coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारको नेतृत्व गर्नु चुनौतीपूर्णः अध्यक्ष दाहाल

ललितपुर– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अब बन्ने सरकार नेतृत्वको जिम्मेवारी चुनौतीपूर्ण हुने बताएका छन्। अब नयाँ सरकारले गर्ने काम निकै जोखिमयुक्त रहने उनले बताएका हुन्। अबको सरकारको मुख्य दायित्व संविधान कार्यान्वयन गराउनु रहेको उनको धारणा छ।

क्रान्तिकारी किसान सङ्गठनको संयुक्त भेलाद्वारा आयोजित “क्रान्तिकारी किसान सङ्गठनको ऐतिहासिक एकता राष्ट्रिय भेला”को साेमबार उद्घाटन गर्दै संविधान कार्यान्वयन गर्नुपूर्व आम जनताको हितमा हुने गरी संविधानको संशोधन र परिमार्जन हुनु जरुरी रहेको उनको भनाइ थियो। उनले राष्ट्रलाई आन्तरिक रुपमा एकतावद्ध र सुदृढ गराइराख्नु अर्को महत्वपूर्ण जिम्मेवारी भएको समेत बताए।

गाउँपालिका, नगरपालिका, प्रादेशिक तथा संसद्को निर्वाचन गराउनु सरकारको थप चुनौती हुनेसमेत उनले प्रष्ट पारे। सुस्त अवस्थामा रहेको पुनःनिर्माण कामलाई तीव्ररुपले अघि बढाउने समेत प्रतिवद्धता व्यक्त गरे।

देशको विभिन्न स्थानमा आएको बाढीपहिरोले पीडित बनाएका जनताका लागि आवश्यक राहत र सहयोग गर्नु अर्को चुनौती भएको उनको धारणा थियो । यसैगरी देशका हितमा हुनसक्ने दीर्घकालीन एवम् ठूला आयोजना सुरु गर्नु पनि चुनौतीकै रुपमा रहेको उनले बताए।

नयाँ सरकार निर्माणसँगै बेपत्ता छानबिन र सत्य निरुपण आयोगले गर्ने काम द्रूत गतिमा अगाडि बढ्नेमा उनको विश्वास रहेको थियो। विगतमा माओवादी पार्टी सरकारमा भएकै कारण सेना समायोजन र हतियार व्यवस्थापनको काम पूरा भएको उनले उल्लेख गरे।

नेपाल कृषिप्रधान देश भएकाले खाद्यान्नमा आत्मनिर्भर बनाउन कृषिमा नयाँ प्रविधिको प्रयोग गरिनुपर्नेमा जोड दिए। माओवादी केन्द्रका सचिवालय सदस्य गोपाल ठाकुरले आफ्नो पार्टी श्रमजीवी वर्गको पार्टी भएको बताए।

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल किसान सङ्घ(क्रान्तिकारी), अखिल नेपाल किसान सङ्घ(माओवादी)लगायतका सङ्गठन एक हुन लागेको कार्यक्रमका अध्यक्ष चित्रबहादुर श्रेष्ठले बताए। रासस

 

प्रकाशित: १७ श्रावण २०७३ ११:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App