५ वैशाख २०८१ बुधबार
विचार

यसरी बन्छ काठमाडौँ

काठमाडौँको मुद्दा भनेको काठमाडौँ, काठमाडौँ जस्तो भएन भन्ने हो  । काठमाडौँ सिंगापुर, सिड्नी, स्विजरल्यान्ड बन्नुपर्छ भन्ने होइन । काठमाडौँवासीहरू साधारण कुरा चाहन्छन् अनि त्यही साधारण कुरालाई उनीहरूसम्म पु¥याउने नेतृत्वका लागि भौतारिइरहेका छन् । नागरिकको अपेक्षा, प्रशासनको कार्यसम्पादन अनि नेतृत्वको भाषणबीच जबसम्म सन्तुलन आउन सक्दैन, तबसम्म हामी विकासपथमा लम्कन सक्दैनौँ । अब त्यो एकरूपताको नेतृत्व काठमाडौँले गरेर देशभरि नै ऊर्जाको सञ्चार गर्न जरुरी छ।

काठमाडौँलाई ‘स्मार्ट सिटी’ होइन, हाम्रै सभ्यता अनि मौलिकताले भरिएको ‘हेरिटेज सिटी’ बनाउन जरुरी छ । कुनै बेला काठमाडौँ संस्कृति अनि सम्पदाले भरिएको जीवन्त सहर थियो । अहिले हामी बाटो बिराउँदैछौँ । अब ‘ग्रेटर काठमाडौँ, बेटर काठमाडौँ’को अवधारणाअनुरूप हामीले उपत्यकाका सम्पूर्ण स्थानीय तहलाई एक ठाउँमा ल्याई मौलिक सांस्कृतिक सहरका रूपमा स्थापित नगरी हुँदै हुँदैन । यसो गर्दा मात्र काठमाडौँका अधिकतम स्रोत सदुपयोग हुने र काठमाडौँको बृहत्तर विकास सम्भव हुनेछ। 

नेपालको राजनीतिमा भोट दिने पछुताउने अनि फेरि त्यसैलाई भोट दिने चक्र दोहोरिइरहेको छ । यदि यही चक्र दोहोरिइरहने हो भने फरक नतिजा आउन सक्दैन । 

काठमाडौँ, भक्तपुर, पाटन, कीर्तिपुर, साँखुजस्ता ऐतिहासिक स्थलहरूको संरक्षण, संवर्धन र आर्थिक–सामाजिक पूर्वाधारको विकास गर्न यी सबै क्षेत्रबीच सहकार्य गरिन जरुरी । अब नीति, नियत र नेतृत्व नै जनतामुखी हुन जरुरी छ । अब हामीलाई काठमाडौँलाई ‘फ्रेन्ड्ली सिटी’ बनाउन विकास बुझेको नेतृत्व चाहिएको छ । हालको काठमाडौँमा ज्यान फुक्न हामीले मुख्यतया यी पाँच कोणबाट सोच्न जरुरी छ :

क) सेवक सहर

काठमाडौँको प्रशासन आम नागरिकको सेवामा तल्लीन हुन जरुरी छ । तसर्थ, समृद्ध काठमाडौँको पहिलो सर्त नै प्रशासनमा व्यापक पुनर्संरचना हो । हालको कर्मचारीतन्त्रबाट आम नागरिकले चाहेको सेवा, चुस्तता पाउन सक्दैनन् । महानगरपालिकालाई ‘सहज, सुलभ, सधैँ’ बनाउन यहाँको कर्मचारीतन्त्रमा व्यापक सुधार ल्याउनु जरुरी छ । त्यसैले अब ‘गोल्डेन ह्यान्डसेक’को स्वेच्छिक अवकास व्यवस्था गरिनुपर्छ । २० वर्ष काम गरिसकेका कर्मचारीलाई सम्मानजनक क्षतिपूर्ति दिई अवकास दिँदै काठमाडौँको व्यवस्थापनमा नवपुस्ताका अब्बल कर्मचारी तथा विज्ञहरूलाई ल्याएर यो सहरलाई फेरि ऊर्जा दिन जरुरी छ । आम काठमाडौँवासीहरूले जुन सामान्य बिल तिर्नदेखि वडा अनि नगरमा जुन झन्झट व्यहोर्दै आएका छन् त्यसलाई समाधान नगरी अब परिवर्तन आम मानिसमा महसुस गराउन सकिँदैन। 

