भारतलाई दोष दिने भन्दा पनि हामी व्यवस्थित हुन जरुरी छ : दीपकुमार उपाध्याय

शुक्रबार, १० कार्तिक २०७४, १३ : १८ नागरिक

दीपकुमार उपाध्याय नेपाली कांग्रेसका नेता हुन् । पछिल्ला तीन वर्ष उनले भारतका लागि नेपालको राजदूतको भूमिका समेत निर्वाह गरे । पहिलो कार्यकालमा केपी ओली नेतृत्वको सरकारले फिर्ता समेत बोलाइएका उपाध्यायलाई  पुन: पुष्पकमल दाहाल नेतृत्वको सरकारले दोस्रो पटक राजदूतको लागि जिम्मेवारी दिँदै भारत पठायो । राजनीति पछि कुटनीतिक अनुभव बटुलेका ६८ वर्षीय उपाध्यायले राजदूत पदबाट राजीनामा गरेर सक्रिय राजनीतिमा फर्किने संकेत गरे । नेपाल भारत सम्वन्ध र वर्तमान राजनीतिक विषयमा केन्द्रीत रहेर नागरिकन्यूजका लागि श्रीराम पौडेल र प्रशान्त लामिछानेले उनीसँग कुराकानी गरेका थिए । 

भारतको लागि दोस्रो पटक राजदूत बन्नुभयो तर समयावधि नसकिँदै किन फर्कनु भयो ?
यो सबैले ट्रयाक गरेको विषय हो । म जाने बेलामा पनि विशेष कार्यभारको रुपमा नेपाल भारत सम्वन्धलाई राजनीतिक तहबाटै सहज बनाउनु पर्छ भनेरै तत्कालिन प्रधानमन्त्री सुशील कोइराला र तत्कालिन राष्ट्रपति रामबरण यादवको अग्रह र पहलमा गएको हुँ । 

त्यतिबेला पनि मैले भनेको थिए, इथिकल, मोरल भ्यालु (नैतिक मूल्य)भन्ने कुरा नेपालको संविधान पार्टीको विधानमा हुँदैन । त्यो आफैले कामय राख्ने हो । त्यसैले म पार्टीका सबै तहबाट राजीनामा दिएर एउटा स्वतन्त्र नागरिकको हैसियतमा देशको सेवा गर्न गएको थिएँ । उहाँहरूलाई मैले यो सीमित समयको लागि हुने बताएको थिएँ । 

मानिसको जीवन विचित्रको छ । यस बीचमा विभिन्न घटनाहरू भए । फिर्ता आउनु पनि पर्‍यो । जे भयो भयो, कूटनीतिक क्षेत्रको व्यक्ति पनि होइन, एउटा सामाजिक राजनीतिक जीवनको ४ दशक लामो यात्राबाट आफ्नो विवेक पुर्‍याएर काम गर्छु भनेर गरे । जीवन पाठशाला पनि हो ।

फर्केपछि पनि फेरि तपाई जानै पर्छ भन्ने कुरा भयो । तपाईले सुरु गरेका जगहरू अघि बढाउनु पर्छ भनेर प्रचण्ड जी र सभापति शेरबहादुर देउवाजीले आग्रह गर्नु भयो र म दोस्रो पटक पनि जानु पर्‍यो । दुवै पटकमा मेरो आग्रह थियो , यो मेरो भोकेसन (पेशा) होइन । केही समयको लागि त्यहाँ इमानदारी पूर्वक भूमिका निर्वाह गर्छु भन्ने एउटा पाटो रह्यो । 
अर्को जुन माटोबाट म हुर्के बढे्र मेरो परिचय बन्यो त्यो कपिलवस्तु अत्यन्त पवित्र माटो हो । त्यो राष्ट्रको लागि मात्र नभएर अन्तराष्ट्रको लागि पनि पवित्र हो । चारवटा मानसबुद्ध मध्ये तीनवटा मानसबुद्ध जन्मेको हुर्केको पवित्र माटो हो र त्यहाँका जनताको म माथि अतुलनीय गुन छ । सँधैभरी जनताको आग्रह रह्यो की असहज स्थितिमा भारत गएको त बुझियो अब सहज भएपछि पनि तपाई किन त्यहाँ ? हाम्रो बीचमा आउने की नआउने, के तपाईले सुविधाकै जीवन रोजेको हो त ? यी प्रश्न पनि मेरो लागि हृदयस्पर्शी थिए । त्यसपछि मैले नेताहरुलाई म फर्कन्छु भनेर भने । म अलि छिटो समयमै फर्कन पाएको भए दूतावासमा अर्को राजदूत पनि नियुक्त हुन्थ्यो होला, आज आज भोली भोली भन्दा भन्दै प्रबन्धनमा केही कमी भो । कूटनीतिमा फेरी सवै कुरा आजको आजै भन्ने हुँदैन । फर्के पछि पनि अहिलेको परिस्थितिमा तपाई उतै बसेको भए हुन्थ्यो, फेरि तपाईको स्तरको व्यक्ति पाइने हो वा होइन भनेर नेताहरूले भन्नुभयो । अलि पहिल्यै भएको भए त सल्लाह गर्न सक्थ्यौं । एउटा बाटो निस्कन सक्थ्यो । अव त मैले अठोट गरिसकें, जनताबीच पनि अठोट गरें भने पछि मेरै आग्रहमा राजीनामा स्वीकृत भयो । 

