५ वैशाख २०८१ बुधबार
समाज

यात्रु बससँग ट्रिपर ठोक्कियो, २६ यात्रु घाइते

चितवन- नारायणगढ मुग्लिन सडक खण्डको रामनगर नजिक आँपटारी जंगलमा आइतबार बिहान यात्रु बस र गिट्टी ढुंगा बोक्ने ट्रिपर एक आपसमा ठक्कर खाँदा बसमा रहेका २६ जना यात्रुहरु घाइते भएका छन्। घटना बिहान साढे नौ बजे भएको थियो । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जानकारी दिएको छ । १६ जनाको अवस्था मध्यम र छजनाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

नारायणगढबाट गोरखा जाँदै गरेको ना ५ ख ८६९४ नम्बरको यात्रु बससँग रामनगरबाट नारायणगढ तर्फ आउँदै गरेको बा ३ ख ९०१२ नम्बरको खाली ट्रिपर एक आपसमा ठोक्किएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) शिव शर्मा आचार्यले जानकारी दिए । ट्रिपरका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

 ‘हामीले बुझे अनुसार ट्रिपर बढी रफ्तारमा थियो । स्पीड नियन्त्रण गर्न नसक्दा सो घटना भएको भन्ने प्रारम्भीक विवरण प्राप्त भएको छ । ट्रिपकरका चालक फरार छन् । उनलाई नियन्त्रणमा लिएपछि थप कुरा थाहा होला’ डिएसपी शर्माले भने । सो घटनामा चितवन इच्छाकामना–१ की १९ वर्षीया जुना गुरुङ र भरतपुर–२ की ४५ वर्षीया कोपिला बाग्ले गम्भीर घाइते भएका छन्।

          उनीहरु दुईजनाको भरतपुरको पुरानो मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै गोरखा बुङकोट–७ की ४० वर्षीया बिमला थापा र चितवन भरतपुर–१ की ४० वर्षीया कल्पना थापाको पनि अवस्था गम्भीर छ । बिमलाको पुरानो र कल्पनाको भरतपुरकै नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ। उनीहरुको अवस्था हाललाई भने खतरा मुक्त देखिएको प्रहरीले जनाएको छ ।

          अन्य घाइतेहरुको पनि भरतपुरको सरकारी अस्पतालसहित नयाँ र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दियो । शनिबार मात्रै पृथ्वीराजमार्गको गजुरीमा दुखद दुर्घटना भएको छ । त्यसैले गाडी चलाउँदा विशेष सावधानी अपनाउन चितवन प्रहरीले चालकहरुसँग अपिल गरेको छ ।

प्रकाशित: १२ कार्तिक २०७४ ११:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App