मोहन वैद्य भन्छन्ः नेपालमा कम्युनिष्ट को छ?

बिहिबार, ०९ कार्तिक २०७४, १६ : ३४ नागरिक

नेपालका धेरै कम्युनिष्ट नेताका गुरु मोहन वैद्य ‘किरण’ले आफ्नै चेलाहरु अब कम्युनिष्ट नरहेको बताएका छन् । एउटा सानो धारको कम्युनिष्ट पार्टीको महासचिव रहेर संघर्षलाइ अघि बढाउने सपना बोकेका वैद्य प्रश्न गर्छन्ः पुरानो राज्यसत्ता र व्यवस्थालाइ स्वीकारेर गइसकेपछि त्यसलाइ कसरी वाम भन्ने ?

एमाले र माओवादीबीच बनेको गठबन्धनलाइ नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव वैद्यले दक्षिणपन्थी गठबन्धनको संज्ञा दिएका छन्। नाम वाम भएपनि दक्षिणपन्थी अवसरवाद हावी भएको र पश्चगमनतिर बढेको वैद्यको ठहर छ।

दशवर्षे जनयुद्ध प्रतिक्रान्तिमा बदलिएको वैद्यको बुझाइ छ । प्रचण्ड, बाबुराम –लालध्वज) र बादलले गम्भीर धोका दिएको वैद्यको बुझाइ छ । भन्छन्, “उहाँहरुप्रति ठूलो आस्था, विश्वास थियो, जनताले साथ पनि दिएका हुन् । सुरुमा राम्रो काम गरेपनि अन्त्यमा उहाँहरुले पुरानै खालको संसदीय व्यवस्थालाई स्वीकार गरेर जानुभयो । हाम्रो लक्ष्य त त्यो होइन । नेपालमा जनताको जनवादी गणतन्त्र ल्याउने, नयाँ जनवादी राज्यसत्ता ल्याउने भनेर लागेका थियौं । तर त्यो उद्देश्य पूरा हुन पाएन । न हारियो, न जितियो । धक्का खाइयो ।”

आज विहान रेडियो नागरिकको कार्यक्रम नागरिक मञ्चमा बोल्दै नेता वैद्यले प्रचण्ड, बाबुराम र बादल कम्युनिष्ट नभएको र कम्युनिष्ट आन्दोलन सिध्याएको आरोप लगाए । भन्छन्ः साइनवोर्ड झुन्ड्याएर मात्र कम्युनिष्ट भइदैन, गठबन्धनमा जोडिएका कोही पनि कम्युनिष्ट रहेनन् ।

पूर्ण अन्तर्वार्ताका सुन्न यहाँ क्लिक गर्नुहोस्

तपाईलाई त मोहन बैद्य भन्दा पनि किरण नाम बढी मन पर्छ होला ?

(हास्दै) हजुर जे भन्दा पनि मनपर्छ । किरण अलि बढी पार्टीको प्रचलित नाम भयो, त्यही हो भन्नुस ।

एकजना साहित्यकार दार्शनिक, चिन्तक भएको आधारमा पनि किरण नाम प्यारो लाग्नेभयो ?

हजुर ठीकै हो, त्यसै भनौं ।

तपाईहरुको पहिलो राष्ट्रिय सम्मेलनबाट एउटा प्रणाली नै खारेज गरेर अर्काे प्रणालीमा जानुको रहस्य के हो ?

हाम्रो पार्टीमा पहिला अध्यक्षात्मक प्रणाली थियो । अहिले वास्तवमा अध्यक्ष राखेपनि अरु पदाधिकारी नभएर एकपदीय नै थियो । पार्टीलाई अनुशासीत, चुस्त, दुरुस्त राख्नको निम्ति एकपदीय राख्ने निर्णय गरिएको हो ।

हामीले बहुपदीय पनि अनुभव गर्‍यौं । अन्तर्राष्ट्रिय प्रचलनमा पनि महासचिव प्रणाली बढी प्रयोगमा छ ।

नेपालमा कम्युनिष्ट पार्टीहरु एक हुनुपर्छ भनेर एमाले–माओवादी मिले । तपाईको पार्टी चै अध्यक्षात्मक प्रणाली खारेज गरेर महासचिव प्रणालीमा जानुको कारण अलिकति क्रान्तिकारी बन्नलाइ हो?

