शान्ति र मैत्रीविहीन एउटा सन्धि

सोमबार, १७ साउन २०७३, १२ : ०३ नागरिक

ज्ञानमणि नेपाल

गएको असार २० र २१ ग्ाते नेपाल र भारतबीच २००७ साल अर्थात् सन् १९५० भएको शान्ति मैत्री नामक सन्धि पुनरावलोकन गर्नका लागि प्रबुद्ध समूहको बैठक राजधानीमा बसेको थियो। त्यसमा नेपालबाट परराष्ट्र मन्त्री कमल थापाको नेतृत्वमा चार जना र भारततर्फबाट भगतसिंह कोसियारीको नेतृत्वमा चार गरी आठ जना परराष्ट्रविद् थिए। प्रबुद्ध समूहले बैठकमा के/के छलफल गरे, कुन कुन विषयमा प्रवेश गरे, सो सबै बाहिर आएन, फेरि बैठक बस्ने भनेर टुंगिएको चर्चा भने सार्वजनिक भएको छ।

सन् १९५० को सन्धिलाई नेपाल र भारतबीचको शान्तिमैत्री सन्धि भने पनि यसले दुई देशबीच शान्ति र मैत्रीलाई कहिल्यै बढावा दिएन। नेपाल–भारतबीच जनस्तरमा विशेषतः धार्मिक, सामाजिक सम्बन्धमा ऐतिहासिक कालदेखि रहँदै आएको सौहार्द्धतालाई यो सन्धिले निरपेक्ष ढंगले सहयोग गरेको भए तापनि शासकीयस्तरमा भने झण्डै त्यसै बेलादेखि देेखापरेको अशान्ति र असमझदारीको भावना यथावत् रह्यो।

२००७ देखि २०१४ सालसम्म नेपालमा अस्थिर सरकार बने। यो सात वर्षभित्र ७–८ वटा सरकार बनेका थिए। नेपालमा भारतअनुकूलको सरकार बन्नुपर्छ भन्ने भावना ब्रिटिसकै पालादेखि थियो। नेहरू पनि तिनै ब्रिटिसकालीन लालफिताशाहीको बनिबनाउ आसनमा विराजमान हुनाले उनको नेपाल हेर्ने परराष्ट्र नीति त्यही ब्रिटिसकालिक हुन गयो। १९५० सालको सन्धि पनि नेपाललाई गाँजेर र सकस दिएर ब्रिटिस कम्पनी सरकारले सन् १८१६ मा गरेको सुगौली सन्धिकै संशोधित प्रारूपमात्र हो। जसरी अहिले हरेक कुरामा भारतका कर्मचारी वा नेताहरू नेपालको प्रसङ्ग उठ्यो कि सुरक्षाको कुरा उठाउँछन् त्यो बेला ब्रिटिसहरू पनि बारम्बार यही कुरा उठाउँथे। त्यसैले सुगौली सन्धिमा नेपाललाई हातहतियार चाहियो भने ब्रिटिस भारतसँग मात्र किन्ने र बाहिरबाट झिकाउँदा ब्रिटिससँग सोधेरमात्र झिकाउन पाइने कुरा परेको छ। त्यस्तै नेपालले कुनै राष्ट्रसँग सन्धि सम्झौता गर्न नपाउने, युरोपिय राष्ट्रका कुनै व्यक्तिले नेपाल बस्न वा बेपार गर्न पनि नपाइने व्यवस्था त्यसमा छ।