‘सेवक सरकार’ फ्रि मोबाइल एप (हटलाइन) प्रयोग गरी मोबाइलबाटै सरकारी काम गर्न सकिने र अत्यावश्यक बेला मात्र सरकारी कार्यालयमा पुग्नुपर्ने व्यवस्था गर्न सके बिल तिर्न, सानो स्वीकृति लिन वा नवीकरण गर्न भनेर दिन वा हप्ता दिनसम्म कार्यालय धाउने झन्झटको अन्त्य गर्न सकिन्थ्यो । यसै एपबाट प्रहरी, दमकल, एम्बुलेन्स एकै क्लिकको भरमा घर आइपुग्ने व्यवस्थासमेत गर्न सकिन्छ । अनि मात्र काठमाडौँलाई व्यावहारिक रूपमै ‘झन्झटमुक्त सहर’ घोषणा गर्न सकिनेछ । जसले गर्दा आमनागरिकको आफ्नो नेतृत्वप्रति विश्वास बढ्न सकोस् ।

ख) सांस्कृतिक सहर

काठमाडौँ नेवार समुदायको धरोहर, विविधताले भरिपूर्ण अनि देशकै सांस्कृतिक केन्द्र हो । तसर्थ, काठमाडौँमा अहिले भएका सम्पदाहरूलाई संरक्षण गरिन जरुरी छ । भूकम्पबाट जीर्ण भएका सम्पदाहरूलाई रेट्रो–फिटिङ गर्दै वा पुनःनिर्माण गर्दै गर्दा हाम्रो मौलिकतालाई जोगाउन जरुरी छ । हाम्रा ढुंगेधारा, देवल, वहालको संरक्षण अनि पुनर्निर्माण हुन जरुरी छ । साथै नवपुस्तालाई हाम्रो संस्कृति अनि सम्पदाबारे पर्याप्त ज्ञान दिन जरुरी छ । जब नयाँ पुस्ताले हाम्रो इतिहास अनि सम्पदाबारे बुझ्छ तब मात्रै उसले संरक्षण गर्न सक्छ । जसका लागि हाम्रो टोलको, सम्पदाको इतिहास र महत्व बुझाउनका लागि ‘हरेक टोलको ‘विकी’का साथै, मोबाइल एप किन नबनाउने ? अबको पुस्तालाई जसरी बुझाउन सकिन्छ त्यसरी नै हामीले सूचना सञ्चार गर्न सक्नुपर्छ । काठमाडौँलाई सम्पदा सहरका रूपमा विकसित गर्न महानगरले आफ्नो परिवारका सदस्यको सम्झनामा मन्दिर वा सुन्दर स्मारक वा कुनै कृति बनाउनका लागि काठमाडौँवासी प्रोत्साहित गर्नसके काठमाडौँले आफ्नो मौलिकतालाई परिचय नै बनाउन सक्थ्यो । तसर्थ ‘एक जीवन, एक स्मारक’ जस्ता अभियान सहरका गुठी र टोलसुधार समितिसँग मिलेर सञ्चालन गर्न जरुरी छ । जसले आम नागरिकको भावना अनि यो सहरको सम्पदालाई जोड्न सकोस् । अब काठमाडौँलाई ‘खुला म्युजियम’ बनाउँदै सांस्कृतिक रूपमा विकसित गर्न आवश्यक छ।

 ग)  हरियो सफा सहर

अहिले काठमाडौँको प्रमुख समस्या भनेकै धुवाँधुलो र फोहोर हो । स्वस्थ खाना नपाएका, अनि सफा पानी पिउन नपाएका आम नागरिकले श्वास फेर्नसमेत पाइरहेका छैनन् । अब काठमाडौँवासीले सफा हावा पाउनुपर्छ जसका लागि खनिएका सडक द्रुत गतिमा पिच हुन जरुरी छ । महानगरले आफूखुसी बाटो खन्ने कार्यलाई निरुत्साहित गर्नुपर्छ । साथै, काठमाडौँका नदीहरूलाई पनि मुख्य एजेन्डामा पारेर, नदी सफाइ गर्न जरुरी छ । घर–व्यवसायबाट निस्कने फोहोरको वर्गीकरण अनिवार्य भइसकेको छ । घर–घरमा फोहोर व्यवस्थापनका साथै बढी भएको जैविक फोहोरबाट निजी क्षेत्रसँगको सहकार्यमा ग्यास–बिजुली उत्पादन गर्न सकिन्छ । प्लास्टिकबाट हुने प्रदूषण नियन्त्रण गर्न पुनःप्रयोगीय प्रविधि ल्याई कार्यान्वयन गर्न आवश्यक छ । साथै, काठमाडौँमा गुड्ने गाडीहरूले फाल्ने धुवाँ हेरेर गाडीलाई गुड्न दिने वा नदिने नीति बनाउन जरुरी छ। 

