७ वैशाख २०८१ शुक्रबार
समाज

बुटवलका डेंगु बिरामी राजधानी धाउँदै

काठमाडौं – स्थानीय तहकै स्वास्थ्यसंस्थामा उपचार हुनुपर्ने डेंगुका बिरामीले उपचार नपाएपछि  बुटवलबाट राजधानी धाउनुपरेको छ । बुटवलबाट राजधानीको टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा दैनिक बिरामी आइरहेको अस्पतालले जनाएको छ ।  ‘उतै उपचार हुनुपर्ने हो, बिरामी आत्तिँदै यतै आइरहेका छन्’, टेकु अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले भने। 

एडिस एजिप्टाई नामक लामखुट्टेले मानिसलाई टोकेमा यो रोगको संक्रमण हुन्छ । यो लामखुट्टे मनसुन सकिने समयपछि सक्रिय हुन्छ । विशेष गरी सफा पानी जम्ने टायर, प्लास्टिकका बोतल, कुलरजस्ता स्थानमा यो लामखुट्टे फैलिने गर्छ । रोगको भाइरस लामखुट्टेले टोकेर मानिसमा सरेपछि रगतको माध्यमबाट शरीरभरि फैलिन्छ । यो भाइरस फैलिएपछि कलेजो र दिमागमा समेत असर पुग्न सक्छ। 

बिरामीले आफूखुसी बु्रसेट र फेलेक्सोन किनेर खाएको पाइएको भन्दै यसो नगर्न चिकित्सकको सुझाव ।

बुटवलबाट पछिल्लो एक साता मात्र डेढदर्जन बिरामी उपचारका लागि आएको डा. पुनले जानकारी दिए । ‘आएका मध्ये केही गम्भीर अवस्थाका र केही सामान्य अवस्थाका छन् । भर्ना भएर उपचारको क्रम जारी छ’, डा. पुनले भने । 
कतिपय रोगीले स्थानीय तहमा परीक्षण किट नपाएको र उपचार असहज भएको भन्दै राजधानी आइपुगेको उनले बताए । ‘कतिले पैसा तिर्छु भन्दा पनि किट पाइएन भन्दै आएका छन्, कतिपय यहाँ राम्रो उपचार हुन्छ भनेर आएको भन्छन्’, उनले भने । दुई महिनाको अवधिमा उक्त अस्पतालमा मुलुकभरबाट आएका सयभन्दा बढी डेंगुरोगी उपचार गराएर फर्किसकेका छन्। 

राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख भीम आचार्यले भने स्थानीय रुपमै किट र उपचारको व्यवस्था भएको दाबी गर्दै बिरामी आफूखुसी राजधानी आएको बताए । ‘जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत किट वितरण व्यवस्था गरेका छौं । प्राथमिक स्वास्थ्य केन्द्रमै डेंगुको उपचार हुन्छ’, आचार्यले भने। 

चिकित्सकका अनुसार डेंगुको संक्रमण भएमा ज्वरो आउने, शरीरमा आन्तरिक रक्तश्राव हुने, जोर्नी र मांशपेशी दुख्नेजस्ता लक्षण देखिन्छन् । यी लक्षण देखापरेमा तुरुन्त नजिकको स्वास्थ्यसंस्थामा पुगेर रोग पहिचान गर्नुपर्छ । आन्तरिक रक्तश्रावका कारण बिरामीको ज्यानै जान सक्ने भएकाले स्थितिअनुसार अस्पताल भर्ना भएर उपचार गर्नुपर्ने चिकित्सक सुझाउँछन् । अस्पतालमा आउने बिरामीले आफूखुसी बु्रसेट र फेलेक्सोन किनेर खाएको पाइएको भन्दै यसो नगर्न डा. पुनले सुझाए । यी औषधीको प्रयोगले उल्टै रक्तश्राव गराउन सहयोग पुर्‍याउने उनले जानकारी दिए । समयमै चिकित्सकलाई देखाएर उपचार गरे रोग निको उनले उनले बताए। 

सरकारले यो वर्ष डेंगु सम्भावित जिल्लामा जिल्ला जनस्वास्थ्यमार्फत किटका लागि २ लाख ५० हजारदेखि ३ लाख रुपैयाँका दरले बजेट दिएको छ । लामखुट्टेका लार्भा नष्ट गर्न ८ लाखदेखि १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यो वर्ष तराईका जिल्लामा डेंगु फैलिएको छ । केही पहाडी जिल्लामा समेत संक्रमण देखिएको छ । यो वर्ष हालसम्म ८ सय ५४ जना डेंगु प्रभावित भेटिएको महाशाखाको तथ्यांक छ । सबैभन्दा बढी झापामा ३ सय ४१ जनामा रोग देखा परिसकेको छ । महोत्तरीमा १ सय ८९, रुपन्देहीमा १ सय २३ र सर्लाहीमा १ सय ८ जनामा डेंगु देखा परिसकेको छ।

प्रकाशित: ९ कार्तिक २०७४ ०३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App