नेपालीमा एउटा उखान छ, ”घर भत्काएपछि आँगन पुर्न के गाह्रो?“ यही उखान जस्तै वाम आन्दोलनको क्रान्तिकारी धाराको घर भत्किसक्यो । घरै भत्केपछि आँगनका खाल्डाखुल्डी पुर्ने त भइहाल्यो । उहाँहरु सत्तामोहमा चुर्लुम्म डुब्नुभएको छ । त्यसकारण उहाँहरुको गठबन्धनलाई वाम गठबन्धन भन्ने कुरा पनि आएन । नेपालमा धेरै जनता कम्युनिष्ट पक्षधर भएकाले तिनलाई प्रभावित पार्न कम्युनिष्टको साइनवोर्ड झुण्ड्याउनै पर्यो । कम्युनिष्टको साइन वोर्ड झुण्ड्याएन भने भोटै पाइदैन। उहाँहरुले साइनवोर्ड राख्नुभएको छ असली अर्थमा उहाँहरु कम्युनिष्ट हुँदै होइन ।

क्रान्तिकारी बनेर हुने कुरा त भएन । व्यबहारमा कार्यान्वयन हुनुपर्छ । अलिकति चुस्त दुरुस्त पार्टी बनाउने, काम गर्न सजिलो होस भन्ने हिसावले हो । त्यस्तो अरु तर्क होइन ।

तपाईबाट तत्काल क्रान्ति सम्भव छैन भनेर नेत्र विक्रम चन्दले अर्कै पार्टी गठन गर्नुभयो । बादल लगायतका नेताहरुले पार्टीबाट विद्रोह गरेर प्रचण्डसँग मिल्न जानुभयो । राम्रा प्रभावशाली नेताहरुले धमाधम पार्टी छाड्दै गएपछि तपाई झन् शक्तिशाली हुने प्रणाली अपनाइ रहनुभएको हो त्यसो भए ?

व्यक्ति शक्तिशाली भएर त केही हुन्न । किनभने जनवादी केन्द्रीयताको प्रणाली हुन्छ । माथिबाट केन्द्रीयता हुन्छ, तलबाट जनवाद हुन्छ । जनवाद र केन्द्रीयताको एउटा द्वन्द्वात्मक अवस्थाको बीचबाट नै सम्पूर्ण पार्टी परिचालन हुन्छ । त्यसकारण महासचिव भन्दा एकदमै निरङ्कुस त होइन फेरि । साथीहरुले केही छाडेर भन्दाखेरी हाम्रा निम्ति नितान्त नयाँ पनि होइन । २०४१ सालमा पाँचौ महाधिवेशन गर्दा पार्टी सयुक्तरुपमा हुँदा म महासचिव भएको हुँ । अहिले अप्रत्याशित रुपमा महासचिव पद आएको होइन । इतिहास हेर्ने हो भने महासचिव प्रणाली नै ज्यादा प्रयोगमा छ ।

२०४१ साल र अहिलेको समय धेरै फरक छ । यतिबेला कम्युनिष्टहरु एकता र धुव्रीकरण गराउनुपर्छ भनेर लागिरहेका छन्, तर तपाईहरु फेरि पुरानै पद्धतिमा फर्कनुभएको छ नि ?

यसलाई पुरानै भनेर नभनौ, प्रचलित थियो । जुन भएपनि जनवादी केन्द्रीयताको अभ्यास गर्नका निम्ति महासचिव प्रणाली बढी सहज हुन्छ ।

तर, तपाईहरुले अपनाउनुभएको यो प्रणालीले आगामी राजनीतिलाई कस्तो प्रभाव पार्छ भनेर धेरै मानिसहरुले चासो पूर्व हेरिरहेका छन् नि ?

