७ वैशाख २०८१ शुक्रबार
विचार

के इतिहास दोहोरिएला ?

नेपालको इतिहासले के खुलाएको छ भने यो कहिले फैलिएको र कहिले साँघुरिएको देश हो । यो ऐतिहासिक काल याने करिब २६ सय वर्षदेखि फैलिँदै गएको देश थियो भने सात सय वर्षदेखि साँघुरिँदै गएको थियो । अर्को शब्दमा भत्रे हो भने नेपालको इतिहासको किराँत र लिच्छवी काल र त्यसपछिको अन्तरिम काल अथवा अन्धकार युगमा यो मुलुक फैलिँदै गएको थियो । तर १३ औँ शताब्दीमा मल्लकाल सुरु भएदेखि यो देश साँघुरिँदै गएको थियो । तर १८ औँ शताब्दीमा शाहकाल सुरु भएपछि यो पुनः फैलिन थाल्यो । तर १९ औँ शताब्दीमा अंग्रेजहरूसँगको युद्धमा नेपाल फेरि सानो भयो। त्यसै शताब्दीमा जंगबहादुर राणाले नयाँ मुलुक थपेर अलिकति भए पनि यो फैलियो । त्यसपछि भने नेपालको आकार यथावत रहेको छ । तर आज २१ औँ शताब्दीमा आएर प्रश्न खडा भएको छ कि कतै यो मुलुकको आकार बदलिने त होइन ? कसैले देशै नरहने हो कि भत्रे आशंका गर्दैछन् भने कसैले यसको एक चोक्टा छुट्टिएर जाने त होइन भत्रे शंका गर्छन्।

युरोपीय देशहरूको आकार–प्रकार ठूलो–सानो हुँदै गर्दा दुईटा विश्वयुद्ध भए । त्यसपछि संयुक्त राष्ट्र संघको प्रभावबाट देशहरू टुक्रिने जोडिने क्रम घट्दै गएको हो । तर केही वर्ष अगाडि मात्र युक्रेनबाट क्रिमियालाई छुट्याएर रुसले जसरी आफूमा मिलायो त्यसबाट देशको आकार बदलिने क्रम अहिले पनि चलिरहेको देखियो । यो क्रमले खासगरी साना मुलुकहरूको मनमा चिसो पसेको छ । त्यसबाट नेपाल पनि उन्मुक्त रहेको छैन । हुन त सानो मुलुक भए पनि नेपालको आकार बदलिन त्यति सजिलो छैन जति केही नेपालीहरू यसबाट तर्सिएका छन् । एउटा छिमेकीसित डर छ भने अर्कोसँग भर छ । नेपालीहरू आफैँले आफ्नो देशको आकार जोगाउन नसके पनि छिमेकीहरूको प्रभावले यो संरक्षित रहने गरेको छ। 

मल्लकालमा करिब ९० जना राजा भए तर आपसी कलह र फुटबाट मल्ल राज्यकै नाश भयो । आजको नेपालको बहुदलीय राज्यमा ९० वटा दलले निर्वाचनमा भाग लिइरहेका छन् । यो संयोग हो कि संकेत ? यिनीहरूबीचको कलह र फुटले पनि नेपालको नाश नगर्ला भनेर कसैले भन्न सक्छ ?


