coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सिन्धुपाल्चोकका उम्मेदवार अझै घरदैलोमा निस्किएनन्

सिन्धुपाल्चोक- मनोनयन दर्ता गरेको साता बितिसक्दा उम्मेदवारहरु मतदातासँग भोट माग्न घरदैलोमा निस्किएका छैनन्। वाम र लोकतान्त्रिक धुव्रिकरणले चुनाव पेचिलो बन्दा दलहरु आन्तरिक रणनीति र योजना बनाउनमै ब्यस्त छन्।

दुबै गठबन्धन एकल र संयूक्त भेला, बैठक गरी आफ्ना नेता, कार्यकर्तालाई गठबन्धन निर्माणको औचित्य र आवश्यकता प्रस्ट्याइ रहेका छन्। वाम गठबन्धनबाट दुबै पार्टीका नेता, कार्यकर्ता बिच्कन र असन्तुष्ट हुन नदिँन एमाले, माओवादीले संयूक्त र आवश्यकता पर्दा एकल भेला गरेर एक हुनुको औचित्य प्रष्ट पारिरहेका छन् । लोकतान्त्रिक गठबन्धनसमेत सोही रणनीति अघि सारेर उम्मेदवार र नेतृत्वसहित संयूक्त भेला, बैठकमै केन्द्रित छ।

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा एमाले–माओवादी केन्द्रले वाम र कांग्रेस–राप्रपा (प्रजातान्त्रिक)ले लोकतान्त्रिक गठबन्धन बनाएर उम्मेदवारी दिएका छन्। एमाले–माओवादी केन्द्रलाई गठबन्धन व्यवस्थापन गर्न सुरुमा केही हम्मे देखिएको थियो।

चौतारा–साँगाचोकगढी–१, स्याउले र १४, डडुवाका दुबै पार्टीका स्थानीय नेता, कार्यकर्ताले गठबन्धनलाई भोट नदिने सार्वजनिक घोषणै गरेपछि खौलाबैला नै मच्चियो। ‘पानी बाराबार’ को अवस्थामा रहेका कार्यकर्तालाई मिलाउन गठबन्धनले नेताद्धय अमानसिंह तामाङ र सोम सापकोटालाई खटाउनु परेको थियो । स्थानीय चुनावमा माओवादी नेता तामाङ नगर प्रमुखमा बिजयी हुँदा एमाले नेता सापकोटा निकटम प्रतिस्पर्धी थिए।

 ‘दुबै पार्टीका उम्मेदवार गएपछि कार्यकर्तालाई मनाउन सहज भयो,’ गठबन्धनका एक एमाले नेताले भने, ‘दुबैतिरका कार्यकर्ता अब गठबन्धनका उम्मेदवारलाई जिताउन राजी छन् ।’ बलियो वाम गठबन्धन बनेकाले लोकतान्त्रिक गठबन्धनमा कार्यकर्ता व्यवस्थापन, असन्तुष्टि प्रकट गर्ने जस्ता समस्या छैनन्।

लोकतान्त्रिक गठबन्धनका नेता तथा कांग्रेस जिल्ला सभापति विकास लामा नगर, गाउँ र वडास्तरीय संयूक्त भेला गर्दै जिल्लादेखि तल्लोस्तरसम्म दुबै पार्टी सम्मिलित चुनावी प्रचार समिति बनाइ रहेको बताउँछन् । ‘त्यसपछि कार्यतालिका नै बनाएर मत माग्न घरदैलो अभियान चलाउँछौँ,’ उनले नागरिकसँग भने । उनका अनुसार चौतारा, मेलम्ची लगायत ठूला नगरमा संयूक्त भेला गरेर चुनावी प्रचार समिति बनाइ सकिएको छ।

वाम गठबन्धनले सदरमुकाम चौतारामा संयूक्त कार्यालय सञ्चालनमा ल्याइसकेको छ । उसले तालमेलको सकरात्मक सन्देश दिन भन्दै गठबन्धनका नेता, कार्यकर्तालाई एक्ला–एक्लै गाउँमा जान रोक लगाएको छ । बाम गठबन्धनका माओवादी जिल्ला नेता माधव सापकोटा जिल्लाका १ सय ३ वटै वडामा संयूक्त भेला सम्पन्न गरेपछि उम्मेदवार घरदैलोमा निस्कने बताउँछन्।

 ‘वडास्तरीय अगुवा, कार्यकर्ता भेला, बैठक र प्रशिक्षण गरिरहेका छौँ,’ उनले भने, ‘त्यहाँ गठबन्धनको औचित्य पुष्टि गराएपछि दुबैतिरका नेता, कार्यकर्तामा उत्साह थपिएको छ ।’ सुरुमा दुबैतर्फका नेता, कार्यकर्तामा गठबन्धनबाट असन्तुष्टि पैदा भए पनि ‘राष्ट्र हितकाका लागि चुनावी गठबन्धन गरेको’ बुझाएपछि त्यस्तो असन्तुष्टि हटिरहेको अनुभव उनको छ । कात्तिक १८ गतेसम्म संयूक्त भेला, चुनावी प्रचार समिति गठन गर्दै २० गतेबाट उम्मेदवाहरु भोट माग्न घर दैलोमा जाने कार्यतालिका बनेको उनले बताए।

वाम गठबन्धनले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा माओवादी नेता अग्निप्रसाद सापकोटा र २ मा एमाले नेता शेरबहादुर केसीलाई मैदानमा उतारेको छ । क्षेत्र नं. १ को दुवै प्रदेशसभा एमाले र २ को दुबै प्रदेश माओवादीले लिएका छन् । लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नं १ मा कांग्रेसका मोहनबहादुर बस्नेत प्रतिस्पर्धामा छन् । क्षेत्र नं. २ मा कांग्रेसले राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्सेरलाई सघाउँदा बाँकी सबै ठाउँमा उसले कांग्रेसलाई भोट हाल्न सहमति छ।

वाम गठबन्धनका नेता आफ्ना कार्यकर्तालाई स्थायी सरकार बनाइ मुलुकलाई आर्थिक समृद्धिमा हिँडाउन चुनावी तालमेल गरेको र आवश्यक पर्दा पार्टी एकता नै गर्ने भएको भन्दै सन्तुष्ट पार्ने प्रयास गरिरहेका छन् । उता कांग्रेस गठबन्धनको नेता भने भने ‘वाम गठबन्धनले लोकतन्त्र धरापमा पर्ने र निरंकुशता लादिन सक्ने’ भन्दै आफ्ना विचार संयूक्त कार्यकर्ता माझ लगिरहेका छन्।

प्रकाशित: १३ कार्तिक २०७४ १०:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App