coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश ७ मा वाम गठवन्धनको सिट वाँडफाँट, १२ र ४ सिटको साझेदारी

धनगढी- प्रतिनिधि सभामा १६ निर्वाचन क्षेत्र रहेको प्रदेश नम्बर ७ मा वाम गठबन्धनमा रहेका एमालेले १२ र माओवादी केन्द्रले ४ सिट वाँडफाट गरेका छन। पहिलो चरणमा निर्वाचन हुने एक, एक निर्वाचन क्षेत्र रहेका दार्चुला, बैतडी, बझाङ र बाजुरा ४ वटै प्रतिनिधि सभामा एमालेको भाग परेको छ। प्रदेश सभामा भने एमालेले ५ र माओावादीको ३ वाँडेका छन्। माओवादीले प्रदेश सभा तर्फ दार्चुला, बैतडी र बझाङमा एक, एक सिटमा उम्मेदवारी दिएको छ। यसैगरी दोश्रो चरण अन्तर्गत मंसिर २१ गते हुने निर्वाचनमा प्रतिनिधि सभाका १२ निर्वाचन क्षेत्रमा नेकपा एमालेले ८  र माओवादी केन्द्रले ४ सिट वाँडेका छन।

५ जिल्लाका प्रदेश सभाका २४ सिटमध्ये एमालेले १४ र माओवादीले ८ सिटमा उम्मेदवारी दिने सहमति गरेका छन। कैलालीमा प्रदेश सभाका दुई सिटको टुंगो लाग्न बाँकी छ । प्रदेश नम्बर ७ मा प्रदेश सभाका ३२ सिटमध्ये टुंगिएका ३० मा माओवादीको भागमा ११ र एमालेको भागमा १९ सिट परेको छ ।

 प्रतिनिधि सभाका लागि माओवादीले कैलालीमा २ तथा कञ्चनपुर र डडेल्धुरामा १/१ सिट पाएको छ। कैलालीमा क्षेत्र नम्बर ३ र ४ तथा कञ्चनपुरमा क्षेत्र नम्बर १ माओवादीले पाएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेसका सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादीका युवा नेता खगराज भट्ट चुनाव लड्ने भएका छन। कैलाली ४ बाट माओवादीका प्रभावशाली नेता लेखराज भट्ट, कञ्चनपुर–१ बाट विना मगर चुनाव लड्ने छन । कैलाली क्षेत्र नम्बर ३ बाट गौरीशंकर चौधरी र वीरमान चौधरीमध्ये एक जना उम्मेदवार हुने माओवादी केन्द्रका एक नेताले भने । माओवादीले डोटीमा प्रदेश सभाको १, अछाम र कञ्चनपुरमा २/२ तथा कैलालीमा ३ सिट पाएको छ । प्रदेश सभामा १२ सिट रहेको कैलालीमा प्रदेश सभामा २ सिट टुंगो लाग्न वाँकी छ । सहमतिअनुसार अछाममा प्रतिनिधि सभाका दुवै क्षेत्रबाट एमालेले उम्मेदवारी दिने छ।

प्रकाशित: ११ कार्तिक २०७४ ११:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App