आजको नेपालमा जुन किसिमका विखण्डनकारी गतिविधि भइरहेका छन् त्यसको झझल्को नेपाली इतिहासको मल्लकालमा देखिएको थियो । एकीकृत नेपालमा यक्ष मल्ल सत्रौँ मल्ल राजा भएपछि यो टुक्रिन सुरु भयो । यहाँ कान्तिपुर, ललितपुर, भक्तपुर, दोलखा, बनेपा आदि राज्य खडा हुन गए । इतिहासका प्राध्यापक डा. सुरेन्द्र केसीले त्यसबेलाको चित्रण जसरी गर्नुभएको छ सो आजको अवस्थाकै जस्तो लाग्छ । उहाँले भन्नुभएको छ, ‘यी मल्ल राजघरानाका व्यक्तिहरूले आफ्नो सत्ता महत्वाकांक्षाका कारण राष्ट्रलाई विखण्डित तुल्याउनु निश्चय नै गम्भीर परिणामको दूरगामी महत्व राख्ने घटना नै थियो । तदनुसार उपत्यकाको विभाजनका कारण यहाँका तीनै राज्य, राजा र जनताबीचको अन्तरसम्बन्ध ज्यादै नै कटुतातर्फ विकास भयो । पूर्व समयमा एकै राज्यका रैती भएको र समान आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक आकांक्षा भएर पनि तिनीहरूबीच कृत्रिम विभाजन खडा गराइयो । फलस्वरूप एक राज्यको नागरिक अर्को राज्यमा जाँदा दुव्र्यवहार गरिने, एक राज्यले अर्को राज्यको क्षेत्रमाथि आक्रमण गरी हत्याउने, कहिले भक्तपुर, ललितपुर मिलेर कान्तिपुरमाथि आक्रमण गर्ने अनि कहिले कान्तिपुर र ललितपुर मिली भक्तपुरमाथि आक्रमण गर्ने नराम्रो प्रवृत्तिको विकास भयो ।’ के मल्ल राजाहरूको नाउँको ठाउँमा आजका नेताहरू र विभिन्न राज्यहरूको ठाउँमा संघीय प्रदेशहरूको भूमिका मिल्दोजुल्दो देखिन्न ? संघीयताको नाउँमा भएको मधेसी आन्दोलनको दौरान सौहार्दरूपमा बसोवास गरेका पहाडीहरू भाग्नुपरेको, प्रदेश नं. ५ लाई छुट्याउन खोज्दा भएको आन्दोलन र संविधान संशोधनमा चलिरहेको संघर्ष र त्यसबाट सिर्जना गरिएको सामाजिक दुर्भावनाले नेपालमा मल्लकालको झैँझगडा र दुर्भावना दोहोरिएको छ । मल्लहरूबीचको कलहबाट मल्लहरूको नाश भएजस्तै के नेपालीहरूबीच रोपिएको दुर्भावनाले नेपालको नै नाश हुने त होइन ? 

यसै कालसित दाँज्न मिल्ने अर्को कारण पनि छ । त्यो हो रत्न मल्ल । उनी त्यो व्यक्ति थिए जसले प्रथम पटक नेपाल उपत्यकाको राज्यमा विभाजनको थालनी गरे । उनले पहिलो पटक कान्तिपुरलाई अलग राज्यका रूपमा घोषित गरेका थिए । फलस्वरूप राज्यको विभाजन प्रक्रियाको सुरुवात भयो जो कहिल्यै नथामिएको मात्र होइन, नेपाल उपत्यकाको राज्यको समाप्तिका कारणसमेत यही घटना बन्न पुग्यो । किनभने, यिनको यो र भक्तपुरलाई अरू धराशयी बनाउने नियतका कारण उपत्यकाका राज्यहरू दिनानुदिन कमजोर बन्दै गए । बाह्य हस्तक्षेप रोक्न अक्षम रहे । त्यति मात्र होइन, एक अर्काविरुद्ध बाह्य शक्तिलाई भित्र्याउने प्रवृत्तिसमेत यथावत रह्यो । आजको राजनैतिक मञ्चमा देखिने सबभन्दा महत्वाकांक्षी नेता पुष्पकमल दाहाल नै देखिएका छन् । उनकै नेतृत्वमा चलेको दस वर्षे सशस्त्र युद्धबाट नै संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता आएको भनेर गर्व गर्ने गर्छन् । गणतन्त्र ल्याउनका लागि १२ बुँदे सम्झौता भएको सबैलाई ज्ञातै छ । त्यो पनि विदेशीको आदेश निर्देशमा भएको खुलासा भएकै छ । माओवादी युद्ध पनि विदेशीकै संरक्षकत्व र समर्थनमा चलेको पनि खुलासा भएकै छ । यसै सिलसिलामा विदेशी हस्तक्षेप बढेको पनि घटनाक्रमले देखाएकै छ । यसै क्रममा राज्य कमजोर हुँदै गएको महसुस पनि सबैले गरेकै छन् । यसैले शंका लाग्छ कि कतै नेपालमा मल्ल वंश समाप्त भए जस्तो नेपालमा नेपालीहरूको शासन पनि समाप्त हुने त होइन ?

