coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

खाना र क्यान्सर

भयावह ठानिने क्यान्सर रोगीहरु भाग्यलाई दोसी ठान्छन् । चिकित्सकहरुका अनुसार क्यान्सरसँग भाग्य भन्दा मानिसको जीवनशैली र व्यवहारको प्रत्यक्ष सम्बन्ध छ तर क्यान्सरका अधिकांश क्यान्सरका कारणबारे मानिस सचेत भएमा रोक्न सकिन्छ ।
विश्व क्यान्सर अनुसन्धान कोष नामक संस्था गरेको अध्ययनले दैनिक खाद्य परिकार राम्रोसँग निरीक्षण र परीक्षण गरेर मात्रै खाने गरेमा क्यान्सरको जोखिमलाई ३० देखि ४० प्रतिशतसम्म कम गर्न सकिन्छ । छानेर स्वास्थ एवं सन्तुलित भोजन खाने, शारीरिक व्यायाम गर्ने र धुम्रपानमुक्त भएमा ६० देखि ७० प्रतिशतसम्म क्यान्सरको खतरा घटाउन सकिन्छ । चिकित्सकहरुका अनुसार खाद्य परिकार र जीवनशैली, बढ्दो औसत आयु, तीव्र शहरीकरण र औद्योगिकरण क्यान्सरको प्रमुख कारण हो । क्यान्सरले उमेर, जात र क्षेत्र केहीका आधारमा भेदभाव नगरे पनि स्वस्थकर र अस्वस्थकर जीवनशैलीका आधारमा भने भेदभाव गर्ने चिकित्सकहरुको भनाइ छ ।
विभिन्न अनुसन्धानले ९० प्रतिशत क्यान्सरको कारण धुम्रपान, सूर्ति, अस्वस्थकर खानपान, रहनसहन र वातावरणीय प्रभाव हो । १० प्रतिशत क्यान्सर भने शरीरको आन्तरिक वा वंशाणुगत कारणले हुन्छ । यसका साथै विकिरण, व्यावसायिक प्रदूषण, भाइरस, परजीवी, सरसफाइमा कमी, वंशाणुगत कारण, शारीरिक दुर्वलतालाई पनि क्यान्सरका कारण हुन् । अनुसन्धान अनुसार नेपालमा सबैभन्दा बढी फोक्सो, पेट, आमासय, मुख, पाठेघरको मुख, प्रोस्टेट, स्तनको क्यान्सर हुने गरेको छ । त्यसमध्ये महिलामा पाठेघरको क्यान्सर र पुरूषमा फोक्सोको क्यान्सर बढी छ । अनुसन्धानका अनुसार जनसंख्याका करिब १३ प्रतिशतमा क्यान्सर रोग लागेको हुन्छ ।
‘फोक्सो एवं मुख र घाँटीको क्यान्सरको कारण ध्रुम्रपान एवं सूर्तीजन्य पदार्थको सेवन हो, पेट, कलेजो एवं आमासयको क्यान्सरको कारण खानपान र जीवनशैली नै हो,’ भरतपुर क्यान्सर अस्पतालका क्यान्सर विशेषज्ञ डा.अन्जनीकुमार झाले भने, ‘समयसमयमा पाठेघरको जाँचबाट समयमै थाहा पाउन सकिन्छ, स्तर क्यान्सर पनि महिलाले आफैँ पनि छामेरै अनुमान लगाउँन सक्छन् ।’ क्यान्सरका लक्षण एवं संकेत देखिनासाथ समयसमयमा परीक्षण गर्ने हो र समयमै पहिचान गर्नसक्दा क्यान्सर निको समेत पार्न सकिन्छ । विश्व स्वास्थ्य संगठनले करिब ४५ प्रतिशत क्यान्सर रोकथाम गर्न सकिने, एक तिहाइ क्यान्सर उपचारबाट निको बनाउन सकिने र बाँकी बिरामीलाई पनि उपचारबाट आरामदायी आयु लम्ब्याउन सकिने जनाएको छ ।
वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा. आरती शाहका अनुसार धेरै पोलेको, धुवाँमा सेकेको खाद्य परिकारहरु खाने बानी परेका मानिसमा क्यान्सरको सम्भावना बढी हुन्छ । ‘बेसी पोलेको र धुवाँमा सेकेको खाद्य परिकारमा क्यान्सरजन्य सशक्त तŒवहरु हुन्छन् । यसको सट्टामा खाद्यवस्तुलाई कम तापक्रममा बफायर र उसिनेर खाँदा लाभदायक हुन्छ ।’
जाँडरक्सी बढी खानाले मुख, घाँटी र कलेजोको क्यान्सर लाग्ने खतरा बढी हुने चिकित्सकहरुको भनाइ छ । यस्ता खाद्यान्न यसबाट स्तन क्यान्सरको पनि कारण बन्ने गर्छ । ‘तापक्रम नमिलाई धेरै दिनसम्म थन्क्याएर राखेको, ढुसी परेको खाना खाँदा पनि क्यान्सर हुनसक्छ,’ डा. शाह भन्छिन्, ‘पग्लिएर वा स्वाद बिग्रिएर जाने खाद्य पदार्थ किन्दा या घरमा ल्याउँदा यथोचित तापक्रम साथ फ्रिज सुरक्षित राखेर मात्रै खानुपर्छ ।’
चिकित्सकहरुका अनुसार नून बेसी हालेको खानाले पेटको क्यान्सर हुने हुनाले स्वादका लागि मसलाको प्रयोग बढाउन सकिन्छ । ‘बजारमा अनेकथरी रङ राखिएका र प्रिजरभेटिभ हालेका कृत्रिम तत्व मिसाएका खाद्यान्नले क्यान्सरको जोखिम बढाउँछ,’ डा.झा भन्छन्, ‘सकेसम्म प्रकृतिक र ताजा खाएमा विकृति बढाउने जिनहरु बढ्न पाउँदैन, डिब्बामा बन्द गरिएका र गाडेका अचारहरु त खानै हुन्न ।’


