८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

टोरेन्ट सधैँका लागि बन्द, संस्थापक पक्राउ

विश्वको सबैभन्दा ठूलो अनलाइन पाइरेसी साइटको रूपमा रहेको किकएस टोरेन्ट बन्द भएको छ । अमेरिकी सरकारले यो वेबसाइट बन्द गराउँदै वेबसाइटका संस्थापकलाई पक्राउ गरेको छ । किकएस टोरेन्टका संस्थापक युक्रेनी नागरिक आर्टेम भलिनलाई आपराधिक कार्यमा संलग्न भएको अभियोग लगाई पक्राउ गरिएको हो ।

उनीमाथि अवैध रूपमा कपी गरिएका एक अर्ब डलर मूल्य बराबरका फिल्म, संगीतलगायत विभिन्न सामग्री पाइरेसी गरेको अभियोगमा आर्टेमविरुद्ध उजुरी परेको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ । दुनियाकै ठूलो पाइरेसी साइट टोरेन्टका संस्थापक आर्टेम जम्मा ३० वर्षका मात्र छन् ।

बुधवार उनलाई पोल्यान्डबाट पक्राउ गरिएको हो । उनीमाथि प्रतिलिपि अधिकार कानुनको उल्लंघन गरेको, मुद्रा निर्मलीकरण गरेको लगायतका विभिन्न अभियोगमा मुद्दा हालिएको छ ।

उनी केटको नामले चर्चित किकएस टोरेन्टका मालिक भएको बताइएको छ । यो साइट पछिल्ला वर्षहरूमा विश्वभर पाइरेटेड सामग्रीहरूको सबैभन्दा ठूलो स्रोतका रूपमा रहेको छ । उक्त साइट तथा त्यसका मालिक आर्टेमविरुद्ध दर्ज गरिएको आपराधिक मुद्दामा भनिएको छः यो साइटले आफ्ना प्रयोगकर्तालाई राम्रो माहोल दिन्छ ।

जसमा मानिसहरूले विभिन्न सामग्रीहरू खोजी गर्दछन् र डाउनलोड गर्न सक्छन् । यो सीधा रूपमा प्रतिलिपि अधिकार कानुनको उल्लंघन हो । अमेरिकी न्याय मन्त्रालयको विज्ञप्तिअनुसार किकएस टोरेन्ट नामको यो साइटले मानिसहरूलाई फिल्म, भिडियो गेम, टेलिभिजन कार्यक्रम, संगीत तथा अन्य विद्युतीय सामग्री अवैध रूपमा उपलब्ध गराउने गर्छ । यो साइट विश्वमा इन्टरनेटमा सबैभन्दा धेरै हेरिने कम्पनीमा ६९ औँ स्थानमा रहेको छ ।

अमेरिकी सहायक महान्यायाधिवक्ताका अनुसार आर्टेमले किकएस टोरेन्ट साइट चलाउनका लागि विभिन्न सर्भर प्रयोग गर्ने गरेका थिए । समयसमयमा उनले आफ्नो डोमेन बदलिरहन्थे । उक्त  साइटको दैनिक प्रयोगकर्ता करिब १ मिलियन थिए ।

 

 

प्रकाशित: १७ श्रावण २०७३ १०:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App