७ वैशाख २०८१ शुक्रबार
अर्थ

कोहलपुर चौराहका सुकुमबासी हटाइयो

कोहलपुर – पूर्व–पश्चिम राजमार्ग र रत्न राजमार्ग अन्तर्गत पर्ने कोहलपुर–११, चौराहमा १२ वर्षदेखि सडक अतिक्रमण गरी बसेका सुकुमबासीलाई प्रशासनले हटाएको छ । १२ वर्षदेखि व्यापारिक र घरायसी टहरा बनाएर बसेका ७२ घरधुरी सुकुमबासीलाई हटाइएको हो। 

बिहीबार सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि र सरकारी निकायको सहभागितामा अतिक्रमण गरी बसेका सुकुमबासीले स्वःस्फूर्त चौराह खाली गरेका हुन् । १२ वर्षसम्म सरकारी कर्मचारी संयन्त्रले उठाउने प्रयास गरे पनि नसकेको अतिक्रमण हटाउने प्रयास जनप्रतिनिधिले तीन महिनामा गरेको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले बताए । ‘पहिला पनि सडक अतिक्रमण गरी बसेका सुकुमबासी हटाउने प्रयास कर्मचारीबाट भयो तर सकिएन,’ उनले भने, ‘नगरपालिकामा जनप्रतिनिधि आएपछि दुईपटकको छलफलबाट स्वःस्फूर्त हटाउन सफल भयौं ।’ बिहीबार बल प्रयोग नगरी ७२ व्यापारिक र घरायसी टहरा खाली भएका छन् । सुकुमबासी बनेर बसेका सथानीय आफैंले टहरा भत्काएर खाली गराएका थिए। 

चौराहमा अब वृक्षारोपणको तयारी भएको कोहलपुर–१० का वडाअध्यक्ष निरज चलाउनेले बताए । एक साताभित्र वृक्षारोपणको तयारी भएको उनले जानकारी दिए । सहजै रुपमा चौराहका बस्ती हटेको उनको भनाइ छ । यो बस्ती हटाउने जनप्रतिनिधि गएको भदौमा नगरपालिकाभित्र पहिलो बैठक डाकेका थिए । दसैंअघि दोस्रो चरणमा छलफल भएको थियो । दोस्रो चरणको छलफलमा अतिक्रमण गरी बसेकाले दसैं र तिहारमा मान्न दिन र तिहार लगत्तै आफैं खाली गराउने लिखित प्रतिबद्धता जनाएका थिए । बल प्रयोग गर्नुपर्ने अवस्था सिर्जना नगर्न गरेको आग्रह सुकुमबासीले सहजै मानेका थिए। 

उनीहरुले विहानैदेखि घर, टहरा हटाउन थालेका थिए । दिनभरमा उनीहरुले आफूले निर्माण गरेका संरचना हटाए । अब नगर विकासले बनाउने भनेको सटर बनाउन र सडक विस्तार गर्न सहज हुने कोहलपुर नगर विकास समिति अध्यक्ष अवराज खड्काले बताए । ‘पूर्व–पश्चिम राजमार्ग चार लेन बनाउन सडक विभागले सर्भे गरेको छ,’ उनले भने, ‘अतिक्रमित बस्ती खाली भएकोले सडक विस्तारमा सहज भयो ।’ अब नगरको अतिक्रमित जग्गा क्षेत्रीय क्रिकेट मैदानबाट  दुई सय ५० घरधुरी हटाउन सुरु गरिने खड्काले बताए । तर यो बस्ती हटाउन चुनौती रहेको जनप्रतिनिधि बताउँछन्। 

चौराहमा हटाएको बस्ती र क्रिकेट मैदानको जग्गा वर्षौंदेखि सुकुमबासीका नाममा अतिक्रमण गरी लाखौं मूल्यमा किनबेच समेत भइरहेको थियो । टहरा खाली गरिएसँगै चौराहमा हुने प्रदूषण, फोहोर र भीडभाड हट्ने विश्वास गरिएको छ । 

 

प्रकाशित: १२ कार्तिक २०७४ ०७:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App