coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मतदाता दोधारमा

भेरी नगरपालिका–६, कृष्णमन्दिरका बासिन्दासँग भोट माग्दै प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार राजीवविक्रम शाह ।   तस्बिर : जनक

जाजरकोट– राजनीतिक हिसाबले  राष्ट्रिय छवि बनाएका पूर्वगृहमन्त्री एवं माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत तथा समाज सेवा र  विपन्नलाई विभिन्न समयमा सहयोग गरेर निकै चर्चा कमाएका राजीवविक्रम शाहबीच  मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कडा टक्कर  हुने देखिएको छ। 

दोस्रो संविधानसभाको निर्वाचनमा जाजरकोट निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित बस्नेत र  क्षेत्र नम्बर २ बाट निर्वाचित शाह अहिले एउटै क्षेत्रमा एकअर्काको प्रतिस्पर्धी भएका छन् । अहिले जाजरकोटबाट एकजना मात्र प्रतिनिधिसभा सदस्य चुनिने व्यवस्था गरिएकाले यस्तो अवस्था आएको हो। 

जाजरकोटी जनताले ठूलो आसा र भरोसा गरेका  शाह र बस्नेत दुवै प्रतिस्पर्धी भएपछि  जनता  कसलाई भोट दिने भनेर दोधारमा परेका छन् । 

जाजरकोटी जनताले ठूलो आसा र भरोसा गरेका  शाह र बस्नेत दुवै प्रतिस्पर्धी भएपछि  जनता  कसलाई भोट दिने भनेर दोधारमा परेका छन् । वाम गठबन्धनका साझा उम्मेदवार बस्नेत र नेपाली कांग्रेसका उम्मेदवार शाहमध्ये कसले चुनाव जित्छ भनेर यसै भन्न नसकिने  स्वतन्त्र विश्लेषक बताउँछन्। 

जाजरकोटको विकास र जनताको  हितका लागि आफूले निर्वाह गरेको  भूमिकालाई   योपटक पनि  जनताले  उचित मूल्यांकन  गर्ने वाम गठबन्धनका उम्मेदवार बस्नेतको भनाइ छ ।  शाह पनि आफूले बेलाबेलामा विपत्मा परेका जाजरकोटी जनताका लागि गरेको सहयोगले चुनाव जित्न सफल हुने बताउँछन् । एमालेका  निरज आचार्यलाई पार्टीले जबरजस्ती  ब्याक गर्नु र  एमालेका कार्यकर्ताले  माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्र हँसिया–हथौडामा भोट नहाल्ने अवस्था आए बस्नेतका लागि चुनाव चुनौती बन्ने विश्लेषण गरिएको छ । नागरिक अगुवा राजेन्द्रविक्रम शाहले  बस्नेत र शाह दुवै आर्थिक लोभ नगर्ने र  राज्य तथा  अन्य निकायसँग राम्रो पहँुच भएका नेता भएकाले जनताको निर्णय कसको पक्षमा जान्छ भनेर भन्ने नसकिने अवस्था रहेको बताउँछन् ।  ‘संविधानसभा र  संसद्को चारवर्षे कार्यकालमा दुवै नेताले  निर्वाह गरेको भूमिका जाजरकोटका लागि त्यति सन्तोषजनक नभए पनि जनताले  आसा गरेका  नेता उनीहरू नै हुन्,’ उनले  भने ।  वाम गठबन्धनभित्र केही  विवाद र  असन्तुष्टि बस्नेतका लागि चुनौती रहेको उनले बताए । जति मत वाम गठबन्धनबाट फुत्किए पनि आफूहरूले चुनाव जित्ने सम्भावना रहेको गठबन्धनका नेता बताउँछन् ।  जिल्लाबाट केन्द्रसम्म राम्रो पहुँच राख्न सक्ने भनेर जनतामाझ   परिचित बस्नेत र जनसेवीको परिचय बनाएका  शाहमध्य कसले बाजी मार्ला भनेर अहिले जाजरकोटका बजारदेखि दुर्गम गाउँसम्म चर्चा हुन थालेको छ । जनतामाझ निकै लोकप्रिय र रुचाइएका नेताको रुपमा  शाह गनिन्छन्।  