सुगौली सन्धिपछिका नेपाली शासकले यस सन्धिलाई फेरबदल नगरे आफू यसै गरी जकडिएर बाँच्नुुपर्ने महसुस गरी अंग्रेजसँग पुनः युद्ध गर्न चीनसँग सहायताको अपेक्षा गरिरहे। तर जिन्दगीभर भीमसेन थापाले प्रयत्न गर्दा पनि केही नलागेपछि यसै कारणले उनी उकुसमुकुसिएर मरे। भीमसेन थापापछि सत्तामा आएका काजी रणजङ्ग पाँडे अंग्रेजका कट्टर विरोधी राष्ट्रवादी थिए। यिनले चीनसँग सहायताको भरमग्दुर प्रयास गरिरहेका थिए। भारतभरका नवाव, राजा रजौटाहरूकहाँ दूतहरू पठाएर अंग्रेज विरोधी मोर्र्चा निर्माण गर्न लागेका थिए। उनले बर्मासम्म पनि दूत पठाएका थिए। सबै शक्ति एकजुट भएर अंग्रेज सरकारमा धावा बोल्ने हो भने एसियामा ब्रिटिस शक्तिलाई समाप्त गर्न सकिन्छ भन्ने उनको दृढ विश्वास थियो। हुन पनि यो संगठन मजबुत बनेर अंग्रेजविरुद्ध उत्रेको भए भारतमा अंग्रेज सरकार गल्ने थियो। सन् ५७ को गदर (सं. १९१४ को विद्रोह) जस्तो भएर सत्यानाश हुनुपर्ने थिएन। तर नेपालको संगठनमा सम्मिलित भएका ग्वालियरका राजा जनकोजी सिन्धेले ब्रिटिस शासकसँग नेपालको यस संगठनको सबै पोल खोलिदिए। यो रहस्य चाल पाउनेबित्तिकै भातरभर फिजिएका नेपाली दूतहरू खोजी खोजी निकालिए। यता नेपालका राजालाई ठूलो दबाब दिए र चतुर कूटनीतिज्ञ रेजिडेन्ट हड्सनले राजा राजेन्द्रलाई अबउप्रान्त गङ्गापारका कुनै पनि राजा रजौटासँग नेपालले सम्बन्ध राख्न नपाउने गरी सम्झौतापत्रमा हस्ताक्षर गराए। यस 'संघटन' का नायक राष्ट्रभक्त रणजङ्ग पाँडे पनि मुक्तियार पदबाट बर्खास्त गरिए। यतिमात्र होइन, विदेशीको दबाबले रेजिडेन्ट हड्सनको षड्यन्त्रले राष्ट्रभक्त जति समाप्त पार्ने तानाबाना बुनियो र पाँडेवंशकै विनाश गरियो।

यस काण्डबाट सुगौली सन्धिले पारेको आघातमा नूनचुक हालियो, झन् पीडा थपियो। विदेशीको हस्पक्षेप बढदै गयो। त्यसै बेलादेखि चलेको विदेशमुखी आफ्नो अनुकूल व्यक्ति नेपालको शासन सत्तामा पुर्‍याउने र राष्ट्रभक्त लोकप्रिय व्यक्तिलाई पन्साउने परम्परा अद्यावधि चलिआएकै छ। त्यसबेला रणजङ्ग पाँडेको अंग्रेज विरोधी संघटनलाई विफल पारिदिएकामा नेपाली शासकहरू यति पीडित क्षुब्ध क्रुद्ध भए कि उम्लिएको यो क्रोधको बेगलाई तिनै जनकोजी सिन्धेकोमा ठोकियो। नक्सालमा रहेकोे शीलालेखमै लेखाएर राखियो– 'ती अवन्ति (ग्वालियर) देशका राजा जड्याहा गुण्डा पुरुषार्थ केही नभएका वानर जस्तै छुल्याहामात्र रहेछन्।' यो असफलताबाट नेपाली कति क्षुब्ध भएका थिए भन्ने कुरा देखिन्छ।

सुगौली सन्धिपछिका दुई सय वर्षमा नेपालको इतिहासमा प्राइमिनिस्टर जङ्गबहादुर राणा र प्रधान मन्त्री विश्वेश्वरप्रसाद कोइराला मात्र त्यस्ता शासक हुन् जो शिर ठड्याएर आँखा जुधाएर विदेशी शासकसँग वार्ता गर्ने स्वतन्त्र सार्वभौम देश सुहाउँदो शानमान राख्न सक्थे। जो छिमेकीको इशारामा चल्दैन उसको अनुकूलको बाटो हिँड्दैन भने उसलाई टिक्नै दिइँदैन, त्यसले विश्वेश्वरकै हविगत भोग्नुपर्छ। यता त्यसको फल नेपाली जनताले पनि भोग्नुसम्म भुक्तमान भोग्नुपर्छ। भारतले गत वर्ष गरेको नाकाबन्दीले शान्ति मैत्री सन्धिका नाममा आबद्ध नेपालले वैरी देशले जस्तै महाभुक्तमान भोग्नुपर्‍यो। अनावश्यक र नपाउनुपर्ने दुःख पायो।