चासो त कुन ढंगले गरिरहेका छन् । सबै कुराको क्रिया भएपछि–प्रतिक्रिया हुन्छ । त्यसलाई स्वभाविकै रुपमा लिनुप¥यो । म सबैलाई स्वभाविक रुपमा लिन अनुरोध गर्छु । हामीले सिङ्गो पार्टीबाट छलफल, बहस गरेर यही प्रणाली उपयुक्त हुन्छ भनेर आएको कुरा हो ।

तपाईहरुले छलफल बहस त गर्नुभयो, तर यसले आगामी राजनीतिलाई कत्तिको प्रभाव पार्ने विश्लेषण गर्नुभएको छ ?

महासचिव प्रणालीमा हुँदा चुस्त दुरुस्त क्रान्तिकारी पार्टी निर्माणका लागि यसले अलि फरक पार्छ । हुन त बहुमतीय प्रणाली सरकारमा जाने पार्टीहरुका निम्ति संसदमा जानेहरुका निम्ति अलि फिटकर हुँदो रहेछ । सरकार र संसदमा नजाने पाटीहरुका निम्ति महासचिव प्रणाली फिट हुने पनि देखिन्छ । फेरि अर्काे कुरा के हो भन्दा खेरी रुसको कुरा गर्दा लेनिन सरकारमा गएपनि महासचिव प्रणाली थियो । चीनमा माओ अध्यक्ष भएको प्रणाली हो । त्यसकारण इतिहास हेर्ने र नयाँ अभ्यास गर्ने कुरा हामीले पालना गरेका हौं ।

चीनको कुरा गर्नुभयो, सी जिनपिङ आगामी पाँच वर्षकालागि केही शक्ति सहित महासचिव निर्वाचित हुनुभएको छ, तपाईहरु माओ विचारधारा मान्ने पार्टीको विश्लेषण के रहेको छ ?

माओ विचारधारा मान्दै आएको सवालमा हुनसक्छ, विभिन्न पार्टीले आफ्नो ढंगले मान्न सक्छन् । त्यसलाई यताउती गर्ने कुरा भएन। चीनमा पनि महासचिव प्रणाली नै छ अहिले फेरि । माओविचार धाराका कुरा त सबैले मानेका छन् । क्रान्ति गर्नेले पनि मानेका छन्, नगर्नेले पनि मानेका छन् । माओवाद पनि मानेका छन्, माक्र्सवाद लेनिनवाद माओवाद भनिन्छ भनेर मात्रै केही हुँदैन तर, भन्नुपर्छ भन्ने हो ।

चीनमा चिनियाँ कम्युनिष्ट पार्टीको भर्खरै सम्पन्न १९ औ महाधिवेशनले सी विचारधारा स्थापित गरेको छ । नेपालका माओवादी मान्नेहरुले के गर्छन अब ?

विभिन्न देशमा आ–आफ्ना ढंगले मान्छन् । सिद्धान्तको विकास गर्ने क्रममा माक्र्सवाद लेनिनवाद र माओवाद मान्यौं हामीले ।  विभिन्न पार्टी मानिरहेका छौं, अब विभिन्न व्यक्तिको विचारधारा मानेर जाने पार्टीहरु हुन्छन् । के कस्ता प्रभाव पार्छन भन्ने कुरा व्यवहारले देखाउने हो । सिद्धान्तको विकास भइरहन्छ भन्ने कुरा अहिले चीनको अभ्यासले देखाएको छ । विकास भएर राख्या हो कि नभइकन राख्या हो भन्ने कुरालाई विश्लेषण गर्नैपर्ने हुन्छ । अहिल्यै यो बारेमा यो वा उ नभनौं ।

तपाईहरुको राष्ट्रिय सम्मलेलनबाट बनाउनुभएको ७७ सदस्यीय केन्द्रीय समिति तपाईको भाषामा भन्दा चुस्त समिति हो?

अहिलेको अवस्थामा ठीकै हो । अहिलेको सापेक्षतामा गठन गरिएको हो ।

अनुशासन कायम गर्न र काम गर्नलाई सहज हुन्छ ?

