coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एसेज जित्ने रुटको दाबी

लन्डन– इङल्यान्डका कप्तान जो रुटले टोलीमा स्टार अलराउन्डर बेन स्टोक्स नभए पनि आफूहरु अस्ट्रेलियाविरुद्धको आसन्न एसेज शृंखला जित्न सक्षम भएको बताएका छन्।

इङल्यान्ड क्रिकेट बोर्ड (इसिबी)ले गत सेप्टेम्बरमा ब्रिस्टोलको एक रात्री क्लब बाहिर भएको घटनामा मुछिएको भन्दै उपकप्तान  स्टोक्सलाई निलम्बन गरेको थियो । इसिबी र वेल्स क्रिकेट बोर्डले स्टोक्सलाई एसेज शृंखलाका लाघि घोषणा गरेको टोलीमा समावेश गरे पनि टिमका अन्य सहयात्रीसँग अस्ट्रेलिया जान भने रोक लगाएको छ। 

एक व्यक्तिमाथि सांघातिक हमला भएको उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरीले स्टोक्सलाई पक्राउ गरेर तारेकमा छोडेको थियो । उनीविरुद्ध लागेको अरोपको अनुसन्धान भैरहेको छ।

‘हामीले टोलीमा अनुपस्थित खेलाडी भन्दा पनि आफूसँग भएकाहरुको क्षमतालाई ध्यान दिएर त्यही अनुरुप तयारीमा जुट्नुपर्छ,’ रुटले भने।

इसिबीले उपकप्तान स्टोक्सको स्थानमा कसलाई पठाउने भन्ने विषयमा अझैसम्म निर्णय लिइसकेको छैन । रुटले स्टोक्सको स्थानमा नयाँ खेलाडीलाई समावेश गर्न कुनै हतार नभएको बताए।

‘यस विषयमा गहन छलफल पछि मात्र निर्णय लिनु उत्तम हुनेछ,’ रुटले भने, ‘शृंखला सुरु हुन अझै धेरै समय बाँकी छ। त्यसैले हामी केही हप्ता भित्रै यस विषयमा अन्तिम निर्णय लिनेछौं।’

रुटले इसिबी र टिमका अन्य सदस्यलाई स्टोक्समाथि आपराधिक मुद्धा चलाइने वा नचलाइनेबारे केही थाहा नभएको बताए।

‘हामीलाई यसबारे केही जानकारी छैन । हामी पनि उनीमाथि लागेको आरोपको छिटो भन्दा छिटो फैसला होस् भन्ने चाहन्छाैँ,’ रुटले थपे।

इङल्यान्डले एसेजअन्तर्गत पछिल्लो तीन अस्ट्रेलिया भ्रमणमध्ये दुईमा ५–० को लज्जास्पद हार बेहोरेको थियो । यद्धपी टोलीले स्न २०१०–११ को एसेज ३–१ ले जितेको थियो।

क्रिकेट विश्लेशकहरुले स्टोक्सविना इङल्यान्डको चुनौती कमजोर हुने बताइरहँदा रुटले यसको खण्डन गरे ।
‘स्टोक्स टोलीका महत्वपूर्ण सदस्य हुन । तर पनि टोलीमा उनी जस्तै अन्य क्षमतावान खेलाडी छन् । उनीहरु पनि खेल जिताउन सक्षम छन्,’ रुटले भने, ‘पछिल्लो तीन एसेज भ्रमणमा हाम्रो प्रदर्शन सन्तोषजनक नभए पनि यसपटक हामी बलियो चुनौती दिन तयार छाैँ।’
विश्वकै उत्कृष्ट ब्याटम्यान मध्येका एक रुटले ६० टेस्टमा ५३.७६ को औसतमा ५ हजार भन्दा बढि रन जोडिसकेका छन् । यसक्रममा उनले १३ शतक प्रहार गरेका छन्।

तर सन् २०१३–१४ को एसेज शृंखलामा सोचेअनुरुप  प्रदर्शन गर्न नसकेको भन्दै रुटलाई सिड्नीमा सम्पन्न अन्तिम खेलमा टिममा राखिएको थिएन । शृंखलाका ४ खेलमा उनले १ सय ९२ रन मात्र जोडेका थिए।

पाँच खेलको शृंखलाअन्तर्गत पहिलो खेल नोभेम्बर २३ मा ब्रिसबेनमा सुरु हुनेछ।

प्रकाशित: १२ कार्तिक २०७४ ०६:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App