८ वैशाख २०८१ शनिबार
समाज

स्युचाटार सवस्टेसनमा आगलागी

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणको स्युचाटार ‘सवस्टेसन’मा भएको आगलागीका कारण रु एक करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

कुलेखानी जलविद्युत् आयोजनाबाट ल्याइएको विद्युत् काठमाडौं उपत्यकामा वितरण गर्न निर्माण गरिएको उक्त सवस्टेसनमा रहेको १३२/६६ केभी क्षमताको ठूलो ट्रान्सफर्मरमा आज अपराह्न २ बजे आगलागी भएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक हेमकुमार थापाले नेपाल प्रहरी, जुद्ध वारुणयन्त्र र नेपाल प्रहरीको दमकलले आगलागी नियन्त्रणमा लिएको जानकारी दिए। कुलेखानीबाट आएको विद्युत् प्रवाहमा समस्या आउँदा आगलागी भएको प्राधिकरण स्युचाटार सवस्टेसनका इलेक्ट्रिसियन शारदा देवकोटाले जानकारी दिए।

“करिब १५ मिनेट विद्युत् प्रवाह बन्द भयो, सम्पूर्ण प्रणाली नै बन्द भयो, त्यसलाई नियन्त्रणमा लिने प्रयास गर्दा गर्दै पुनः दोस्रो पटक विद्युत् प्रणालीमा समस्या भयो र आगो लाग्यो। आगलागीबाट एउटा ठूलो ट्रान्सफर्मरमा क्षति पुगेको छ”–देवकोटाले भने।

कुन कारणले आगलागी भयो भन्ने बारेमा थप अध्ययन भइरहेको इलेक्ट्रिसियन देवकोटाले बताए। काठमाडौँ उपत्यकाभर प्रसारण हुने सो सवस्टेसनमा नै आगो लागेपनि वैकल्पिक उपाय अपनाएर विद्युत् आपूर्ति गरिने प्राधिकरणले जनाएको छ। रासस

 

प्रकाशित: १७ श्रावण २०७३ ११:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App