५ वैशाख २०८१ बुधबार
राजनीति

गठबन्धनलाई सकस पार्ने क्षेत्र

काठमाडौं –नेकपा एमालेबाट प्रतिनिधिसभाका लागि सिफारिसमा पहिलो नम्बरमा रहेका सुरेन्द्र मानन्धर अचानक आइतबार राति नागरिकता बोकेर निर्वाचन आयोग पुगे । प्रत्यक्षतर्फ निर्वाचन लड्ने भन्दै तयारीमा लागेका मानन्धर अचानक समानुपातिकतर्फको सूचीमा परे ।

‘काठमाडौं–१० बाट प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने भनेर ठीक परेको थिएँ, पार्टी (एमाले) र माओवादीबीच चुनावी गठबन्धन भएपछि मेरो क्षेत्र माओवादीको भागमा पर्‍यो, म समानुपातिकतर्फ आउनुप¥यो,’ मानन्धरले नागरिकसँग भने । काठमाडौं–१० माओवादीलाई छाड्नुपर्ने भएपछि उनी प्रदेशतर्फको समानुपातिक सूचीमा परेका हुन्। 

साँझ एमाले नेत्री अष्ठलक्ष्मी शाक्यले टेलिफोन गरेपछि मानन्धर नागरिकतासहित निर्वाचन आयोग पुगे र आफ्नो नाम समानुपातिकतर्फ हालेर मध्यरातमा आयोगबाट निस्किए । ‘मन त प्रत्यक्षतर्फ लडेर संसद्मा जाने थियो तर गठबन्धन बनेपछि सम्भव भएन,’ उनको दुखेसो थियो । २०७० सालको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग प्रतिस्पर्धा गरेका मानन्धर दोस्रो भएका थिए । उनीहरुलाई दुवैलाई हराएर नेपाली कांग्रेसका राजन केसीले चुनाव जितेका थिए । माओवादी केन्द्रका अध्यक्ष दाहाल चाहिं तेस्रो नम्बरमा सीमित भएका थिए। 

यो एउटा उदाहरण मात्रै हो । झापा–३ का कारण नेपाली कांग्रेस र राप्रपाबीचको गठबन्धन निकै सकसमा परिरहेको छ । यो क्षेत्रवाट कांग्रेसका कृष्ण सिटौला र राप्रपाका राजेन्द्र लिङदेन दाबेदार छन् । दुवै जना उक्त क्षेत्र छाड्ने मनस्थितिमा छैनन् । कांग्रेस सभापति उम्मेदवारसमेत रहिसकेका सिटौलाले उक्त क्षेत्र नछाडेपछि राप्रपाका महामन्त्री लिङदेनले पनि गठबन्धन टुट्ने चुनौती दिइसकेका छन् । ‘भ्रममा नपरौं, झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी कायम रहन्छ, कुरा यत्ति हो । एउटै गठबन्धनका २ उम्मेदवार भएपछि कांग्रेससँगको गठबन्धन टुट्यो,’ महामन्त्री लिङदेनले सार्वजनिक रुपमा भनिसकेका छन् । सोमबार नै बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले लिङदेनलाई झापा–३ मा उम्मेदवार खडा गर्ने निर्णय लिएको छ । कांग्रेसका तर्फबाट समानुपातिकमा रहेका सिटौलाले प्रत्यक्षमा प्रतिस्पर्धा गर्ने भन्दै समानुपातिक सूचीबाट उनको नाम झिकिएको छ। 

कांग्रेस–राजपा–संघीय फोरमबीच गठबन्धन बनाउने कोसिस गरिए पनि धनुषा–३, महोत्तरी–२, सर्लाही–४ र पर्सा–४ मा सहमति हुन नसक्दा गठबन्धन नै नहुने सम्भावना बढ्दै गएको छ । सबैभन्दा चोटिलो मानिएको धनुषा–३ मा कांग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतो भिड्ने अन्तिम तयारीमा पुगेका छन् । गठबन्धनका बीचमा पटकपटक सो क्षेत्रमा एकअर्कालाई छाड्न आग्रह गरिए पनि दुवै नेताले मानेका छैनन् । राजपाले महतोलाई धनुषा–३ बाट उठाउने अन्तिम तयारी गरेको छ भने निधि पनि आफ्नो निर्वाचन क्षेत्र छाड्ने पक्षमा छैनन्। 

महतोको यसअघिको निर्वाचन क्षेत्रमा पहाडी समुदायको बाक्लो बसोबास भएकाले उनी सो क्षेत्र छाडेर धनुषा जान चाहन्छन् । राजपा धनुषा पनि महतोलाई सोही क्षेत्रमा ल्याउन चाहन्छ । सो क्षेत्रमा एमालेबाट रघुवीर महासेठ उठ्न सक्ने सम्भावना छ। 

त्यसो त राजपाका अर्का नेता शरत््सिंह भण्डारीको निर्वाचन क्षेत्रबाट पूर्वराष्ट्रपति रामवरण यादवकी भतिजी किरणकुमारी यादव पनि प्रतिस्पर्धाको तयारी गर्दैछिन् । दुवै नेता उक्त क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवार हुने भन्दै अडानमा छन् । एकअर्कालाई छाड्न तयार नभएपछि अन्ततः सो क्षेत्रवाट दुवैजना उम्मेदवार हुने देखिएको छ। 

सर्लाही–४ मा अमरेश सिंह र महन्थ ठाकुरबीच प्रतिस्पर्धा हुने देखिए पनि सो क्षेत्रमा अन्तिममा आएर मिलाउने काम भएको छ । समानुपातिक सूचीमा बसेर सिंहका लागि सर्लाही–४ बाट बाहिरिएका ठाकुर पुनः प्रत्यक्षतर्फ नै फर्केका छन । अब उनी महोत्तरी–३ बाट प्रतिस्पर्धा गर्ने तयारीमा छन्। 

उता राजपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्ण र कांग्रेस नेता रमेश रिजालको क्षेत्र पर्सा–४ मा पनि उत्तिकै प्रतिस्पर्धा देखिएको छ।

कांग्रेस र मधेस केन्द्रित दल संघीय फोरम÷राजपाको बीचमा मात्रै होइन, हाल गठबन्धन गरिरहेका संघीय फोरम र राजपाको बीचमा पनि सकस देखापरेको छ । सप्तरी–२, सिरहा–४ र महोत्तरी–४ मा दुवै दलले पाउनुपर्ने दाबी कायमै राखेका छन्।

सप्तरी–२ बाट संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवको दाबी कायमै छ भने राजपाबाट भोगेन्द्र ठाकुरले पनि छाड्न मानेका छैनन् । यसले गठबन्धनमा सकस देखापरेको छ । यस्तै राजपा नेता राजकिशोर यादवलाई सिरहा–४ छाड्न फोरमले मानेको छैन । फोरमले उक्त क्षेत्रवाट डा. वीरेन्द्र महतोलाई उम्मेदवार बनाउन खोजिरहेको छ। ‘स्थानीय चुनावमा सिरहामा  राजपाले एक स्थान पनि जित्न सकेको छैन, अहिले त्यसै दिन सकिन्छ ?’, फोरमका एक नेताले भने। महतोले यसअघि पनि प्रत्यक्षमा उम्मेदवारी दिएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालका लागि उम्मेदवारी फिर्ता लिएका थिए तर अब छाड्ने पक्षमा उनी छैनन्। 

