coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘चारदिने टेस्ट खेल्ने इच्छा छैन’

सिड्नी – अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरले चार दिनको टेस्ट खेल्ने कुनै इच्छा नभएको बताएका छन्।

विश्व क्रिकेटमा ट्वान्टी–२० खेलको आमगनपछि टेस्ट क्रिकेटको लोकप्रियता घटेको भन्दै यसै महिनाको सुरुमा अकल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को बोर्ड बैठकले टेस्ट क्रिकेटको संरक्षणका लागि शीर्ष ९ राष्ट्र सहभागी टेस्ट च्याम्पियन्ससिप आयोजना गर्ने निर्णय गरेको थियो । त्यसका साथै बैठकले १३ राष्ट्र सहभागी हुने एकदिवसीय लिग पनि आयोजना गर्ने निर्णय गरेको थियो ।
उक्त बैठकले डिसेम्बरमा दक्षिण अफ्रिका र जिम्बाब्वेबीच चार दिनको टेस्ट खेललाई परीक्षणका रूपमा लिने निर्णय गरेको थियो।

तर स्मिथ र वार्नरले चार दिनको टेस्ट खेल्न इच्छा नभएको भन्दै फरक धारणा सार्वजनिक गरेका हुन्।

‘व्यक्तिगत रूपमा भन्नुपर्दा मलाई ५ दिनकै टेस्ट क्रिकेट राम्रो लाग्छ । म यसमै सन्तुष्ट छु,’ अस्ट्रेलियाको एक अनलाइनसँग अन्तर्वार्ताका क्रममा स्मिथले भने, ‘५ दिनको टेस्ट क्रिकेट पृथक् छ । टेस्ट क्रिकेटमा पाँचौं दिनको अन्तिम समयमा जुन खालको उत्साह हुन्छ, त्यसको वर्णन गर्ने शब्दै छैन।’

‘५ दिने टेस्टको विशेषता फरक हुन्छ । खेलाडी टेस्टको अन्तिम दिनको खेलसम्म टिकिरहने लक्ष्यमा हुन्छन्,’ ओपनर ब्याट्सम्यान वार्नरले थपे, ‘यो नै ५ दिने टेस्टको प्रमुख आकर्षण हो । तर, टेस्ट क्रिकेट एक दिन घटाउँदा यसको आकर्षण र मौलिकता घट्न सक्छ।’

यसअघि क्रिकेट अस्ट्रेलियाका प्रमुख जेम्स सुथरल्यान्डले आइसिसीले गर्ने चार दिनको टेस्ट परीक्षणमा समर्थन भए पनि अस्ट्रेलियाको तत्काल उक्त परीक्षणमा सहभागी नहुने बताएका थिए।

‘हामी आइसिसीले गर्ने परीक्षणका लागि सकारात्मक छौं । तर, टेस्ट च्याम्पियनसिपअघि पाकिस्तान, भारत, श्रीलंका, दक्षिण अफ्रिका र इङ्ल्यान्डसँगको टेस्ट शृंखलाका कारण हामी तत्काल चारदिने टेस्ट परीक्षणमा सहभागी हुने छैनौं।’

प्रकाशित: ९ कार्तिक २०७४ ०५:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App