८ वैशाख २०८१ शनिबार
राजनीति

चितवन दुईमा ‘घाम’ कि ‘बादल’ ? टुगिंनै गाह्रो !

रामबहादुर थापा बादल र कृष्णभक्त पोखरेल

चितवन– दशैंयताको मौसम र आउँदो निर्वाचनमा चितवनको क्षेत्र नं. २ मा वामपन्थी गठबन्धनबाट उम्मेद्वार हुने व्यक्तिको चर्चा एकै खालको छ । मौसम कहिले घाम कहिले बादल भए झै सो क्षेत्रमा कहिले घाम अर्थात् चुनाव चिन्ह सूर्य भएको एमाले पार्टीका कृष्णभक्त पोखरेलले टिकट पाएको खबर आउँछ भने कहिले बादल उपनाम भएका माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा उठ्ने पक्का भयो है भन्ने हल्ला चल्छ । 

एमाले माओवादी सम्मिलित वामपन्थी गठबन्धनले दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा उठ्ने व्यक्तिहरुको धेरै जसोको टुंगो लगाइसकेको छ । तर गठबन्धनबाट माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल नै उठ्ने पक्का भएको चितवनमा एउटा क्षेत्रमा निर्णय लिन सकस परेको छ । केही दिनयता लगातार बैठकहरु भए पनि चितवन क्षेत्र नं. २ को उम्मेद्वारका बारेमा निर्णय हुन सकेको छैन ।

तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा क्षेत्र नं. ३ मा माओवादी केन्द्रका अध्यक्ष दाहाल नै गठबन्धनको तर्फबाट उठ्दैछन् । चितवन क्षेत्र नं. १ मा गठबन्धनका तर्फबाट एमालेका नेता सुरेन्द्र पाण्डे उठ्दैछन् । दुई नम्बरमा रामबहादुर थापा वा कृष्णभक्त पोखरेलमध्ये कसले टिकट पाउने हो भन्ने कौतिहल्ता धेरै दिनदेखि उठिरहेको छ ।

चितवनका तीनवटै क्षेत्रमा स्थानीय तह निर्वाचनमा पाएको मतलाई आधार मान्ने हो भने सवै क्षेत्रमा माओवादी तेस्रो स्थानमा छ । एक नम्बर र दुई नम्बर क्षेत्रमा एमाले पहिलो नम्बरमा छ भने तीन नम्बर क्षेत्रमा एमाले काँग्रेसपछि दोस्रो नम्बरमा छ । आफू बलियो रहेको एक नम्बर र दुई नम्बर क्षेत्र एमालेले माओवादीका लागि छोड्नचाहिँ रहेको छैन । तर माओवादी नेता रामबहादुर थापा पनि दुई नम्बरबाटै उठ्न खोजेका छन् ।

गएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतलाई आधार मान्दा चितवनको क्षेत्र नं. २ मा एमाले माओवादीभन्दा धेरै नै मतले अगाडि छ । गठबन्धनमा रहेको माओवादीको पनि मत जोड्दा यो क्षेत्र बामपन्थीका लागि सुरक्षित जस्तै नदेखिएको हैन । तर यो क्षेत्र बामपन्थी गठबन्धनबाट एमाले वा माओवादी केन्द्रमध्ये कसले पाउने भन्ने विवादले कांग्रेसलाई फाइदा पुग्नसक्ने सम्भावना छ ।  

यो क्षेत्रमा भरतपुर महानगरका २९ मध्ये १० वटा वडाहरु वडा नं. १, २, ३, ४, ५, ७, १०, ११, १२, र २९ नम्बर वडा तथा कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्छ । कालिका नगरपालिकामा मेयर उपमेयरसहित बहुमत वडाध्यक्ष एमालेले जितेको छ । इच्छाकमना गाउँपालिकामा प्रमुख उपप्रमुख कांग्रेसले जितेको छ । सातमध्ये तीनवडा एमाले, तीनवडा काँग्रेस र एक वडा माओवादीले जितेको छ ।

भरतपुरका १० वडामध्ये आठ वटा एमाले र दुईवटा कांग्रेसले जितेको छ । क्षेत्र नं. २ मा रहेका स्थानीय तहका वडाहरुमा वडाध्यक्षहरुले पाएको कूल मत जोड्दा एमालेले पाएको मत २७ हजार ६३८ हुन्छ । कांग्रेसको मत २४ हजार ७५५ छ । माओवादीको मत ११ हजार ३३२ छ । राप्रपाको एक हजार ५७४ मत छ । बामपन्थी गठबन्धनको कूल मत ३८ हजार ९७० पुग्छ भने कांग्रेस राप्रपाको मत  २६ हजार ३२९ पुग्छ ।

बामपन्थी गठबन्धन १२ हजार ६४१ मतले अगाडि छ । तर यो क्षेत्रमा स्थानीय तह निर्वाचनपछि १९ हजार ५६० नयाँ मतदाता थपिएका छन् । इच्छाकमना र कालिका नगर क्षेत्रमा काँग्रेस बलियो नै मानिन्छ । भरतपुरको नगर क्षेत्रका मतदाताहरु उम्मेद्वार हेरेर मत दिने खालका छन् । त्यसमाथि यो क्षेत्र बामपन्थी गठबन्धनमा उम्मेद्वारका विषयमा विवाद देखिएका कारण कांग्रेस जितका लागि आशावादी छ । 

सोमबार भरतपुर विमान स्थलमा पत्रकारहरुसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सकेसम्म आजै क्षेत्र नं. २ मा वाम गठबन्धनबाट उम्मेद्वार हुने नामका बारेमा निर्णय हुने बताए । सो क्षेत्रमा एमालेका तर्फबाट उम्मेद्वार हुन खोजेका कृष्णभक्त पोखरेल पार्टीका जिल्ला अध्यक्ष तथा ७० सालको संविधान सभा सदस्य निर्वाचनमा चितवनको तत्कालीन क्षेत्र नं. ३ बाट विजयी व्यक्ति पनि हुन् ।

थापा पनि विस २०६४ सालको संविधानसभा निर्वाचनमा चितवनको तत्कालीन क्षेत्र नं. २ बाट विजयी भएका थिए । ७० सालमा उनी मोहन वैद्य किरण नेतृत्वको माओवादीमा थिए । जुन पार्टीले चुनाव बहिस्कार गरको थियो । पछि उनी दाहाल नेतृत्वको माओवादीमा सामेल भएका हुन् । चितवनको तत्कालीन दुई र तीन नम्बर क्षेत्रको अधिकांश भाग अहिले चितवन क्षेत्र नं. २ मा पर्छ । 

अहिले एमालेको पकड भएको क्षेत्रमा एमालेकै जिल्ला अध्यक्ष पोखरेललाई नउठ भन्न कार्यदलले सकेको छैन । थापाले उठ्ने इच्छा कायमै राखेका कारण पोखरेललाई टिकट दिन सक्ने अवस्थामा पनि कार्यादल छैन । यी विषय व्यवस्थापन नभएका कारण  चितवनमा घाम कि बादलको अन्यौल कायमै रहनेछ । 

प्रकाशित: १३ कार्तिक २०७४ १०:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App