राज्यले गरेको भरोसामाथी धोका दिनु भएन र ?

त्यस्तो पटक्कै होइन । हाम्रो परराष्ट्र सेवामा योग्य नेतृत्व र कर्मचारी हुनुहुन्छ । उनीहरूलाई हामीले विश्वास गर्न सक्नुपर्छ । नेपाल र भारतकाबीचमा अहिले सहज र सरल सम्बन्ध भइरहेको छ। 

निर्वाचित सरकारलाई भारतसँगको सम्वन्धमा दिगो शान्ति, राजनीतिक स्थायित्व र हाम्रो मुल एजेण्डा भनेको आर्थिक सम्वृद्धिमा अघि बढ्नको लागि राम्रो वतावरण बनेको छ । मैले परराष्ट्रमन्त्रालयमा नेताहरूलाई भने राजदूत अहिले खाली भएर पनि नेपाल र भारतबीचमा पहिलको जस्तो असहज स्थिति आउँदै आउँदैन । अहिले एउटा विश्वासको वातावरण बनेको छ, पहिलेको जस्तो गलत अर्थ लाग्ने अवस्था आउँदैन । मुख्यगरी जनताले दुःख पाउनु पर्ने स्थिति आउँदैन भनेर भनेको पनि छु । 

अब तपाई सक्रिय राजनीतिमा फर्कदैं हुनुहुन्छ ?
अन्ततः राजनीतिक संक्रमणको दुश्चक्रमा यो देश पर्‍यो । भूस्वर्ग हुँदा हुँदै पनि हामी यस्तै अवस्थामा छौं । संविधान सभाले संविधान बनाइसके पछि खास गरेर हामी शान्तिप्रक्रियाको अन्तिम अन्तिम चरणमा छौं । संविधान कार्यान्वयनको चरणमा छौं । 
म जुन पदमा थिएँ त्यो पदमा रहँदा आफ्नो मनका लागेका कुरा पटक्कै बोल्न मिल्दैनथ्यो । अहिले म उन्मुक्त भएको छु । मेरा आफ्ना कुराहरु, ज्ञानहरु, अनुभवहरु जेजति पनि छन्, तपाईहरुको माध्यमबाट लेखेर बोलेर जनसमक्ष पुर्‍याउन सकिन्छ । झण्डै तीन वर्ष नेपालको मुल राजनीतिक परिवेशबाट बाहिर रहँदा झन् झन् खसेको जस्तो लागि रहेको छ । यो गलत हो । राजनीति भनेको निष्ठामा नै आधारित हुनु पर्छ । यो कुनै व्यापारको विषय होइन, तत्काल लाभ हानी हेरेर गरिनु हुन्न । यस्तो बेलामा हामी बाहिर बसेर भन्दा भित्र बसेर राष्ट्रिय राजनीतिमा, समग्र जिल्लाको राजनीतिमा सकेको भूमिका निर्वाह गर्नु पनि कर्तव्यनै हो जस्तो लागेर म प्रसन्न छु । 