कथित शान्तिमैत्री सन्धि पनि नभइदिएको भए नेपाल अहिलेको जस्तो हुने थियो? अलि कति पढेका, अलिकति राजनीतिक चातुर्य भएका चन्द्रशमशेरको अनवरत प्रयासले प्रथम विश्वयुद्धले अलिक थाकेकाले र भारतीय राष्ट्रिय कांग्रेसको स्वतन्त्रता आन्दोलनले पनि दच्किएकाले सं. १९८० (ई . १९२३) मा ब्रिटिस सरकार सुगौली सन्धिमा संशोधन गर्न सहमत भएको थियो। यस संशोधनले नेपालमा रेजिडेन्टको सट्टा एम्ब्यासडर (राजदूत) रहने भयो र नेपालले अन्य देशसँग पनि दौत्य सम्बन्ध कायम गर्न समर्थ भयो। परन्तु नेपालको राणाशासन अरू शक्तिराष्ट्रसँग दौत्य सम्बन्ध कायम गर्न अघि सरेन। ब्रिटिसलाई रिझाइराख्यो भने राणा शासन अझै चिरस्थायी रहन्छ भन्ने सोच्यो। भारतबाट ब्रिटिस शासन समाप्त हुन्छ, भारतीय शासनले पनि हामीलाई दपेट्छ भन्ने हेक्कै राखेन। दोस्रो विश्वयुद्धमा जुद्धशमशेरले ब्रिटिसलाई ठूलो मद्दत दिए। धेरै गोरखालीको रगत बग्यो। विश्वयुद्धपछि ब्रिटिस भारतलाई स्वराज दिएर बिदा हुने भयो। यसबेला राणाशासनका मुखिया जुद्धशमशेरले ब्रिटिस शासकसँग घुँडा घसेर वार्ता गरेका भए जंगबहादुरले पाएको भन्दा बढी नै जमिन पाउने थिए। समुन्द्र पुग्ने बन्दरगाह पनि प्राप्त हुने थियो। आफू पनि अशिक्षित जनतालाई पनि शिक्षा नदिई मूर्ख बनाइराख्ने नीति लिएका यी राणा प्राइमिनिस्टरले आँटै गर्न सकेनन्, देश जनताको भलो हुने कुरा सोच्तै सोचेनन्। धन कुम्ल्याउने अंग्रेजलाई नै रिजाइरहने अगाडिको भागमात्रै देखे।

आखिर सं. २००४ मा भारत स्वतन्त्र भयो। भारत स्वतन्त्र भएपछि अंग्रेजको आडमा टिकेको नेपालको राणा राज्य पनि समाप्त हुन्छ र नेपालमा पनि प्रजातन्त्र आउँछ भन्ने कुरा चर्चामा आइसकेको थियो। परन्तु राणाशासन अलिक खुकुलो पार्नुपर्छ, जनतालाई केही अधिकार दिनुपर्छ भन्ने मोहनशमशेर अब अंग्रेजलाई जस्तै नेहरूलाई रिजाएर राणाराज्य चिरञ्जीवी पार्छु भन्ने मनसायले भारतमा त्यसबेला उठेका दङ्गा–फसाद समाप्त पार्न नेपाली सैनिक पठाउन लाग्दै थिए। भारतले आफैँ विद्रोह शान्त पार्ने भनेपछि नेपालीले भाग लिनै परेन।

