coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
ब्लग

कमरेड देवी ज्ञवालीको हाँसो [ब्लग]

स्थानीय तह निर्वाचनमा भरतपुरमा मेयर पदमा उम्मेद्वारी दर्ता गराउँदाका दिन देवी ज्ञवालीको हाँसो ।

कार्तिक आठ गते दिउँसो एउटा फोटो सामाजिक सञ्जाल र केही अनलाईन समाचार पोर्टलहरुमा छ्याप छ्याप्ती भयो। फोटोमा गत स्थानीय तह चुनावमा भरतपुर महानगरपालिकामा एमालेका तर्फबाट मेयर पदमा उम्मेद्वार रहेका देवी ज्ञवाली निकै उनमुक्त हाँसोमा थिए। स्थानीय चुनावयता देवी ज्ञवाली धेरै नेपालीले सुनेको नाम हो । उनी घोर अन्यायमा परे, धेरै नेपालीले यही बुझ्दै आएका पनि छन् । चुनाव सकिएसँगै उनको चर्चा हराउँदै गएको थियो । तर एकाएक हर्षित अवस्थाको फोटो आयो ।

हाँसोका कारणले मात्रै नभएर फोटो देख्नेहरु किन छक्क परेभन्दा त्यो फोटोमा उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशसँग कुम जोडेर पोज दिएका थिए । चितवन एमालेका एक युवा नेता उनीहरु तर्फ ढल्किएका थिए । प्रकाश निकै ठाँटसँग मन्द मन्द मुस्कानसति उभिएका थिए । एकजना कसैले सेल्फी खिच्दै गरेको फोटो थियो त्यो । हेर्दा लाग्छ उनीहरु सवै प्रकाश दाहालसँग फोटो खिच्न हुरुक्क छन्।

गएको बैशाख २८ मा प्रकाश दाहालले एउटा फोटो सामाजिक सञ्जालमा राखेका थिए । तत्कालिन प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवालाई पृष्ठभुमिमा राखेर प्रकाशले सेल्फी खिचेको फोटो थियो त्यो। त्यो बेला अवस्था अर्कै थियो । भरतपुर महानगरपालिकामा मेयर उपमेयर पदमा काँग्रेस र माओवादीबीच तालमेल थियो। भरतपुरमा आफुले एक्लै चुनाब जित्ने हैसियत राखेको काँग्रेसले माओवादीसँग चुनाबी तालमेल मात्रै गरेन मेयर पद नै माओवादीलाई दियो । माओवादीले मेयर पदमा पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई उम्मेद्वार बनाएको थियो।

दुनिया छक्कै परेर अहिले उनको कुरा सुनी रहेको छ । देवी ज्ञवालीलाई अन्याय भएकै हो । उनलाई भोट दिएकाले मात्रै होइन नदिएका र स्वयम माओवादीका नेताहरुले पनि अनौपचारिक कुराकानीमा स्वीकार गरेको विषय हो यो। तर अहिले उनले न्याय कसरी पाए ? सवै त्यो जान्न चाहन्छन्।

हो उनै रेणु दाहालका लागि मत माग्दै बैशाख २८ गते पुष्पकमल दाहाल र शेरबहादुर देउवाले भरतपुरमा आयोजित संयुक्त सभालाई सम्बोधन गरेका थिए । दाहाल र देउवा एउटै जाहाज चढेर भरतपुर ओर्लेका थिए । त्यसैको प्रमाण पेश गरेका थिए प्रकाश दाहालले। देउवा र दाहालले मत मागे पनि भरतपुरका मतदाता खास गरेर जो काँग्रेसमा आस्था राख्थे उनीहरुले मेयर पदमा रेणु दाहाललाई मन फुकाएर मत हाल्न सकेनन् । मतदानपछि मत गणना सुरु भयो । प्रारम्भिक परिणामहरु आउन थाल्यो। जसमा रेणु दाहाल ज्ञवालीभन्दा पछाडी पर्न थालिन् । रेणु दाहालले चुनाब जित्ने छाँट देखिएन।