भनेपछि चुनाव लड्न जाँदै हुनुहुन्छ ? 
मेरो राजीनामा स्वीकृत गराउनको लागि पनि विशेष आग्रह गर्नुपर्‍यो । यस पछिको मेरो भूमिका भनेको पार्टीले कुन रुपमा कसरी उपयोग गर्न चाहन्छ त्यो रुपमा मैले योगदान गर्ने हो । चुनावको बारेमा पार्टीले जे निर्णय गर्छ त्यसलाई मैले स्वीकार गर्ने हो । 

तर अहिले दुःख लाग्छ पार्टीले टिकट दिएन भने टिकटकै लागि अर्को पार्टीमा जान्छु, विद्रोही हुन्छु भन्ने स्वरहरू सुनिन्छ । सामाजिक राजनीतिक जीवन भनेको कठिन जीवन हो । तरवारको धारमा हिँड्नु पर्छ । राजनीतिमा दुःख हुन्छ । मैले चुनाव लड्ने नलड्ने विषय आफूमा भन्दा पनि पार्टीका नेताहरूलाई छोडेको छु । यो विषयमा मैले उहाँहरूलाई कुनै पनि भार पार्न चाहन्न । कपिलवस्तु पुग्दा पार्टीका साथीहरूको रुझान देखे । तर पनि यसलाई मैले दावाको रुपमा राखेको छैन।

नेपालको राजनीति दिल्लीबाट अझ स्पष्ट देखिन्छ भन्छन् नि ?
सामाजिक राजनीतिक क्षेत्रका प्रतिष्ठीत मानिसहरूको सँगको भेटघाट यहाँ भन्दा दिल्लीमा सजिलो हुन्छ । यहाँ खोजेर संयोगले भेट हुने हो त्यहाँ आफ्ना विभिन्न काममा आउने जाने, उपचार, निजी काम हरेक दृष्टीकोणले त्यहाँ भेटघाट बढी हुन्छ। 

अर्को नेपाल र भारतको सवभन्दा ठूलो सम्बन्ध भनेको भूगोलको छ । हाम्रो खुला सीमाना कहिलेदेखि हो, त्यो थाहा छैन । उत्तरतर्फ त्यस्तो सहज छैन । संस्कृति, सभ्यता, धर्म, कर्म, नाता हरेक किसिमको सम्बन्धले गर्दा त्यो सहज छ। नेपालका दैनिक गतिविधि अपडेट हुन सहज छ।

तपाईलाई कुटनीतिक ओहोदामा बसेर राजनीति गरेको आरोपमा फिर्ता पनि बोलायो सरकारले ?
लान्छनाको कुनै तुक छैन । मैले त्यतिबेला विनयपूर्वक भनेको थिए यति त्यो प्रमाणित हुन्छ भने नेपालको राजनीतिबाट सन्यास लिन्छु । त्यो कुरा पछि आफैँ सेलायो । त्यतापट्टी नजाउँ । 

नेपालका सबै राजनीतिक नेताहरूसँग राम्रो सम्बन्ध हुने व्यक्तिमा म पनि एउटा हुँ । केपी ओली त मेरो व्यक्तिगत अभिन्न मित्र नै हुनुहुन्थ्यो । पद भनेको संयोग हो । संधैभरी हामी पदमा हुन्नौ । त्यो घटनाले मैले ठूलो मिडिया माइलेज पाएँ। त्यसपछि उहाँलाई धन्यवाद दिए । उहाँ हास्नु भयो । हो र ! दुःख छैन भन्नुभयो । म त अध्यात्मिक रुपमा पनि हेर्छु । भगवानले जे गर्छन् राम्रै गर्छन् भनिन्छ नि । हाम्रो फ्रन्टलाइन न्युजमा कमै कभरेज हुन्छ । म फिर्ता आएको, फेरि गएको र अहिले आएको समाचार भारतीय मिडियामा अपेक्षाभन्दा धेरै आएको छ । त्यो त एउटा घटना थियो सकियो । 
हिनताबाेध र लघुताभास हामीले छोड्नै पर्छ । संविधान सभाले संविधान बनाएको संविधान कार्यान्वयनमा विभिन्न किसिमका बाधा अड्चनहरू थिए । फेरि क्रमशः समयका घटनाक्रमले गर्दा अड्चन हटेर सबै पार्टीहरूले निर्वाचनमा पनि भाग लिइनै सके । प्रदेश र केन्द्रको चुनाव पनि हुँदैछ । यो भन्दा ठूलो खुशीको कुरा के हुन सक्छ ? हामीले हाम्रो समस्याको समाधान आफैँ गर्न सक्छौ भन्ने उच्च मनोबलका साथ अगाडि जानुको विकल्प छैन।