नेहरू सरकारले अंग्रेजसँगको सन्धि पुनर्नवीकरण गर्ने उद्देश्यले मोहनशमशेरलाई निम्तो दियो र दिल्लीमा यिनको भव्य स्वागत भयो, राजकीय सम्मान पाए र मख्ख परेका मोहनशमशेरले बाबु चन्द्रशमशेरले गरेजस्तै सन्धि गरेर भारतको प्रिय हुन्छु भन्ने सोचे। तर त्यो सन्धि सुरुमै अपमानजनक थियो, नेपालका तर्फबाट प्राइमिनिस्टरको उच्च शासकको हस्ताक्षर हुँदा उता नेहरूले गर्नुपर्थ्यो तर एउटा उपसचिव वा सहसचिव स्तरको राजदूतले गरे। अर्को यसमा असाध्यै खट्कने असमान दफा के थियो भने दुवै देशका जनतालाई आवागमनमा सुविधा हुने एक देशको मान्छे अर्को देशमा गएर बस्न जग्गा किन्न, बेपार बिजनेस गर्न पाउने भन्ने थियो। नेपालको जनसंख्या त्यसबेला ८४ लाखमात्र थियो, भारतको ६४ करोड। नेपालका जम्मै जनता भारत पसे पनि कहाँ बिलाउँछन् कहाँ, भारतको एउटै प्रान्तका दशांशमात्र नेपाल पसे जनता भने ढाकिन्छ। समुन्द्रमा गङ्गा जस्ता जति नदी मिले पनि रति पनि फरक पर्दैन, समुन्द्रको एउटै छाल जमिनमा पस्यो भने हजारौं गाउँ डुबाउँछ, लाखौं मान्छे बगाउँछ। समान सुविधा दिन मिल्दैन भनेर नेपालले सो सुविधा पाउने, भारतले नपाउने भनेर त्यसै बेला पत्राचारबाट अनियन्त्रित प्रतिस्पर्धा रोखिएको थियो। अहिले सो पत्र कतै देखिँदैन, चर्चा पनि हुँदैन। अर्को कुरा यसमा अंग्रेजका पालामा भएका सम्पूर्ण सन्धि सम्झौता खारेज भनेर लेखिएको छ। यसबाट सोझै हिसाबबाट सुगौली सन्धि पनि खारेज हुन्छ र त्यस सन्धिद्वारा अंग्रेजले कब्जा गरेका महाकाली र मेचीपारिका सम्पूर्ण भूभाग बृहत्तर नेपालका हुन्छन् भन्ने ग्रेटर नेपाल पक्षपातीका भनाइ पनि तर्कयुक्त हुन आउँछ।

सात सालपछिको नेपाल सरकारअनुकूलको बनाउन नेहरू लागि नै परेका थिए। राणापछिका प्रधान मन्त्री बिपी नबनून्, आफ्नो अनुकूलका होउन् भनेर नेहरू खुबै छट्पटिएका थिए। उनका मान्छे सिपी नारायण र जिपी नारायणको नेपालमा अचम्मको चलखेल थियो।

नेपालको प्रथम निर्वाचित प्रजातन्त्री बिपीको सरकार भङ्ग गरेर राजा महेन्द्रले सत्ता हत्याउनमा पनि नेहरूको हात थियो। भारतमा पनि कहिले पाकिस्तानसँग कहिले चीनसँग युद्ध चल्दै गर्दा नेहरूले नेपालका राजालाई भनेर सुरक्षाको बहानामा नेपालले हतियार भित्र्याउन नदिने सम्झौता गराए, नेपालतर्फबाट यदुनाथ खनालले सही गरेका थिए। यस्तै सुरक्षा चासो देखाएर यतिबेलै महाकालीको मुहान वर देखाइ लिपुलेक आदि जमिन मिचेर भारतीय सुरक्षा फौज खडा गरियो, अहिलेसम्म राखिएकै छ।

सं. २०२६ मा राजाले नेपालमा रहेका भारतीय सैनिक मिसनलाई निकालिदिए। उता कोदारी राजमार्ग खुलाएर नेपाल भोटसँगको मोटरबाटो चलाए। यसमा अहिले जस्तै भारतले उग्र विरोध गर्‍यो। यिनै निहुँमा बेपार बन्द गरेर इन्दिरा गान्धीले नेपाललाई नाकाबन्दी गरिदिइन्। प्रजातन्त्री शासन सुरु भएपछि भारत सरकारले नेपालको बेपार व्यवसाय उद्योगधन्दामा आफ्नो प्रभुत्व जमाउने ध्येयले धेरै व्यापारी घरानालाई नेपालमा जान उत्प्रेरणा गरेको थियो। झोले खुजुरे बेपारीलाई पनि सहयोग दिँदै नेपाल पठाइएको थियो। इन्दिरा गान्धीले त झन् हुलका हुल यता हुलेकी थिइन्। यस्तै कुरालाई मनन गरेर नयाँ राजा वीरेन्द्रले सन्धि संशोधन गर्न वा भङ्ग गर्न नलागी आफ्नो राज्यभिषेकको अवसरमा भेला भएका ५७ देशका राष्ट्र प्रमुखसामु नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव राखे। यस प्रस्तावलाई कसैले तत्काल, कसैले पछि स्वीकार गर्दै आए। ११६ राष्ट्रले स्वीकार गरेको यस प्रस्तावलाई भारतले भने स्वीकार गर्दै गरेन, उल्टै नेपालमा अशान्ति, असुरक्षा र अव्यवस्था फैलाउने कार्यमा सहयोग गर्दै आयो।