यो भन्दा पनि रोचक के देखिन्छ भने मल्लकालीन शासन पद्धति पनि आजको पद्धतिसित तुलना गर्न मिल्छ । हामीलाई थाहा छ नेपालको संविधान सहमतिबाट बनेको छ र सहमतिबाट नै चलेको छ । डा. सुरेन्द्र केसीले पनि मल्लकालमा यस्तै शासन पद्धति कायम रहेकामा प्रकाश पार्नुभएको छ । उनले भनेका छन्, ‘त्यसबखत एकभन्दा बढी ६—७ जनासम्म पनि शासनमा सहभागी रहेको देखापर्छ । दाजुभाइ मात्र होइन भानिजसमेत शासनमा सहभागी रहेका देखिन्छन् । उता यिनीहरूबीचको कार्य विभाजनको अभावका कारण प्रशासनमा हस्तक्षेप, अन्योल तथा वैमनस्यता बढ्नु स्वाभाविक हुन्थ्यो । तिनीहरूबीच शक्तिका निम्ति होडबाजी पनि चल्थ्यो र जो शक्तिशाली हुन्थ्यो त्यसले बाँकी संयुक्त शासकहरूलाई शासनबाट हटाउनमा सफलता प्राप्त गथ्र्याे र आफ्नो एकलौटी राज्याधिकार कायम गथ्र्यो । त्यसैप्रकार महत्वाकांक्षी व्यक्ति अलग राज्य स्थापनाको हर्कतसम्म गर्न पुग्थ्यो । यक्ष मल्ल र अरू कतिपय शासकहरू संयुक्त शासककै रूपमा शासनमा पुगेका भए तापनि तिनीहरू आफ्ना शासकहरूलाई अपदस्थ गर्न वा नियन्त्रणमा राख्न सफल देखिए । यसरी के देखिन्छ भने मल्ल कालमा चलेको यो संयुक्त शासन प्रथाले मल्ल परिवारभित्र अन्तर्कलह बढाउन र अन्ततः राज्य बिखण्डित हुनमा ठूलो भूमिका खेलेको देखिन्छ ।’ सहमतिबाट बनेको संविधानको कार्यान्वयन दल र नेताहरूबीचको कलहका कारण हुन नसकेको खुलासा हाम्रा अगाडि दिनदिनै भइरहेको छ । नेपाली कांग्रेस र एमाले मिलेर माओवादीलाई एकातिर पन्छाउनु, नेपाली क्रांग्रेस र माओवादी मिलेर एमालेलाई किनारा लगाउनु र एमाले र माओवादी मिलेर नेपाली कांग्रेसलाई एक्लो पार्नु यही आपसी कलह र महत्वाकांक्षाकै फल हो । यसको प्रभाव उनीहरूमाथि मात्र परेको छैन । यसको नराम्रो प्रभाव परेको छ राज्य जो दिनानुदिन कमजोर भएर गइरहेको छ। राज्य कमजोर हुनु भनेको बाह्य प्रभाव बढ्नु हो र त्यसबाट राज्यको विनाश निम्त्याउनु हो जुन मल्लकालले देखाइसकेको छ ।
यस तथ्यको पुष्टि अर्को ऐतिहासिक घटनाबाट पनि हुन सक्छ । पृथ्वीनारायण शाहले कीर्तिपुरमा तीन पटक आक्रमण गरेपछि मात्र त्यो राज्य आफ्नो हातमा पारेका थिए । पहिलो लडाइँमा कान्तिपुर, ललितपुर र भक्तपुर तीनै राज्य मिलेर कीर्तिपुरलाई सघाएका थिए । तर पछि उनीहरू आपसमा मिल्न नसकेर हात झिकेपछि कीर्तिपुरको हार भयो । यसबाट थाहा हुन्छ, आपसी फुटबाट आफ्नो नाश हुन्छ । के यही कुरा आजको नेपालमा लागू भएको छैन ? मल्लकालमा करिब ९० जना राजा भए तर आपसी कलह र फुटबाट मल्ल राज्यकै नाश भयो । आजको नेपालको बहुदलीय राज्यमा ९० वटा दलले निर्वाचनमा भाग लिइरहेका छन् । यो संयोग हो कि संकेत ? यिनीहरूबीचको कलह र फुटले पनि नेपालको नाश नगर्ला भनेर कसैले भन्न सक्छ ? 

प्रकाशित: १३ कार्तिक २०७४ ०४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App