८ वैशाख २०८१ शनिबार
समाज

गाडी दुर्घटनामा १९ जनाको मृत्यु

शिवलाल सुवेदी/महेश्वर चाम्लिङ राई
गुल्मी/उदयपुर – दुई छुट्टाछुट्टै स्थानमा सोमबार भएका सवारी दुर्घटनामा १९ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् ।

गुल्मीको दरबार गाउँपालिका–४ मा भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ भने उदयपुरको कटारी नगरपालिका–११ मा जिप सडकबाट खस्दा नौजनाले ज्यान गुमाएका छन्। 

बुटवलबाट गुल्मी सदरमुकाम तम्घासका लागि बिहान ९ बजे छुटेको बा४ख ५५०१ नम्बरको हाइस (माइक्रो बस) दरबार–४ बिरवासनजिकै दिउँसो २ बजेतिर दुर्घटनामा पर्दा चालक रेसुंगा नगरपालिका–१० का भीमबहादुर घर्तीसहित १० जनाको ज्यान गएको प्रहरीले जनाएको छ। 

ज्यान गुमाउनेमा मुसीकोट नगरपालिका–२ की ४० वर्षीया बालकुमारी थापा, इस्मा गाउँपालिका–२ की ४५ वर्षीया रुमी नेपाली, इस्मा–६ का २५ वर्षीय डिलबहादुर कुमाल, इस्मा १ की ३० वर्षीया यमुना मरासिनी,  रुरु–६ की ३२ वर्षीया सुिमत्रा दर्लामी, मालिका–६ का २८ वर्षीय लालबहादुर मुखिया, अर्घाखाची, छत्रदेव गाउँपालिका–७ का ४२ वर्षीय रामप्रसाद पाण्डे र ब्रिटिस वेलफेयर गुल्मीमा कार्यरत बुटवलका केशबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिएका छन् । लुम्बिनी मेडिकल कलेज परवास पाल्पामा उपचारका क्रममा ज्यान गुमाउने एकजनाको भने परिचय खुल्न सकेको छैन । घटनामा दुई बच्चासहित ८ जना घाइते भएका छन् । मृतकमध्ये ६ जनाको घटनास्थलमै ज्यान गएको हो भने ३ जनाको पाल्पामा र एकजनाको शृंगा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो।

घाइते हुनेमा मालिका गाउँपालिका–७ का सुमन कार्की, रुरु गाउँपालिका–१ का माधव पोखरेल, मुसिकोट नगरपालिका–२ का प्रकाश केसी, दरबार गाउँपालिका–४ का गोकुल कार्की, रेसुंगा नगरपालिका–८ की रविना दर्लामी, मालिका गाउँपालिका–७ की एलिसा घिमिरे र अर्घाखाची, मालारानी गाउँपालिका–१ का विष्णु भुसाल छन् । त्यस्तै इस्मा गाउँपालिका–१ का चार वर्षीय शृजन मरासिनी र उनकी बहिनी सृष्टि पनि घाइते भएका छन् । घाईते मध्ये सुमनको अवस्था गम्भीर छ । घाइतेको पाल्पाको युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । हाइस सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । बस्तीको नजिकै दुर्घटना भएकाले उद्धार भने तत्काल भएको थियो । उद्धारमा स्थानीय, प्रहरी था सशस्त्र प्रहरी खटिएका थिए।

यस्तै उदयपुरको कटारी नगरपालिका–११ ठाँटी भन्ज्याङमा जिप दुर्घटना हुँदा चालकसहित ९ जनाको मृत्यु भएको छ । एक चारवर्षीय बालक रुखमा अल्झेर बाँच्न सफल भएका छन् भने एक महिला घाइते छिन् । शरीरभरि चोटपटक लागेकी महिलालाई कटारी अस्पतालमा प्रारम्भिक उपचारपछि धरान रेफर गरिएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

कटारी बजारबाट ओखलढुंगातर्फ जाँदै गरेको ना१ज ३४०४ नम्बरको सुमो जिप दिउँसो करिब साढे एक बजे सिद्धिचरण लोकमार्गको ठाँटीभन्ज्याङमा दुर्घटनामा परेको हो । मृतक कसैको पनि सनाखत हुन सकेको छैन। 

कटारीमा टिकट काट्दाको चलान पत्रका अनुसार अञ्जना राई, सन्देश किराती, ईश्वर भट्टराई, मिथिलेश साहसहित २ जना, दिपक मित्रकोटीसहित २ जना र राजेन्द्र बर्मा सो जिपमा सवार रहेको खुलेको छ। 

जिप लड्दै जाँदा उछिट्टिएर घाइते भएका चालक हरि कार्कीलाई स्थानीयले उद्धार गरेर उपचारार्थ कटारी ल्याएका थिए । २८ वर्षीय चालक कार्कीको कटारी अस्पतालमा उपचार गर्दागर्दै साढे चार बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

साँघुरो सडक भएका कारण अनियन्त्रित भएर जिप पल्टेको हुनसक्ने घटनास्थल पुगेका घटना भएको पौने घण्टामा घटनास्थल पुगेका डिएसपी महेन्द्र श्रेष्ठले बताए । जिप सडकबाट ५ सय मिटर तल खसेको छ। 

प्रकाशित: १४ कार्तिक २०७४ ०१:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App