coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

गुनिलो महमा मिसिएका बैगुन

हट लेमनमा हनी (मह) हालेर चुस्की लिनेलाई सायद थाहा छैन होला मह यसरी तातो पानीमा हाल्नु हुँदैन । ४० डिग्रीभन्दा बढी तापक्रमले महमा रासायनिक प्रतिक्रिया भई विषाक्त तत्व पैदा हुन सक्छ । महलाई अमृतका रूपमा ग्रहण गर्ने नेपाली समाजले यसमा विषादीको अवशेष हुन सक्ने चर्चा सजिलै नपचाउला । तर विश्व प्रसिद्ध अनुसन्धात्मक पत्रिका ‘साइन्स’मा हालै प्रकाशित शोध लेखले समेत महको गुणस्तरमा नयाँ शंका उब्जाएको छ । जसअनुसार बोटबिरूवामा रोग निवारणका लागि प्रयोग गरिने विषादीको अवशेष महमा भेटिएको छ । उक्त अनुसन्धानमा छवटा महादेशका विभिन्न दुई सयवटा महका नमूना परीक्षण गर्दा ७५ प्रतिशतमा धेर थोर किटनाषक विषादी भेटिएको छ । स्विट्जरल्यान्डका वैज्ञानिकले गरेको यस अध्ययनअनुसार उत्तर अमेरिकी ८६ प्रतिशत महका स्याम्पलमा सबैभन्दा बढी किटनाषक विषादी (नियोनिकोटिनोइड) पाइएको छ । र,  एसियाका ८० प्रतिशत र युरोपमा ७९ प्रतिशत स्याम्पलमा उक्त रसायन महमा भेटिएको छ । नियोनिकोटिनोइडले मौरीको स्नायु प्रणालीमा असर पु¥याउँछ र महको उत्पादनमा पनि ह्रास आउँछ । मानिसमा यस विषादीले विभिन्न स्वास्थ्य समस्या निम्त्याउँछ तर मृत्यु नै हुन सक्ने रिपोर्ट हालसम्म भेटिएको छैन । यो नियोनिकोटिनोइड नामक किटनाषक विषादी युरोपका केही देशमा सन् २०१३ देखि प्रतिबन्धित छ । 
सन् २००५ सम्म नेपाली मह युरोप निकासी हुन्थ्यो तर पछि परीक्षण गर्दा यसमा लालीगुराँसलगायत अन्य वनस्पतीमा पाइने विषालु पदार्थ ग्रानोटक्सिन देखिएपछि युरोपले नेपाली मह आयात गर्न रोक लगायो । जसका कारण नेपाली कृषकले महको लागि विश्व बजार गुमाउन पुगे । नेपाली महलाई यसरी विदेशमा प्रतिबन्ध गरेको १२ वर्ष बित्दा पनि सरकारी अधिकारीहरूले यसमा हुन सक्ने विषादीको अवशेष परीक्षण गर्न सकेका छैनन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले महमा मिसावट भए नभएको मात्र मापन गर्छ । र, महमा हुन सक्ने विषालु रसायनको परीक्षण नेपालमा हालसम्म कुनै निकायमा हुन सकेको छैन। 

सन् २००५ सम्म नेपाली मह युरोप निकासी हुन्थ्यो तर पछि परीक्षण गर्दा यसमा लालीगुराँसलगायत अन्य वनस्पतीमा पाइने विषालु पदार्थ ग्रानोटक्सिन देखिएपछि युरोपले नेपाली मह आयात गर्न रोक लगायो । यसबाट नेपालीले महका लागि विश्व बजार गुमाउन पुगे। 