एकदमै सहज हुन्छ । पार्टीमा ठूलो संख्याका कमिटि बनाउने चलन पछि आयो । हामीले जनयुद्ध सुरु गर्दाखेरी १९ जना जतिको केन्द्रीय समिति लामो समयसम्म रह्यो । पछि ३५ जनासम्मको समिति बनायौं । त्यसपछि एकताको प्रक्रिया हुन थालेपछि संख्या एकदमै बढ्ने हुन थाल्यो । केन्द्रीय समितिमा बस्नेहरुको महत्वकांक्षा पनि बढ्न थाल्यो । यसले गर्दा जथाभावी केन्द्रीय समितिमा राख्ने चलन चल्यो । क्रान्ति गर्नको निम्ति धेरै ठूलो खालको केन्द्रीय समिति हुनुपर्छ भन्ने छैन । चाइना जस्तो मुलुकमा कति थोरै डेलिगेट्स (प्रतिनिधि) थिए, तर हाम्रो राष्ट्रिय भेलामा ७ हजार प्रतिनिधि थिए । केन्द्रीय समिति पदमा जाने भनेको त एउटा क्षमता, योग्यता र त्याग सबै हुनुपर्छ । ठूलो कमिटि बनाउँदा पदको ओज, गरिमा र मूल्य हरायो । जस्तो ४ हजार सम्मको केन्द्रीय समिति बनाएको पनि देखियो । त्यसकारण धेरै भएर क्रान्ति हुने थोरै भएर क्रान्ति नहुने भन्ने हुँदैन ।

यो उमेरमा पनि क्रान्ति गर्नुपर्छ भन्ने तपाईमा जोश जाँगर अझै पनि छ है ?

क्रान्तिको प्रयास गरेर यहाँ सम्म आइयो । तर गंभिर धक्का खाइयो । फेरि नयाँ ढंगको तयारी, नयाँ ढंगले अगाडी बढ्नुपर्ने अवस्था आएको छ । म मात्रै होइन मेरो संगठनका सबै पङ्ती नयाँ ढंगले क्रान्ति गरेर जानुपर्छ भन्ने पक्षमा छ ।

प्रचण्ड, बाबुराम, बादलले गम्भीर धोका दिए भन्न खोज्नुभएको हो ?

हो भन्नुस् । उहाँहरुप्रति ठूलो आस्था, विश्वास थियो, जनताले साथ पनि दिएका हुन् । सुरुमा राम्रो काम गरेपनि अन्त्यमा उहाँहरुले पुरानै खालको संसदीय व्यवस्थालाई स्वीकार गरेर जानुभयो । पुरानै राज्यसत्तालाई स्वीकारेर जानुभयो । हाम्रो लक्ष्य त त्यो होइन । नेपालमा जनताको जनवादी गणतन्त्र ल्याउने, नयाँ जनवादी राज्यसत्ता ल्याउने भनेर लागेका थियौं । तर त्यो उद्देश्य पूरा हुन पाएन। न हारियो, न जितियो । धक्का खाइयो । क्रान्तिको गति एकातिर अघि बढेको थियो तर प्रतिक्रान्तिमा बदलियो ।

प्रचण्डले बडो सुन्दर शब्दमा क्रमभंग गर्‍यौं, छलाङ मार्‍यौ भन्नुभएको छ । तपाई धक्का खाइयो भन्नुहुन्छ ? 

हेर्नुस क्रमभंग शब्द द्वन्द्ववादको शब्द हो । यो दुई किसिमको हुन्छ । एउटा उल्टो दिशामा हुन्छ, अर्काे सुल्टो दिशामा हुन्छ । उहाँ(प्रचण्ड)ले जनयुद्ध सुरु गर्दाखेरी पनि क्रमभंग ग¥र्याै भन्नुहुन्थ्यो । त्यो ठिकै पनि हो, सुल्टो दिशाको क्रमभंग थियो । अहिले यता आइसकेपछि उहाँले गर्नुभएको क्रमभंग उल्टो दिशाको हो ।

तपाई आफै प्रचण्ड, बाबुराम, बादलको राजनीतिक गुरु, सबै चेलाले छाडेपछि तपाई निराश भएर उल्टो देख्नुभएको त होइन ?

