१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सीमामा सधैँ त्रास

काठमाडौं – लेबनानको पूर्वमा पर्ने सानो सहर मेस एल जाबेल नजिक छ– शोहेब वेल (इनार) । शोहेब इनार लेबनान र इजरायलको ठ्याक्कै सिमानामा पर्छ । इनार एउटा छ, मुख तीनवटा । तीन मुखमध्ये एउटा लेबनानमा पर्छ भने बाँकी दुई इजरायलमा । एउटा इनारको तीन मुखलाई लेबनानतर्फ एउटा र इजरायलतर्फ दुईटा पार्न संयुक्त राष्ट्रसंघले बीचमा ‘ब्लु लाइन’ (काल्पनिक सीमारेखा) कोरिदिएको छ । सीमारेखाको एकातर्फ इजरायली सेनाको उपस्थिति छ भने अर्कोतर्फ लेबनानी सेना छ। 

राष्ट्रसंघको निलो झन्डा नफहराईकन इनारमा पुग्न मुस्किल पर्छ । राष्ट्रसंघको झन्डा नलिई इनारनजिक पुगे कताबाट गोली आउँछ, पत्तो हुँदैन । राष्ट्रसंघको शान्ति स्थापना मिसनअन्तर्गत खटिएका नेपाली सैनिक असोज अन्तिम साता हातमा राष्ट्रसंघको झन्डा फहराउँदै इनार नजिक पुगेपछि उनले नेपालबाट गएको प्रतिनिधिमण्डललाई नजिक आउन आग्रह गरे । ‘यो ब्लु लाइन यति संवेदनशील छ कि यहाँ कुनै सानो गतिविधि भए दुई देशबीच युद्ध सुरु हुन बेर लाग्दैन,’ शोहेब इनारको आडमा उभिएर नेपाली सेनाका प्रमुख सेनानी सञ्जय देउजाले भने। 

दुई राष्ट्रलाई युद्धबाट टाढा राख्न ‘ब्लु लाइन’ (काल्पनिक सीमारेखा) मा नेपालसहित ४१ देशका सेना अहोरात्र खटिएका छन्।

देउजा राष्ट्रसंघको शान्ति स्थापनार्थ खटिएको नेपाली शान्ति सेनाका कमान्डर हुन् । तर, अहिले उनी र उनको बटालियन एक वर्षे कार्यकाल सम्पन्न गरी नेपाल फर्किसकेको छ भने नेपाली सेनाको नयाँ टोली त्यहाँ पुगिसकेको छ। 

लेबनान र इजरायललाई छुट्याउने १ सय २० किलोमिटिर रेखा (ब्लु लाइन) संयुक्त राष्ट्रसंघले कोरिदिएको हो। यो ब्लु लाइन आधिकारिक सिमाना होइन तर दुवै देशले त्यस रेखाबाट अघि नबढ्ने कबुल राष्ट्रसंघसमक्ष गरेका छन्। कुल ब्लु लाइनको १५ किलोमिटर रेखदेख गर्ने जिम्मेवारी नेपाली सेनाले पाएको छ । यही ब्लु लाइन वरपर हुने अवाञ्छित गतिविधि रेखदेख तथा नियन्त्रण गरी दुई राष्ट्रलाई युद्धबाट टाढा राख्न ४१ देशका सेना लेबनानमा कार्यरत छन्। 
  
‘ब्लु लाइनबाट मान्छे त के जनावर पनि प्रवेश गर्न पाउँदैन। सीमा रेखदेख गर्ने काम शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको हो,’ देउजा भन्दै थिए, ‘मानिस, जनावर (कुकुर, भेंडा–बाख्रा) ले ब्लु लाइन पार गरिहाले भने सुरक्षित फिर्ता गर्ने जिम्मेवारी हाम्रो हुन्छ।’ 

शोहेब इनारलाई लेबनान र इजरायल दुवैले आआफ्नो दाबी गरेपछि दुवै देशतर्फ पारिएको हो । दुवै देशले सयौं वर्षअघि आफ्ना गुरुहरूले उक्त इनार प्रयोग गरेको दाबी गर्दैआएका छन् । अहिले त्यो इनारमा पानी छ/छैन पत्तो छैन्। तर इनार दुवै देशलाई चाहिएको छ । इनारको केही पर अग्लो ढिस्कोमा नेपाली सैनिकहरूद पोस्ट बनाएर बसेका छन्। पोस्टबाट उनीहरूले ब्लु लाइन र इनार वरपर हुने गतिविधि नियाल्छन् । कसैले ब्लु लाइनको उल्लंघन गर्न लागे सचेत गराउँछन् । उनीहरूले २१ थरीका विभिन्न संकेतमार्फत ब्लु लाइन उल्लंघन गर्न खोज्नेलाई सचेत गराउँछन् र सुरक्षित स्थानतर्फ फर्काउँछन्। 

‘हामीले निलो झन्डा हल्लाएर वा चिच्याएर वा अन्य विभिन्न तरिकाले ब्लु लाइन उल्लंघन गर्न खोज्नेलाई सचेत गराएर पछाडि फर्कन भन्छौं । त्यसमा हामी सफल भएका छौं,’ देउजाले भने। 