अब हामीले काठमाडौँमा फेरि हरियाली फर्काउन जरुरी छ । हरेक विद्यार्थीले आफ्नो जन्मदिनमा एउटा रुख रोप्ने र हुर्काउने संस्कारलाई संस्थागत गर्दै महानगरपालिका अनि अन्य स्थानीय तहको सहकार्यमा ‘हरियो सुन्दरमाडौँ’ अभियान सञ्चालन गर्नुपर्छ जसले गर्दा सन् २०२५ सम्ममा काठमाडौँलाई रंगीबिरंगी फूलबारीको सहर बनाउन सकियोस् । नारायणहिटी दरबारको जग्गामा भव्य पार्कमा विकास गर्न केन्द्रीय र प्रदेशको सरकारसँग सहकार्य हुन जरुरी छ । काठमाडौँमा बालबालिका, परिवार, फरक क्षमता भएका तथा जेष्ठ नागरिकहरूको आवश्यकताको सम्बोधन गर्न यो पार्क पहिलो खुड्किलो बन्न सक्छ ।

घ) अवसरको सहर

अहिलेको अवस्थामा काम गर्ने वातावरण नै जटिल  छ । यहाँ एउटा कम्पनी दर्ता गर्नेदेखि, आफूले आर्जन गरेको आयको कर तिर्नसमेत निकै गाह्रो छ । व्यवसाय बिमाको झन्झटिलो प्रक्रियाले लगानी गर्ने वातावरण बन्न सकेको छैन । बन्द, हड्ताल, राजनैतिक हस्तक्षेपले उद्यमीहरू आजित छन् । काठमाडौँमा अवसर छ तर वातावरण नै छैन त्यसैले अब काठमाडौँलाई अवसरको सहर बनाउन सक्नुपर्छ । अब यहाँ काम गर्ने माहोल बनाउन जरुरी छ । उद्यमीहरूलाई प्रोत्साहन गरिन जरुरी छ । त्यसैले काठमाडौँमा व्यवसाय गर्न एकघन्टामै व्यवसाय दर्ता गर्न सकिने तथा नचलेका व्यवसायलाई पनि सजिलै बन्द गर्न मिल्ने व्यवस्था आवश्यक छ । काठमाडौँमा मध्यरातसम्म व्यवसाय सञ्चालन गर्न सुरक्षित वातावरण निर्माण गर्ने र त्यसका लागि सहज–सुलभ–समयमै चल्ने सार्वजनिक यातायात व्यवस्थाको सुनिश्चितता आवश्यक छ । नगर प्रहरीले हरेक बाटामा रहेका सिसिटिभीमार्फत निगरानी गर्दै शान्ति सुरक्षामा खलल पु¥याउनेमाथि कडा कारबाही आवश्यक छ । साथै, सार्वजनिक बस बिसौनी, यातायात, प्रमुख बाटा र पार्कमा निःशुल्क वाईफाई उपलब्ध गराइनुपर्छ । यदि निजी क्षेत्रसँग सहकार्य गर्ने हो भने सरकारलाई कुनै आर्थिक भारबिना नै काठमाडौँ फ्री वाईफाई क्षेत्र बन्न सक्छ । साथै, ऊर्जावान् र रचनात्मक उद्यमीलाई विशेष कर छुटको व्यवस्था हुनु जरुरी छ । जसले गर्दा काठमाडौँमा काम गर्न आफ्नो पसिना खन्याउन प्रेरित गर्ने सहर बन्न सकोस् । अब राजनैतिक माहोल बनाउन काठमाडौँ बन्दमुक्त सहर घोषणा गर्नु जरुरी छ । बन्दकर्ता र चन्दा आतंक मच्चाउनेलाई कानुनी प्रक्रियाद्वारा सक्दो कडा कारबाही गरिनुपर्छ । अनि मात्र, डिभी भर्ने अनि भराउने व्यवसाय घट्नेछ अनि नेपालीहरू आफ्नै सहरमा उद्यमी बन्नेछन् ।