राजा वीरेन्द्रले मरीचमान प्रधान मन्त्री भएका बेला चीनबाट नेपाली सैनिकलाई चाहिने जति हातहतियार झिकाए। यसै निहुँमा २०४५ सालमा राजीव गान्धीले नेपाललाई नाकाबन्दी गरे। यसरी बारम्बार भारतबाट नेपालले अशान्ति र अव्यवस्था भोग्दै आयो। यस सन्धिलाई संशोधन गर्ने कुरा पुनः प्रजातन्त्र बहालीपछि उठे। मनमोहन अधिकारी प्रधान मन्त्रीले यो संशोधनको कुरालाई दिल्लीमै पुर्‍याए पनि सुनुवाइ भएन, उल्टै दिल्लीकै बल/सहयोगले माओवादीका नाममा ११ वर्षसम्म चलेको गृहयुद्धको आतङ्कले देश तहसनहस भयो। शान्तिमैत्री सन्धिको धज्जी उडाइयो।

प्रधान मन्त्री गिरिजाप्रसादको प्रयत्नले भारतकै मध्यस्थतामा माओवादी प्रजातान्त्रिक प्रक्रियामा त आए तर संक्रमणकाल सकिएन। संविधान सभाको चुनावपछि शान्तिको अवस्था आउला भनियो तर आएन। संविधान सभाले संविधान बनाएपछि शान्ति सुव्यवस्था आउला भनियो, त्यो पनि माओवादीकै आह्वानमा जातिवाद/क्षेत्रीयवादको झमेला उठेकाले संविधान बनाउन ८–९ वर्ष रस्साकस्सी गर्नुपर्‍यो। संविधानत सुशील कोइरालाको बलले बल्लबल्ल बन्यो तर त्यही संविधानमा उल्लिखित संघीयताका कारण तराईमा दङ्गाफसाद मच्चियो। यसलाई शान्त पार्नुको सट्टा भारतलेे बलेको आगोमा घिउ थपिदियो। उही पुरानो नाकाबन्दीरूपी ब्रह्मास्त्र प्रयोग गरेर नेपालीको दैनन्दिनी र दानापानी बन्द गराइदियो।

यसै बेला प्रधान मन्त्री भएका केपी वली नाकाबन्दी खुकुलो पारेर भारत भ्रमणमा गए। र, त्यही सन्धिको पुनरावलोकन गर्ने प्रस्ताव राखे। पहिलेकाले प्रस्ताव राखे तापनि भारतले सुनेको थिएन। यसपालि धेरै भो भनेर होला मञ्जुर गरेछ र यो प्रबुद्ध समूह दुवैतर्फबाट गठन गरियो। यसको पहिलो बैठकमै शुभसंकेत देखिएन। भारतका सत्तासीन पार्टीका उपाध्यक्ष उत्तराञ्चलका पूर्वमुख्य मन्त्री भगतसिंह कोसियारीले हामी (भारतीय) नेपालीलाई भोटानी जस्तै सुखी खुसी देख्न चाहन्छौं भने। उनको यस वाक्यले नेपालीको मनमा चिसो पस्यो। के भोटानी नेपाली एकै हुन्? भोटान आफ्नो सुरक्षा र परराष्ट्र नीति दिल्लीलाई सुम्पेको देश हो, नेपाल भनेको सार्वभौम स्वतन्त्र राष्ट्र हो। भोटान जस्तै होऊ, तिमीहरूलाई सुखी समृद्ध बनाइदिन्छौँ भन्ने उनको आशय हो भने त अझ डरलाग्दो भयो। त्यस्तै अन्त्यमा पनि उनले अर्को त्यस्तै वाक्य बोलेका छन्– नेपाल–भारत सिमानामा रहेको स्तम्भ उखेलिदिए पनि हुन्छ। सीमा नभएको देश कस्तो हुन्छ? कहाँ छ? हुन त अहिले पनि सीमा मिचिइराखेकै छ।

नेपाल र भारतबीच भएको यो सन्धि अशान्ति र अमैत्रीकै इतिवृत्त हो। प्रबुद्ध समूहले धोइपखाली शुद्ध्याउनतिर लाग्नुसट्टा यसलाई सेलाउनु नै वेश हुन्छ। त्यसपछि नयाँ परिस्थिति, नयाँ विश्लेषण, सोचाइ र आवश्यकताका आधारमा नयाँ सन्धि गर्नु आवश्यक छ।







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad