८ वैशाख २०८१ शनिबार
खेल

सिरी ‘ए’ मा हिग्विनको सयौं गोल

मिलान– स्ट्राइकर गोन्जालो हिग्विनले इटालियन सिरी ‘ए’ मा एक सयौं गोल पूरा गरेको दिन शनिबार साबिक विजेता युभेन्ट्स एसी मिलानलाई पराजित गर्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
युभेन्ट्सले मिलानको चुनौती २–० ले पाखा लगाएको हो।

 मिलानको घरेलु मैदान सान सिएरोमा सम्पन्न खेलको २३औं मिनेटमा हिग्विनले गरेको गोलमा युभेन्ट्सले अग्रता लिएको थियो । हिग्विनले पाउलो डिबालाको पासमा आफ्नो एक सयांै गोल पूरा गरेका थिए ।  उनी सन् २०१७ मा नेपोलीबाट युभेन्ट्समा आबद्ध भएका थिए।

६३औं मिनेटमा हिग्विनले क्वाडार्डो आशामोभको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए ।
‘चिर प्रितिद्वन्द्वी मिलानसँग सान सिएरोमा खेल्न सधैँ कठिन हुने गर्दछ । यो प्रतिष्ठाको लडाइँ भएकाले यसमा प्रदर्शनभन्दा पनि नतिजा महत्वपूर्ण हुन्छ,’ युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीले भने, ‘यस जितले मंगलबार हुने च्याम्पियन्स लिग भिडन्तका लागि हौसला दिन्छ।’

यस जितपछि ११ खेलको समाप्तिमा २८ अंक जोडेको युभेन्ट्स शीर्ष स्थानमा उक्लिएको हो । समान खेलमा १६ अंक जोडेको मिलान आठाैँ स्थानमा छ । एक खेल कम खेलेको नेपोली २८ अंक भए पनि गोलअन्तरमा पछि पर्दै दोस्रो स्थानमा झरेको छ।

हिग्विनले गत साता एसएपिएल–२०१३ विरुद्धको खेलमा गोल गर्दै एक सयांै गोल पूरा गरेका थिए । तर रेफ्रीले उनको गोललाई अफसाइड भन्दै मान्यता दिएका थिएनन्।

‘एसएपिएलसँगको खेलमा गोल गरे पनि रेफ्रीले त्यसलाई मान्यता दिएनन्,’ अर्जेन्टिनी स्ट्राइकर हिग्विनले भने, ‘मैले सान सिएरो एक सयौं गोलको गन्तव्य बन्छ भन्ने सोचेको थिएँ र आज त्यही भयो । १ सय १ गोल । यो ठूलो उपलब्धि हो ।’
युभेन्ट्ससँगको हारपछि मिलानका प्रशिक्षक भिन्सेन्जो मोन्टेलाले टोलीको अर्को सिजन च्याम्पियन्स लिग खेल्ने लक्ष्यमा अझै पर धकेलिएको प्रतिक्रिया दिएका छन्।

‘हामीले पाएको धेरै गोलका अवसरलाई गोलमा परिणत गर्न सकेनांै । त्यौ नै हाम्रो हारको प्रमुख कारण हो,’ मोन्टेलोले भने, ‘हिग्विन विश्वका उत्कृष्ट स्ट्राइकरमध्येका एक हुन् । आज उनले थप एक पटक आफूलाई प्रमाणित गरे ।’
शनिबार सम्पन्न अर्को खेलमा एएस रोमाले बोलोग्नाको चुनौती १–० ले पन्छाएको छ । ३३औं मिनेटमा स्टेफन एल सारावीले गरेको गोल रोमाको जितमा निर्णायक बन्यो।

यस जितपछि ११ खेलको समाप्तिमा २४ अंक जोडेको रोमा पाँचांै स्थानमा यथावत् छ । समान खेलमा १४ अंक जोडेको बोलोग्ना ११औं स्थानमा छ ।

प्रकाशित: १३ कार्तिक २०७४ ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App