८ वैशाख २०८१ शनिबार
राजनीति

गठबन्धन कस्दै एमाले–माओवादी, केन्द्रको निर्णय पर्खिंदै कांग्रेस

इलाम- आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लास्थित नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता–कार्यकर्ताले संयुक्त रूपमै तयारी थालेका छन्। उनीहरूले संयुक्त रूपमा चुनावी अभियानमा जाने तयारी गरेका हुन्।

केन्द्रस्तरमा चुनावी गठबन्धन र चुनावपछि पार्टी एकताको सहमति भएपछि जिल्लामा दुवै दल संयुक्त रूपमा बैठकमा जुट्न थालेका हुन् । गठबन्धनले सदरमुकाममा संयुक्त बैठक आयोजना गरी निर्वाचन परिचालन कार्यदलसमेत निर्माण गरेको छ । नेकपा एमालेको जिल्ला कार्यालयमा बसेको बैठकले एमाले जिल्ला अध्यक्ष रामबहादुर रानाको नेतृत्वमा ११ सदस्यीय कार्यदल बनाएको हो।

कार्यदलमा एमालेका रानासहित कार्यालय सचिव नवराज शंकर, सचिवालय सदस्यहरू गणेशप्रसाद बराल, सूर्य पोख्रेल र नरेन्द्रनाथ भट्टराई तथा जिल्ला सदस्य श्यामकृष्ण घिमिरे गरी ६ जना छन् । माओवादीबाट पोलिटब्युरो सदस्य श्रीप्रसाद जबेगू, जिल्ला इन्चार्ज धिरेन शर्मा (रमण), जिल्ला संयोजक सोममाया राई, राम राई र उर्मिला तामाङ गरी ५ सदस्य कार्यदलमा रहेको कार्यालय सचिव शंकरले जानकारी दिए । 

केन्द्रमा भएको गठबन्धनजस्तै जिल्लामा पनि आउँदो चुनावका लागि तयारी गर्न कार्यदल निर्माण गरेको शंकरले बताए । ‘जिल्लामा उम्मेदवारको भागबण्डामा पनि माओवादीसँग कुरा मिलेकाले अब दुवै दल संयुक्त रूपमा चुनावी अभियानमा जानेछौं,’ उनले भने, ‘कार्यदलले अहिले चुनावकेन्द्रित कार्य गर्नेछ ।’ एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य अगम बान्तवाले वाम गठबन्धनले जिल्लामा विजय हासिल गर्ने दाबी गरे । ‘राजनीतिक स्थिरता, मुलुकको विकास र समृद्धिका लागि वाम गठबन्धन अहिलेको आवश्यकता रहेको नागरिकले पनि बुझिसकेका छन्,’ उनले भने, ‘नागरिकले देश र जनताको हित गर्ने दललाई नै भोट हाल्ने हो।’

आउँदो निर्वाचनका लागि नेकपा एमाले–नेकपा माओवादी केन्द्रबीच निर्वाचन क्षेत्र बाँडफाँटमा यसअघि नै सहमति भएको थियो। प्रतिनिधिसभातर्फ २ र प्रदेशसभाका ४ क्षेत्रमध्ये प्रदेशतर्फको एउटा सिट माओवादीको भागमा छ । जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा २ एमालेले माओवादी केन्द्रलाई छाडिदिने सहमति भएको थियो । यसैअनुसार गठबन्धनको बैठकले प्रतिनिधिसभा क्षेत्र २ को प्रदेशसभा २ मा माओवादी जिल्ला इन्चार्ज शर्मालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णयसमेत गरेको छ। 

प्रतिनिधिसभामा एमाले–माओवादी गठबन्धनका तर्फबाट क्षेत्र १ मा प्रत्यक्षतर्फ एमालेका झलनाथ खनाल तथा २ मा एमालेकै सुवासचन्द्र नेम्बाङ उम्मेदवार बन्दैछन् । प्रदेशसभा प्रत्यक्षतर्फ क्षेत्र १ को १ मा एमाले जिल्ला उपाध्यक्ष भक्त केसीसहित ७ जनाले दाबी गरेपनि नाम टुंगो लागेको छैन । क्षेत्र १ को २ मा एमालेका काजीमान कागते पार्टीबाट निर्विरोध सिफारिसमा छन् । क्षेत्र २ को १ मा एमाले जिल्ला अध्यक्ष राना पार्टीबाट निर्विरोध सिफारिसमा परेका छन्।

केन्द्रस्तरमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी गठबन्धन गरेको नेपाली कांग्रेसले जिल्ला तहमा भने संयुक्त रूपमा कुनै चुनावी तयारी गरेको छैन । कांग्रेसले जिल्लाका २ प्रतिनिधिसभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये कुनैमा सर्वसम्मत उम्मेदवार सिफारिस गर्न सकेको थिएन । तर, प्रतिनिधिसभातर्फ जिल्लाको क्षेत्र २ मा कांग्रेसले केशव थापालाई उम्मेदवार बनाउने निश्चित भइसकेको कांग्रेसले जनाएको छ ।

 ‘जिल्लाको कुनै क्षेत्रमा उठ्ने उम्मेदवारको नाम सर्वसम्मत निर्णय नभएपछि जिल्ला समितिले माथिल्लो तहमा सिफारिस गरेका नाममा फाइनल भएको छैन,’ कांग्रेस इलामका सभापति हिमालय कर्माचार्यले भने, ‘क्षेत्र २ मा केशव थापा उठ्ने निश्चित भएको बुझेको छु, अन्य कुनै क्षेत्रको निर्णय भइसकेको छैन।’        

राप्रपा, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीसँग केन्द्रमा चुनावी तालमेलको कुरा चलिरहेकाले त्यहाँ जस्तो सहमति हुन्छ, त्यसैअनुसार जिल्लामा अघि बढ्ने उनले बताए । ‘जिल्ला तहमा राप्रपालगायतका दलसँग चुनावी तालमेल गर्नेबारे सामान्य कुरा त चल्दैछ तर कुनै ठोस विषयमा कुरा भएको छैन,’ उनले भने, ‘भोलि (आइतबार)सम्ममा केन्द्रले यसबारे केही नयाँ निर्णय पनि गर्ला ।’ तोकतान्त्रिक गठबन्धनभित्र देशभर समग्रमा जसरी भागबण्डा हुन्छ, जिल्लामा पनि त्यसैअनुसार मिलाएर जान सकिने उनले जनाए ।

            कांग्रेसले प्रतिनिधिसभाको क्षेत्र १ मा बेनुपराज प्रसाईं, केशव थापा र भेषराज आचार्यको नाम सिफारिस गरेको छ । कांग्रेसका अनुसार अहिलेसम्म कसैको नाममा टुंगो लाग्न सकेको छैन । क्षेत्र २ मा पनि प्रसाईं, थापा, आचार्य र निर्मला प्रसाईंको नाम सिफारिसमा थियो ।  

प्रकाशित: ११ कार्तिक २०७४ ०८:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App