७ वैशाख २०८१ शुक्रबार
राजनीति

खोटाङमा ६ मतदान केन्द्र थप

खोटाङ– प्रदेश र प्रतिनिधिसभाका लागि खोटाङमा ६ वटा मतदान केन्द्र थपिएको छ । यसअघि कायम गरिएको १३६ मतदानस्थलका १७३ मतदान केन्द्रलाई बढाएर आसन्न निर्वाचनका लागि १७९ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए।

एक हजार ६२ भन्दा बढी मतदाता भएका मतदानस्थलमा (ख) र दुई हजार बढी मतदात भएका ठाउँमा (ग) केन्द्र थप गरिएको हो। रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको सरस्वती माबि केन्द्रमा (ग), रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हिमालय माबि सोल्मामा (ग), रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित शितला माबिमा (ख), हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको दुर्छिम माबि छापडाँडामा (ख) केन्द्र, खोटेहाङ गाउँपालिका–८ सिमपानीको सिमपानी माबि लोहकिलमा (ख) र ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कको त्रिभुवन माबि ऐसेलुखर्कमा (ख) केन्द्र थप गरिएको छ।

२८ मतदानस्थल अति संबेदनशील

खोटाङका कुल मतदानस्थलमध्ये २८ स्थललाई सुरक्षाका दृष्टिकोणले अति संवेदनशिल स्थलका रुपमा राखिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले भौगोलिक अवस्था, सुरक्षा चुनौती, निर्वाचन केन्द्रमा हुनसक्ने झडप, पार्टीबीचको माहोल, सम्भावित आपराधिक क्रियाकलाप, विगतका चुनावमा भएका घटना लगायतका आधारमा मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य अवस्थामा वर्गीकरण गरिएको जनाइएको छ।

जिल्लाका ५४ स्थललाई संबेदनशील र ५४ स्थललाई सामान्य स्थलकारुपमा बर्गीकरण गरेर सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए। ‘सुरक्षा गोप्यताका कारण ठाउँ खुलाउन उचित हुन्न,’ प्रजिअ अधिकारीले भने, ‘सुरक्षा चुनौतीका आधारमा मतदानस्थल बर्गीकरण गरिएको छ।’ निर्वाचन अवधिभर खोटाङमा १ हजार ८ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ। निर्वाचनलाई शान्तिपूर्ण वाताबरणमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी र म्यादी प्रहरी गरी १ हजार ८४० सुरक्षाकर्मी परिचालन गरिने प्रशासनले जनाएको छ।

निर्वाचनमा ८२६ नेपाल प्रहरी र १ हजार १४ म्यादी प्रहरी मतदान स्थल र केन्द्रमा खटाइने प्रजिअ अधिकारीले बताए। निर्वाचनकाबेला मतदान केन्द्रको घेरामा शसस्त्र प्रहरी र नेपाली सेना समेत परिचालन हुने जनाइएको छ।

सर्वदलीय समन्वय संयन्त्र

निर्वाचन आचार संहिता कार्यान्वयन गर्नका लागि खोटाङमा दलका नेता सम्मिलित समन्वय संयन्त्र निर्माण गरिएको छ। आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचन आचार संहितालाई कार्यान्वयन गर्नका लागि १२ दलका नेता सम्मिलित अन्तर दलीय समन्वय संयन्त्र निर्माण गरिएको हो।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यदित ढंगले सम्पन्न गराउनका लागि कांग्रेसका सचिव ज्ञानेन्द्र जोशी, एमालेका उपसचिव कुमार आचार्य, माओबादी केन्द्रका सचिवालय सदस्य होमकाजी आचार्य, संघीय समाजबादी फोरमका केन्द्रीय सदस्य सनबहादुर राई, नेकपा मालेका पोलिटव्यूरो सदस्य कुलप्रसाद फुयाँल, नयाँ शक्तीका जिवराज पोखरेल र राप्रपा प्रजातान्त्रिकका तिलकप्रसाद आचार्य रहेको समन्वय संयन्त्र निर्माण गरिएको हो।

बैठकमा निर्वाचन आयोगबाट जारी भएको आचारसंहिता कार्यान्वयनमा सबै दल तथा कर्मचारीले प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए। दलीय संयन्त्रले चुनावी अभियानकाक्रममा आउने द्धन्द्ध तथा समस्यालाई आपसी समन्वय र छलफलका माध्यमबाट समाधानका लागि पहल कदमी गर्ने जनाइएको छ। ‘निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वाताबरणमा सम्पन्न गर्नका लागि सवै दलबीचमा निरन्तर सम्बाद र समन्वय गर्नका लागि संयन्त्र बनाइएको हो,’ प्रजिअ अधिकारीले भने, ‘चुनावी अभियानकाक्रममा दलबीचमा कुनै असमझदारी आएमा यही संयन्त्रमार्फत हल गर्नका लागि सहमती जुटेको छ।’ दलबीचमा चुनावी प्रचारात्मक कार्यक्रम, सभा, जुलुस गर्ने समय तालिकाका विषयमा प्रशासनलाई जानकारी गराउने, कार्यक्रम स्थान र समय नजुधाउने लगायतका सहमती भएको छ ।

चुनावी प्रचार–प्रसारकाक्रममा मतदातालाई वितरण गरिने दलको चुनाव चिन्ह अंकित सामग्रीले निर्वाचन स्वच्छ, निष्पक्ष, मर्यदित र मितव्यायी हुन नसक्ने निष्कर्ष सहित चुनाव चिन्ह अंकित टि–सर्ट, ज्याकेट, झोला, स्टीकर, गम्छा, सल, खादा लगायतका जिन्सी सामग्री प्रयोगमा रोक लगाउने निर्णय समेत गरिएको प्रजिअ अधिकारीले बताए।

प्रकाशित: ९ कार्तिक २०७४ ०९:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App