मत गणना अन्तिम हुनै लाग्दा रेणुले नभएर ज्ञवालीले नै चुनाव जित्ने लगभग निश्चित जस्तै भयो। त्यसपछि माओवादीका गणना प्रतिनिधिहरु बनेर मत गणना स्थलमा बसेकाहरुले नै मतपत्र च्यात्ने काम गरे । मतपत्र च्यातेर नोक्सान भएको ठाउँमा फेरि निर्वचन गराउने भन्ने कानुनी व्यवस्थाबाट फाइदा लिन उनीहरुले नियोजित रुपमा त्यो काम गरेका थिए । किन कि जुन ठाउँका मतपत्र च्यातिएका थिए त्यो ठाउँमा काँग्रेस समर्थक मतदाताहरुको बाहुल्यता थियो । दोहराएर चुनाब गराउँदा रुष्ट भएका मतदातालाई फकाउन सकिन्छ भन्ने आँकलन गरेरै मतपत्र च्यात्ने काम भएको थियो । त्यो बेला एमाले स्वयमले लगाएको अरोप हो यो । र घटना क्रमले यो आरोप आरोप मात्रै थिएन भन्ने पनि देखायो।

मतपत्र च्यातिएपछि निर्वाचन आयोगले फेरि चुनाब गराउने निर्णय सुनायो । मेयर पदका उम्मेद्वार ज्ञवाली मात्रै नभएर एमालेले नै यो घोर अन्याय पूर्ण काम भयो भन्दै सर्वोच्च अदालत गए । अदालतले सुनुवाइएको मिति सारेको सार्‍यै गरेर दुई महिनापछि निर्वाचन अयोगकै निर्णय सदर गर्‍यो । ज्ञवालीले अदालतको निर्णयले ‘चोरलाई चौतारो र साधुलाई सुली’ भयो भन्दै असन्तोष व्यक्त गरे। चुनाब भयो । चुनाबका बेलामा प्रहरीकै स्कर्टिङमा रेनु दाहालले पैसा बाँडेर आफुलाई हराउँन खोजिन भनेर ज्ञवालीले चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसँग कुरा राखेको प्रष्टसँग सुनेकै हो।

दोहोराएर मतदान गरे रुष्ट मतदातालाई फकाउन सकिन्छ भनेर गरेको आँकलन यथार्थमा प्रमाणित भयो । मतपत्र च्यातिएको भरतपुरको वडा नं. १९ मा ज्ञवालीले दोस्रो पटक मतदान हुँदा पहिलाको भन्दा कम मत ल्याए । जसका कारण २०३ को झिनो मतान्तरले ज्ञवाली पराजित भए।

त्यो चुनावमा तत्कालिन गठबन्धनकी मेयर उम्मेद्वार रेणु दाहालको जित प्राविधिक विषय मात्रै बन्यो । नैतिक रुपमा देवी ज्ञवाली नै विजयी भए । राज्यका सारा संयन्त्र लागेर देवी ज्ञवालीलाई हरायो भन्ने कुरा नबुझ्ने कोही भएन । तर पाँच महिना बित्दा नबित्दै देवी ज्ञवाली जसका कारण घोर अन्यायमा परे भनियो त्यही पक्षसँग कुम जोड्दै मुस्कान साट्न पुगे ।

मतदाताले मत जाहेर गरी सकेको मतपत्र च्यात्नु सामान्य घटना होइन । जसले मतपत्र च्याते उसले जनमतलाई ख्याल ठट्टा बनाए। जे जसरी हुन्छ आफ्नो अनुकुल नतिजा ल्याउन उद्दत हुन खोज्ने चरित्र लोकतन्त्रका लागि खतरा हो । मतपत्र च्यात्ने कार्य कसैको जित हारसँग मात्रै सम्बन्धित थिएन लोकतान्त्रिक मुल्य मान्यतामाथि नै आक्रमण गरेको अपराध थियो । त्यो कुनै आकस्मिक दुर्घटना थिएन। नियाजित काण्ड थियो । र यो काण्डमा संलग्न को कस्ले कस्तो सजाय पाए ? अरु त अरु मतपत्र च्यातेको अभियोग लागेका व्यक्ति उपरको मुद्दासमेत अदालतमा विचाराधिन अवस्थामा छ।

यस्तो अवस्थामा देवी ज्ञवाली घरी पुपष्कमल दाहालसँग र घरी उनका छोरा प्रकाशसँग कुम जोड्दै मुस्कुराउँदै फोटो खिचाउन थाली सके। हो परिश्थिती केही बदलिएको छ । पहिला काँग्रेससँग चुनाबी गठबन्धन गरेको माओवादी अहिले एमालेसँग मिसिन आएको छ। जहाँ मतपत्र च्यातेर देवी ज्ञवालीलाई हराइयो र रेणु दाहाललाई जिताइयो त्यही जिल्लामा चुनाब उठ्न पुष्पकमल दाहाल आउँदैछन्। एमालेले अब दाहाललाई मत माग्नु पर्ने छ । यस्तो अवस्था आउँदा देवी ज्ञवाली पक्कै पीडा अनुभव गरी रहेका होलान है भन्ने आँकलन धेरैको थियो । तर त्यस विपरित देवी त दिल खोलेर हाँसी रहेका छन् । त्यो पनि दाहाल परिवारसँगै ।

सामाजिक सञ्जाल र केही अनलाई न्युज पोर्टलहरुले अफवा फैलाउँछन् । यो चुनावमा देवी ज्ञवालीको नाम पनि त्यस्ता खाले समाचारहरुमा नआएको होइन । जस्तै उनी काँग्रेसमा जाँदै छन्, उनले प्रचण्डलाई हराउन भूमिका खेल्ने छन् । यी समाचारहरु तथ्यहिन हुन भन्ने कुरा पाठकले बुझेकै थिए । देवी ज्ञवालीले खण्डन गरे पनि नगरे पनि । तर उनले यी समाचारहरुलाई गम्भिर रुपमा लिदै खण्डन गरे । त्यो बेठिक थिएन । तर पुष्पकमल दाहाल र उनका छोरासँगै तस्बिर पनि खिचाउन थाले।

यति मात्रै हैन उनी चितवनमा उम्मेद्वार हुने दाहाललाई जिताएरै पठाउने उद्घोषहरु पनि गर्न थालेका छन् । दाहालको चुनाबी कमाण्डर पनि हुन्छु भन्छन रे । दुनिया छक्कै परेर अहिले उनको कुरा सुनी रहेको छ । देवी ज्ञवालीलाई अन्याय भएकै हो । उनलाई भोट दिएकाले मात्रै होइन नदिएका र स्वयम माओवादीका नेताहरुले पनि अनौपचारिक कुराकानीमा स्वीकार गरेको विषय हो यो। तर अहिले उनले न्याय कसरी पाए ? सवै त्यो जान्न चाहन्छन्।

नेताको काम परिस्थिति अर्कै आयो भन्दैमा जे पनि गर्ने होइन् । प्रतिकुल परिवेशमा पनि न्यायका लागि संघर्ष गर्ने हो । नेताले अन्यायका विरुद्ध बोल्ने हो । अन्यायमा परेका जनतालाई न्यया दिलाउन लड्ने हो । मतपत्र च्यातेपछि स्वयम अन्यायमा परेका ज्ञवालीले त्यो अन्याय यति चाडै कसरी भुले अनि त्यसरी हाँसे ? अन्यायका विरुद्ध आवाज उठाउने सवैलाई उनले भन्नै पर्छ । नभए यस्ले अन्यायको विरुद्ध आवाज उठाउनु पर्छ भन्नेहरुलाई हतोत्साहित बनाउने छ । पार्टीले गठबन्धन गरेपछि ज्ञवाली त्यसका विरुद्ध जान सक्दैन । त्यो उनको दलगत नैतिकताले पनि नदेला । उनी गठबन्धनको विरोध गर्दै निस्कनु पर्छ भन्ने आग्रह पनि कसैको छैन होला । तर यो बेलामा उनी बोलेर र खुलेर भन्दा नबोलेरै बसेको भए राम्रो हुने थियो।

देवी ज्ञवालीले मत नमाग्दैमा पुष्पकमल दाहालले चितवनमा चुनाब हार्ने अवस्था पटक्कै छैन । बरु उनी दाहालको पक्षमा मत माग्दै मैदानमा देखिए भने अवस्था प्रतिकुल हुन सक्छ । ओ हो ज्ञवाली ‘वैगुनीलाई गुनले मार्न’ प्रचार गर्दै मैदानमा निस्किएछन भनेर बुझ्ने कमै हुन्छन् । कुन प्रलोभनले ज्ञवाली पनि दाहालको पछाडी लागे भनेर बुझ्ने अत्याधिक हुनेछन् । एउटा उचाइ बनाइ सकेका ज्ञवालीको राजनैतिक चरित्रको क्षयीकरण सुरु भइसकेको छ । त्यो हाँसोले उनैलाई गिज्याउँदै छ अहिले ।

 

प्रकाशित: ११ कार्तिक २०७४ ०७:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App