संसारमा मौरीका २० हजार प्रजाति भए पनि नेपालमा मुख्यतः दुई जात एपिस मेलिफरा र एपिस सेरानालाई व्यावसायिक रूपमा पाल्ने गरिएको छ । नेपालको तराई क्षेत्रमा युरोपबाट आयातित र गर्मी हावापानी रुचाउने मेलिफरा मौरीको खेती हुन्छ भने पहाडी क्षेत्रमा एसियाको स्थानीय प्रजाति वा चिसो हावापानी सहन सक्ने सेराना मौरी । तर बदलिँदो जलवायु परिवर्तनका कारण अचेल मेलिफरा मौरी पालन पहाडी क्षेत्रमा पनि गरिन्छ । किसानका अनुसार नेपालमा सबैभन्दा बढी पालिने सेरानाको घारबाट राम्रो चरन भएमा २० केजी र मेलिफेराबाट वार्षिक करिब ६० केजी मह निकाल्न सकिन्छ । 
तर प्रश्न मौरीपालनको विकास र उत्पादन क्षमताभन्दा पनि महको गुणस्तरसँग जोडिएको छ । किसानका अनुसार विभिन्न रोग ब्याध दुवै मौरीको घारमा देखिन्छ तर नेपालको स्थानीय प्रजाति भएका कारण वातावरणीय रोग प्रतिरोधात्मक क्षमता सेराना मौरीमा बढी पाइएको छ, युरोपेली हाइब्रिड जात मेलिफेरा मौरीको तुलनामा । र, रोग निवारणका लागि मेलिफेराको घारमा एपिस्टानलगायत विभिन्न परजीवी मार्ने औषधि प्रयोग गरिन्छ । जसको प्रयोगका कारण महमा विषालु रसायनको अवशेष पुग्ने अनुमान सजिलै गर्न सकिन्छ । त्यसै पनि नेपालमा पहाडदेखि तराईसम्म कृषि क्षेत्रमा अनियन्त्रित किसिमले किटनाषक औषधिको प्रयोग हुने गरेको छ । जुन मौरीपालनको विकासका लागि पनि चुनौतीका रूपमा देखापरेको छ । पहाडी क्षेत्रमा पालिने सेराना मौरी करिब २ किलोमिटर र तराईमा पालिने मेलिफेरा मौरी ५ किलोमिटरसम्म फूल खोज्न जाने तथ्यबाट पनि थप बुझ्न सकिन्छ महमा विषादीको मात्रा हुन सक्छ । घरेलु मह मात्र होइन जंगली मह पनि शंकाको घेरामा पर्छ । भिर मौरीको मह निकालिने वैशाख÷जेठमा बजारमा माग पनि अत्यधिक हुने गरेको छ । एक दुई चप्चा खाँदै झ्याम लाग्ने हुँदा यस महमा प्राकृतिक रूपमा वनस्पतिमा पाइने विषालु प्रकृतिका अल्कालोइड रफ्लाभोनोडन वा अन्य टक्सिन हुन सक्ने अनुमान गरिएको छ । र, मौरीले वातावरणमा भएको प्राकृतिक वा बाह्य किटनाषक बोकेर घारमा पु¥याउने भएपछि त्यस्तो महलाई वैज्ञानिक परीक्षण नगरी सीधै बजारमा ल्याउनु राम्रो होइन । अन्यथा यस्तो महबाट मानव स्वास्थ्यमा जटिल समस्या पैदा गर्न सक्छ भविष्यमा।

अनुसन्धानको पक्ष
सन २०१४ मा ‘इन्टरनेसनल एन्ड इमर्जेन्सी मेडिसिन’ नामक जर्नलमा दक्षिण कोरियनले प्रकाशित गरेको शोध लेखमा पनि हिमाली क्षेत्रमा पाइने मह विषादीमुक्त नभएको उल्लेख छ । नेपालको हिमाली क्षेत्रमा सन् २००४ देखि २०१२ सम्म विषालु महका कारण बिरामी भएका १५ जना व्यक्तिलाई उक्त अनुसन्धानमा समावेश गरिएको थियो । तिनीहरूको औसत उमेर ५२ थियो । जसमा दुई तिहाइ पुरुष थिए । विषालु मह खाएको करिब ३६ मिनेटमा उनीहरूको शरीरमा ब्लड प्रेसर र मुटुको धड्कन घटनेजस्ता लक्षण देखिएको थियो । अध्ययनले देखाएअनुसार समयमा उचित उपचार पाएमा २४ घन्टामा बिरामी सामान्य स्थितिमा फर्किन सक्छन् । यस शोधमा पनि आंशका गरिएको विषालु पदार्थ ग्रानोटक्सिन नै हो । त्यसै गरी सन् २००९ मा नेपाल मेडिकल कलेजमा गरिएको अर्को अनुसन्धानमा पनि विषालु महको कारण बिरामी भएका व्यक्तिको स्वास्थ्य विवरण उल्लेख गरिएको छ । उक्त शोधअनुसार विषालु मह सेवनका कारण आँखाको दृष्टि धमिलो हुने, बान्ता हुने र मुटुसम्बन्धी अन्य समस्या देखिन्छ । ‘द एनुयल रिभ्यु अफ एनटोमलोजी’ जर्नलमा सन् २०१५ मा प्रकाशित अर्को शोध लेखअनुसार प्रदूषित वातावरणमा पाइने लिड, क्याडमियम,आर्सेनिकजस्ता धातु पनि मौरीले घारमा पुर्‍याउन सक्छन् र सोका कारण महमा त्यसको अवशेष बाँकी हुन सक्छ । त्यस्ता धातु मानव स्वास्थ्यका लागि अति नै हानिकारक हुन्छन् । जस्तो लिड, क्याडमियम र आर्सेनिकले डिएनएमा मेथिलेसन गरिदिन्छ र क्यान्सर हुन सक्छ । त्यस्तै विभिन्न वैज्ञानिकले गरेको अध्ययनअनुसार महलाई ४० डिग्रीभन्दा बढी तापक्रममा तताउँदा हाइड्रोक्सिमेथाइलफरफ्युरल भन्ने वस्तु पैदा हुन्छ जसका कारण क्यान्सर हुन सक्छ।