यो बीचमा भारतले नेपालको संविधानलाई स्वीकार गर्न आलटाल गरेकै हो ? तपाईलाई के लाग्छ ?
नेपालका दलहरूले पनि त्यहाँ एउटा पोजिसन लिएर बसे त्यसमा टेकेर उसले रिर्जभेसन राख्यो । त्यो भारतले मात्र होइन  अन्य मित्र राष्ट्रले पनि रिर्जभेसन राखे । एउटा देशलाई मात्र किन इङगित गरौं र ? सबैलाई मिलाएर अघि बढ्न सबैले भन्छन् । भारतको पनि निश्चित भनाइ यो हो भन्ने छैन र होइन पनि । हाम्रो मुलुकमा हाम्रा समस्याको समाधान हामीले नै खोज्ने हो ।  

बीचबीचमा प्रेसकिप्सन, क्याप्सुल त आएकै हो नि ?
हामीले नेगेटिभ एङगलबाट त धेरै हेर्‍यौं । पोजेटिभ एङगलबाट हेर्दा नेपालको मन्त्रिपरिषदले गरेको निर्णयलाई भारतले गरेको हस्तक्षेप भनेर भन्ने हो भने त केही भन्नु छैन । संसदले गरेको निर्णय वा संसदको रोष्टममा उभिएर नेताहरूले गर्नु भएको कमिटमेन्टलाई भारतले नै बोल्न लगायो कसरी भन्ने ? हामीले गरेको कमिटमेन्ट, हामीले गरेका कुरा बिर्सेर अर्को तिर आरोप लगाउँछौं । त्यो न्यायोचित र सान्दर्भिक हुँदैन भनेर मैले धेरै पटक भनेको छु । 

हामीले हाम्रो व्यवस्थापन आफैँ गर्नुपर्छ । राष्ट्रको परराष्ट्रनीतिको बारेमा सुरक्षा नीतिको बारेमा हामी व्यवस्थित हुन जरुरी छ । आफू व्यवस्थित नहुने अनि अन्यत्रै आरोप लगाएर हिँड्न मिल्दैन । सरकारमा हुँदा एउटा व्यक्ति र बाहीरिएपछि अर्को देखिनु भएन ।

भारतलाई दोष दिनु अगाडि नेपालमै व्यवस्थापन गर्नु पर्‍यो ?
एकदम । एक त जिम्मेवार हुनु पर्‍यो । व्यवस्थापन गर्नु पर्‍यो । त्यस्तै त्यस्तै कारणले नाकावन्दी सम्म पुगेर नेपाली जनताले दुःख पाउनु पर्‍यो । राजनीतिमा कहिलेकाँही तलमाथि हुन्छ । तर जनताले दुःख पाउनु भएन । 
जस्तो संसदमा पास हुँदैन भन्ने थाहा हुँदा हुँदै पनि संविधान संशोधन प्रस्ताव संसदमा गयो । संशोधनको विषय प्रक्रियामा गएपछि एउटा पक्ष सन्तुष्ट भयो । नेपालमा जति पनि निर्वाचनमा भाग नलिइ बसेका दलहरुले त्यो पछि भाग लिए ।  
शक्ति राष्ट्रका आफ्ना चाहना होलान् । हामी किन त्यता पट्टी जान्छौ । हामीले हरेक कुरामा शंका नगरौं । हामीले नेपाली समाज हाम्रो संविधान प्रति विश्वास राखौं त्यसमा जिम्मेवार बनौं । ब्लेम गेम (आरोप)मा लाग्यौं भने कहीँ पनि पुगिदैंन । 