होइन होइन । म त एकदमै आशावादी छु । बरु उहाँहरु नै निराश भएर अब केही पनि हुँदैन केही पनि गर्न सकिदैन भनेर हिड्नुभयो । इतिहासमा यस्तै हुँदै आइरहेको छ । कुनै बेला असाध्यै सानो संगठन पनि बनेको छ । हामीले जनयुद्ध सुरु गर्ने बेलामा पनि पार्टी ठूलो थिएन। त्यसकारण गर्दै जानुपर्छ, राष्ट्रियता जनतन्त्र र जनजीविकाको समाधान भइसकेको छैन । त्यसकारणले क्रान्तिका निम्ति एउटा धरातल छ । त्यो धरातलमा उभिएर देश र जनताको निम्ति उभिएर देश जनताका आशा अपेक्षालाई पूरा गराउनको निम्ति देशले नयाँ विकल्प खोजिरहेको छ ।

देशमा एउटा सरकार स्थानीय तहको चुनाव भइसकेको छ, देश स्थीरतातर्फ अघि बढीसकेको छ । अबपनि गाउँहरुमा इलाकाहरुमा क्रान्तिकारी जुझारुपन पाइन्छ र भन्या ?

जुझारुपनमा केही ह्रास त आयो । क्रान्तिले धक्का खाँदाखेरी जुझारुपनमा केही ह्रास त निश्चित रुपमा आएको छ तर त्यो समग्र होइन केही अंश हो । त्यसलाई सकारात्मक ढंगले विवेचना गरी अगाडी लैजान सकिन्छ भन्ने हो ।

तर, क्रान्ति गर्नका लागि मानिससँग समय नै छैन । तपाईहरुकै शब्दमा जाने हो भने मानिसहरु यान्त्रिक भइसके, दिनभरी काम गर्नैपर्ने बाध्यता छ । अनि कसरी सम्भव छ तपाई भनेको क्रान्तिको कुरा ?

क्रान्ति गर्ने भनेको पार्टीको मात्रै इच्छा र रहरले होइन नी त । जनता र देशसँग नजोडिकन जनताको सहभागिता नभइकन अगाडी बढ्न सकिदैन । त्यसकारणले यो खाली पार्टी कार्यकर्ता पार्टी नेताले मात्रै गर्ने कुरा होइन ।  किनभने वर्ग समाजमा जनता हुन्छन् । जनताका आ–आफ्ना प्रतिनिधि हुन्छन् । ती प्रतिनिधिबाटै पार्टी बन्छ । जनतासँग नजोडिएको पार्टी को कुनै अर्थ र काम छैन । जहाँसम्म यहाँले यान्त्रिक शब्दको प्रयोग गर्नुभयो, हामीले हाम्रो कार्यदिशा, नीति लाईनको निर्धारण गर्ने सिलसिलामा जनतासँग जोडिएको कार्यदिशा, नीति बनाउनुपर्छ । त्यो बनाउन सकिएन भने एउटा असफलता व्यहोर्नुपर्ने हुन्छ ।

यहाँले जनउत्तरदायी बन्ने कुरा गर्नुभयो । तर नेपालका कम्युनिष्टहरु पछिल्लो चरण जनउत्तरदायी नभएको विश्लेषण गरिन थालेको पनि छ नी ?

यो कुरा साँचो हो । कम्युनिष्टहरु दुई धारमा विभाजित भए । एउटा क्रान्तिकारी धार र अर्को अवसरवादी धार । अवसरवादी धारले जनताका हकहित, इच्छा आकांक्षा, सपना सबैलाई छोडेर पुरानै सत्तामा जाने र आफ्नो पनि व्यक्तिगत सत्ता मोहको परिपाटी देखापर्ने । जनता र देशको हकहितका निम्ती नगर्ने हुनाले जनतामा एउटा विृतष्णा निश्तितै रुपमा परेको छ । तर सबै प्रतिको वितृष्णा भने होइन । जनताले धेरै हेर्दै वुझ्दै जान्छन र समय पनि लाग्छ ।

पहिलो राष्ट्रिय सम्मेलनबाट स्पष्ट कार्यदिशा तयार गर्न नसकेको भनेर नेताहरुले किन असन्तुष्टी जनाउनु भएको हो ?

