७ वैशाख २०८१ शुक्रबार
राजनीति

बहुमतीय आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्न आह्वान गरेकि छन् ।

सहमतिका लागि तोकिएको समयसीमामा कुनै सहमति हुन नसकेपछि राष्ट्रपति भण्डारीले आज व्यवस्थापिका–संसद् सचिवालयलाई पत्र पठाएर बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्न आग्रह गरेकी हुन् ।

नेपालको संविधानको धारा ३०५ को बाधा अड्काउ फुकाउ आदेश तथा संविधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपति भण्डारीले पत्र पठाएको सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले राससलाई जानकारी दिए ।

राष्ट्रपति भण्डारीले यही साउन १० गते प्रमुख दललाई सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न आग्रह गरेकी थिइन् । उक्त समयसीमा आइतबार सकिएपछि पुनः बहुमतका आधारमा प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको हो ।

राष्ट्रपतिको पत्र प्राप्त भएपछि संसद् सचिवालयले प्रधानमन्त्री चयनको कार्यतालिका तयार गर्नेछ । सचिवालयले यही बुधबार नयाँ प्रधानमन्त्री चयन हुने गरी प्रक्रिया सुरु गर्न लागेको जनाएको छ । व्यवस्थापिका–संसद्को बैठक आज अपराह्न १५ः०० बजे बोलाइएको छ ।

आजको बैठकमा पूर्व सांसद हरिराज खेवाको शोक प्रस्ताव पारित गरिने र त्यसपछि राष्ट्रपति कार्यालयबाट प्राप्त भएको पत्र वाचन गर्ने कार्यसूची रहेको छ । रासस

प्रकाशित: १७ श्रावण २०७३ ०७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App