coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कमाउँदै पढ्छन् विद्यार्थी

कुखुरा फर्ममा काम गर्दै वीरेन्द्रनगरका लक्ष्मण वली र विद्यापुरका तिलक सुवेदी। तस्बिरः नगेन्द्र

सुर्खेत – १८ महिने कृषि जेटिए अध्ययनका लागि एक वर्षअघि बराहताल गाउँपालिकाको बड्डीचौरस्थित जनज्योति मावि पुगेका वीरेन्द्रनगरका लक्ष्मण वली अहिले व्यावसायिक कृषक बनेका छन् । प्राविधिक विषय भएकाले अध्ययनलाई व्यवहारमा उतार्ने निधो गरेका उनी अध्ययनसँगै कृषि कर्ममा व्यस्त छन्। 

वलीले आफूसँगै अध्ययनरत विद्यापुरका तिलक सुवेदी र आशिष कँडेलसँग मिलेर कृषि कर्म सुरु गरेका थिए । ‘अहिले महिनामा खर्च कटाएर कम्तिमा ५० हजार रुपैयाँ बचत गर्दै आएका छौं,’ वलीले भने, ‘यसका साथै पढाई र प्राक्टिकल सँगसँगै अघि बढिरहेको छ।’

१८ महिने कृषि जेटिए अध्ययनका लागि ५० हजार स्कुल फी लाग्छ । विद्यालयले कृषि विषय अध्ययन गर्न आउनेलाई अनिवार्य कृषि कर्ममा लाग्नुपर्ने नियम बनाएको छ । कृषि व्यवसायका लागि आवश्यक ऋण पनि विद्यालयले उपलब्ध गराउँछ । ‘हामी त पढ्नका लागि मात्रै आएका थियौं, स्कुलले बिनाब्याज ऋण दिएर कृषि व्यवसायमा लगाउँदो रहेछ,’ तिलक सुवेदीले भने, ‘पढ्न आएका विद्यार्थी कमाएर पनि घर पठाउन सक्ने भएका छौं।’

स्कुल नजिकैको जमिन भाडामा लिएर उनीहरुले च्याउ, तरकारी, माछापालन, बंगुलपालन, कुखुरापालन गर्दै आएका छन् । करेसाबारीमा बेमौसमी तरकारी फलेका छन्। अध्यारो कोठामा च्याउखेती छ । नजिकैको फोखरीमा माछापालन गरिएको छ । पोखरीमाथि बंगुरको खोर छ।

‘तीन जनाले डेढ लाख र विद्यालयबाट ३५ हजार रुपैयाँ ऋण लिएर सुरु गरेको व्यवसायले एक वर्षमै आठ लाख रुपैयाँभन्दा बढी आम्दानी दियो,’ सुवेदीले भने, ‘पढाई र पकेट खर्च मात्रै होइन्, पैसा बचाएर घरमा पनि पठाउने गरेका छौं ।’ तीनैजनाको घरमा प्रसस्त पुख्र्यौली जमिन छ । १८ महिने कृषि जेटिए सकाएपछि उनीहरु फुख्र्यौली थलो फर्कने छन् । ‘सुरुमा आउँदा पढेर जागिर खाने सोच थियो, अब जागिर खाने होइन्, अरुलाई जागिर दिने अठोट लिएका छौं,’ आशिष कँडेलले भने, ‘गाउँको बाँझो जमिनको सदुपयोग गर्दै कृषि कर्ममा लाग्छौं।’

तनहुँकी ज्योति थापा जनज्योतिमै आइएस्सी एजीको अन्तिम वर्षमा अध्ययनरत छिन् । यो तीन वर्षको अवधिमा उनले किताबी ज्ञान मात्रै होइन, व्यवहारिक ज्ञान पनि संगालिन् । उनीसहित चारजनाले प्रगति कृषि समूह गठन गरेका छन् । सो समूहमार्फत तीन वर्षदेखि उनीहरु कृषिकर्ममा छन् । उनीहरु पनि पढाइ पूरा गरेपछि आफ्नै गाउँमा गएर कृषि व्यवसाय गर्ने तयारीमा छन् । ‘जागिर भनेको अर्काको पाउमा गएर गिर भन्नु हो, हामी त्यस्तो गर्दैनौं,’ ज्योतिले भनिन्, ‘घरको बाँझो जमिनलाई उर्वर बनाएर आत्मनिर्भरताको बाटोमा अघि बढ्छौं ।’

ज्योतिको समूहमा गढीकी सीता राडीमगर, बड्डीचौरकी डिलकुमारी डम्वरपाल र निशा गुरुङ छन् । तीन वर्षे कृषि जेटिए अध्ययनका लागि स्कुललाई एक लाख ८० हजार रुपैयाँ एकमुष्ट बुझाउनुपर्छ । ‘त्यो बाहेकको खर्च हामीले तरकारी र कुखुरा बेचेर जुटाउने गरेका छौं,’ निशा गुरुङले भनिन्, ‘पढ्दै, सिक्दै र आम्दानी गर्दै आएका छौं ।’ प्रगति कृषि समूहले पनि वार्षिक १० हजार रुपैयाँ भाडामा जमिन लगेको छ । जमिनभरी तरकारी खेती छ । नजिकैको घरमा कुखुरा फर्म छ । उनीहरुले दुई वर्षको अवधिमा कुखुरा बेचेरै तीन लाख रुपैयाँ आम्दानी गरेको सुनाए ।