त्यस्तो होइन । हामीले प्रष्ट गरेका छौ । राजनीतिक कार्यदिशाको कुरा गर्नुहुन्छ भने नेपालमा क्रान्ती भएकै छैन । पुँजिवादी जनवादी क्रान्ती भएकै छैन । यो क्रान्ति पूरा गर्नुपर्छ हामीले भनेका छौं । जस्तो कि अरु कम्युनिष्ट आन्दोलनका ठूलो हिस्साबाट नेपालमा न त पँुजीवादी जनवादी क्रान्ति भयो, न त राजनीतिक क्रान्ति भयो । अब आर्थिक क्रान्ति हो भनिराखेका छन् । तर, हामी के भनिराखेका छौं भने राजनीतिक क्रान्ति पूरा भएको छैन । त्यसका लागि पुँजीवादी, जनवादी क्रान्ति लड्नुपर्छ भनिराखेका छौं । हामीले पुँजीवादी क्रान्तिको कार्यदिशा अथवा नयाँ जनवादी क्रान्तिको कार्यदिशा पारित गरेका छौं । यो कार्यक्रमलाई पुरा गर्नका लागि संघर्षका कार्यक्रमलाई अघि बढाउन कसरी जाने भनेर हामी छलफलमै छौं । विभिन्न संघर्षका लागि हामीले हात बाध्दैनौं । प्रयोगका बीचबाट संघर्षका नयाँ नयाँ अवस्थाहरु सिर्जना हुन्छन भन्ने सोचमा हामी छौं । त्यसकारण हाम्रो नयाँ जनवादी क्रान्तिको कार्यदिशा प्रष्ट छ । त्यसलाई प्रयोग गर्नका निम्ति संघर्षका विविध रुपहरुको प्रयोग गरेर अघि बढ्छौं । त्यसबाटै एउटा ठोस रुप बन्छ । त्यसमा बल प्रयोगको सिद्धान्त जरुरी हुन्छ । बल प्रयोग नगरी जनताको सत्ता प्राप्त हुँदैन ।  

जनयुद्ध कि जनविद्रोह भन्नेमा यहाँहरु अझैपनि द्धिविधामा हुनुहुन्छ ?

होइन हामीले दुवैबाट शिक्षा लिँदै जानुपर्छ । अब जनयुद्ध र जनविद्रोह दुबैलाई व्यबहारबाट विकास गर्दै जानुपर्छ । हामीले जनयुद्ध र जनविद्रोह दुवैमा टेक्छौं । आधार बनाएर जान्छौं । नेपालको धर्तीमा बास्तवमा प्रयोगकै बीचबाट जानुपर्छ । किनभने यान्त्रिक ढंगले मात्रै त्यो हुँदैन भन्ने हो ।

तपाई एकजना दार्शनिक चिन्तक, सिद्धान्तको प्रतिपादन गर्ने व्यक्ति । सबै कम्युनिष्ट समय अनुसार चल्न थाले मिल्नुपर्छ, ध्रुवीकरण गर्नुपर्छ भनेर लागे । तर, तपाई अझै उग्र क्रान्तिकारी धारतिर किन लाग्नुभएको ?

यसलाई उग्र त म ठान्दिन हेर्नुस । कसैले यसलाई उग्र भन्लान तर, उग्र होइन । मलाई के लाग्छ भने कम्युनिष्ट आन्दोलनको बीच–बीचमा गन्तव्यमा नपुग्दै विभिन्न खालको विचलन आउने । यहाँ प्रष्टै छ हामी त संसदीय व्यवस्था र पुरानो राज्य सत्ताका विरुद्ध संघर्ष गरेका हौ नी त । त्यत्रो विभिन्न जनआन्दोलन, लाष्टमा आउँदा दश वर्षको जनयुद्ध त्यसको प्रतिफल के हो भन्दाखेरी त्यसको प्रतिफल घुम्दै फिर्दै त्यही संसदीय, त्यही पुरानो राज्यसत्ता हो । यो भएपछि हामीले जुन लक्ष्य राखेर आन्दोलन गरेका थियौं त्यहाँ पुग्न सकिएन । त्यसकारण त्यो लक्ष्यमा पुग्नका निम्ति तमाम प्रकारका विचलनका विरुद्ध लड्दै अहिलेको राजनीतिक भाषामा भन्नुहुन्छ भने दक्षिणपन्थी अवसरवादका विरुद्ध जुध्दै फेरि क्रान्तिको तयारी गर्न आवश्यक छ भन्ने हिसावले हामी अगाडि बढ्या हो।

