८ वैशाख २०८१ शनिबार
राजनीति

झापामा सिटौला उम्मेदवार बनेपछि लोकतान्त्रिक गठवन्धनमा तनाव, वाममा पनि उस्तै

झापा- गठबन्धनका ‘हेभिवेट’ नेताहरुलाई भाग पुर्‍याउन समस्या भएपछि झापामा वाम र लोकतान्त्रिक गठबन्धनलाई सिट बाँडफाँड मुद्दा जटिल बनेको छ। जिल्लाका नेताहरुको उपस्थितिमै राजधानीमा चलिरहेका श्रृंखलाबद्ध बैठकहरु झापाको सिट बाँडफाँडको सकसमै अल्झिरहेका छन्।

दुई प्रभावशाली नेताले एउटै क्षेत्र नछाड्ने अड्डी लिँदा लोकतान्त्रिक गठबन्धन सकसमा छ। काँग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपा महामन्त्री राजेन्द्र लिङ्देन दुवै झापा ३ छाड्न तयार छैनन् । राप्रपा महामन्त्री लिङदेन त गठबन्धन तोडिएको अभिव्यक्ति दिँदै झापा ३ नछाड्ने बताइरहेका छन् । नेपाली कांग्रेसले झापा क्षेत्र नम्बर ३ मा पार्टीका नेता कृष्ण सिटौलालाई उठाउने निर्णय गरेको छ। आज बसेको कांग्रेस संसदीय समितिको बैठकले सिटौला, प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा लगायतका ८ जना नेतालाई प्रत्यक्ष तर्फको उम्मेदवार बनाउने निर्णय गरेको हो।

वाम गठबन्धनमा चाहिँ एमाले र माओवादी केन्द्र दुवैका अध्यक्षले आफ्नो ‘दाहिने हात’ का लागि झापा २ को दाबी नछाड्दा  सकस चुलिएको हो ।  एमाले र माओवादीका नेताहरुका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली झापा २ मा आफ्ना निकट सहयोगी नेता अग्नी खरेललाई कुनै पनि हालतमा उम्मेद्वार बनाउने अडानमा छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल  सोही क्षेत्रमा आफ्ना सहयोगी राम कार्कीलाई उम्मेद्वार बनाउने अभियानमा छन् । ‘एउटै क्षेत्रमा दुई शीर्ष नेताको दाबीले सकस परेको छ’, माओवादी केन्द्र स्रोतको भनाई छ ‘तर, यो चाँडै समाधान हुन्छ।’

झापाकै सिट बाँडफाँडको विवादले काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा कमल थापा नेतृत्वको राप्रपा रहने–नरहने अन्योलसमेत सिर्जना भएको छ । काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले आफ्नो नाम समानुपातिक सूचीबाट हटाएर झापा–३ को  प्रत्यक्षमा राखेपछि गठबन्धनको सहयात्री दल राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन आक्रोशित बनेका छन् । गठबन्धनका क्रममा झापा ३ मा लिङ्देन प्रत्यक्षमा लड्ने र सिटौलालाई समानुपातिक सूचीमा राख्ने सहमति भएको थियो । सोही अनुसार काँग्रेसले उनको नाम पहिलो नम्बरमै राखेको थियो । तर, आफूलाई क्षेत्रबाट प्रत्यक्ष चुनाव लड्न चर्को दबाब आएको भन्दै सिटौलाले समानुपातिक सूचीबाट नाम हटाएर प्रत्यक्ष लड्ने घोषणा गरेपछि यी दुई दलको सहयात्रा जोखिममा परेको हो।