नेपाली महको यथार्थ
हाल नेपालमा वार्षिक करिब दुई हजार टन अर्थात् क्षमताको दश प्रतिशत मात्रै मह उत्पादन हुन्छ । बजारको माग पूर्ति गर्न भारत र चीनबाट समेत मह नेपाल भित्रिन्छ । २०३२ सालदेखि सरकारले मौरीपालन कार्यक्रम सुरु गरे पनि अझै किसानहरू यसबाट आर्थिकरूपमा आत्मनिर्भर हुन सकेका छैनन् । देशमा प्रयाप्त मौरी विज्ञको कमी भएको आवाज किसानले सधैँ उठाउने गरेका छन् । पहाडी क्षेत्रमा चिउरीको फूल चुसेर पारेको महलाई अर्गानिक मह पनि भन्ने गरेको सुनियो तर यसको थप विकास र विस्तारमा सरकारी कार्यक्रम तय भएको पाइएन । र, यसको निर्यातमा भारतीय पक्षको असहयोग रहेछ । किनकि चिउरीको रुखलाई भारतले आफ्नो प्रजाति भनेर विश्व बजारमा त्यस्तो खालको महको स्वामित्व लिएको पनि सुनियो। 

हुन त नेपाली मह आन्तरिक नेपाली बजारमा नै अपर्याप्त छ । तैपनि यसलाई विश्व बजारमा निकासी गर्न सके किसानले राम्रो मूल्य पाउने थिए । युरोपेली मुलुकले नेपाली मह निकासीका लागि विषादीको अनुगमन गर्ने कार्ययोजना अर्थात् ‘रेजिडुयल मनिटेरिङ प्लान’ बनाउन आग्रह गरेको १२ वर्ष पुगे पनि कृषि मन्त्रालयको गैरजिम्मेवारीका कारण सो कार्ययोजना हालसम्म तयार हुन सकेको छैन । भारतले सन् २०१४ मा त्यस्तो कार्ययोजना तयार गर्यो  र अचेल भारतीय मह युरोप निकासी हुन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारीका अनुसार हाल उक्त कार्ययोजना बनाउन २५ वटा सरोकारपक्षको किटान गरिएको छ नेपालमा । तर यसलाई कार्वान्वनमा ल्याउन अझ थुप्रै चुनौती छन् । विभिन्न स्रोतबाट प्राप्त जानकारीअनुसार युरोपमा महको परीक्षण र गुणस्तर निर्धारण गर्ने काम भेटनरी डाक्टरले गर्छन् एनिमल प्रडक्ट (पशुजन्य उत्पादन) भनेर । तर नेपालमा खाद्य प्रविधि विभाग र भेटनरी व्यवसायीबीच यस विषयमा अनुसन्धान र नियमन कसले गर्ने भन्ने विवाद र अन्योल देखिन्छ। 

वास्तवमा महमा हुन सक्ने विषादीको अवशेष परीक्षण गर्न आवश्यक एलसी मास, जिसी मास लगायतका वैज्ञानिक उपकरण खाद्य प्रविधि विभागमा छन् । तर त्यहाँ सरकारी नीतिगत निर्णय र कार्ययोजनाको अभाव खड्किएको  देखिन्छ । नेपालमा उत्पादित वा विदेशबाट आयातित जुनसुकै मह बजारमा जानु अगाडि त्यसमा हुन सक्ने विषालु पदार्थको अवशेष परीक्षण अन्तर्राष्ट्रिय मापदण्डअनुसार गर्नुपर्छ । यस क्षेत्रमा कार्यरत व्यवसायीका अनुसार महमा फन्जाई र ब्याक्टेरियाको संक्रमण पनि हुन सक्छ प्रशोधन र प्याकेजिङको समयमा । पोखराका मौरीपालक सूर्यप्रसाद लामिछानेका अनुसार विदेश र नेपालमा मह काढ्ने, प्रशोधन र प्याकेजिङ गर्ने प्रक्रियामा धेरै फरक छ जसको कारण पनि कतिपय अवस्थामा नेपाली महको गुणस्तरमा प्रश्न उठ्ने गरेको छ।

अतः सरकारले महमा पाइने सम्पूर्ण रासायनिक तत्वको विवरण वैज्ञानिक परीक्षण अन्तर्राष्ट्रिय मापदण्डअनुसार गरी सोको प्रतिवेदन जनसमक्ष ल्याउनु आवश्यक देखिन्छ । यस लेखको अर्थ बजारमा पाइने महमा विषादी छ भन्ने होइन तर यो मानव स्वास्थ्यसँग जोडिएको सार्वजनिक चासोको विषय भएकोले अनुसन्धानको दायरामा ल्याई परीक्षण गर्नुपर्छ भन्ने हो ।

लेखक वायोकेमिष्ट्रीका विद्यावारिधि हुन् । 

प्रकाशित: १२ कार्तिक २०७४ ०३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App