राष्ट्रियताको कुरा गर्नुहुन्छ भने झन् गम्भीर हुन थालिसक्यो । देश बच्ने हो कि होइन भन्ने संशय छ । अब सत्तामा रहेका दलहरु देशभित्र र बाहिर पनि चाकडी गरेर जसरी पनि सत्तामा रहन लिप्त छन् । देश र जनताको अवस्था दयनीय बन्दै जानुले पनि यसका विरुद्ध संघर्ष नगरी हुँदैन भन्ने मेरो ठहर हो ।

एमाले–माओवादीबीच बनेको गठबन्धन प्रति तपाइको दृष्टिकोण के हो?

यो निश्चित रुपमा दक्षिणपन्थी गठबन्धन हो । नाम बाम भएपनि दक्षिणपन्थी अवसरवाद हो । अझ त्यो पश्चगमनतिर गइरहेको छ ।

पुरानो राज्यसत्ता र व्यवस्थालाइ स्वीकारेर गइसकेपछि त्यसलाइ कसरी वाम भन्ने ? कम्युनिष्ट भाषामा भन्ने गरेको दक्षिणपन्थी अवसरवाद मात्रै पनि होइन  । यो गठबन्धन त त्यसबाट पनि पश्चगमनतिर गइसकेको छ ।

तर, उनीहरु दुईतिहाइ ल्याएर पाँच वर्षसम्म सत्ता चलाउने योजनामा छन, तपाई दक्षिणपन्थी अवसरवाद भन्नुहुन्छ ?

उनीहरुले सबै सिध्याए । नेपालीमा एउटा उखान छ, ”घर भत्काएपछि आँगन पुर्न के गाह्रो?“ यही उखान जस्तै वाम आन्दोलनको क्रान्तिकारी धाराको घर भत्किसक्यो । घरै भत्केपछि आँगनका खाल्डाखुल्डी पुर्ने त भइहाल्यो । उहाँहरु सत्तामोहमा चुर्लुम्म डुब्नुभएको छ । त्यसकारण उहाँहरुको गठबन्धनलाई वाम गठबन्धन भन्ने कुरा पनि आएन । नेपालमा धेरै जनता कम्युनिष्ट पक्षधर भएकाले तिनलाई प्रभावित पार्न कम्युनिष्टको साइनवोर्ड झुण्ड्याउनै पर्यो । कम्युनिष्टको साइन वोर्ड झुण्ड्याएन भने भोटै पाइदैन। उहाँहरुले साइनवोर्ड राख्नुभएको छ असली अर्थमा उहाँहरु कम्युनिष्ट हुँदै होइन ।

राष्ट्रिय सम्मेलनबाट मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई उपयोग गर्ने नीति लिनुभएको रहेछ । के हो यो उपयोग भनेको ?

हामीले आफै पार्टी दर्ता पनि गरेका छैनौं । मोर्चा निर्माण गरेका छौ । मोर्चाका उम्मेदवारहरुलाई सघाएर चुनावलाई क्रान्तिकारी उपयोग गर्ने हाम्रो निर्णय छ ।

(रेडियो नागरिकका लागि सागर न्यौपानेले गरेको कुराकानी)





यसमा तपाईको मत

अन्य समाचार

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (NIBL)ले जेबिल्स फाइनान्स लिमिटेडको सफल प्राप्ति पश्चात आफ्नो संयुक्त कारोबार प्रारम्भ गरेको छ। ...

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हरेक मानिसको फिंगरप्रिन्ट बेग्ला बेग्लै भएजस्तै कुकुरको पनि नाकको छाप बेग्ला बेग्लै हुनेगर्दछ । ...

Ncell Footer Ad