलेको नकारात्मक हल्ला हो । देवकी प्रथा नेपालमा विशुद्ध, राम्रो मनसाय र राम्रो आस्थाले स्थापना गरिएको थियो । पछि अपराधी मनोवृत्तिका मानिसहरुका कारण बदनाम भएको हो । यसको इतिहास केलाएर हेर्ने हो भने यसले नेपालीलाई धेरै राम्रा कुराहरु दिनेछ । प्रकृतिको हिसाबले यो ठाउँ आकर्षक अनि व्यवस्थित भगवती मन्दिर भएको र हेरौँहेरौँ लाग्ने ठाउँहरु रहेकाले पनि यो ठाउँलाई आम नेपालीले जीवनमा एकपटक हेर्नै पर्ने ठाउँको रुपमा लिन सकिन्छ ।
अछामको रामारोशन
बाँकेको कोहलपुर र कैलालीको अत्तरियाबाट जान सकिने अछामको रामारोशन जीवनमा दुई तीन पटक घुम्नै पर्ने ठाउँ हो । यो ठाउँको विशेषता भन्नु नै धेरै तालहरु हुनु र यहाँ सबैभन्दा ठूलो ताल वरपर घुम्न दुई घण्टा भन्दा बढी समय लाग्नु हो । कालिकोट जिल्ला मुन्तिर रहेको यो ठाउँमा सुन्दर जंगलबाट बग्ने कल्कलाउदो पानीको कारणले पनि सबैलाई उतिकै मोहित गर्दछ । खासमा घना जंगल भएकाले पनि र प्राकृतिक दृश्यवलोकनका लागि यो एकदमै राम्रो गन्तव्य हो । यहाँ पाइने असला माछा सबैभन्दा स्वादिलो छ भने यहाँका जडिबुटी तथा रैथाने बालीहरुको स्वाद पनि अनुपम छ ।
बाजुराको कोल्टी
सुन्दर प्राकृतिक बनावट हेर्नका लागि जानैपर्ने अर्को स्थान बाजुराको कोल्टी पनि हो । हिमाल मुनिको पान्डुसेन अनि त्यो भन्दापनि मुनि अवस्थित कोल्टी अद्भूत प्राकृतिक छटायुक्त स्थल हो । कोल्टीभन्दा मुनि बग्ने कर्णाली नदीको सौन्दर्य र नदीमा पाइने माछा जीवनमा एकपटक स्वाद लिनैपर्ने परिकार हो । कोल्टीमाथि रहेको डाँडाले धेरैलाई मोहित मात्र होइन अत्याउँछ पनि । यहाँ खासगरी जंगली जैतुनका कारण पनि विश्वकै मानिसहरुको ध्यान तान्न सकिनेछ तर यसका लागि भौतिक पूर्वाधार पनि उत्तिकै हुनु आवश्यक छ ।

 

प्रकाशित: १४ कार्तिक २०७४ ०८:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App