coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

शीर्ष नेताबीच रस्साकस्सी

गोरखा – गोरखामा प्रतिनिधिसभा दुई शीर्ष नेता माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच प्रतिस्पर्धा हुँदैछ। 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठ वाम गठबन्धनबाट उम्मेदवार बनेका छन् भने सोही क्षेत्रमा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराई लोकतान्त्रिक गठबन्धनबाट मैदानमा उत्रिएका छन् । कुनै समय एउटै पार्टी माओवादीको शीर्ष नेतृत्वमा रहेका यी दुवै नेतामध्ये आसन्न चुनावमा कसले बाजी मार्लान् सबैको चासोको विषय बनेको छ । डा. भट्टराई संविधानसभा निर्वाचन २०६४ र दोस्रो संविधानसभा निर्वाचन २०७० मा माओवादीबाट विजयी भएका थिए भने श्रेष्ठ पहिलोपटक गोरखाबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।

गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका मुख्य सचेतकसमेत रहेका चीनकाजी श्रेष्ठ र वाम गठबन्धनबाट माओवादीका प्रदेश नम्बर ४ का इन्चार्ज हरि अधिकारीले प्रतिस्पर्धा गर्दैछन्। नयाँ शक्ति र कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेका श्रेष्ठ र एमाले माओवादीबाट उम्मेदवार बनेका अधिकारीबीच रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ। 

गोरखा २ मा लोकतान्त्रिक गठबन्धनबाट नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठ भिड्दैछन् । यी दुई शीर्ष नेताबीचको प्रतिस्पर्धालाई चाखपूर्ण रूपमा हेरिएको छ । प्रतिनिधिसभाको दुवै क्षेत्रको निर्वाचनलाई रस्साकस्सी हुने अनुमान मतदाताको छ। 

प्रदेशमा युवा नेता भिड्दै 
गोरखाका चारवटै प्रदेशमा पनि रोचक प्रतिस्पर्धा हुने भएको छ । कांग्रेस र नयाँ शक्तिको लोकतान्त्रिक गठबन्धन, एमाले र माओवादीको वाम गठबन्धनका कारण गोरखाको चुनावी प्रतिस्पर्धा कडा हुने देखिएको छ।

प्रदेश नम्बर १ को (क) मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका क्षेत्रीय सभापति धीरन थापा र वाम गठबन्धनका माओवादी केन्द्रका जिल्ला अध्यक्ष लेखबहादुर थापा मगरबीच प्रतिस्पर्धा हुँदैछ । गोरखा नगरपालिकाको एक देखि सात, सहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिका पर्छन् । नगरपालिका र गण्डकी गाउँपालिका स्थानीय तहमा कांग्रेसले जितेको छ भने सहिद लखन माओवादीका उम्मेदवार विजयी भएको ठाउँ हो। 

नगरपालिकामा कांग्रेस नयाँ शक्ति गठबन्धन बलियो देखिए पनि सहिद लखनमा वाम गठबन्धन बलियो देखिन्छ । गण्डकी गाउँपालिकामा मतान्तर थोरै हुने देखिन्छ । यी दुई नेताबीच कडा प्रतिस्पर्धा हुने आकलन सर्वसाधारणले गरेका छन्।

गोरखा १ को (ख) मा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका महासमिति सदस्यसमेत रहेका युवा नेता राजेन्द्र बजगाई र वाम गठबन्धनबाट एमालेका केन्द्रीय सदस्य रामशरण बस्नेतबीच प्रतिस्पर्धा हुँदैछ । धार्चे, चुमनुब्री, आरुघाट र भीमसेन गाउँपालिका उक्त प्रदेशभित्र पर्छ । यी सबै गाउँपालिकामा प्रमुख नेपाली कांग्रेसले जितेको छ । वाम र लोकतान्त्रिक गठबन्धनबीच स्थानीय चुनावको मतान्तर झन्डै एक हजारभन्दा बढी छ । आरुघाट, काशिगाउँ, केरौंजा क्षेत्रमा एमालेको पनि मत राम्रो देखिन्छ । केही वडामा विजयीसमेत भएको र थोरै कसरत गरेमा जित्ने दाबी एमालेको छ। 

युवा नेता बजगार्इंले भने आफ्नो गृह क्षेत्र भएको, संगठन बलियो रहेको, त्यहाँको भूगोल, जनताको आवश्यकता र मन बुझेकाले सजिलै जित्ने दाबी गर्छन् । बस्नेत प्रदेश (क) का हुन् । यी दुई नेताबीचको चुनावी भिडन्तलाई चाखपूर्ण रूपमा लिइएको छ। 

गोरखा २ को (क) मा लोकतान्त्रिक गठबन्धनबाट नयाँ शक्तिका हरिशरण आचार्य र वाम गठबन्धबाट माओवादी नेत्री कमला नहर्कीले प्रतिस्पर्धा गर्दैछन् । हरिशरण र नहर्की माओवादी युद्धकालमा दुवै भूमिगत भएका थिए । आचार्य तीनपटकसम्म जेल परेका थिए भने नहर्की गोरखाबाटै जेल तोडेर भागेकी थिइन् । यी दुई अहिले फरकफरक पार्टीबाट चुनावी मैदानमा उत्रिएका छन् । पालुङटार नगरपालिका र गोरखा नगरपालिकाको ८ देखि १४ वडासम्म यो प्रदेश क्षेत्रमा पर्छ । पालुङटार नगरपालिकामा प्रमुख कांग्रेसले जितेको हो भने उपप्रमुख माओवादीका उम्मेदवारले जितेका हुन् । बाबुराम भट्टराई र स्वयं आचार्यको आधारइलाका पालुङटार भएकाले सहजै जित्ने दाबी नयाँ शक्तिको छ । यहाँ पनि मतान्तर खासै नभएकाले माओवादी केन्द्रका उम्मेदवार नहर्की आफूले जित्ने दाबी गर्छिन्। 

गोरखा २ को (ख) प्रदेशमा लोकतान्त्रिक गठबन्धनबाट महासमिति सदस्य प्रकाश दुवाडीले प्रतिस्पर्धा गर्दैछन् । उनीसँग वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य अमर तमु भिड्नेछन् । प्रदेश २ मा पर्ने अजिरकोट र सिरानचोकमा स्थानीय तह कांग्रेसले जितेको हो भने सुलिकोट माओवादी केन्द्रले जितेको ठाउँ हो । त्यसैले अन्य प्रदेशभन्दा यहाँ लोकतान्त्रिक गठबन्धनलाई चुनौती भएको विश्लेषण गरिन्छ । तर वाम गठबन्धनका तमुको गृहइलाका नभएकाले सहजै जित्ने दाबी लोकतान्त्रिक गठबन्धनका दुवाडी गर्छन् । वाम गठबन्धनका उम्मेदवार तमुको पनि संगठन बलियो भएकाले जित्ने दाबी छ। 

दुईजनाले उम्मेदवारी फिर्ता लिए 
गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष सुकदेव तामाङले बाबुराम भट्टराईलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । उनले क्षेत्र नम्बर २ मा दर्ता गरेको उम्मेदवारी बुधबार निर्वाचन अधिकृतको कार्यालय पुगेर फिर्ता लिएका हुन् । यस्तै २ को प्रदेश (क) मा उम्मेदवारी दर्ता गराएका राप्रपा प्रजातान्त्रिकका रुद्रराज पाण्डेले पनि नयाँ शक्तिका हरिशरण आचार्यलाई समर्थन गर्ने बताउँदै उम्मेदवारी फिर्ता लिएका छन्। 

प्रकाशित: १० कार्तिक २०७४ ०२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App