काठमाडौं – छिरिङ लोप्साङ गुरुङ नेतृत्वको प्रशिक्षण टोलीले अर्पण कार्कीको कप्तानीमा शनिबार एएफसी यु–१९ च्याम्पियनसिप छनोटका लागि किर्गिस्तान भ्रमणको तयारीमा रहेको नेपाली युवा टोलीको अन्तिम छनोट गरेको छ ।
आइतबार किर्गिस्तान जाने २३ सदस्यीय टोलीका अन्य सदस्यमा प्रेजेन तामाङ, अभिशेक बराल,विस्वास उदास, असिम भुषाल, विकास खवास, राजन गुरुङ,सुमन अर्याल, आकाश श्रेष्ठ, निरञ्जन महर्जन, रोमन लिम्बु, अशोक थापा, दीनेश हेम्जान, अभिशेक रिजाल, अनिल महर्जन, सेसेहाङ आम्ग्दाम्बे, एरिक विष्ट, रेजिन सुब्बा, धिरज श्रेष्ठ, सुरज ज्यु ठकुरी, राजेश परियार, मनिष थापा र सोजित गुरुङ छन्।
लोप्साङको नेतृत्वमा प्रशिक्षक पुकार शाही र गोलकिपिङ प्रशिक्षक मृगेन्द्र मिश्रसहितको टोलीले खेलाडी छनोट गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य गणेशबहादुर चन्द टोलीको व्यवस्थापकका रुपमा कार्यरत छन् ।
अघिल्लो महिना भुटानमा १९ वर्षमुनिको साफ च्याम्पियनसिप जितेर हौसिएको नेपाली युवा टोलीले किर्गिस्तानमा एएफसी च्याम्पियनसिपको छनोट प्रतियोगिता अन्तर्गत समुह ‘ए’मा बहराइन, संयुक्त अरब इमिरेट्स (युएई), ओमान र आयोजक किर्गिज गणतन्त्रको सामना गर्नेछ।
राउन्ड रोबिन पद्दतिमा हुने छनोट प्रतियोगितामा नेपालले मंगलबार पहिलो खेलमा आयोजक किर्गिज गणतन्त्रसँग खेल्नेछ भने त्यसको दुई दिनपछि बहराइनसँग प्रतिस्पर्धा गर्नेछ । नेपालको तेस्रो खेल शनिबार युएईसँग हुनेछ भने अर्को बुधबार अन्तिम खेलमा टोलीले ओमानसँग प्रतिस्पर्धा गर्नेछ।
अर्को वर्ष अक्टोबर १८ देखि नोभेम्बर ४ सम्म इन्डोनेसियामा हुने एएफसी यु–१९ च्याम्पियनसिपका लागि विभिन्न १० छनोट समुहबाट विजेताले स्वत स्थान पक्का गर्नेछन् । यसवाहेक १० समुहका उपविजेतामध्ये उत्कृष्ट पाँच र आयोजक इन्डोनेसिया गरी १६ टोलीको प्रतियोगितामा सहभागिता रहन्छ । इन्डोनेसियामा हुने च्याम्पियनसिपमा शीर्ष चार स्थान हासिल गर्ने टोली २०१९ मा हुने १९ वर्षमुनिको विश्वकपलाई छानिन्छन् ।
प्रकाशित: १२ कार्तिक २०७४ ०५:५४ आइतबार