‘कोठा भाडा, खाना र पकेट खर्च गरेर महिनामा आठ–दस हजार रुपैयाँ एकजनाको खर्च हुन्छ, यस्तो खर्चका लागि हामीले घर–परिवारको भर पर्नुपरेको छैन,’ ज्योति गुरुङले भनिन्, ‘सबै खर्च तरकारी खेती र कुखुरापालनको आम्दानीबाटै गर्दै आएका छौं।’ 

जनज्योति माविले १८ महिने, २९ महिने र तीन वर्षे कृषि जेटिए पढाउँदै आएको छ । तीनवटै प्राविधिकतर्फ तीन सय एकजना विद्यार्थी छन् । यीमध्ये ४० जना भूकम्प प्रभावित १४ जिल्लाका विद्यार्थी छन् । तीमध्येकी एक हुन्, धावा गोरखाका शोभित पोखरेल । आइएस्सी एजी पहिलो वर्षमा अध्ययन गर्दै गरेका उनलाई पढाइका साथै व्यक्तिगत खर्च कसरी जुटाउने भन्ने चिन्ता छैन । पढाइका साथै व्यक्तिगत खर्च जुटाउनका लागि उनले च्याउखेती र कुखुरापालन गरेका छन् । ‘व्यवसायका लागि विद्यालयले ऋण दिएको छ,’ पोखरेलले भने, ‘त्यसैबाट आम्दानी गरेर पढाइ र पकेट खर्च जुटाउने गरेका छौं ।’ 

विद्यालयले आइएस्सी एजीको तीनवर्षे कोर्स अवधिभर अध्ययनरत विद्यार्थीले न्यूनतम तीन लाख रुपैयाँ आम्दानी गर्नुपर्ने नियम बनाएको छ । त्यसका लागि विद्यालयले जमिन र ऋण उपलब्ध गराउँछ । भक्तपुरका निरञ्जन खत्रीले च्याउ र तरकारी खेती सुरु गरेका छन् । ‘हाम्रो विषय नै कृषि हो, कृषि बढेर मात्रै हुँदैन, त्यसलाई व्यवहारमा पनि उतार्नुपर्छ,’ उनले भने, ‘विद्यालयले जमिन र ऋण दिएको छ, हामीले आफूले पढेको विषयलाई व्यवहारमा लागू गर्नुका साथै आम्दानी पनि गरिरहेका छौं ।’ 
विद्यालयले तीनदेखि पाँच जनासम्मको समूह बनाएर कृषि कर्ममा लगाएको छ । ‘हाम्रो लक्ष्य विद्यार्थीलाई पढाइका साथै व्यवहारिक ज्ञान दिनु हो,’ विद्यालयका प्राचार्य नारायण सिग्देलले भने, ‘त्यसैका लागि प्राविधिक शिक्षा आर्जन गर्न आएका सबै विद्यार्थीलाई कृषि कर्ममा लगाएका छौं ।’ केही वर्षअघि विद्यालयले कृषि क्याम्पस स्थापनाका लागि बड्डीचौरमा महायज्ञ लगाएको थियो । सो महायज्ञमा स्थानीयले जमिनदेखि घरसम्म क्याम्पसका लागि दान गरेका थिए । विद्यालयले तिनै घर र जमिनलाई अहिले उपयोग गरिरहेको छ।

प्राचार्य सिग्देलका अनुसार विद्यार्थीको छुट्टाछुट्टै समूह बनाएर निब्र्याजी ऋण दिने गरिएको छ । त्यस्तो ऋण विद्यार्थीले गरेको व्यवसायबाट तिर्नुपर्छ । ‘अहिलेसम्म हामीले १५ लाख रुपैयाँ विद्यार्थीका लागि  ऋण लगानी गरेका छौं,’ उनले भने, ‘विद्यार्थीले जुन व्यवसाय गरिरहेका छन्, त्यसैबाट तिर्दै पनि आएका छन् ।’ विद्यालयले माछापालन, बंगुरपालन, मौरीपालन, बाख्रापालन, कुखुरापालन, तरकारी खेती, इँट्टा उद्योग सञ्चालन गर्दै आएको छ । ती सबैमा प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीले काम गरिरहेका छन्।

विद्यालयले १५ महिनेका लागि ३० हजार, १८ महिनेका लागि एक लाख र तीन वर्षेका लागि तीन लाख रुपैयाँ अनिवार्य कमाउनुपर्ने नियम बनाएको छ । ‘ऋणका साथै जमिन पनि हामीले उपलब्ध गराएका छौं,’ उनले भने, ‘कक्षा कोठामा सिकेका कुरालाई व्यवहारमा उतार्दै आम्दानी गर्नका लागि सीमा तोकिदिएका हौं।’

प्रकाशित: १४ कार्तिक २०७४ ०६:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App