८ वैशाख २०८१ शनिबार
कला

‘लाइन’मा पहिलो बन्ने दौड

नाटक लाइन रिहर्सल गर्दै कलाकार । तस्बिर : नागरिक

काठमाडौं – आम नेपालीलाई समाजको जुनसुकै क्षेत्रमा पनि काम गर्दा पहिलो बन्नुपर्ने बानी नै छ । राजनीति, शिक्षा, स्वास्थ्य वा अन्य क्षेत्रमा सहकर्मी वा इष्टमित्रको कमजोर पक्षको पहिचान गर्दै त्यसको फाइदा लिएर आफू पहिलो बन्ने ध्यानमा मानिस लालयित छन् । यस्तै ‘पहिलो’ बन्न खोज्ने पाँच चरित्रको कथालाई प्रस्तुत गरिएको नाटक ‘लाइन’ राजधानीको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुँदैछ । नाटकका कलाकारहरू यतिबेला नाटकको रिहर्सल गरिरहेका छन्।

भारतको बैंङ्लोरस्थित क्राइष्ट युनिभर्सिटीमा थिएटर, मनोविज्ञान र साहित्यमा स्नातक र मनोविज्ञानमा नै स्नातकोत्तर गरेकी आकांक्षा कार्कीले अमेरिकी नाटक ‘लाइन’लाई नेपालीमा रूपान्तरण गर्दै यसको निर्देशन गरिरहेकी छन्। अमेरिकी नाटकको लेखन  इज्रेल होरोभित्ज गरेका हुन्। 

‘म भारतमा पढ्दा नै त्यहाँ यो नाटक हेरेको थिएँ । नाटक समसामयिक विषयको थियो । नेपाल फर्किएपछि नाटकमा देखाइएको विषय नेपाली समाजमा प्रत्यक्ष भोग्न पाएँ,’ रिहर्सलपछिको विश्राममा आकांक्षाले नागरिकसँग भनिन्, ‘नेपालमा जुनसुकै क्षेत्रमा पनि पहिलो बन्न खोज्ने प्रतिस्पर्धा तीब्र छ । त्यसका लागि मानिसले ढाँट्ने, छक्याउनेलगायतका जे पनि काम गर्न पछि पर्दैन । त्यस्तो व्यवहारले मलाई पनि असर गर्‍यो र केही हदसम्म छोयो । त्यसैले सापेक्षिक हुन्छ भन्ने लागेर मञ्चनका लागि रोजेकी हुँ ।’ भारतीय नाटकभन्दा पृथक शैलीमा आफूले नाटक बनाएको दाबी गर्दै उनले नाटकले राजनीतिलगायतका समाजका कुनै पनि क्षेत्रलाई लक्षित नगरे पनि दर्शकले त्यसको मूल्यांकन आफैं गर्ने बताइन्।

आकांक्षाले आम मानिसमा कुनै पनि काम गर्दा हुने आशक्ति र त्यसलाई प्राप्त गर्ने अनेक गल्ती पनि सही ठान्ने प्रवृत्तिलाई नाटकमा प्रमुख रूपमा देखाउन खोजिएको बताइन् । ‘नाटकको कथा सामान्य भए पनि हेर्दा वास्तविक लाग्छ । नाटकमा देखिने पाँच पात्रको पृष्ठभूमि भिन्न–भिन्न हुन्छ । एउटा लाइनमा ताँती लागेका उनीहरू केका लागि र कसलाई पर्खिरहेका छन् भन्ने नखुले पनि उनीहरूको समान लक्ष्य छ, प्रथम हुने,’ नाटकबारे आकांक्षाले खुलाइन्, ‘लाइनमा भएका केही इमान्दार, केही सामान्य रूपले चतुर तथा केही अलि बढी नै संदिग्ध व्यक्तिहरू अगाडि बढ्न हरेक किसिमका छलकपट गर्छन् । तर, को पहिलो बन्छ भन्ने थाहा पाउन चाहिँ नाटक नै हेर्नुपर्नेछ।’

आकांक्षाका अनुसार नाटकमा सबै पात्रको पृष्ठभूमि नदेखाइए पनि दर्शकले उनीहरूको पृष्ठभूमि अभिनयबाटै थाहा पाउनेछन् । नाटकमा प्रयोग भएका केही संवाद र दृश्यका कारण यो नाटकलाई बालबालिकाले हेर्न नमिल्ने आकांक्षाले खुलाइन्।

नाटकमा राजकुमार पुडासैनी, सुदाम सिके, लुःनिभा तुलाधर, सन्देश शाक्य र सरोज अर्यालको अभिनय छ । ‘मैले नेपालीमा अनुवाद गर्दाखेरी नै पाँच चरित्र यी कलाकार हुन् सक्छन् भनेर आकलन गरिसकेकी थिएँ,’ झन्डै ६ महिना लगाएर नेपालीमा नाटक अनुवाद गरेकी आकांक्षाले भनिन्, ‘तीन महिनाअघि मात्र अब नाटक गर्नुपर्छ भन्ने लागेपछि यसको तयारी सुरु गरेकी हुँ ।’ नाटक विभिन्न देशका ३० भाषामा अनुवाद भइसकेको छ। 

नाटकमा रविनाको भूमिकामा देखिन लागेकी लुनिभाले आफ्नो चरित्र दर्शकका लागि नयाँ लाग्ने बताइन् । ‘म पनि पहिलो बन्ने दौडमा छु । तर, कसरी पहिलो बन्छु भन्ने चाहिँ मेरो आफ्नै तरिका नाटकमा छ,’ लुनिभाले भनिन्।

फिल्ममा वा नाटकमा प्रायः गम्भीर किसिमको भूमिकामा देखिने सुदामले मनोवैज्ञानिक फ्लेबरका नाटकमा अभिनय गर्नु चुनौतीसँगै अवसर पनि रहेको जनाए । ‘म अलिक जिम्मेवार किसिमको पात्रको भूमिकामा छु,’ उनले भने । अर्का कलाकार सन्देशले आफूले अभिनय गरिसकेका नाटकभन्दा ‘लाइन’को चरित्र फरक किसिमको भएकाले केही गाह्रो भएको खुलाए।

कथाघेराको प्रस्तुतिमा निर्माण भएको यो नाटक शिल्पी थिएटरमा कात्तिक १६ गतेबाट सुरु भई मंसिर ३ गतेसम्म चल्नेछ । कथाघेराको पहिलो नाटक ‘योनीका कथाहरू’ गत मार्चमा मञ्चन भएको थियो । जसको निर्देशक पनि आकांक्षा नै थिइन्।

प्रकाशित: १४ कार्तिक २०७४ ०५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App