coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गोलीकाण्डको कारक ‘डीएसपीको हठ’

झापा –छठ पर्वको अन्तिम दिन शुक्रबार बिहान बिर्तामोडको सडकमा उदाउँदो सूर्यको पूजा गरेर खोलाबाट फकिँदै गरेका श्रद्धालुको लर्को थियो । त्यो लर्कोको तुलनामा धेरै सानो संख्यामा अर्जुनधाराका सर्वसाधारण गाउँकै एकजना बालक हत्याका अपराधीलाई कारवाही गर्न माग गर्दै जुलुश लगाउँदै चोकतिर आउँदै थियो। 

यत्तिकैमा बिर्तामोड प्रहरीले जुलुशमा सहभागीलाई मात्रै होइन, छठका व्रतालुलाई पनि लाठीचार्ज गर्नथाल्यो । यसरी अन्धाधुन्द लाठी वर्षाउने प्रहरीको ज्यादतीले अन्ततः बिर्तामोडलाई दिनभरी रणभूमी त बनायो नै, प्रहरी गोलीले एक जनाको ज्यान लियो । दर्जनौं घाइते भए । दुई दिनदेखि बिर्तामोड कप्mर्युको भरमा शान्त छ । ‘प्रहरीले कुरै नबुझी देखाएको बर्बरता नै बिर्तामोड गोलीकाण्डको मुख्य कारण हो,’ बिर्तामोडका जनप्रतिनिधिदेखि सर्वसाधारणसम्म, दलका नेतादेखि व्यापारीसम्मले यही भनाइ दोहो¥याइरहेका छन् । ‘प्रहरी खासगरी डिएसपी राजकुमार सिलवालले थोरै मात्रै संयम देखाएको भए यति ठूलो दुर्घटना हुने नै थिएन,’ उनीहरूको भनाइ छ।  

प्रत्यक्षदर्शी, जिल्लास्थित प्रशासन, जनप्रतिनिधि सबैको निस्कर्ष एकै आउने घटनाको मुख्य सुत्रधार नै डिएसपी सिलवाल बनेर देखा परे । बिर्तामोड शनिश्चरे रोडको महानन्द चोकबाट विरोध र्‍याली अघि बढ्दै थियो । जुलुशमा प्रहरी–प्रशासनविरुद्ध नारा लागिरहेको थियो । ११ वर्षे बालक लक्ष्मण शिवाकोटीका हत्यारालाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग जुलुशमा नाराका रूपमा अभिव्यक्त हुँदैथियो। 

त्यहीबेला बिर्तामोड प्रहरी प्रमुख डिएसपी राजकुमार सिलवाल भीड नजिकै गएर भन्दै थिए, ‘खुरुक्क फर्किने भए, फर्किनु नत्र लाठी लगाएर ठीक पार्छु ।’ यसरी धम्क्याउने डिएसपी तिनै प्रहरी अधिकारी थिए, जसको कार्यशैलीविरुद्ध अर्जुनधाराका सर्वसाधारण दोस्रोपटक सडकमा आएका थिए । दसैंको टीकाका दिन घरबाट छिमेकीकोमा हिँडेका बालक भोलिपल्ट मृत फेला परेपछि बालकका परिवारले स्थानीय सुरेश पोखरेलको परिवारका आठ जनाबिरुद्ध किटानी जाहेरी दिएको थियो । जाहेरी लिएर बिर्तामोड प्रहरी कार्यालय पुगेका परिवारलाई डिएसपी सिलवालले उल्टै थर्काएर फर्काएका थिए । ‘तपाइँहरूको छोरा आफै मरेको हो, जाहेरी लिन्नँ,’ भन्दै उनले बालकका आमबुवालाई निराश तुल्याएका थिए । जब कि, भौडीमा मृत फेला परेका बालकको भने शरीरभरी चोट र निलडाम थियो । अण्डकोष काटिएको हालतमा थियो। 

त्यसबेला जाहेरी लिन अस्वीकार गरेका डिएसपी सिलवालले चौतर्फी दबाबपछि जाहेरी त लिए । तर, परिवार र आफन्तले प्रगतिबारे बुझ्न खोज्दा सधैँ थर्काएको मात्रै परिवारको आरोप छ। 

‘मैले पनि घटनाबारे पटक–पटक डिएसपीसँग बुझ्न खोज्दा उनले त्यसबारे कुरै नगर्नुस भन्दै झर्किन्थे,’ बिर्तामोडका नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले भने, ‘छानबिन नै नगरी बालकको हत्या होइन, मृत्यु हो भन्ने निष्कर्ष उनले सधैँ सुनाए । छानबिन गरिदिनु भन्ने परिवारलाई कहिल्यै राम्रो रेस्पोन्स गरेनन् ।’ यही कारणले उनीसँग आक्रोशित अर्जुनधारावासीले यसअघि नै बिर्तामोडमा प्रदर्शन गरिसकेका थिए। 

