coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘ह्याट्रिक’ गर्ने दाउमा बस्नेत र सापकोटा

सिन्धुपाल्चोक – सत्ता साझेदार दल कांग्रेस–माओवादी केन्द्रका जिल्ला नेतृत्व सिन्धुपाल्चोकमा चुनावी तालमेल गर्ने तयारीमा थिए । प्रतिनिधिसभा सदस्यका दुई निर्वाचन क्षेत्रमध्ये एउटामा केन्द्रका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटा र अर्कोमा कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई उतार्दै प्रदेशसभासमेत बाँड्ने गरी छलफल सुरु भइसकेको थियो। 

तर रातारात भएको बाम गठबन्धनले ‘हेभिवट’ का नेताद्वयलाई दुई ध्रुवमा विभाजित गराई आमने–सामने बनाउँदा सिन्धुपाल्चोक क्षेत्र नं. १ को चुनाव पेचिलो बनेको छ । कांग्रेस–राप्रपाको लोकतान्त्रिक गठबन्धनबाट सरकारका सूचना तथा सञ्चारमन्त्री बस्नेत र एमाले–माओवादी केन्द्रको बाम गठबन्धनबाट पूर्वसञ्चार एवम् वनमन्त्री सापकोटा प्रतिस्पर्धामा उत्रिएका छन् । वजनदार नेताको उम्मेदवारीले यो क्षेत्रको चुनाव चर्चामा समेत छ। 

बस्नेत यो क्षेत्रसँग परिचित छन् । उनले यही क्षेत्रबाट संसदीय र संविधानसभा सदस्यको निर्वाचन जितिसकेका छन्। बस्नेतको तुलनामा सापकोटाका लागि यो क्षेत्र केही नौलो रहनेछ । यसअघिका दुईटा संविधानसभा निर्वाचनमा सापकोटाले प्रतिनिधित्व गर्दै आएको तत्कालीन क्षेत्र नं. २ को आधा भूगोल मात्र अहिले यो क्षेत्रमा मिसिएको छ । 

सरकारमा लामो समय सहकार्य गरेर वाम र लोकतान्त्रिक धु्रवमा बाँडिएका यी नेता अहिले एकले अर्कोलाई पराजित गर्दै ‘ह्याट्रिक’ गर्ने दाउमा छन् । यो पटक पनि जितेको खण्डमा सापकोटा लगातार तीनवटा चुनावमा विजयी हुनेछन् । जिल्लामा लगातार तीनवटा निर्वाचन जितेको ‘रेकर्ड’ राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणासँग मात्र छ । २०४७ को परिवर्तनपछि २०४८, २०५१ र २०५६ मा भएका संसदीय चुनाव उनले लगातार जितेका थिए। 

लोकतान्त्रिक गठबन्धनबाट राणा अहिले क्षेत्र नं. २ मा उम्मेदवार बनेका छन् । उनले सिन्धुपाल्चोकबाटै राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनसमेत लगातार चार पटक जितेका थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा मुलुकमै दोस्रो बढी २० हजार मतान्तरले एमाले उम्मेदवार सुवास कर्माचार्यलाई हराएका सापकोटा २०७० को दोस्रो संविधानसभामा उनै कर्माचार्यसँग साढे ६ सय मतान्तरले विजयी बनेका थिए। 

२०५६ को निर्वाचनमा एमाले नेता अमृत बोहरा र २०७० को दोस्रो संविधानसभा चुनावमा एमालेकै नेता अरुण नेपाललाई पराजित गरेका कांग्रेसका बस्नेत पनि यो पटक तेस्रो जितको खोजीमा छन् । २०६४ को संविधानसभा निर्वाचनमा भने बस्नेत माओवादी उम्मेदवारसँग पराजित हुँदै तेस्रो स्थानमा खुम्चिएका थिए । दोस्रो संविधानसभामा पुनारागमन गर्ने क्रममा उनले एमाले उम्मेदवार नेपाललाई ३२ मतको झिनो अन्तरले हराउँदै बाजी मारेका थिए । त्यतिबेला दुबै नेताले १६ हजार मत कटाएका थिए। 