राप्रपाभित्र प्रभावशाली भूमिकामा  रहेका महामन्त्री लिङ्देनले  सार्वजनिक रुपमै काँग्रेससँगको गठबन्धन टुटेको अभिव्यक्ति दिइसकेका छन्। ‘एउटै गठबन्धनबाट एकै क्षेत्रमा दुई उम्मेद्वार बन्ने कुरा हुँदैन’, लिङ्देनले भने ‘हामी आफू–आफू चुनाव लडेपछि गठबन्धन टुटेको भन्न मिल्छ ।’ दुई सातायता घरदैलोमा व्यस्त रहेका लिङ्देनलाई काँग्रेसले झापा ५ बाट उठ्न आग्रह गरेको छ । जहाँ वाम गठबन्धनबाट एमाले अध्यक्ष ओली उम्मेद्वार बन्दैछन् । ‘राप्रपा र काँग्रेस मिलेपछि झापा ५ बलियो क्षेत्र हो, त्यो क्षेत्र हामीले छाड्ने भनेका छौं’, झापा काँग्रेसका एक पदाधिकारीले भने ‘राजेन्द्रजी त्यहाँ उठे हुन्छ ।’ तर, लिङ्देनले भने आफ्नो पुरानो क्षेत्र कुनै हालतमा नछाड्ने अडान लिएका छन् । ‘मैले आफ्नो क्षेत्र छाडेर अन्यत्र जाने कल्पना कसैले गरेको छ भने त्यो भ्रम हो’, लिङदेनले भने ‘यसपटक सिटौलालाई हराउने मेरो धोको चाहिँ पूरा हुनेभयो।’

संविधानसभाको दोस्रो निर्वाचनमा सिटौलाले झापा ३ मा जित्दा थोरै मतान्तरले लिङदेन पछि परेका थिए। तर, यसपटकको स्थानीय तह चुनावमा राप्रपाले लिङ्देनकै नेतृत्वमा झापा ३ मा उत्कृष्ट नतिजा ल्याएको  थियो ।  झापा ३ मा पर्ने कचनकवल गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडाध्यक्ष जितेको राप्रपाले यही क्षेत्रको हल्दीबारीमा पनि गाउँपालिका अध्यक्ष जितेको थियो । सिटौलाको आधारभूमि मानिने भद्रपुरमा एमालेले प्रमुख–उपप्रमुखसहित बहुमत स्थान जितेको थियो । देशभरी राप्रपाले खराब नतिजा ल्याउँदा झापामा तीन गाउँपालिका जिताएर वाहवाही बटुलेका लिङ्देन  र यही क्षेत्रबाट पटक–पटक जित्दै आएका काँग्रेस नेता सिटौलाको आत्मविश्वासले लोकतान्त्रिक गठबन्धनमा समस्या ल्याउने खतरा बढेको छ ।  झापा ३ का काँग्रेस नेताहरु गठबनधन तोडिए पनि फरक नपर्ने बताइरहेका छन् । ‘हामीले सधैँ जितेको क्षेत्र राप्रपालाई किन छाड्नुपर्ने ?’, काँग्रेस नेताहरु भन्छन् ।

उता वाम गठबन्धनमा दुई ठूला नेताले आफ्ना सहयोगीलाई च्याप्न खोज्दा जिल्ला तहबाट सिफारिश भएर गएको नाम गायब हुने खतरा बढेको छ। झापा २ बाट एमालेले पवित्रा खरेलको नाम प्रतिनिधिसभाका लागि सर्वसम्मत सिफारिश गरेको थियो । तर, उनी सिफारिशमा परेको क्षेत्रमा ओलीले अग्नी खरेललाई अघि सारेपछि पवित्राको नाम समानुपातिक सूचीतिर सरेको छ । ओलीले राम कार्कीलाई झापा १ मा उम्मेद्वार बन्न भनिरहेको एमाले स्रोतले जनाएको छ । तर, माओवादीले झापा २ को आफ्नो दाबी छाडेको छैन । माओवादीका जिल्ला तहका नेता  कार्यकर्ता पनि कार्कीलाई  झापा २ उम्मेद्वार बनाउनुपर्ने मागमा छन् ।   केन्द्रका लागि पाँच सिट रहेको झापामा १ सिट माओवादीले लिने सहमति छ। झापा १ मा भने एमालेले गोपाल बुढाथोकीको नाम सिफारिश गरेको थियो। 

एमालेका प्रभावशाली नेताहरुले आ–आफ्नो सहयोगीलाई सिट दिन खोज्दा समस्या भएको स्रोतको भनाई छ । ‘झापा ३ मा पुष्प पोखरेल हुनै पर्ने अडान इश्वर पोखरेलको छ, ४ मा एलपी साँवा नभई नजितिने कुरा ओलीको छ’, स्रोतले भन्यो ‘दुई पनि अग्नीलाई चाहिने अनि पाँच ओलीले आफै राख्ने भएपछि बाँकी रह्यो एक, त्यहाँ माओवादी जानै नमान्ने भएपछि समस्या आएको हो।’

 

प्रकाशित: १३ कार्तिक २०७४ १२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App