७ वैशाख २०८१ शुक्रबार
कला

जे छ फिल्मको नाममै छ

काठमाडौं – गाउँदेखि सहरसम्मका समुदाय इन्टरनेट र सामाजिक सञ्जालबाट विश्व घुमिरहँदा समय–समयमा नेपाली मौलिकपन लोप हुँदै गएको आवाज उठ्ने गर्छ । बढ्दो प्रविधि र बद्लिँदो फेशनले ग्रामीण क्षेत्रको मौलिक भाषा र संस्कृतिलाई असर पारेको चर्चा पनि नचलेको होइन । जति नै चर्चा र आवाज उठे पनि ग्रामीण क्षेत्रमा बोलिने ठेट भाषाको विविधताको महत्व अहिले पनि उत्तिकै छ । सुन्दै रमाइलो लाग्ने यिनै भाषा अहिले फिल्मकर्मीका लागि नाम जुराउने राम्रो माध्यम बनिरहेको छ । नेपालमा बनेका र बन्दै गरेका फिल्महरूको नामलाई नियाल्ने हो भने पछिल्लो समयमा अधिकांश फिल्मको नाममा मौलिकपना भेटिन्छ।

निर्मातासमेत रहेका निर्माण नियन्त्रक उत्तम केसीले चलचित्र विकास बोर्डमा ‘फटाहा फडिन्दे्र’ र ‘जन्ती बाख्रो’ नामका दुई फिल्म दर्ता गरिसकेका छन् । नाममा मौलिकता झल्कने यी दुई नाममा फिल्म बनाउन उत्तम कस्सिएका छन् । ‘मैले तीन वर्ष अघि नै ‘फटाहा फडिन्द्रे’ दर्ता गराएर फिल्म बनाउन खोजेको थिएँ । तर, त्यो बेला अर्को फिल्ममा व्यस्त हुनुपरेकोले काम सुरु गर्न सकिएन,’ चलचित्र विकास बोर्डका सदस्यसमेत रहेका उनले भने, ‘नेपाली दर्शकहरू पछिल्लो समयमा मौलिक कथाबस्तु खोजिरहेका छन् । विशेषतः आफ्नै गाउँघरको कथालाई उनीहरू फिल्ममा हेर्न चाहन्छन् । त्यसकारण पनि गाउँघरमा बोलिने भाषालाई टिपेर मैले फिल्म दर्ता गराएको हुँ । आम मान्छेले कोही व्यक्तिलाई फटाहा भने पनि ऊ समाजको असल मान्छे हुनसक्छ भन्ने सन्देश फिल्ममा देखाइनेछ ।’ उत्तमले फिल्म ‘फटाहा फडिन्द्रे’को सुटिङ तिहारलगत्तै सुरु गर्ने योजना बनाएका छन् । उनले ‘फटाहा फडिन्द्रे’को काम सकिएपछि ‘जन्ते बाख्रो’ थाल्ने बताए।

पोष्ट प्रोडक्सनमा रहेको फिल्म ‘पसिना’ सम्भवतः जाडो सिजनमा रिलिज हुँदैछ।  ‘नैना रेशम’, ‘शिशा’, ‘नबोले नि हाँसी राख न’लगायतका फिल्म निर्देशन गरिसकेका निर्देशक आरबिके शरदले ‘पसिना’को निर्देशन गरेका छन् । ‘व्यावसायिक मूल्य भन्दा पनि कलात्मक किसिमको फिल्म बनाउन हामीले ‘पसिना’ नाम रोजेका हौं । चाहे पनि नचाहे पनि संसारमा सबैले पसिना बगाउँछन् । ‘पसिना’ आम मानिससँग सरोकार राख्ने शब्द हो,’ निर्देशक शरदले भने, ‘हरेक व्यक्तिले स्वाभिमान र सम्मानका लागि पसिना बगाउँछन् । बाँच्नका लागि पसिना बगाउन आवश्यक छ भन्ने कथालाई फिल्मले बोकेको छ । अरुको देखासिकी भन्दा पनि आफ्नो दिमागले सोचेर फिल्मको नाम राखेका हौं ।’ शरदका अनुसार फिल्म बनाउन झन्डै एक वर्ष लागेको थियो । यो फिल्ममा गौरव पहाडी, अनु शाहलगायतका कलाकारको अभिनय छ।

कलाकार तथा निर्माता रोहित रुम्बाले निर्माण गरेको फिल्म ‘नेप्टे’ यतिबेला पोस्ट प्रोडक्सनमा छ । दयाहाङ राई र छुल्ठिम डोल्मा गुरुङको प्रमुख भूमिका रहेको फिल्ममा देवकुमार श्रेष्ठको निर्देशन छ। ‘गाउँघरमा नेप्टे भनेर बोलाउँदा कसैले कसैलाई हेपेको जस्तो देखिन्छ। तर मायाले बोलाउँदा यही नाम राम्रो सुनिने भएकाले यसैमाथि रहेर फिल्म बनाएका हौं,’ निर्माता तथा कलाकार रोहितले भने, ‘फिल्मले जुझारु युवाको कथा प्रस्तुत गरेको छ । जसले परिवार, गाउँ, समाज र देशका लागि केही गर्नुपर्छ भन्ने भावना बोकेको हुन्छन्।’