आफ्नो पार्टीको मतमा एमालेको भोट थपेर सहज जित निकाल्ने दाउमा सापकोटा रहँदा स्थानीय तह निर्वाचनमा भत्किएका कांग्रेस ‘किल्ला’ सुधार्दे विजयी हुने रणनीतिमा बस्नेत देखिएका छन् । उम्मेदवार छनोटमा ध्यान नपुर्‍याउँदा कांग्रेसका परम्परागत ‘भोट ब्यांक’ मानिएका गाउँ नगरमा उसका उम्मेदवार नराम्ररी पराजित भएका थिए। 

अघिल्लो जितमा निर्णायक जनाधार क्षेत्र मानिएको जलवीरेको भूगोल मिसिनुको साथै तत्कालीन क्षेत्र नं. १ मा माओवादी प्रभाव राम्रै रहेकाले सापकोटा जित्नेमा थप आशावादी देखिएका छन् । यहाँबाट माओवादीका उम्मेदवार सरलसहयात्री पौडेलले २०७० को संविधानसभा निर्वाचनमा १० हजार भोट पाएका थिए। 

क्षेत्र नं. १ मा गाभिएका भूगोलबाट कांग्रेसले राम्रो मत पाएकाले बस्नेत थप उत्साही छन् । राप्रपाको मत थपिँदा जित कठिन नरहेको उनले निकटस्थलाई सुनाउने गरेका छन् । पछिल्लो संविधानसभा निर्वाचनमा राप्रपा उम्मेदवारले यहाँबाट साढे ६ हजार मत पाएका थिए । 

गत स्थानीय चुनावमा वडाध्यक्षले प्राप्त गरेको मत पार्टीको मान्दा यो क्षेत्रमा बाम गठबन्धन निकै बलियो छ । भोटेकोसी, लिसंखुपाखर, बलेफी, जुगल, त्रिपुरासुन्दरी, सुनकोसी गाउँपालिका, बाह्रबिसे नगरपालिका तथा चौतारा नगरपालिका–२,३,४,९ र १० वडा समेटिएको यो क्षेत्रमा वाम गठबन्धनसँग ४४ हजार ७६ मत छ । एमालेले २४ हजार १ सय ८८ र माओवादी केन्द्रले १४ हजार ३ सय ८८ मत ल्याएको थियो। 

लोकतान्त्रिक गठबन्धनका पक्षमा भने ३० हजार ५ सय ५५ मत देखिन्छ । स्थानीय निर्वाचनमा कांग्रेसले २१ हजार ६ सय २९ र राप्रपाले ८ हजार ९ सय २६ मत पाएको थियो । लोकतान्त्रिकको तुलनामा वाम गठबन्धनसँग अझै १३ हजार ५ सय २१ मत बढी छ।

स्थानीय चुनावमा पार्टीभन्दा व्यक्ति हेरिने र त्यहाँ आफन्त, नातागोताको समेत मत रहने भएकाले त्यसैलाई मात्र चुनावी हारजितको जोडघटाउ मान्न नहुने तर्क दुवै गठबन्धनको छ । बस्नेतको आधार क्षेत्र मानिएका बाह्रबिसे नगरपालिका, भोटेकोसी, बलेफी र लिसंखुपाखर गाउँपालिका कांग्रेस बलियो हुँदाहुँदै उसका उम्मेदवार पराजित भएका थिए । भोटेकोसीमा माओवादी केन्द्र र अरूमा एमालेले प्रमुख, उपप्रमुख जितेको थियो। 

उत्तरी तातोपानी नाका, चीन छुने अरनिको राजमार्ग, लामोसाँघु–जिरी र बलेफी–जलवीर सडकले घेरिएको यो क्षेत्रमा १ लाख १४ हजार ३ सय २३ मतदाता छन् । जितका लागि बस्नेतसँग बिग्रिएका कांग्रेस किल्ला सुधार्दै थप मत आकर्षित गर्ने चुनौती रहँदा सापकोटा बाम गठबन्धनबाट असन्तुष्ट बनेका कार्यकर्ता मनाउने र अन्यत्र जान नदिने कठिनाइमा छन् । सापकोटा पार्टी अध्यक्ष पुष्पकल दाहाल र बस्नेत पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासपात्र र निकट रहेकाले यो क्षेत्रको चुनाव चौतर्फी चासोको विषयसमेत बनेको छ। 

प्रकाशित: १४ कार्तिक २०७४ ०२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App