४ वैशाख २०८१ मंगलबार
समाज

जेलभित्रको रिसइबीले साथीको हत्या

नेपालगन्ज—बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ भवानीयापुरस्थित नदी किनारमा वतन नखुलेको एक युवकको शव गत भदौं ३१ गते राती फेला परेपछि जिल्लाको सिंगो सुरक्षा संयन्त्रको ध्यान त्यतातिर मोडियो। घटनाको अनुसन्धान गर्दै जाँदा मृतक व्यक्ति रुकुम भुमे गाउँपालिका–३ निवासी धुर सोल्टी भनिने सन्तकुमार पुन रहेको पत्ता लाग्यो। त्यसपछि घटनाको रहस्य पत्ता लगाउन प्रहरीको संयन्त्र ठाउँ–ठाउँमा खटियो। 

घटनाको लामो अनुसन्धानपछि पुनको हत्या आफ्नै साथीबाट भएको पुष्टि भएको छ। हत्या भुमे गाउँपालिका–८ रुकुमकै ३९ वर्षिय रणबहादुर रोकाको योजनामा भएको हो। हत्यामा संलग्न रहेका सोही ठाउँका अर्का २१ बर्षिय रणबहादुर रोकालाई बाँके प्रहरीले नियन्त्रणमा लिइसकेको छ। मुख्य योजनाकार ३९ बर्षिय रणबहादुर फरार छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी सुधिर शाहीका अनुसार मृतक र हत्याका मुख्य योजनाकार रणबहादुरले यसअघि रोल्पा कारागारमा सँगै जेल सजाय भुक्तान गरेका थिए । ‘दुवै जना डाँका चोरी तथा ज्यान मार्ने उद्योग मुद्दामा कारागारमा सँगै बसेका थिए, त्यतिबेला उनीहरुबीच रिसिवी भएको खुल्नमा आएको छ,’ डिएसपी शाहीले भने। 

प्रहरी अनुसन्धानबाट मृतक पुनसँग रणबहादुर र अन्य केही व्यक्तिबीच आर्थिक लेनदेन रहेको बुझिएको छ। 

यसरी भयो हत्या
काठमाडौंबाट बस चढेर गत भदौं ३१ गते दिउँसो ३ बजे ३९ बर्षिय रणबहादुर र २१ बर्षिय रणबहादुर कुसुम आई राप्ती पारीस्थित भवानियापुर गएर बसे। ३९ बर्षिय रणबहादुरले पुनलाई पटक–पटक फोन गरी बोलाए। राती करिव ८ बजेतिर उनी कुसुमको झोलुंगे पुल हुँदै अपाचे मोटरसाईकलमा भवानियापुर पुगे। भवानियापुरको मकैबारीमा पुन र ३९ बर्षिय रणबहादुर बीच भेट भएर कुराकानी भएको अवस्थामा दुबैबीच हात हालाहाल भएको अवस्थामा पुनलाई २१ बर्षिय रणबहादुरले पछाडिबाट चिरपट दाउराले टाउकोमा प्रहार गरे। 

पुन उक्त स्थानबाट मकैबारी हुँदै भागे र दुई रणबहादुरले लखेट्दै राप्ती नदीको बगरमा लडाएर टाउकोमा अन्धाधुन्द चिरपटले प्रहार गरी हत्या गरेका थिए। ‘हत्या पश्चात मृतकको मोबाईल र झोला समेत उनीहरुले लगेको थिए। भाग्ने क्रममा मृतकको मोबाईल राप्ती नदीमा फालिदिए र मृतकको झोलामा रहेको नगद एक लाख निकाली भवानियापुरको जंगलमा पचास÷पचास हजार बाँडेर झोला फालिदिएको अनुसन्धानबाट खुलेको छ’, शाहीले भने।

हत्या पश्चात दुबै जना भवानियापुरको जंगलको बाटोबाट भाग्दै भोलीपल्ट असोज १ गते दाङको अमिलिया पुगी गाडी चढेर लमही गएका थिए। लमहीबाट ३९ बर्षिय रणबहादुर भैरहवा हुदै भारत फरार भए । अर्का २१ बर्षिय रणबहादुर घोराही गई लुकीछिपी बसे। त्यसपछि भागेर रुकुममा केहीदिन बसे । त्यहाँबाट पनि भारतमा गएर उनी लुकीछिपी बसे । भारतबाट कात्तिक ९ गते दाङ आएको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले २१ बर्षिय रणबहादुरलाई पक्राउ गरेको थियो । 

उनी विरुद्ध कर्तव्य ज्यान मुद्दामा ईलाका प्रहरी कार्यालय कोहलपुरले कारबाही प्रक्रिया अगाडी बढाईरहेको प्रवक्ता शाहीले जानकारी दिए । अर्का ३९ बर्षिय रणबहादुरको खोजी कार्य भइरहेको बाँके प्रहरीले जनाएको छ। प्रहरीले सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेमा हत्या अभियुक्त २१ बर्षिय रणबहादुर सहित लागु औषध मुद्दाका अभियुक्त दाङ घोराहीका प्रमोद प्रछाई र भारत बहराईच निवासी सोनु राईलाई पनि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।

प्रकाशित: १३ कार्तिक २०७४ १६:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App