coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मुलुकको भावी दिन जटिल

काठमाडौं – चालु आर्थिक वर्षका सुरु महिनाका आर्थिक तथ्यांकहरुले भाबी दिनमा मुलुकको आर्थिक अवस्था जटिलतातर्फ जाने संकेत गरेका छन् । मुलुकको आर्थिक गतिविधिको तथ्यांक राख्ने केन्द्रीय निकाय नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेका तथ्यांकले देशको अर्थव्यवस्था आगामी दिनमा त्यत्ति सहज नहुने संकेत गरेको हो ।

राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो दुई महिनासम्ममा राजस्व लक्ष्य अनुसार उठेको छैन । आयात उच्च दरले बढेको छ भने निर्यात झनै खस्कँदो अवस्थामा छ । यही बेला अर्थतन्त्रलाई धान्ने प्रमुख औजार रेमिटेन्सको वृद्धिदर पनि एक प्रतिशतभन्दा तल झरेको छ । सरकारले लक्ष्यअनुसार खर्च गर्न पनि सकेको छैन । सबै आर्थिक परिसूचकहरु मजबुत अर्थतन्त्रको पक्षमा नभएको अहिलेको अवस्थामा आगामी दिन पनि यस्तै रहे मुलुकको आर्थिक अवस्था सहज हुने छैन।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको पहिलो दुई महिनामा ११ अर्ब १२ करोडले घाटामा रहेको चालु खाता यो वर्ष बढेर १७ अर्ब ८८ करोड पुगेको छ । यसैगरी अघिल्लो वर्षको पहिलो दुई महिनामा तीन अर्ब ५० करोडले घाटामा रहेको शोधनान्तर स्थिति अहिले पाँच अर्ब ८७ करोडले घाटामा छ। 

बैंकका अनुसार चालु आवको पहिलो दुई महिनामा रेमिटेन्स ०.७ प्रतिशतले मात्र बढेको छ । चालु आवमा एक सय १५ अर्ब ५५ करोड रेमिटेन्स आएको छ । अघिल्लो वर्ष यही अवधिमा रेमिटेन्सको वृद्धिदर ६.६ प्रतिशत थियो । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या (पुन श्रमस्वीकृति बाहेक) मा कमी आएको छ । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या यो अवधिमा ७.२ प्रतिशतले घटेको छ। 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १० प्रतिशतले घटेको थियो । यो वर्ष मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेबिया र कतार जानेको संख्यामा उल्लेख्य गिरावट आएको छ।

बैंकका अनुसार चालु आवको पहिलो दुई महिनामा कुल वस्तु आयात ११ प्रतिशतले बढेर एक खर्ब ६५ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४३.४ प्रतिशतले वृद्धि भएको थियो । यो वर्ष भारतबाट भएको आयात ८.१ प्रतिशत, चीनको आयात २६.३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १०.७ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, सुन, सिमेन्ट, सञ्चारका साधन तथा पुर्जा लगायत वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपूर्जा, खाने तेल, चाँदी, सेनिटरीवेयर, विद्युतीय सामग्री लगायत वस्तुहरुको आयात घटेको छ। 

भन्सार नाकाका आधारमा वीरगन्ज, सुक्खा बन्दरगाह, भैरहवा, कृष्णनगर र कैलाली भन्सार नाकाबाट भएको निर्यातमा कमी आएको छ भने अन्य भन्सार नाकाहरूबाट भएको निर्यात बढेको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा भैरहवा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कञ्चनपुर भन्सारबाट भएको आयातमा कमी आएको छ । अन्य नाकाबाट भएको आयात बढेको छ। 

यो वर्ष कुल वस्तु व्यापार घाटा ११.८ प्रतिशतले बढेर एक खर्ब ५१ अर्ब ८३ करोड पुगेको छ । 
अघिल्लो वर्षको यस्तो व्यापार घाटा ४८.१ प्रतिशतले बढेकोे थियो । निर्यात–आयात अनुपात ८.२ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.८ प्रतिशत थियो।

