रमेश नेपाल
जिवन विज्ञान विषेषज्ञ
हामी सबै मानिसहरुको उच्च महत्वकांक्षा हुन्छ । हामीलाई प्राप्ति मनपर्छ । उत्तरोउत्तर प्रगति गर्न मन लाग्छ । प्रगतिको शिखर चुम्न मन लाग्छ तर बाधा भइदिन्छ, अल्छी अनि आल्स्यता । यसको निराकरणको उपाय के त ? हामी सबैको सत्रु अल्छी, आलस्यता निराकरणका उपाय के होलान् ?
हामी सधैँ प्रायः सुत्ने बेलामा भोलि बिहान सबेरै उठ्छु भनेर सुत्छौँ । जब बिहान हुन्छ, घडीले उठ्ने बेला जनाउँछ, अलार्म बज्छ अनि हामीले आज दस मिनेट ढिला उठ्छु भनेर सुत्छौँ । फेरि दस मिनेट हुन्छ । त्यसैगरी समयलाई सार्छौं । फेरि पनि त्यही क्रम दोहो¥याउँछौँ अनि सदाझैँ बिहानभरी सुत्छौँ । बेलुका गरेको बाचा बिर्सन्छौँ । हामीलाई काम धेरै गर्नु छ । आजबाट सुरु गर्छु भन्यो तर गरिन्न । हामीलाई आलस्यले घेर्छ । हामीलाई अल्छीले रोक्छ । हामी आफू अल्छी हुनबाट रोक्न के गर्ने ? कसरी फुर्तिलो हुने ? कसरी सुत्ने बेलामा गरेको वाचालाई पुरा गर्ने ? कसरी गर्छु भनेको काम पूरा गर्ने ? हामी कसरी आफूप्रति इमान्दार हुने ? कहिलेसम्म हामी आफुले आफुलाई ठगिरहने ?
आफ्नो रोजाइ, चाख, मन परेको काम प¥यो भने हामी कसैलाई पनि अल्छी लाग्दैन । जब हामीलाई आफ्नो रोजाइ, चाख र मन परेको काम गर्न पाउँदैनौँ, जबर्जस्ती त्यो काम गर्छौं अनि हामीलाई अल्छी लाग्छ ।
आलस्य भगाउन मन परेको र इच्छा लागेको काम गर्नुपर्छ । मानौँ कसैलाई साहित्य लेख्न मन पर्छ तर उसले लेखाको हिसाब किताबसम्बन्धी काम गर्छ, कसैलाई नाटक अभिनय गर्न मन पर्छ तर ऊ जबर्जस्ती अरु काम गर्छ । कसैलाई पढाउन मन पर्छ तर यो कामबाट ऊ वञ्चित हुन्छ भने त्यतिबेला उसलाई आलस्यले घेर्छ । अल्छीले छोप्छ । अनि उसको प्रगति रोकिन्छ । आफूले गर्न खोजेको काम अगाडि आयो भने अल्छी लाग्दैन तर जबर्जस्ती थोपरेको काम गर्नु प¥यो भने अल्छी सँगसँगै हाम्रो प्रगति रोकिन्छ । भनाइ छ नि, ‘मन परेको काम गर्नाले असफल भइँदैन, बाध्यताको कामले सुख दिँदैन ।’
तपाईं कुनै मन परेको साथीहरुसँग बिहान ७ बजे कतै घुम्न जाँदै हुनुहुन्छ भने तपाईं रातभरी मस्तसँग निदाउन सक्नुहुन्न । अनि तपाईं बिहान ४ बजे उठेर यो यो मिलाउँछु भनेर सुत्नु हुन्छ । तपाईं भोलि बिहान ४ बजेअघि नै ब्युँझनु हुन्छ तर कसैले उठेर यो यो काम गर्नु भन्यो भने सात बजेसम्म सुत्नु हुन्छ ।
प्रत्येक व्यक्तिको लागि कर्म छुट्ट्याएको हुन्छ । उसको आनिबानी, विचारअनुरुप प्रत्येकको फरक–फरक कर्म हुन्छ ।
जसरी केटाकेटीहरु खेल खेल्दा सबै कुरा बिर्सिएर खेलमा मग्न हुन्छन्, त्यसरी नै तपाईं हामी पनि मन परेको काम गर्दा मग्न हुन्छौँ । सबै ध्यान काममा एकीकृत गर्न सक्छौँ । जबजब कामलाई ध्यानपूर्वक गरिन्छ, काम बिग्रने सम्भावना अत्यन्तै कम हुन्छ । जसले गर्दा हामीलाई सफलता हात लाग्छ ।
आफ्नो रुचि, इच्छा, लगावको गहिरो गरी अध्ययन गरेर पहिचान गरिसकेपछि उक्त काम गर्दा केटाकेटीले खेल खेल्दा मग्न भएजस्तै हामी नचाहिने कुरा सबै बिर्सन्छाैं कर्ममा तल्लिन हुन्छौँ । परिणाम जस्तोसुकै आओस्, वास्ता हुन्न तर कर्म यस्तो हुनुपर्छ, जुन काम गर्दा अरुलाई धक्का पर्न हुँदैन । जब हामीले मैले यो काम गर्दा म खुसी भएँ भनेर पत्ता लगाइन्छ, तब अल्छि भन्ने कुरा रहँदैन । अल्छीपन भाग्छ । अल्छी पछिपछि जोश जाँगर उमंग अघिअघि हुन्छ । अनि सफलता अनिवार्य प्राप्त हुन्छ ।