प्रोटिन र कार्बोहाइड्रेड बढी खाँदा तौल बढ्ने र बढी तौल पनि पेट, पाठेघर, पित्तथैली, प्रोस्टेट ग्ल्यान्डको क्यान्सरको कारण बन्ने विज्ञहरुको भनाइ छ । अध्ययनले धुम्रपान एवं खैनी, गुड्खा पान सुपारी तथा तम्बाखु जस्ता सेवनले मुख, घाँटी श्वासनली र फोक्सोको आदिको क्यान्सर गराउने देखाइसकेको छ ।

चिकित्सकहरुका अनुसार क्यान्सर रोकथामका लागि शरीरको तौल धेरै कम र बेसी हुन दिनुहुन्न । सागपात, गेडगुडी, फलफूल, आलु, सखरखण्ड बढी खानाले जोखिम घटाउँछ । सामान्यतः गेडागुडी सुप, आलु, रोटी, दालभात तरकारीको साथै प्रशस्त सागपात र फलफूल खानुपर्ने चिकित्सकहरु बताउँछन् । दैनिक घटीमा ४०० ग्राम फलफूल र सागपात र ५ सय ६० ग्रामसम्म खानामा दालभातलगायत गेडागुडी समावेश गर्न चिकित्सकहरु सुझाव दिन्छन् । पालिस नगरिएका गेडागुढीले पोषणसँगै क्यान्सरको रोगथाम गर्ने क्षमता बढाउँछ । सकेसम्म रातो मासु नखाने, खाँदा पनि एकपटकमा ६० देखि १०० ग्रामभन्दा बढी कुनै हालतमा नखाने चिकित्सकहरु सुझाव दिन्छन् ।
क्यान्सरविरुद्ध काम गर्ने अन्तर्राष्ट्रिय संस्था युआइसीले सन् २०३० सम्ममा करिब १ करोड ७० लाख मानिस क्यान्सर रोगबाट प्रभावित हुने जनाएको छ । नेपालमा करिव ५० हजार क्यान्सर रोगी अनुमान गरिएको छ । अनुसन्धानका अनुसार नेपालमा जनसंख्याको करिब १३ प्रतिशतमा क्यान्सर रोग लागेको हुन सक्छ । यसमध्ये करिब चार हजार पाँच सय बिरामी मात्र अस्पताल पुग्छन् ।
नेपालमा बर्सेनि ५० हजार नयाँ क्यान्सरका बिरामी थपिने गरेको अनुमागन गरिएको छ । ‘९० प्रतिशतलाई क्यान्सर रोग लागेको थाहै हुँदैन, थाहा पाउँदा उपचारमा ढिला भइसकेको हुन्छ,’ डा.झाले भने, ‘शरीरमा अस्वभाविक परिवर्तन आउनेबित्तिकै अस्पताल आइपुगे रोग निको पार्न सकिन्छ ।’
सामान्यतः फरकफरक ठाउँका क्यान्सरको लक्षण फरक हुने भएपनि सामान्यतः निको नहुने खोकी वा धोद्रो स्वर हुनु, स्तन वा शरीरको अरु ठाउँमा नदुख्ने गिर्खा आउनु, कोठीको आकारमा परिवर्तन हुन क्यान्सरका लक्षण हुन् । त्यस्तै निको नहुने घाउ, अत्यधिक रक्तस्राव या पिप, दिसा वा पिसाब गर्ने बानीमा फेरबदल, अपच वा निल्न गाह्रो भए क्यान्सरको आशंका गरी अस्पताल पुग्नुपर्ने विज्ञहरू बताउँछन् ।

 

प्रकाशित: १३ कार्तिक २०७४ ०८:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App