ब्लु लाइनको ठाउँठाउँमा ‘ब्लु ब्यारेल’ (खम्बा) बनाइएको छ । नेपाली सेनाको जिम्मेवारीभित्र यस्ता ६६ वटा खब्बा पर्छन् भने १४ वटा बन्न बाँकी नै छ । इजरायलले ब्लु लाइनमा (आफ्नोतर्फ पर्ने) काँडे तारको बार र अत्याधुनिक उपकरण जडान गरेको छ । ब्लु लाइन वरपरका गतिविधि नियाल्न क्यामेरा र कोही प्रवेश गरेको पत्ता लगाउने उपकरण इजरायलले राखेको छ । लेबनानका कुकुरले ब्लु लाइन पार गरे तत्काल  इजरायलतर्फबाट खबर आउँछ। 

लेबनान र इजरायलबीचको ब्लु लाइनमा केही खम्बा निर्माण गर्न बाँकी छ । दुवै देशको सहमति जुट्न नसक्दा बनाउन नसकिएको हो । कुनै स्थानमा १४ इन्च जग्गामा कुरा नमिल्दा खम्बा निर्माण कार्य रोकिएको छ । खम्बा निर्माण गर्ने तरिका पनि निकै रोचक छ । राष्ट्रसंघले दुवै पक्षको सहमतिमा खम्बा निर्माण गर्ने स्थान निर्धारण गरी त्यहाँ एउटा निलो लट्ठी गाड्छ । त्यसको एक–दुई दिनमा लेबनान पक्ष गएर राष्ट्रसंघले गाडेको लट्ठी नजिक अर्को लट्ठी गाड्छ । त्यसपछि इजरायल पक्ष गएर त्यहीं अर्को लट्ठी गाड्छ । यसरी लट्ठी गाड्दा लेबनान र इजरायलको लट्ठीबीचको दुरी कम्तीमा तीन फिट भयो भने मात्र त्यहाँ खम्बा निर्माण हुन्छ, अन्यथा त्यसै रहन्छ। 

‘यहाँको स्थिति यति संवेदनशील छ कि हामीले आँखा झिमिक्क पार्न पनि पाउँदैनौं । चौबिसै घन्टा हामी चनाखो नभए, यहाँ जतिबेला जे पनि हुनसक्छ,’ देउजाले भने।

शान्ति स्थापनार्थ लेबनानमा खटिएको नेपाली सेना (नेप–ब्याट) को मुख्यालय मेस एल जाबेलमा छ । मुख्यालयबाहेक लेबनान–इजरायल सीमा नजिक नेपाली सैनिक आठवटा पोस्ट खडा गरेर कार्यरत छन् । मुख्यालय र पोस्टमा ८ सय ५०  नेपाली सैनिक खटिएका छन्। 

नेपाली सेनाको मुख्यालयभन्दा थोरै मात्र पर (पूर्व) एउटा पोस्ट छ, जसको आडमा एउटा चिहान छ । चिहानको ठिक बीचबाट ब्लु लाइन कोरिएको छ । चिहानको आधा भाग लेबनानमा पर्छ भने आधा इजरायलमा । दुवै देशले यो चिहान आफ्नो धर्म गुरुको भएको दाबी गर्दै आएका छन् । इजरायलले यो चिहानमा १ हजार ६ सय वर्षअघि आफ्ना धर्म गुरु रवि आइशीलाई राखिएको र लेबनानले ५ सय वर्षअघि आफ्ना धर्मगुरु शेख अब्बादलाई राखिएको दाबी गरेका छन् । चिहान डाँडाको टुप्पोमा छ। 

‘चिहान रहेको ठाउँ रणनीतिक दृष्टिले निकै महŒवपूर्ण छ । यो यस्तो अग्लो भूभागमा छ, जहाँबाट लेबनान र इजरायलको धेरै भूभाग देख्न सकिन्छ,’ नेपाली सेनाका प्रमुख सेनानी सिर्जनबहादुर मल्लले बताए। 

चिहानको अलवलोकन गर्न पनि राष्ट्रसंघको झन्डा नलिई जान सकिंदैन । चिहानमा जान दुइटा बाटो छन्– एउटा नेपाली सेनाको पोस्टभित्रबाट र अर्को बाहिरबाट । सर्वसाधारणले बाहिरको बाटो र राष्ट्रसंघका पाहुनाले नेपाली पोस्टभित्रको बाटो प्रयोग गर्छन् । एक पटकमा ६ जनाभन्दा बढी चिहानमा जान पाइँदैन र पाँच मिनेटभन्दा बढी समय त्यहाँ बस्न पाइँदैन। 

कहिलेकाहीं चिहान हेर्न जाने सर्वसाधरणले पारिपट्टी (इजरायलतर्फ) ढुंगाले हिर्काउने गर्छन् । इजरायली सेना पनि हतियार समातेर एक्स्नमा बसेको हुन्छ । स्थिति उतिखेरै तनावपूर्ण हुन्छ । नेपाली सेनाले सर्वसाधारणलाई फकाएर फर्काएपछि स्थित साम्य हुन्छ। 