शुक्रबार दोस्रो चरणको प्रदर्शन हुँदैथियो । करिब डेढ सयको हाराहारीका गाउँले जुलुशसहित आउँदै थिए । डिएसपी सिलवालले सडकमा हिँड्ने जति सबैलाई पक्रने, लाठी हान्ने आदेश दिए । आफै पनि जाइलागे । ‘उनकै नजिकै गएर हामीले यसरी दमन नगर्नुस्, शान्तिपूर्ण प्रदर्शन गर्न दिनुस् भन्दा मेरो काममा दखल नदिनुस भन्दै हामीलाई हप्काए,’ मेयर शिवाकोटीले शुक्रबारको घटना सम्झिए, ‘यसरी डिएसपीको हठले सडकमा हिँड्ने जति सबैलाई प्रहरीविरुद्ध आक्रमणमा उत्रिने आक्रोश पैदा गरायो । र, एकैछिनमा रणसंग्राम मच्चियो ।’  घटनामा उनको घर र सवारीसाधन, यान्त्रिक कार्यालय, जिल्ला ट्राफिक केही होटलमा पनि आक्रमण भएको थियो। 

उनको वयानको पुष्टि शुक्रबारको घटनामा घाइते हुनेहरूको फेहरिस्तले पनि दिन्छ । अर्जुनधाराको एउटा टोलका सर्वसाधारण मात्रै प्रदर्शनका लागि बिर्तामोड आएका थिए । तर, घाइते भने इलामको दानाबारीदेखि झापाकै अन्यत्रका बढी छन् । इलाम दानाबारीका मणि नेपाली त प्रहरी गोलीले सिकिस्त छन् । ‘पहिलो कुरा बालकको रहस्यमय मृत्यु प्रकरणको छानबिनमा उदासिनता देखाएर डिएसपीले गल्ती गरेका थिए,’ अधिकारकर्मी अर्जुन बस्नेतले भने, ‘अर्को, विरोधमा उत्रिने जति सबैलाई लाठीले ठीक पार्छु भन्दै भीडलाई उत्तेजित पार्ने र भड्काउने काम उनले गरे । यो घटनाको जड यही नै हो।’ 

शुक्रबार एक जनाको ज्यान जाने गरी भएको हिंसा र करोडौं मुल्य बराबरको भौतिक सम्पत्तिमा भएको तोडफोडमा डिएसपी सिलवालको हठ नै प्रमुख कारण रहेको ठहर जिल्लास्थित दल, प्रशासन तथा जनप्रतिनिधिले गरेका छन् । कफ्र्यु जारी राखेर शनिबार बिर्तामोडमा भएको सर्वपक्षीय छलफलका क्रममा ८ बुँदे सहमति गर्दा पहिलो बुँदामा नै डिएसपी सिलवालमाथि कारवाही गर्ने वाक्य छ । ‘डिएसपीको हठ र कसैलाई पनि नगन्ने शैली नै यो घटनाको आधार बन्यो,’ बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले भने ‘उनले जलुशलाई दमन नगरेको भए केही हुने नै थिएन।’ 

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार सर्वपक्षीय बैठकले अर्जुनधारा ११ का लक्ष्मण शिवाकोटीको रहस्यमय  मृत्युका सम्बन्धमा सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सुक्ष्मरूपमा अनुसन्धान शुरु गर्ने, त्यस सम्बन्धमा संघर्ष समितिका संयोजक सीता पाण्डे, सदस्य ध्रुवप्रसाद शिवाकोटी, मृतकका काका विष्णु सिवाकोटी र मामा हेम पौडेलको सहयोगमा  अनुसन्धान अघि बढाउने, शुक्रबार र २०७४ असोज १४ गते भएको घटनामा संलग्न दोषीलाई  छानबिन गरी कानुन बमोजिम  कारवाही सुरु गर्न गृह मन्त्रालयबाट गठित छानबिन समितिलाई सहयोग गर्ने बुँदा सहमतिमा उल्लेख छन् ।  बिर्तामोडमा भएको घटनामा परी मुत्यु हुने मृतकका परिवारलाई दश लाख रुपैयाँ राहत उपलब्ध गराउन गृह मन्त्रालयमा अनुरोध गर्ने, मृतकको परिवारलाई तत्काल राहतका लागि जिल्ला समन्वय समिति झापा र बिर्तामोड नगरपालिकाले २५–२५  हजार रुपैयाँ बिर्तामोड उद्योग बाणिज्य संघले १० हजार  रुपैयाँ उपलब्ध गराउने, मृतकको श्रीमतीलाई आवश्यक रोजगारीको व्यवस्था सम्बन्धित नगरपालिकाले मिलाउने लगायतका निर्णय सर्वपक्षीय बैठकले गरेको छ  । घटनाका सवै घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन सकारसँग पहल गर्ने, क्षति भएका भौतिक सम्पत्तिको क्षतिपूर्तिको सिफारिश गर्ने सहमति पनि भएको छ । सहमतिपछि केही बिर्तामोडको कफ्र्यु केही खुकुलो भएको थियो । कफ्र्यु खुकुलो हुनासाथ आन्दोलनकारीले फेरि सडकमा टायर जलाउन थालेको प्रहरीले जनाएको छ। 

 

प्रकाशित: १२ कार्तिक २०७४ ०३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App