ङ) यात्रुमैत्री सहर

कामपाको जनघनत्व अन्दाजी २० हजार व्यक्ति प्रतिवर्ग किलोमिटर भएकाले यस सहरलाई पैदल यात्रुमैत्री बनाउन आवश्यक छ । अन्दाजी ८ किमि व्यासमा फैलिएको हुनाले हरेक ठाउँ साइकल यात्रा गरेर पुग्न सकिन्छ । नागार्जुन, चन्द्रागिरीलगायतका नगरहरूको बाटो पिच गरिन जरुरी छ । काठमाडौँमा धेरै व्यक्ति रहेको हुनाले पर्याप्त मात्रामा खुला स्थानको विकास गर्न आवश्यक छ ताकि सो खुला क्षेत्रले सामाजिक सम्बन्ध मजबुत पार्न सकियोस्, नागरिक स्वस्थ रहन सकून् । साथै उक्त स्थानहरूले विपद्को बेला आश्रयस्थलका रूपमा समेत काम गर्नेछन् । काठमाडौँलाई हिँड्न मिल्ने तथा फरक क्षमता भएकाले पनि प्रयोग गर्न मिल्ने सहरका रूपमा विकास गरिनुपर्छ । सडकको हकमा सडक पेटीको व्यवस्थापन र स्थानीय पार्कको मर्मत गर्न ढिलो भसकेको छ । धुवाँधुलो प्रदूषणको रोकथामका लागि प्रदूषक कर नीति बनाएर कार्यान्वयन गर्न जरुरी छ । महानगरपालिकाका मातहतमा नभएका सडकहरूलाई सम्बन्धित प्रदेश वा केन्द्रीय निकायसँग समन्वय गर्दै काठमाडौँलाई चराचुरुंगी र घरपालुवा जनावरमैत्री सहरका रूपमा विकास गर्नुपर्छ । छाडा गाईबस्तु तथा अन्य जनावरहरूलाई मानवीय तरिकाले व्यवस्थापन गर्न जरुरी छ । सडक खन्दा वा ठूला निर्माण कार्य गर्दा धुलो नियन्त्रण गर्ने विषयमा ठोस योजना पेस गरेपछि मात्रै अनुमति प्रदान गर्न जरुरी छ । एक वर्षमा ३ पटकसम्म गम्भीर ट्राफिक नियम उल्लंघन गर्नेको १ वर्षका लागि लाइसेन्स रद्द गर्ने र पुलिस निगरानीमा एक सय घन्टा सामुदायिक सेवा अनिवार्य गर्न सके हाम्रो सहर झन् व्यवस्थित हुनेछ ।

अन्त्यमा,
समस्या धेरै देखिएका छन् । समाधानको सुरुवात हुनै सकेको छैन । अब समाधानको सुरुवात गर्न सक्षम नेतृत्व अघि आउन जरुरी छ । जिम्मेवार नागरिक र जवाफदेही नेतृत्व भए यो काम असम्भव छैन । अब यस्तो नेतृत्वको आवश्यकता छ जुन सरकारभन्दा पनि परिवारसरह भूमिका निर्वाह गर्न तत्पर रहोस् । नेतृत्वको काम भनेको समाधानको प्रतिनिधित्व गर्नु हो । अब काठमाडौँको नेतृत्वले पूरै काठमाडौँलाई ऊर्जा प्रदान गर्न नेतृत्व गर्नुपर्छ । काठमाडौँको ऊर्जाले नै देशलाई तरंगित गरेर प्रगतिको बाटोमा लानु छ । त्यसैले अबको नयाँ यात्रा काठमाडौँबाट सुरु गर्नुको विकल्प छैन । नेपालको राजनीतिमा भोट दिने पछुताउने अनि फेरि त्यसैलाई भोट दिने चक्र दोहोरिइरहेको छ । यदि यही चक्र दोहोरिइरहने हो भने फरक नतिजा आउन सक्दैन । फरक नतिजाका लागि अब यो चक्र तोडिन जरुरी छ । अब नयाँ सक्षम पुस्ताले नेतृत्व गर्न जरुरी छ ।

 

(लेखकद्वय विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य हुन्)

प्रकाशित: १० कार्तिक २०७४ ०३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App