लेबनान–इजरायल ब्लु लाइनमा केही यस्ता जैतुन (ओलिभ) को खेती छ, जसको केही भाग लेबनान त केही इजरायलमा पर्छ । जैतुन टिप्ने बेला यहाँ तनावपूर्ण स्थिति हुन्छ । जैतुन टिप्दै जाँदा कतिबेला ब्लु लाइन कटिन्छ किसानले भेउ नै पाउँदैनन् । जैतुन टिप्ने बेलामा नेपाली सेनाले अहोरात्र निगरानी राख्छ । कसैले ब्लु लाइन पार गर्न लागे तत्काल सतर्क गराउँछ । ‘जैतुन टिप्ने बेला एकदमै चनाखो हुनुपर्छ । कहिलेकाहीं निगरानी राख्दाराख्दै पनि रुखले छेकेर देखिंदैन,’ देउजाले भने। 

नेप–ब्याटको मुख्यालय र बाहिर रहेका सबै पोस्टमा सुरक्षाका लागि बंकर बनाइएको छ । जुनसुकै बेला जे पनि हुनसक्ने भएकाले सबै लुक्न मिल्नेगरी बंकर बनाइएको हो । बंकरभित्र तीन दिनसम्म पुग्ने खाना र पानी राखिएको हुन्छ । सञ्चार सेवा पनि बंकरभित्र व्यवस्था गरिएको छ। 

इजरायलसँग जोडिएको लेबनानको सीमामा हज्बुल्लाहको प्रभाव बढी छ । यो क्षेत्रमा रहेका अधिकांश नगरपालिका र गाउँपालिकामा हेज्बुल्लाहले जितेको छ । लेबनानको संसद्मा अहिले हेज्बुल्लाहका १० जना सांसद छन् । लेबनानको दक्षिण–पूर्वी भागमा हेज्बुल्लाहको राम्रो पकड छ । हेज्बुल्लाहको आफ्नो सेना पनि छ । उसको सेनाको संख्या हजारौंमा रहेको अनुमान छ । हेज्बुल्लाह लडाकुले कहिलेकाहीं ब्लु लाइन नजिकबाट इजरायलतर्फ रकेट प्रहार गर्छन् । जबाफमा तत्कालै जहाँबाट रकेट प्रहार गरिएको हो त्यहीं ठाउँमा इजरायलले मिसाइल हान्छ । यस्तो अवस्थामा शान्ति सेनासँग एउटै विकल्प हुन्छ– बंकरभित्र लुक्ने । ‘हामीले हरेक पोस्टमा बंकर बनाएका छौं । कुनै घटना हुनलाग्यो भने हामी एक मिनेटभित्र बंकरमा छिरिसक्नुपर्छ, नत्र जे पनि हुनसक्छ,’ देउजाले बंकर देखाउँदै भने। 

लेबनान र इजरायल पटकपटक युद्धमा होमिएका छन् । पछिल्लोपटक यी दुई देशबीच सन् २००६ मा युद्ध भएको थियो । हज्बुल्लाहले ब्लु लाइन पार गरी तीन इजरायली सैनिकको हत्या र अन्य दुईको अपहरण गरेपछि दुई देशबीच युद्ध भएको थियो । इजरायलले लेबनानको राजधानी बेरुतसम्म हवाई आक्रमण गरेको थियो । यो युद्धमा ११ सयभन्दा बढी लेबनानीको मृत्यु भएको थियो । त्यसपछि राष्ट्रसंघको मध्यस्थतामा युद्ध रोकिएको थियो । ‘अहिले पनि यहाँको अवस्था एकदम संवेदनशील छ । शान्ति कायम गर्न हामी यहाँ अहोरात्र खटिरहेका छौं,’ देउजाले भने। 

शान्ति स्थापनार्थ खटिएका नेपाली सैनिकले त्यहाँका स्थानीयलाई पनि सहयोग गर्दै आएका छन् । हेल्थ क्याम्प चलाउनेदेखि नगरपालिकाको समन्वयमा पुराना सम्पदा सरसफाई गर्ने, वृक्षरोपण गर्ने, पार्क संरक्षणमा सघाउने कार्यमा नेपाली सैनिकले सघाउँदै आएका छन् । यसले स्थानीय र नेपाली सैनिकबीचको सम्बन्धलाई आत्मीय बनाउन सहयोग पुगेको अनुभव देउजाको छ । नेपाली सेनाले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको भन्दै केही दिनअघि लेबनानस्थित राष्ट्रसंघको कार्यालय (युनाइटेड नेसन्स इन्टेरिम फोर्स इन लेबनान) ले सम्मानपत्र दिएको छ । शान्ति सेनामा खटिने सेनामध्ये यस्तो सम्मान कमैले पाउँछन्। 

प्रकाशित: १३ कार्तिक २०७४ ०२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App