अहिले नेपाल भारत सम्बन्ध कस्तो चरणमा छ ?
सम्बन्ध एकै दिन बन्ने पनि होइन एकै दिन बिग्रने पनि होइन । नेपालमा बारम्बार उच्च तहका भ्रमण भएका छन् । परराष्ट्रका साथीहरूले थाहा पाए सम्मका राम्रा कुराहरु त्यहाँ राख्ने गरेका हुन्छन् । त्यसमा पनि ब्लेम आइहाल्छ फेरि । 

भारतीय प्रधानमन्त्री मोदी जी नेपाल भ्रमणमा आउने कुरा थियो । त्यसको तयारीमा तपार्इ लाग्नुभएको थियो ?
अरुण तेस्रो परियोजना रेडि टु गो प्रोजेक्ट छ । त्यो प्रोजेक्ट इलेक्ट्रोनिक प्रविधिबाट उद्घाटन गरे पनि भने मोदी जी यहाँ आएर संयुक्तरुपमा गरे पनि भयो । यसमा मोदी जी को पनि नेपाल जाने उद्घाटन गर्ने भन्ने इच्छा थियो । पारस्परिक सल्लाहमा कुनै पनि अवस्थामा भिजिट हुन सक्ने सम्भावना छ । चुनावसम्मको लागि त यो कुरा टर्‍यो। 

यी चुनाव पछि नेपाल नौलो अभ्यासमा जाँदै छ । तपाई कस्तो सिनारियो देख्दै हुनुहुन्छ ?
म त एकदम आशावादी छु । स्थानीय तहको निर्वाचन पछि विकास निर्माणका गतिविधिहरूले तिब्रता लिंदैछन्, लिन्छन् । प्रशासनयन्त्रलाई मात्र दोष लगाएर काम हुँदैन । प्रादेशीक संरचना बनेपछि विकास निर्माणमा त्यसले नेतृत्व ग्रहण गर्छ । यो नेपालमा नयाँ अभ्यास हो । यसमा हामी अत्यन्त जिम्मेवारीका साथ खरो उत्रनु पर्छ । 

चुनावी गठवन्धनबारे के भन्नुहुन्छ ?
यो वामपन्थी चिन्तन हो । उहाँहरूले सकेदेखि पार्टीको सर्वोच्चता प्रयोग गर्ने हो । हामी त्यसको विरोधी हौं । हामी नागरिकको सार्वोच्चता चाहन्छौं । हामी जनतालाई जनार्दन भन्छौं । आवधिक निर्वाचनको माध्यमबाट आफ्नो अधिकार प्रयोगको कुरा गर्छौ । उहाँहरू हामीले निर्णय गरेपछि हस्ताक्षर गरेपछि जनताको मत घोप्टीन पर्छ भन्नुहुन्छ । यहाँ नेर विचारको लडाई हुन्छ । जनताले रोज्ने त्यहाँनेर हो । पार्टीको सर्वोच्चतामा बाख्रा खेदेजस्तो स्यू गरेपछि जानै पर्ने हो की ! नागरिकको त स्वतन्त्र अस्तीत्व, अधिकार सुरक्षाको चासो छ । हामीले नागरिकलाई कति चेतना दिन सक्छौ त्यसमा भर पर्छ । कोही मान्छे जन्मदा कुनै विचार लिएर आउँदैन । एउटा परिवेशमा विचार बन्दै जाने हो । नागरिक सर्वोच्चता ठूलो कुरा हो भन्ने मानिसले बुझ्दै गएपछि विश्वमा कम्युनिजम कमजोर बन्दै गयो । नेपालमा त्यो हामीले बुझाउन सकेनौं । त्यसैले यहाँ कम्युनिष्ट बढ्दैछन्।  

अबको समय हाम्रो लागि अवसर हो । यसबारे जनतालाई बुझाउन पाउने अवसर प्राप्त भएको छ । अब गठवन्धन कति दरिलो हुन्छ भन्ने कुरा निर्वाचनको परिणामले नै देखाउला । यसलाई सहजरुपमा नै लिनु पर्छ।  

तस्बिर भिडियो: प्रबिन कोइराला

 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad