coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संघीय फोरमका जनजाति नेतालाई प्रत्यक्षतर्फ लड्न दबाब

काठमाडौं – संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका केही  शीर्ष जनजाति नेता प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक नभई समानुपातिक सूचीमा अटाउन खोजेका छन् । यद्यपि केही जनजाति नेताले पहाड छाडेर  मधेसबाटै चुनाव लड्ने तयारी गरेका छन्।

पार्टीका मधेसी मूलका अधिकांश केन्द्रीय नेताले भने पार्टीका सबै पदाधिकारी प्रत्यक्षतर्फ उम्मेदवार हुनुपर्ने माग गरेका छन् । समानुपातिकबाट सिफारिस भएकाहरू पनि प्रत्यक्षतर्फ चुनाव लड्नुपर्नेमा उनीहरूको दबाब छ । पार्टीका सबै पदाधिकारी प्रत्यक्षतर्फ उम्मेदवार हुनुपर्ने स्थिति बन्यो भने  सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र महासचिव रणध्वज कङदम्वालाई पनि प्रत्यक्षबाटै चुनाव लड्नुपर्ने हुन्छ । श्रेष्ठ र कङदम्वाको नाम फोरमले समानुपातिक उम्मेदवारमा सिफारिस गरेको छ । पार्टी महासचिव रामसहाय यादवले समानुपातिकमा सिफारिस भएका पार्टीका शीर्ष नेताहरू प्रत्यक्षतर्फ चुनाव लड्ने सम्भावना रहेको बताए । ‘उहाँहरूले प्रत्यक्षमा लड्नुपर्ने स्थिति आयो भने समानुपातिक उम्मेदवारको अन्तिम सूचीमा फेरबदल हुन्छ,’ उनले भने। 

पार्टीका मधेसी मूलका सबै शीर्ष नेताले प्रत्यक्षतर्फ चुनाव लड्ने घोषणा गरेका छन् । उपाध्यक्ष लालबाबु यादव, महासचिव यादव र कोषाध्यक्ष विजय यादवले प्रत्ययक्षतर्फ चुनाव लड्ने जनाएका छन् । यसबाट जनजाति नेतालाई अप्ठेरो परेको छ । समानुपातिकतर्फ सिफारिस भएकी उपाध्यक्ष रेणु यादवसमेत प्रत्यक्षमा चुनाव लड्ने सम्भावना रहेको महासचिव यादवले जनाए।

स्थानीय तह निर्वाचन परिणामका बारेमा समीक्षा गर्न केही दिनअघि बसेको पार्टी केन्द्रीय समिति बैठकमा मधेसी मूलका केही नेताले पार्टीलाई मधेसबाट मात्र भोट आएको र पहाडबाट भोट नआएको भन्दै समानुपातिक सूचीमा अटाइएको नामका बारेमा पुनरावलोकन हुनुपर्ने आवाज उठाएका थिए ।  
पार्टीका दोस्रो वरीयताका नेता अशोक राई मधेसबाट प्रत्यक्षतर्फ चुनाव लड्ने तयारी गरेका छन् । राईको गृहजिल्ला खोटाङ भए पनि उनी सुनसरीबाट चुनाव लड्ने तयारी गरेका छन् । फोरमले निर्वाचन आयोगमा पठाएको समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचीमा राईको नाम राखेको छैन । राईकी श्रीमती सुशीला श्रेष्ठको नाम भने समानुपातिक सूचीमा समावेश छ। 

पार्टीका उपाध्यक्षद्वय रकम चेम्जोङ र हेमराज राई पनि प्रत्यक्षमा चुनाव लड्ने तयारी गरेका छन् । चेम्जोङको गृहजिल्ला धनकुटा हो भने राईको गृहजिल्ला भोजपुर । पार्टी महासचिव यादवले भने, ‘तर, उहाँहरू कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने टुंगो अझै लागेको छैन ।’ राजपा नेपालसँगको भागबन्डा मिल्यो भने चेम्जोङ र राई मधेसबाट पनि चुनाव लड्न सक्ने फोरमका अर्का एक नेताले बताए ।  पार्टी उपाध्यक्ष दानबहादुर विश्वकर्माले कैलालीबाट चुनाव लड्ने तयारी गरेका छन् । तर,  उनी लड्ने क्षेत्रका बारेमा अझै टुंगो लागेको छैन । तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र तत्कालीन संघीय समाजवादी पार्टीबीच एकीकरण भएर संघीय समाजवादी फोरम नेपाल गठन भएको हो । पार्टीका अधिकांश जनजाति नेता तत्कालीन संघीय समाजवादी पार्टीबाट आएका हुन् ।  

दुई विकल्पमा छलफल गर्दै कांग्रेस
सिट बाँडफाँटबारे टुंगो लगाउन संघीय फोरम, राजपा नेपाल र कांग्रेसका नेताका बीच शनिबार छलफल हुने भएको छ । शुक्रबार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन वीरगन्ज गएकाले शुक्रबारको बैठक हुन नसकेको फोरमका महासचिव यादवले बताए । 
कांग्रेसले फोरम र राजपासँग मधेसका सबै क्षेत्रमा तालमेल गर्ने कि शीर्ष तहका नेताका क्षेत्रमा मात्र तालमेल गर्ने भन्ने दुईटा विकल्प अघिसारेको छ । 

प्रकाशित: ११ कार्तिक २०७४ ०३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App