हाम्रो मूल शिक्षामा केही कमी कमजोरी छन् । खासमा हाम्रो मूल शिक्षा यस्तो हुनुपथ्र्यो– आफूले चाहेको काम गर्ने, आफ्नो इच्छा, भाव, विचारअनुरुप कर्म गर्ने तर यसैको अभावका कारण धेरै विद्यार्थीहरु पढाइदेखि विरक्त हुन्छन् । छोराछोरीलाई संगीत पढ्न मन लाग्छ । अभिभावकले अरु कुनै विषय पढ्न बाध्य गराइदिन्छौँ । त्यस्तै कसैलाई साहित्य रच्न मनपर्छ तर पढ्न चाहिँ अभिभावकको इच्छाअनुसार हुन्छ । हाम्रा अभिभावक बजारको पछाडि दौडिनुहुन्छ, छोराछोरीको पछाडि होइन । आफ्नो सन्तानको इच्छा कता छ, के गर्दा रमाउँछ, खुसी भएर कर्म गर्छ, त्यतातर्फ ध्यान दिनुपर्छ । आफ्नो कुरा जबर्जस्ती लाद्नु हुँदैन ।
आफूले इच्छा गरेको विषय पढ्न पाए भने जो कोही पनि फेल हुँदैनन् । उनीहरु सधैँ पास हुन्छन्, त्यति मात्र हैन, सफलताको शिखरमा पुग्छन् । त्यसैले विद्यार्थीले पनि आफ्नो इच्छा केमा छ, केमा रुचि छ भनेर पत्ता लगाउनुपर्छ । अभिभावकले पनि बच्चाको कुरा बुझिदिनु पर्छ ।
तर दबाब दियौँ भने डिप्रेसनजस्तो खतरानक मानसिक रोगको सिकार बन्न पुग्छन् । अध्ययन गर्दा सहज, रुचिकर, रमाइलो हुनुपर्छ । जसको परिणामस्वरुप जस्तोसुकै विषय पनि सहज हुन्छ अनि व्यक्ति सुखी हुन्छ ।
हामीले भनिसकेका छौँ, सबैका लागि फरक–फरक कर्म हुन्छ ।सबै आ–आफ्नो विषय हुन्छ रुचिको । एउटा व्यक्ति जुन कुरामा रमाउन सक्छ, अर्कोलाई त्यसमा बिल्कुलै रुचि नहुन सक्छ । फरक व्यक्तिको फरक इच्छा हुन्छ, रुचि हुन्छ त्यसैले त एउटै मातापिताबाट जन्मेको सन्तान पनि कोही डाक्टर, साहित्यकार, नेता, अफिसर आदि हुन्छन् । सबै व्यक्तिको क्षमता पनि अलग–अलग हुन्छ ।
मन परेको कर्म गाह्रो भए पनि काम गर्दागर्दै खुसी भइन्छ, मन नपरेको काम गर्दा भइँदैन ‘परो धर्म भयावह’ अर्थात् अरुले जबर्जस्त गर भनेको काम गर्दा भयावह स्थिति सिर्जना हुन्छ ।
हामी जीवन विज्ञान विभिन्न कार्यक्रम गर्छौं त्यसमध्ये ऐश्वर्य विज्ञानमा मेरालागि कर्म के हो ? मेरो इच्छा के हो ? के गर्दा म खुसी हुन्छु भन्ने कुराको पत्ता लगाउने काम गर्छौं । यस कार्यक्रममा भाग लिएकाहरु लाभान्वितसमेत भएका छन् ।
हामी सबैको फरक–फरक कर्म बाटो हुन्छन् । त्यसै अगाडि त्योे बाटो आउँदैन त्यसका लागि त प्रय्त्न गर्नुपर्छ, प्रयास गर्नुपर्छ । त्यसपछि विषय छनोट गर्नुपर्छ । अल्छी गरेर मलाई त जाँगरै लाग्दैन भनेर सुतेर बसेर आफ्नो राज मार्ग पत्ता लगाउन सकिँदैन ।
यदि कुनै काम गर्दा गर्नै मन लागेन भने नगर्नुस् रमाउन सक्नुभएन भने पनि नगर्नुस् आफ्नो बाटो के हो पत्ता लगाउनुस् अनि त्यही बाटोमा हिँड्नुस् ।
शान्ति र सम्वृद्धिका लागि, आफ्नो हितका लागि जुन काम गर्दा ठीक हुन्छ त्यही काम गर्नुस् । उक्त काम गर्दा निद्रा लाग्दैन, समय गएको पत्तो हुँदैन, आलस्यबाट मुक्त हुनका लागि आफ्नो विषय छनोट गरेर खुसी र आनन्दको छनोट गरौँ । आफैँले रोजेको मन परेको काम भएपछि कामले बोझ दिँदैन न त अरुलाई पनि नराम्रो हुन्छ ।
राम्रो विषय पढ्दैमा कोही पनि सफल हुँदैन । सफल हुनका लागि इच्छ्याएको विषय पढ्नुपर्छ अनि इच्छ्याएको कर्म रोज्नुपर्छ । सबै विषय सबैका लागि होइन, प्रत्येक मानिसलाई फरक–फरक हो । आफ्नो विषय छनोट गर्न अल्छी नगरौँ । जब आफ्नो विषय पत्ता लाग्छ, जब आफूले मन परेको विषय छनोट गरिन्छ, हामी सबैको उन्नति प्रगति हुन्छ ।
प्रकाशित: १३ कार्तिक २०७४ ०८:१७ सोमबार