६ वैशाख २०८१ बिहीबार
अन्य

जन्मकैद सजाय पाएका माओवादी नेता ढुंगेल पक्राउ

ज्यान मुद्दामा अदालतबाट सजाय पाएका माओवादी नेता ढुंगेललाई जिल्ला अदालत काठमाडौंमा पेस गरेर बाहिर निकालिँदै। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं—ज्यान मुद्दाका दोषी माओवादी नेता बालकृष्ण ढुंगेललाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले ढुंगेललाई पाटन क्षेत्रबाट पक्राउ गरेको हो।

पक्राउ गरेका ढुंगेललाई अदालतमा बुझाउने तयारी भइरहेको प्रहरी स्रोतले नागरिकन्युजलाई बतायो। 'अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो', प्रहरी स्रोतले भन्यो, 'अदालतमा बुझाउनुभन्दा अगाडि नै छुटाउ माओवादीको दवाब छ।'

२०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा माओवादी नेता ढुंगेललाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो। जिल्लाको फैसला पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो। फेरि २०६६ सालमा सर्वोच्चले जिल्ला अदालतको फैसला सदर गर्दै ढुंगेललाई दोषी ठहर गरेको थियो।

ढुंगेलमाथि अदालतले गरेको निर्णय कार्यानन्वयन नभएको भन्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध सर्वोच्च अदालतमा रिट परेको सन्दर्भमा प्रहरीले ढुंगेललाई पक्राउ गरेको हो।

ज्यान मुद्दामा दोषी ढुंगेललाई पक्राउ गर्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको भन्दै ७ कार्तिकमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रहरी महानिरीक्षक अर्यालविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। पक्राउ बारेन्ट नोटिस आदेश दिएको ६ महिना बितिसक्दा पनि प्रहरीले ढुंगेललाई नखोजी अदालतको मानहानि गरेको भन्दै आइजिपी अर्याललाईमाथि हदैसम्मको कारवाही माग गर्दै रिट परेको थियो। त्यसअघि सुशीला कार्की प्रधान न्यायाधीश हुँदा सर्वोच्चले एक हप्ताभित्र ढुंगेललाई पक्राउ गर्न बाध्यात्मक आदेश जारी गरेको थियो।

सर्वोच्चले २०७३ चैत ३१ मा ‘तुरुन्त पक्राउ गर्न आवश्यक देखिँदा पक्राउ गर्न आफू र मातहतका सम्पूर्ण प्रहरी संरचना परिचालन गरी प्रतिवादी बालकृष्ण ढुंगेललाई जहाँ भए पनि खोजतलास गरी सात दिनभित्र पक्राउ गरी सम्बन्धित कारागार कार्यालयमा जिम्मा लगाई यस अदालतमा पेस गर्नु’ भनी प्रहरी महानिरीक्षकका नाममा आदेश जारी गरेको थियो।

प्रहरीले खोजी गरे पनि नभेटिएको बताउँदै भेटिँनासाथ पक्राउ गरी बुझाउने लिखित जानकारी अदालतलाई दिएको थियो।

पछिल्लो समय ओखलढुंगाको चुनाबका लागि एमाले र माओवादीबीच भएको टिकट बाँडबाँड बैठकमा ढुंगेल सहभागी भएको तस्विर सार्वजनिक भएको थियो। काठमाडौंको एउटा पार्टी प्यालेसमा ज्याद मुद्दाका दोषी ढुंगेल र एमाले नेता यज्ञ सुनुवार सँगै बसेर छलफल गरिरहेको तस्विर सार्वजनिक भएको थियो। त्यही सन्दर्भमा बरिष्ठ अधिवक्ता त्रिपाठीले सर्वोच्चमा प्रहरी महानिरीक्षकविरुद्ध नामै किटान गरी हदैसम्मको कारवाही माग गर्दै रिट दायर गरेका थिए।

२०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा माओवादी नेता ढुंगेललाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो। जिल्लाको फैसला पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो। फेरि २०६६ सालमा सर्वोच्चले जिल्ला अदालतको फैसला सदर गर्दै ढुंगेललाई दोषी ठहर गरेको थियो।

प्रकाशित: १४ कार्तिक २०७४ ०६:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App