राष्ट्र बैंकका अनुसार गत वर्षमा १० खर्ब ७९ अर्ब ५२ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति भदौमा थोरै बढेर १० खर्ब ७९ अर्ब ९७ करोड पुगेको छ । राष्ट्र बैंकमा रहेको सञ्चिति २०७४ असार मसान्तको नौ खर्ब २७ अर्ब २७ करोडको तुलनामा भदौमा ०.४ प्रतिशतले कमी आई नौ खर्ब २३ अर्ब ९८ करोडमा झरेको छ। 

राष्ट्र बैंकका अनुसार गत साउनमा मूल्य वृद्धि २.३ प्रतिशत रहेकोमा भदौमा ३.४ प्रतिशत पुगेको छ । साउनको अन्त्यतिर भएको अत्यधिक मनसुनी वर्षाका बाढी पहिरो तथा डुबानले तरकारीको मूल्यमा उच्च वृद्धि भएको कारण भदौमा महँगी बढेको हो । अघिल्लो वर्ष भदौमा भने महँगी ७.९ प्रतिशत थियो। 

यो अवधिमा खाद्य मूल्य वृद्धि १.८ प्रतिशत छ । अघिल्लो वर्ष यो ७.७ प्रतिशत थियो ।  यो समूह अन्तर्गत दलहन तथा गेडागुडीको मूल्यमा २३.७ प्रतिशत र मसलाको मूल्यमा ४.२ प्रतिशतले कमी आएका कारण खाद्य मूल्य वृद्धि अघिल्लो वर्षको भन्दा न्यून रहन गएको हो। 

यो वर्ष तरकारीको मूल्य ८.९ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य ८.८ प्रतिशतले बढेको छ । यस्तै गैरखाद्य मूल्य वृद्धि ४.७ प्रतिशत छ । अघिल्लो वर्ष यो ८.१ प्रतिशत थियो।

लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, घरायसी सामान तथा सेवा लगायत वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैरखाद्य मूल्यवृद्धि कम रहन गएको हो। 

क्षेत्रगत आधारमा उपभोक्ता मूल्यवृद्धि हिमाली भेगमा ५.४, तराईमा ३.८, पहाडमा ३.४ र काठमाडौं उपत्यकामा २.८ प्रतिशत छ । अघिल्लो वर्ष हिमाली भेगमा ७.५, तराईमा ७.४, पहाडमा १०.३ र काठमाडौं उपत्यकामा ६.६ प्रतिशत थियो। 

राष्ट्र बैंकले बाढी र डुबानबाट कृषि उत्पादनमा क्षति पुगे पनि धानबालीमा धेरै क्षति नभएको र पछिल्लो समयमा मनसुनी वर्षा सामान्य रहेकोले कृषि क्षेत्रको वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरेको छ।

यस्तै पछिल्लो समय ऊर्जा आपूर्तिमा सुधार आएको तथा कच्चा पदार्थको आपूर्ति समेत नियमित रहेकोले उद्योगहरुको क्षमता उपयोगमा विस्तार भएको अनुमान रहेको छ। 

अहिले होटल बेड अकुपेन्सी दरमा वृद्धि भएको र होटल बुकिङ
एवम होटल तथा रेस्टुरेन्टको दर्ता उत्साहप्रद रहेकाले पर्यटन क्षेत्रको वृद्धि सन्तोषप्रद हुने अनुमान राष्ट्र बैंकको छ । बैंकले आगामी मंसीर १० र २१ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने बताएको छ । निर्वाचनका कारणले  उपभोग खर्चमा वृद्धि हुुुने, समग्र आन्तरिक माग बढ्ने र यसबाट आर्थिक वृद्धि गतिशील हुुने पनि बैंकको अनुमान छ।

प्रकाशित: १३ कार्तिक २०७४ ०७:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App