८ वैशाख २०८१ शनिबार
खेल

पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेटको पुनरागमन

अाइतबार श्रीलंकाविरूद्ध अन्तर्राष्ट्रिय ट्वान्टी -२० श्रृंखला क्लिन स्विप गरेपछि पाकिस्तानी खेलाडी । तस्बिर : एजेन्सी

लाहोर– आठ वर्षको लामो अन्तरालपछि देशमा अन्तर्राष्ट्रिय क्रिकेट फर्काउँदा पुनरागमनलाई सुखद पार्ने क्रममा पाकिस्तानले आइतबार श्रीलंकामाथि ३६ रनको जित हासिल गर्दै तीन ट्वान्टी–२० खेलको शृंखला ३–० ले ‘क्लिन स्विप’ गरेको छ।

सन् २००९ मा श्रीलंकाली क्रिकेट टोली चढेको बसमाथि लाहोरमा भएको आतंककारी हमलापछि अन्तर्राष्ट्रिय क्रिकेटका शीर्ष टोलीले पाकिस्तान भ्रमण गरेका थिएनन् । त्यसैले पाकिस्तानले बडो मुस्किलका साथे श्रीलंकालाई मनाउँदै लाहोर फर्काएको थियो । पाकिस्तानले श्रीलंकाविरुद्धको खेललाई आफ्नो राष्ट्रमा अन्तर्राष्ट्रिय क्रिकेट पुनरागमनको पहिलो कदमको रुपमा लिएको थियो।

गद्दाफी मैदानमा पाकिस्तानले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदा १ सय ४४ रन मात्र जोड्न सक्यो।

श्रीलंकाका डसुन सनाकाले ५४ रन जोड्नु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन । ५६ बल खेलेका सनाखाले ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै चतुरांगा डी सिल्भाले २१ र सिकुगे प्रसन्नाले १६ रन जोडे ।
पाकिस्तानका मोहम्मद आमिरले ४ ओभरमा १३ रन खर्चदैै ४ विकेट लिए । त्यस्तै फाहिम असरफले २ तथा मोहम्मद हाफिज, इमाद वासिम र हसन अलीले समान १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ३ विकेट गुमाउदै १ सय ८० रनको योगफल तयार पारेको थियो।

पाकिस्तानका सोएब मलिकले ५१ र ओपनर उमर अमिनले ४५ रन जोडे । २४ बल खेलेका मलिकले ५ चौका र २ छक्का प्रहार गर्दा ३७ बल सामना गरेका अमिनले ३ चौका र १ छक्का प्रहार गरे । त्यस्तै ओपनर फखर जमानले ३१ र बाबर आजमले ३४ रन जोडे।

श्रीलंकाका विखुम सञ्जया, दिलशान मुनाभिरा र इस्रु उडानाले समान १–१ विकेट लिए।
यसअघि आबुधाबीमा सम्पन्न पहिलो र दोस्रो खेल पाकिस्तानले क्रमशः ७ र २ विकेटले जितेको थियो ।
पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नाजम सेट्ठीले यस खेललाई ‘ऐतिहासिक’खेलको संज्ञा दिएका छन्।
‘यस खेलबाट पाकिस्तानी क्रिकेटमा नयाँ युगको सुरुआत भएको छ,’ सेट्ठीले भने, ‘यो खेलले अन्तर्राष्ट्रिय स्तरमा राम्रो सन्देश दिनुका साथै हामी पुनः अन्तर्राष्ट्रिय क्रिकेट आयोजा गर्न सक्षम छाैँ भन्ने प्रमाणित गरेको छ ।’

यसअघि सम्पन्न दुई टेस्टको शृंखला श्रीलंकाले २–० तथा पाँच एक दिवसीय खेलको शृंखला पाकिस्ताले ५–० ले ‘क्लिन स्विप’ गरेका थिए।

पाकिस्तानले लाहोरमा आइतबार श्रीलंकाली टोली मैदान उत्रिँदा कडा सुरक्षा व्यवस्था अपनाउनका लागि दशौं हजार सैनिक तैनाथ गरेको थियो । २३ हजार घरेलु दर्शकले लामो समयपछि देशभित्र अन्तर्राष्ट्रिय क्रिकेटको मजा लिँदा २००९ को हमलामा परेका खेलाडी र मुख्य प्रशिक्षकसहित श्रीलंकाका केही अधिकारी भने अनुपस्थित थिए।

२००९ मार्च ३ मा गद्धाफी रंगशाला नजिक श्रीलंकाली टोली चढेको बसमाथि भएको हमलामा ८ जनाले ज्यान गुमाएका थिए भने ८ जना घाइते भएका थिए । उक्त घटनापछि कुनै पनि ठूलो टोलीले पाकिस्तानको भ्रमण गरेका थिएनन् । यसबीचमा जिम्बाब्वेले गरेको एउटा छोटो भ्रमण नै पाकिस्तानले विदेशी टोलीलाई दिएको आतिथ्य थियो।  

८ वर्ष पछि क्रिकेटका ठूला राष्ट्रमध्ये पाकिस्तान भ्रमण गर्ने श्रीलंका पहिलो टोली बनेको छ । यसबीचमा पाकिस्तानले युनाइटेड अरब इमिरेट्स (युएई)मा घरेलु खेलहरु खेल्ने गरेको थियो । पाकिस्तान सुपर लिग र विश्व–११ विरुद्ध पाकिस्तानको खेल सफलतापुर्वक सम्पन्न भएपछि श्रीलंकाले पाकिस्तानको भ्रमण गरेको हो।

प्रकाशित: १४ कार्तिक २०७४ ०४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App