महोत्तरी–४ मा राजपा महासचिव देवेन्द्र यादव उठ्ने अन्तिम तयारीमा छन् तर संघीय फोरमले पनि त्यहाँ दाबी कायमै राखेको छ । फोरमले उक्त क्षेत्रवाट डा. शिवजी यादव वा कौशलकुमार यादवमध्ये एकलाई उठाउन खोजिरहेको छ । ‘सो क्षेत्रका बारेमा पनि अझै टुंगो लाग्न सकेको छैन,’ राजपाका पूर्वसांसद धर्मेन्द्रकुमार साह तेलीले बताए । उनका अनुसार दुवै दलको दाबी भएकाले सो क्षेत्र कसको भागमा पर्ने, टुंगिन गाह्रो देखिएको छ।

उता, दाङ–२ मा एमालेका शंकर पोखरेल र माओवादी नेता कृष्णबहादुर महराको आँखा परेको छ । दुवैले सो क्षेत्र नछाड्ने अडान लिएपछि अझैसम्म त्यहाँको उम्मेदवार को हो भन्ने निक्र्योल हुन सकेको छैन । गत चुनावमा रोल्पाबाट उठेका महरा यो पटक दाङ–२ मा आउन लागेका छन् । यसअघि पटकपटक सोही क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आएका पोखरेल पनि पुनः त्यहींबाट उठ्ने जनाउँदै आएका छन् । दुवै नेताले सो क्षेत्रमा दाबी नछाडेपछि एमाले–माओवादी गठबन्धन सकसमा परिरहेको छ।

वाम गठबन्धनमा अर्कोे चोटिलो क्षेत्र चितवन–२ पनि हो । सो क्षेत्रमा एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल र माओवादी नेता रामबहादुर थापाले दाबी गर्दै आएका छन् । यसअघि पोखरेलले निर्वाचन लडी विजयी भएको सो क्षेत्रमा थापाले पनि आँखा लगाएपछि चोटिलो बन्दै गएको छ । ‘सो क्षेत्र कसको भागमा पर्ने, अझै निक्र्यौल हुन सकेको छैन, छलफल जारी छ’, पोखरेलले नागरिकसँग भने। 

चितवन–२ मा भरतपुर महानगरपालिकाका ९ वटा वडामध्ये ८ वडा एमालेले जितेको छ । सोही क्षेत्रमा पर्ने कालिका नगरपालिकामा मेयरउपमेयरसहित बहुमत एमालेको छ भने इच्छाकामनाको एउटा वडामा मात्रै माओवादीले जित हासिल गरेको छ । सो क्षेत्रमा माओवादीको भन्दा एमालेको मत १६ हजार ४४ ले बढी छ।  

यस्तै एमालेको कित्ताबाट बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान सिरहा–४ बाट प्रतिस्पर्धा गर्ने अन्तिम तयारीमा थिए । तर, अचानक एमालेले माओवादीसँग गठबन्धन गरिदिएपछि पासवानको इच्छा पूरा भएन । सो क्षेत्रमा माओवादीले उठाउन लागेका पूर्वमन्त्री अजयशंकर नायकलाई एमालेले समर्थन गर्ने भएको छ । ‘एमाले र ओलीजी मेरो उम्मेदवारीमा सकारात्मक नै हुनुहुन्थ्यो तर माओवादीसँग गठबन्धन गरेपछि मेरो बारेमा अडान लिइरहन सक्नुभएन, म अलग्गै हुनुपर्ने अवस्था आयो’, पासवानले नागरिकसँग भने । उनले अलग्गै बन्द सूची पेस गरेका छन्। 

यसअघि निर्वाचन क्षेत्रकै कारण नयाँ शक्ति नेपाल पार्टी दुई हप्ता नपुग्दै वाम गठबन्धनबाट बाहिरिएको थियो । मुख्यतः गोरखा–२ मा नयाँ शक्तिका बाबुराम भट्टराई कि माओवादीका नारायणकाजी श्रेष्ठ भन्ने विवाद परेपछि भट्टराई बाहिरिएका हुन् । दुवैले उक्त क्षेत्रमा दाबी नछाडे पछि अन्ततः गठबन्धन नै टुट्न पुगेको थियो।

प्रकाशित: १४ कार्तिक २०७४ ०१:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App