coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

वाम गठवन्धन ‘तासको घर’: गुरुङ

लमजुङ- नेपाली काँग्रेसका केन्द्रिय सदस्य युवानेता धनराज गुरुङले माओवादी आफैंमा अडान र तौल नभएको पार्टी भएको बताएका छन्।

सदरमुकाम बेसीसहरमा शनिबार भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गुरुङले ०६४ सालको निर्वाचनबाट मुलुकको पहिलो नम्बरको पार्टी बनेको माओवादी आफ्नै कारणले क्षयीकरण हुँदै संविधानसभा दोस्रो निर्वाचनसम्म जनताले तेस्रोदलको हैसियतमा पुर्‍याइदिएको बताए।

आफ्नो पार्टी हात्ती भएको र अन्यपार्टीलाई झिनामसिना देख्ने माओवादीको अहिलेको हैसियत हात्तीको पुच्छर पनि नभई बाँदरको पुच्छर भएको समेत उनले टिप्पणी गरे । ‘हामीले माओवादीलाई समयमै चिन्न सकेनौं,’ कार्यकर्तालाई सम्बोधन गर्दै गुरुङले भने, ‘हात्तीको पुच्छरसम्म त काम लाग्छ भनेर समात्यौं तर बाँदरको परेछ, त्यो न लौरो, न हतियार भएको छ ।’ आफ्नै पार्टीसँग सत्ता साझेदार माओवादी केन्द्र प्रति कडा टिप्पणी गर्दै उसबाट छुट्कारा मिल्ने समय आईसकेको बताए।

नेपाल भूतपूर्व सैनिक संघको आयोजनामा भएको भेलामा बोल्दै गुरुङले नेकपा एमालेको राष्ट्रवाद छेपारोले रंग फेरेजस्तो अस्थिर रहेको बताए । प्रधानमन्त्री बनाई माग्न राजालाई सिक्का चढाउने, संविधान संशोधन गर्न ३ बुँदा लिएर कमल थापालाई दिल्ली पठाउने, अरुण तेस्रो जस्तो ठूलो आयोजना अघि बढ्नै नदिने जस्ता विषयको उठान गर्दै एमाले राष्ट्रियताका पक्षमा बलियो नभएको आरोप समेत उनले लगाए । त्यस्तै, अहिले भईरहेको वाम गठवन्धनलाई ‘तासको घर’ को संज्ञा दिँदै सानो हावाको झोक्काले समेत भत्काईदिने पनि उनले बताए । नेकपा एमाले र माओवादी केन्द्रको गठवन्धनलाई आगमी मंसिर १० र २१ गते हुने निर्वाचनमा जनताले लथालिङ्ग बनाईदिने पनि गुरुङले बताए । वाम गठवन्धनलाई तासको घर भएको बताएपनि यो शक्तिका विरुद्ध लड्न नेपाली काँग्रेसका सबै तहका नेता तथा कार्यकर्ता सजग र सर्तक रहन आग्रह समेत गरे । आगमी निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बनाउने तयारीमा लाग्न सबै चनाखो रहनु पर्ने भएकाले अहोरात्र खट्न समेत उनले कार्यकर्तालाई आग्रह गरे ।

भूपू सैनिक संघका जिल्ला अध्यक्ष पूर्वलेफ्टिनेन्ट कमलबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका अग्रणी नेता पूर्व राज्यमन्त्री रामचन्द्र अधिकारी, पूर्व राज्यमन्त्री रामबहादुर गुरुङले समसामयिक विषयमा आफ्नो धारणा व्यक्त गरे । त्यस्तै, काँग्रेस निवर्तमान केन्द्रिय सदस्य एवं प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार दिलबहादुर घर्ती, प्रदेशसभा सदस्य निर्वाचनका लागि क्षेत्र नं १ का उम्मेदवार गर्जबहादुर गुरुङ र क्षेत्र नं २ का उम्मेदवार कृष्णप्रसाद कोईराला, जिल्ला सभापति भेषबहादुर पौडेल लगायतका नेताहरुले पनि आगमी निर्वाचनमा आफ्नो पार्टी र उम्मेदवारलाई विजयी गराउन भरमग्दुर प्रयास गर्न आग्रह गरे।

 

प्रकाशित: ११ कार्तिक २०७४ ११:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App