निर्मात्री सरिता लामाले पनि मौलिक नामलाई टिपेर फिल्म ‘कमलेको बिहे’ बनाएकी छन् । अनुपविक्रम शाही र सन्ध्या केसी स्टारर फिल्मको निर्देशक प्रसन्न पौडेल हुन् । प्रसन्नले नेपाली समाजमा चल्दै आएको मागी विवाह र प्रेम विवाहबीचको द्वन्द्वको कथालाई फिल्ममा राखिएको बताए । ‘अहिलेका युवायुवतीमा आफूखुशी जीवनसाथी रोज्ने क्रम बढिरहेका बेला कमले नामक पात्रले परिवारबाट हुने अवरोधका बाबजुद आफ्नो प्रेमिकालाई कसरी विवाह गर्छ भन्ने कथा फिल्ममा देखाइएको छ,’ निर्देशक प्रसन्न भन्छन्।

अभिनयमा निर्देशनमा हात हालेका कलाकार तथा निर्देशक किशोर खतिवडा यतिबेला फिल्म ‘सुत्केरी’को काममा व्यस्त छन् । उनी अर्को फिल्म ‘जँड्याहा’को स्क्रिप्टमा पनि काम गरिरहेका छन् । निर्माता अर्जुन कुमारको फिल्म ‘फाटेको जुत्ता’, शवनम मुखियाको ‘लखपति माग्ने’, सौगात विष्टको ‘हैरान’लगायतका फिल्मले पनि आम फिल्मकर्मी र दर्शकलाई चासोको विषय बनाइदिएको छ । गायिका तथा अभिनेत्री कोमल वलीले पनि आफ्नो चर्चित तीज गीत ‘पोइला जान पाम’ नाम राखेर फिल्म ‘पोइला जान पाम’ फिल्म बनाउने घोषणा गरिसकेकी छन् । यीबाहेक ‘इन्टु मिन्टु लण्डनमा’, ‘जे सुकै होस्’, ‘मट्टी माला’, ‘बटरफ्लाइ’, ‘तिरीझ्याम’, ‘साङ्लो’, ‘मुर्चुङ्गा’, ‘साँढे सात’, ‘पञ्चे बाजा’ लगायतका फिल्महरू पनि निर्माण भइरहेका छन् । निर्माता रोज राणाको ‘मेरो पैसा खोइ’ चाहिँ प्रदर्शनमा आइसकेको छ ।

नाममा विवाद उस्तै
‘मञ्जरी’, ‘मालतीको भट्टी’ जस्ता फिल्म निर्देशन गरिसकेका निर्देशक गणेशदेव पाण्डेले निर्माण गरेको फिल्म ‘गाँजाबाजा’ चर्चासँगै विवादमा पनि आयो । चलचित्र विकास बोर्डले फिल्मको नाममा आपत्ति जनाउँदै नाम दर्ता नगर्ने अडान लिएपछि सो फिल्म अदालती उल्झनमा छ । फिल्मको सुटिङ सकिएपछि मात्र फिल्म दर्ता गर्न आइपुगेको आरोप लागेपछि निर्देशक पाण्डेले अदालतमा मुद्दा दर्ता गरेका थिए । अहिले यो मुद्दा विचाराधिन अवस्थामा छ।

पञ्चायती शासन व्यवस्थाको बारेमा बनाइएको फिल्म ‘पञ्चायत’ पनि विवादबाट मुक्त हुन सकेन । शिवम अधिकारीको निर्देशनमा बनेको यो फिल्मका दृश्य र संवादमा सेन्सर बोर्डले कैंची लगाइदिएपछि फिल्म युनिटले सेन्सरको क्रियाकलापको विरोध नै गर्‍यो।

पछिल्लो समयमा फिल्महरूले ग्रामीण कथालाई मुख्य विषयबस्तु बनाइरहँदा यसका निर्माताहरू पनि गाउँकै ठेट शब्दलाई टिपेर फिल्मको नाम राख्न थालेका छन् । ग्रामीण मौलिक कथाका फिल्ममा दर्शकको आकर्षण बढ्दै गएपछि यही कुरालाई ‘क्यास’ गर्न निर्माताको ध्यान पनि मौलिक शब्दतिर जान थालेको प्रष्ट देख्न सकिन्छ।

४ सय वर्षअघि नाटककार विलियम शेक्यपियरले ‘नाममा के छ ?’ भन्दै नामभन्दा काम महत्वपूर्ण हुने सूत्रवाक्य बताएका थिए । तर, अरु क्षेत्रमा जेसुकै भए पनि फिल्म क्षेत्रमा भने नामलाई दर्शक लोभ्याउने पहिलो विन्दु मानिन्छ । पछिल्लो समय फिल्मकर्मीले अनौठा नाम राखेर दर्शक लोभ्याउने रणनीति लिएको देखिन्छ । फिल्मको प्रस्तुति अलग होस् नहोस् नाम भने फरक राखेर दर्शक कजाउने रणनीतिमा बनेका थुप्रै फिल्म यो वर्ष रिलिज हुनेछन्।

प्रकाशित: १२ कार्तिक २०७४ ०६:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App