राजनीतिक  स्थायित्व र  देशको  समग्र विकासलाई गतिशील बनाउन  वाम गठबन्धनको जित हुनुपर्ने   दाबीका साथ बस्नेतले जनताको घरदैलो पुगेका छन् भने शाहले गरिब र विपन्न जनतासँग आफ्नो गठबन्धन भएको भन्दै मत मागिरहेका छन् । यसअघि कांग्रेस–एमाले–माओवादीबीच त्रिपक्षीय प्रतिस्पर्धा रहेको जाजरकोटमा अहिले  वाम गठबन्धन भएपछि बस्नेतलाई केहि सजिलो भएको ठानिएको छ ।  प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर १ मा  सूर्य चिह्नमा  भोट हाल्न नपाइने भएपछि एमाले समर्थक  सबैले गोलाकारभित्रको हँसियाहथौडा चिह्नमै भोट हाल्छन भनेर ढुक्क हुने अवस्था नभएको एमालेका एक नेताले बताए । उनका अनुसार  उम्मेदवारी दिएका एमाले नेता आचार्यबाट अन्तिम अवस्थामा टिकट खोसिएका कारण पनि  कार्यकर्ता रुष्ट बनेका छन् । बस्नेत माओवादी–एमाले गठबन्धनकै कारण चुनाव जित्ने प्रतीक्षामा छन् भने शाहले विपन्न र सर्वसाधारण जनतालाई आफ्नो जितको आधार बनाएका छन् । 
विद्यार्थीकालदेखि नै कम्युनिस्ट राजनीति गरेका बस्नेत माओवादी पार्टीभित्र निकै प्रभावशाली नेताको रुपमा  चिनिन्छिन् ।  उनी दुईपटक  मन्त्री भइसकेका छन् ।  माओवादी अध्यक्ष पुष्पकमल दाहालका खास विश्वासपात्रका रुपमा चिनिएका बस्नेत संविधान र वाम गठबन्धन निर्माणमा  महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमध्येका एक  नेता मानिन्छन् ।  जाजरकोट खलंगाको  कालेगाउँमा किसान परिवारमा जन्मिएका बस्नेतको यो चुनावमा हार भए जाजरकोट केन्द्रीय पहुँचबाट छुट्टिनुपर्छ भन्ने  एकथरीको  भनाइ छ।  

जाजरकोट नै पुख्र्याैली घर भएका शाह जाजरकोटी राजाका सन्तान  पाइलट बबिक्रिम शाह र समाजसेवी जया शाहका छोरा हुन् । उच्च खानदानमा जन्मे–हुर्किएर समाजसेवामा लागेका  शाह २०६३ देखि नेपाली कांग्रेसको राजनीतिमा  आएका  हुन् । उनी  समाजसेवीका रुपमा  जाजरकोटी जनतामाझ लोकप्रिय छन् । जिल्लामा २०६६ को झाडापखाला, २०७२ मा  फैलिएको स्वाइनफ्लु तथा  २०७१ मंसिर  र २०७३ फागुनमा भएका बस दुर्घटनापीडितलाई पनि उनले ठूलो सहयोग गरेको स्थानीय जनता सम्झन्छन् । यसैकारण उनी जिल्लामा लोकप्रिय छन्।  

यस आधारमा  जाजरकोटी जनताको  नजरमा  दुवै  हेभिवेट भएका  नेता हुन् । ‘जनताको सेवा र जाजरकोटको  पहिचानका लागि बस्नेत र शाह दुवैले चुनाव जित्न जरुरी छ तर  चुनावमा एकले जित्ने एकले हार्ने हो,’ एक स्थानीयले भने।

प्रदेशसभातर्फ वाम गठबन्धनबाट माओवादी केन्द्रका गणेशप्रसाद सिंह (क) र एमालेका करवीर शाही (ख) तथा कांग्रेसका वेदराज सिंह (क) र दीपकजंग शाह (ख) बाट उम्मेदवार छन् ।
 गत स्थानीय निर्वाचनमा जिल्लामा एमाले  २० हजार ६ सय मत ल्याएर पहिलो भएको छ भने कांग्रेसले १८ हजार ४ सय ३९ मत ल्याएर दोस्रो भएको छ । त्यस्तै माओवादीले  १७ हजार  ४ सय ६१ मत ल्याएको छ।  

प्रकाशित: १२ कार्तिक २०७४ ०२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App